कोसीवारि पनि दुर्लभ अर्ना

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ , माघ १७ गते ।  झण्डै आठ वर्षअघि कोसी नदीमा आएको बाढीले धनजनको निकै क्षति ग¥यो ।  कोसी टप्पुभित्र बाढी पस्दा विश्वमै दुर्लभ मानिने वनस्पतिका साथै वन्यजन्तुको समेत नोक्सानी भयो ।  लामो समय कोसी टप्पु वन्यजन्तु आरक्षमा रहेर काम गर्नुभएका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका संरक्षण अधिकृत अशोककुमार रामका अनुसार कम्तीमा दुई दर्जनभन्दा बढी जङ्गली भैँसी (अर्ना ) त्यतिबेलाको बाढीले बगाएर लग्यो ।  अन्य दुर्लभ जलचर र वनस्पतिको कति क्षति भयो भन्नेबारे हालसम्म अध्ययन भएको छैन ।  
संसारमै अत्यन्तै कम सङ्ख्यामा अस्तित्वमा रहेको दुर्लभ वन्यजन्तु अर्ना नेपालमा कोसी टप्पुमा मात्र पाइने गरेको छ ।  बेलाबेला हुने यस्ता प्राकृतिक विपत्तिको सिकार अर्नामात्र होइन, अन्य वन्यजन्तु, वनस्पतिसमेत हुनेगरेकाले एउटै ठाउँमा मात्र अस्तित्वमा रहेका वनस्पतिको बासस्थान विस्तार गर्नु जरुरी मानिन्छ ।
अर्नाको बासस्थान, आहार तथा संरक्षणमा चुनौती र नेपालमा अर्नाको सम्भावना विषयमा अध्ययन गर्नुभएका संरक्षण अधिकृत रामका भनाइमा कोसी टप्पुमा मात्र अर्नालाई संरक्षण गरेर राख्ने हो भने केही वर्ष पहिलेको बाढीले गरेको क्षति जस्तै भविष्यमा आउनसक्ने महामारी लगायतका प्राकृतिक विपत्तिको सिकार दुर्लभ अर्ना हुनसक्ने र नेपालबाट अर्नाको अस्तित्व सङ्कटमा पर्नसक्ने सम्भावना रहन्छ ।  त्यसैले यसको अर्काे बासस्थान विकास गर्नु आवश्यक छ ।  अर्ना
यही कुरालाई दृष्टिगत गरी अर्नाको बहुबासस्थान विकास गर्ने उद्देश्यका साथ चितवन राष्ट्रिय निकुञ्जमा अर्नाको बासस्थान, आहार, सुरक्षा लगायतका विषयमा लामो अध्ययन गरियो ।  सन् १९५० को दशकसम्म चितवनका वन–जङ्गलमा अर्ना अस्तित्वमा रहेकाले चितवन अर्काे सम्भाव्य बासस्थानका रूपमा अध्ययनमा परेको हो ।  अध्ययनबाट चितवनमा पनि अर्नाको उपयुक्त बासस्थान निर्माण गर्न सकिने देखाएपछि शुक्रबार एक जोडी अर्ना चितवनका जङ्गलमा छाडिएका छन् ।  एकपटक अस्तित्वमा रहेका अर्ना बीचमा लोप भएर गएकाले कोसी टप्पुबाट अर्ना चितवनमा लाने कार्यलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ‘अर्ना पुनःस्थापना कार्य’ भनेको छ ।   विभागले पहिलोपटक प्रभावकारी संरक्षणको उद्देश्य राखेर कोसी टप्पुबाट अर्ना अन्यन्त्र सारेको हो ।  विभागको यो कामले कोसी टप्पुक्षेत्रमा मात्र देखिने अर्ना भोलिका दिनमा कोसीवारि चितवनमा पनि देख्न पाइनेभएको छ ।
विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार विश्वकै अत्यन्तै दुर्लभ वन्यजन्तु अर्नाको बस्ती बिस्तार गर्ने सरकारी योजना अनुरूप चितवन छनौटमा परेको हो ।  स्थानीय तहका चुनौतीबाहेक विश्वव्यापी रूपमा देखिएको तापक्रम वृद्धि, जलवायु परिवर्तन लगायतका असरले अर्ना लगायतका महìवपूर्ण वन्यजन्तुको संरक्षणमा चुनौती थपिँदै गएकाले बहु बासस्थानको विकासमा बढी जोड दिन थालिएको हो ।
विश्वभरि अर्नाको कुल सङ्ख्या तीन हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ ।  दक्षिण एसियाका नेपाल र भारतमा पाइने अर्ना घाँसे मैदान, स्वच्छ पानी र दलदले भूमिमा बस्न रुचाउँछन् ।  नेपालको कोसी टप्पुमा मात्र पाइने यो वन्यजन्तु भारतको सिक्किम, आसाम र मध्य प्रदेशका संरक्षित क्षेत्रमा पाइने गरेको छ ।  आठ सयदेखि एक हजार दुई सय किलोग्रामसम्मको वजन हुने अर्नाको आयु ३० वर्षसम्मको हुनेगरेको छ ।  
नेपालमा पहिलोपटक सन् १९७६ मा गरिएको गणनामा ६३ वटामात्र अर्ना भेटिएका थिए ।  अर्नाको विषयमा विद्यावारिधि गर्ने क्रममा रहनुभएका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल चितवनमा अर्नालाई बचाउनसकिने थुपै्र आधार भेटेर पुनःस्थापना गर्ने योजना बनाएका हौँ भन्नुहुन्छ ।  घाँसे मैदान, स्वच्छ पानी, भूवनोट लगायतको अध्ययन गर्दा कोसी टप्पु र चितवनको क्षेत्रमा समानता देखिएको छ ।  काँस, सिरु, नर्काेट, बन्सो लगायतका घाँस अर्नाले प्रमुख चरनका रूपमा उपयोग गर्ने र यी दुवै ठाउँमा यी चिज पाइने गरेको छ ।  
सुरुमा अर्नाले चितवनमा आफूलाई अनुकूलन गर्न गाह्रो हुने र अन्य ठूला वन्यजन्तुको सिकार हुनसक्ने भएकाले २५ हेक्टरको क्षेत्रफलमा अर्नाका लागि विशेष संरक्षित क्षेत्र निर्माण गरिएको जानकारी विभागका महानिर्देशक खड्काले दिनुभएको छ ।  त्यस क्षेत्रलाई सौर्य तारवारले घेरिएको छ ।  अन्य प्रजातिका वन्यजन्तु त्यस क्षेत्रमा पस्न नसकून् भनेर त्यसो गरिएको हो ।  


चितवन उपयुक्त बासस्थान
रामचन्द्र कँडेल
प्रमुख संरक्षण अधिकृत
चितवन राष्ट्रिय निकुञ्ज
झण्डै ६० वर्ष पहिलेसम्म चितवनका जङ्गलमा अर्ना अस्तित्वमा रहेको भेटिन्छ ।  अर्नाका लागि चाहिने भौगोलिक अवस्था, हावापानी, पानीको स्रोत, आहार तथा विचरण गर्ने घाँसे मैदान हेर्दा कोसी टप्पुको जस्तै चितवनमा भेटिएको छ ।  अब इतिहासबाट पाठ सिकेर चितवनका सबै सरोकारवालाले अर्नाको संरक्षण गर्ने पवित्र काममा सहयोग र समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ ।  निकुञ्जले आम सरोकारवालाबाट यही अपेक्षा गरेको छ ।  अर्नाको अर्काे उपयुक्त बासस्थान चितवन हो ।  चितवनमा संरक्षण गर्न सकिएमा मुलुकका यस्तै अन्य भूगोलमा पनि अर्नाको संरक्षण गर्ने प्रयास गर्न बाटो खुल्नेछ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना