नेपाली मिडिया र विज्ञापन

laxaman pantaलक्ष्मणदत्त पन्त  



आमसञ्चारका माध्यम अर्थात् मास मिडियाको सञ्चालन र ती माध्यमको निरन्तरताका लागि सीमित वैधानिक स्रोतमध्ये विज्ञापन एक महŒवपूर्ण माध्यम मानिन्छ ।  आमसञ्चारका माध्यम र विज्ञापन गर्ने संस्था दुवैका लागि विज्ञापनको महŒव विशाल छ ।  वास्तवमा पैसा बचत गर्न विज्ञापन रोक्नुभनेको घडीको सुइँ रोकेर समय बचत गर्नु जस्तै हो ।  त्यसो त बढ्दो व्यापारिक प्रतिस्पर्धा, प्रविधिको विकास र उपभोक्ताको चेतनाको स्तरमा आएको परिवर्तनका कारण संस्थाहरूले आफ्ना उत्पादन वा सेवाका बारे गर्ने विज्ञापनको गुणस्तर र सान्दर्भिकता बारे पनि ख्याल पु¥याउनुपर्ने स्थिति सिर्जना भएको छ ।  अर्कोतिर आमसञ्चारका माध्यमले विज्ञापनबाट आममानिसमा पर्न सक्ने नकारात्मक असरका बारे समेत सचेत र सजग रहनु आवश्यक हुन्छ ।  
आमसञ्चारका माध्यमको मुख्य कार्य सूचना सम्प्रेषण हो ।  त्यसबाहेक चेतना जगाउने, सामाजिक, राजनीतिक, आर्थिक वा अन्य विषयमा शिक्षा प्रदान गर्ने, उत्प्रेरणा दिने, मनोरञ्जन प्रदान गर्ने, सामाजिकीकरणमा सहयोग गर्ने र वस्तु वा सेवाको विज्ञापन गर्नेजस्ता विषय पनि आमसञ्चारका माध्यमको कार्यअन्तर्गत पर्छन् ।  वस्तु, अभियान वा सेवाको विज्ञापन गर्ने कार्य अरू सूचनाभन्दा नितान्त फरक हुन्छ ।  विज्ञापनका लागि सञ्चार माध्यमलाई पैसा तिरिएको अर्थात् यस्तो सूचना ‘पेइड’ हुन्छ ।  त्यसैले विज्ञापन विज्ञापन हो, समाचार वा पत्रकारिताजन्य सूचना होइन ।  विज्ञापनमार्फत वस्तु, अभियान वा सेवाको प्रवद्र्धन गरिने भएकाले यसलाई समाचारजन्य सूचना मानिँदैन ।  यो खरिद वा उपभोग गर्न उत्प्रेरित गर्ने नितान्त अभिप्रायजन्य सूचना मात्रै हो ।  
विज्ञापन व्यापार, उत्पादन, अभियान वा सेवाको उत्कृष्टता दाबी गरिएको अभिप्रायजन्य सूचना भएकाले अखबार, रेडियो वा टेलिभिजन तथा अनलाइन समाचार पोर्टलका सम्पादकले विज्ञापनको भाषा र प्रस्तुतिमा पहरेदारी गर्नैपर्छ ।  विज्ञापनको विषय, सान्दर्भिकता, स्वीकार्यता, आलोचना, प्रहार र यसले सिर्जना गर्न सक्ने गाली–बेइज्जती वा चरित्रहत्या तथा भ्रमात्मक प्रचारबारे बेवास्ता गर्न मिल्दैन ।  दुर्भाग्यवश नेपालका आमसञ्चार माध्यम र मुख्यगरी ठूला र मूलधारका भनिएका अखबार तथा टेलिभिजनहरूले विज्ञापनबाट पैसा आउने भएकाले त्यसको सत्यापन मापन गर्ने गरेका छैनन् ।  रुचि बढी पेसा कम मानिने पत्रकारिता तथा उद्योगको न्यूनतम आधारसमेत सिर्जना गर्न नसकिएको नेपाली सञ्चार जगत्मा पैसा आउँदा जस्तोसुकै र जति गम्भीर हानि गर्ने विज्ञापन भए पनि प्रकाशन वा प्रसारण भएका प्रशस्त उदाहरण छन् ।  यस्तो स्थिति कायम रहनु र मूलतः विज्ञापनदाताले व्यापार वा सेवाको प्रचार गर्न दिने विज्ञापनजन्य सूचनाको वैधता, स्वीकार्यता र सत्यतालाई मुनाफा कमाउने नाममा सञ्चार माध्यमले आँखा चिम्लिनु सामाजिक अपराध हो ।  
विज्ञापनको प्रामाणिकर्ता, सत्यता र स्वीकार्यता बारे नेपाली मिडियामा पटक–पटक विवाद र बहस हुने गरेको छ ।  गत हप्ता राजधानीबाट प्रशासन हुने केही ठूला भनिएका दैनिक अखबारहरूले बोसो मिसिएको र लेबल अर्थात् उत्पादनसम्बन्धी जानकारी नभएको साबुनको प्रयोग गर्न नहुने व्यहोराको विज्ञापन एक परिचय नखुल्ने साबुन कम्पनीकै नामबाट प्रकाशन गरे ।  यसबारे व्यापक चर्चा, परिचर्चा, बहस, विवाद र विरोध पनि भयो ।  प्रेस काउन्सिल नेपालले यस्तो विज्ञापन छाप्न नहुने भनी विज्ञप्तिमार्फत सचेत पनि गरायो तर यसबारे सम्बन्धित सञ्चारगृह वा त्यसका सम्पादकबाट कुनै प्रतिक्रिया आएन ।  
सम्पादकले समाचार वा विचारजन्य सूचनाको मात्रै सम्पादन वा सत्यापन गर्ने हो र विज्ञापनलाई मुनाफा कमाउने माध्यमका रूपमा सीमित गर्ने हो भने नेपाली मिडियाका सम्पादकमाथि दुईवटा गम्भीर प्रश्न
उठ्छन् ः पहिलो नेपालमा सम्पादकहरू ‘यसम्यान’ अर्थात् प्रकाशक वा लगानीकर्ताले जे भने पनि ‘हुन्छ’ भन्ने स्थितिमा छन् ।  दोस्रो सम्पादकरू समयानुकूल पत्रकारिता गर्न असक्षम वा अयोग्य छन् भन्ने प्रमाणित हुन्छ ।  यी दुवै गम्भीर समस्याबाट बाहिर नआउँदा नेपाली मिडियाका पाठक वा उपभोक्ताले अपुरो, अधुरो, भ्रमपूर्ण र झुठो सूचना वा समाचार उपभोग गर्न बाध्य भइरहने स्थिति कायम रहन्छ ।  
नेपालमा अधिकतम् आमसञ्चार माध्यम, लगानीकर्ता र सम्पादकले विज्ञापनको महŒव, प्रभाव, त्यसको सामाजिक स्वीकार्यता र खासगरी बजारशास्त्र नै बुझेका छैनन् भन्दा अत्युक्ति नहोला ।  विज्ञापनको सिधा परिभाषा प्रचार हो ।  विज्ञापन दिए वापत विज्ञापनदाताले वस्तु वा सेवाको प्रचार वा प्रवद्र्धन खोज्छ ।  सञ्चार माध्यमका लागि विज्ञापन आम्दानीको एकमात्र वैधानिक माध्यम हो ।  जनहित, सत्यता र स्वीकार्यतालाई मध्यनजर गरी सम्प्रेषण गरिने विज्ञापनले वस्तु वा सेवाको जानकारी दिन्छ र सचेत उपभोक्ताले त्यस्तो सूचनालाई आफू अनुकूल उपभोग पनि गर्छन् ।  यद्यपि सञ्चार माध्यम र सम्पादकबाटै प्रायोजित रूपमा विज्ञापनदाताका पक्षमा भ्रमपूर्ण रूपले सम्प्रषेण गरिने सूचनाले पाठक वा प्रापकलाई सुसूचित गर्दैन ।  
नेपाली सञ्चार माध्यमले विज्ञापनलाई दयाको माध्यम मान्दै आइरहेका छन् ।  विज्ञापन पाउँदा कुनै अमूक कम्पनी, संस्था वा ब्यक्ति असल र महान् हुने, त्यस्ता उत्पादन सर्वगुण सम्पन्न हुने र विज्ञापन नपाउँदा तत्तत् कम्पनी, संस्था वा व्यक्तिको खोइरो खन्ने रोगबाट नेपाली मिडिया ग्रसित छ ।  जागिर टिकाउने बाध्यताका बीच सम्पादकहरूले पनि विज्ञापन नितान्त व्यापारिक प्रवद्र्धन हो र विज्ञापनकै कारण समाचार वा सूचनाको सत्यता मर्नु हुँदैन भन्ने विषयमा प्रकाशकसँग बहस गर्ने हिम्मत गर्दैनन् ।  फलस्वरूप सम्पादकीय स्वतन्त्रतासमेत विज्ञापनकै कारण प्रकाशक वा लगानीकर्तामय भएको छ ।  
नेपाली मिडियामा आजसम्म व्यापारिक लक्ष्य प्राप्त गर्न विज्ञापनको सम्पूर्ण संरचना प्रकाशक वा लगानीकर्ताको हातमा छ ।  मुनाफा गर्ने विषयमा विज्ञापन त के अमूक विज्ञापनदाताका पक्षमा निरन्तर भ्रामक समाचार सम्पादकबाटै लेखाउन सक्ने स्थितिमै छन् नेपाली मिडियाका लगानीकर्ताहरू ।  अप्रत्यासित र आकस्मिक रूपमा निजी क्षेत्रका अखबारमा विवादास्पद संस्थाको उत्पादन वा सेवा बारे प्रकाशन हुने ‘ज्याकेट एड’ ले पनि यस कुराको पुष्टि गर्छ ।  
विज्ञापनजन्य सूचना सचेत व्यक्ति वा समुदायले मात्रै उपभोग गर्दैनन् ।  छिटो अनुसरण गर्ने मनोविज्ञानका बालबालिका र अधिकतम् निरक्षर व्यक्ति वा समुदाय पनि भ्रामक विज्ञापनको शिकार हुन सक्छन् ।  विज्ञापन केवल वस्तु वा सेवाको व्यापारिक सूचना मात्र होइन, यो एक योजनाबद्ध प्रचार पनि हो र धेरैजसो सन्दर्भमा भ्रामक र संवेदनशील हुन्छ भन्ने कुरा मूलतः सञ्चार माध्यम र ती माध्यमको समग्र सूचनाको निगरानी राख्ने सम्पादकले मनन गर्नु जरूरी छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना