तरलता अभावको प्रभाव

Junar_babuजुनारबाबु बस्नेत


मुलुकका बैङ्क तथा वित्तीय संस्थाहरू यतिबेला लगानीयोग्य रकम अर्थात् तरलता अभावमा रहेको देखिएको छ ।  मुद्दती निक्षेपमा ब्याजदरको ब्यारोमिटर निरन्तर उकालो लागेपछि तरलता अभाव झनै स्पष्ट भएको छ ।  केही महिना अघिसम्म निक्षेपमा ब्याजदर पाँच छ प्रतिशत दिने बैङ्क तथा वित्तीय संस्थाहरूले एकआपसमा होडबाजी गर्दै ब्याजदरलाई उकालो चढाए ।  ब्याजदर १० प्रतिशतभन्दा माथि उठेपछि बैङ्कर्सहरू नै आत्तिए ।  उकालो चढ्दै १२ प्रतिशत पुगेपछि नेपाल बैङ्कर्स सङ्घको अगुवाइमा स्थिर दर बसाइएको कुरा बाहिर आएको छ ।  प्रतिस्पर्धाको मूल्य र मर्म विपरीत ब्याजदरलाई १२ प्रतिशतमै सीमित गर्ने अघोषित सहमति भएको छ ।  कतिपयले १२ प्रतिशतभन्दा पनि बढी ब्याज दिन थालेको चर्चा सतहमा आएपछि बैङ्कर्सहरू यो संवदेनशील निर्णयमा पुगेका हुन् ।  यो ब्याजदरको अवस्थाले बैङ्क तथा वित्तीय संस्थाहरू तरलताको तीव्र सङ्कटमा रहेको स्पष्ट हुन्छ ।
बैङ्किङ संस्थाहरू भनेका वित्तीय सेवा प्रदायक निकाय हुन् ।  वित्तीय सेवाबाटै उनीहरू सञ्चालन खर्च उठाउँदै मुनाफा आर्जन गर्छन् ।  यो उनीहरूको सेवासँगै आर्जन गर्ने मुनाफाले नै वित्तीय सेवालाई बैङ्किङ उद्योग वा व्यवसाय बनाइरहेको हुन्छ ।  सर्वसाधारण तथा संस्थागत रूपमा सङ्कलन गरेको निक्षेपलाई व्यावसायिक रूपमा लगानी गर्नु नै बैङ्क तथा वित्तीय संस्थाहरू मुख्य कार्य हो ।  त्यसरी लिइने निक्षेप र लगानीबीच हुने ब्याजान्तर नै बैङ्क तथा वित्तीय संस्थाहरूको मुनाफाको आधार हो ।  कतिपयले अन्य सेवा प्रवाहबाट पनि केही आर्जन गर्छन् तर त्यसको आकार ठूलो हुँदैन ।  वार्षिक १२ प्रतिशतमा निक्षेप सङ्कलन गरी अनि कति ब्याजदरमा लगानी गर्दै मुुनाफा आर्जन गर्ने ? भन्ने गम्भीर प्रश्नले यतिबेला नेपाली बैङ्क तथा वित्तीय संस्थाहरूलाई सताउन थालेको छ ।  नेपाल राष्ट्र बैङ्कको निर्देशानुसार पनि निक्षेप र ब्याजदरबीच पाँच प्रतिशतभन्दा बढीको अन्तर हुनु हुँदैन ।  अब कम्तीमा पनि १५ देखि १७ प्रतिशत ब्याजदरमा लगानी हुने अवस्था आएको छ ।
बैङ्क तथा वित्तीय संस्थामा अहिले देखिएको तरलता सङ्कट बढीजसो उनीहरूको दोष छ भन्नेहरूको पनि कमी छैन ।  नेपाल राष्ट्र बैङ्कको पछिल्लो अध्ययन प्रतिवेदनले पनि यही देखाएको छ ।  चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मुलुकका वित्तीय क्षेत्रको अध्ययन निष्कर्षमा नेपाल राष्ट्र बैङ्कले भनेको छ, ‘...सम्भावित उच्च नाफा जस्तो विशेषतायुक्त वित्तीय क्षेत्र स्थायित्व हाल कायम रहेको स्थिति भविष्यमा यथावत् कायम राख्ने कार्य भने चुनौतीपूर्ण हुने देखिन्छ ।  बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३० दशमलव ४ प्रतिशतले बढेकोमा ओभरड्राफ्ट, हायर पर्चेज, घरजग्गा तथा सेयरको धितोमा प्रवाह हुने कर्जा उल्लेख्य रूपमा बढ्नु चासोको विषय हो ।  यस्तो अवस्थामा उत्पादनमूलक क्षेत्रमा जानुपर्ने केही जोखिमयुक्त क्षेत्रतर्पm उन्मुख हुन सक्छ । ’ यो निष्कर्षको गहिराइसम्म गएर विश्लेषण गर्ने हो भने अहिले वित्तीय बजारमा आएको तरलताको अभावमा स्वयं बैङ्क तथा वित्तीय संस्थाहरू नै कारण बनेका त होइनन् भन्ने गम्भीर प्रश्न उठेको छ ।
नेपाल राष्ट्र बैङ्कले अनुत्पादक क्षेत्रमा लगानी केन्द्रित भएको स्थिति देखिएको भन्दै त्यसमा गहिरो चिन्ता पनि व्यक्त गरेको छ ।  त्यतिमात्र होइन, आगामी दिनमा बैङ्क तथा वित्तीय संस्थाहरूले विवेकशील एवं सावधानीपूर्ण तवरले कर्जा प्रवाह गर्नुपर्ने सुझाव पनि केन्द्रीय बैङ्कको छ ।  अनुत्पादक लगानीमा खासगरी उपभोक्तामुखी कर्जा (हायर पर्चेज) बढेको छ, बढेकै हो ।  गाडीको खपत बढेकै थियो ।  घरजग्गामा क्षेत्रमा बढेको लगानी तीव्र नै भएको छ ।  पुँजी बजारमा केही महिनाअघि बढेको उच्च कारोबार पनि बैंङ्किङ क्षेत्रले गरेको अविवेकी लगानीका रूपमा कतिपयले लिने गरेका छन् ।  खासमा देशको अर्थतन्त्र नाजुक भए पनि बैङ्क तथा वित्तीय संस्थाहरू मुनाफा भने उच्च रह्यो ।  लगानी संरचनामा उठाउँदै गरेको कतिपय आशङ्का अहिले सत्यको नजिक पुगेको छ ।  अप्रत्यक्ष रूपमा पनि लगानी अनुत्पादक क्षेत्रमा केन्द्रित भएको छ ।
देशका अधिकांश बैङ्क तथा वित्तीय संस्था सेवा प्रदायकभन्दा बढीजसो मुनाफा केन्द्रित भएको देखिएको छ ।  वित्तीय संस्थाहरू कारण सहर केन्द्रित अघोषित नीति नै हो ।  अधिकांश बैङ्क तथा वित्तीय संस्थाहरूले घरजग्गामा लगानीलाई बढाउँदै लगेका छन् ।  राजधानी उपत्यका मात्र होइन, बाहिर पनि सहर र सहरउन्मुख केन्द्रित घडेरी व्यापारले मुलुकको उत्पादनमूलक अर्थतन्त्रलाई चुनौती दिएको छ ।  त्यसमा बैङ्क तथा वित्तीय संस्थाको ठूलो लगानी केन्द्रित भएको छ ।  
सरकारको न्यूनतम मापदण्ड समेत अनुशरण नगरिएको घरजग्गाको प्लानिङले अनेक समस्या र प्रश्न उब्जाएको छ ।  यसले उत्पादनमूलक कृषि क्षेत्रलाई निरन्तर ह्रासतिर लगेको छ ।  लगानीलाई गम्भीर सङ्कटमा पारेको छ ।  बैङ्किङ क्षेत्रको लगानी डुब्ने खतरा बढेको छ ।  वास्तविक सम्पत्तिमा आधारित भएर लगानी गरिएको छैन ।  घरघडेरी व्यवसाय सुस्ताउन थालेको पनि देखिएको छ ।  
बैङ्क तथा वित्तीय संस्थाहरू भनेको अर्थतन्त्रको वास्तविक क्षेत्रलाई बढोत्तरी दिनुपर्ने धर्म भएका मध्यस्थकर्ता संस्था हुन् तर वास्तविक क्षेत्र सुक्दै गएर कृत्रिमतालाई बढवा दिने दलाली अर्थतन्त्र मौलाउँदै गएको छ ।  उत्पादनमूलक लगानी सक्दै गएपछि मुलुकमा कृत्रिम अर्थतन्त्रको खतरा झनै बढ्छ ।  ‘रियल स्टेट’ शीर्षकमा मात्र होइन, अन्य शीर्षकमा गरिएको लगानी पनि घुमाइफिराइ घरजग्गा क्षेत्रमै लगानी भइरहेको जानकार बताउँछन् ।  अनुत्पादक क्षेत्रमा गरिएको लगानीकै कारण अहिले बैङ्किङ क्षेत्र तरलता सङ्टमा परेपछि यसले अर्थतन्त्रमा गम्भीर असर पार्नेछ ।  फुकेको बेलुन फट्ने खतरा छ ।
उच्च ब्याजदरले सही व्यवसायीलाई ठूलो समस्या पैदा गरेको छ ।  सट्टेबाजी गर्ने, तत्काल मुनाफा गर्ने र दलाली अर्थतन्त्रका अङ्गहरू मात्रै उच्च ब्याजदरका ग्राहक हुन्छन् ।  खराब कर्जा बढाउने कारण पनि हुन सक्छन् तर अर्थतन्त्रको वास्तविक क्षेत्र महँगो कर्जाले पीडित हुनेछ ।  भइरहेको पनि छ ।  अब कृषि तथा उद्योग क्षेत्रमा जाने वास्तविक थप लगानीलाई साँघुरो बनाउने छ ।  बैङ्किङ कर्जा लगानीको प्रमुख साधन हो ।  उच्च ब्याजदरले लगानीलाई चुनौतीपूर्ण र जोखिमयुक्त बनाइदिन्छ ।  महँगो ब्याजदर तिरेर लिने कर्जाले लगानीको लागत झन्–झन् बढाउनेछ ।  अर्थतन्त्रमा यसेल आय, उत्पादन र रोजगारीमा गम्भीर प्रतिकूल असर बनाउने छ ।  देशले लक्षित आर्थिक वृद्धिदर हासिल गर्न कठिन हुनेछ ।
सरकार पनि कतिपय सन्दर्भमा अत्यक्ष र परोक्ष रूपमा तरलता अभावका कारण बनिरहेको छ ।  विनियोजन गरेको पुँजीगत बजेट समयमा खर्च गर्न सकेको छैन ।  सरकारको विकास प्रशासन असाध्य सुस्त भएको छ ।  सयममा खर्च गर्न नसकेर अर्थतन्त्रमा समस्या खडा भइरहेको छ ।  आर्थिक वर्षको आधा वर्ष बित्दा पनि १० प्रतिशत हाराहारी मात्र खर्च भइरहेको छ ।  सरकारको ठूलो रकम ढुकुटीमा निष्क्रिय भएर बसेको छ ।  ढुकुटीमा रहेको रकमले आय, उत्पादन र रोजगारी बढाउँदैन ।  पुँजीगत बजेट खर्च हुन थाल्दा त्यसले अर्थतन्त्रका उत्पादनशील अवयवहरूलाई क्रियाशील बनाउने थियो ।  
त्यसो त अर्थमन्त्रालयले आर्थिक वर्षका पहिलो छ महिनामा पुँजीगत बजेट सुस्त हुनमा विविध कारण देखाएको छ ।  बोलपत्र आह्वान प्रक्रिया लगायतका प्रक्रियागत कार्य यो छ महिनामा सम्पन्न भएकोले अबका दुई÷तीन महिनामा पुँजीगत खर्चले तीव्रता लिने अर्थमन्त्रालयका अधिकारीहरूको भनाइ छ ।  अधिकारीहरूको भनाइ सार्थक भएमा त्यसले बैङ्क तथा वित्तीय संस्थाहरूको तलरला अभाव पनि बिस्तारै हटेर जानेछ ।  मूलभूत रूपमा त बैङ्क तथा वित्तीय ंसंस्थाहरूले आन्तरिक सुधार गर्नु जरुरी छ ।  तत्कालको मुनाफ मात्र हेर्ने प्रवृत्ति छ भने त्यसलाई त्यागेर लगानीको आधार फराकिलो बनाउँदै उत्पादनशील लगानीमा केन्द्रित हुुनुपर्छ ।  आठ वर्ष अघि २०६५ सालतिर पनि बैङ्क तथा वित्तीय क्षेत्रमा अधिक लगानी गर्दा समस्या उत्पन्न भएको थियो ।  केन्द्रीक बैङ्कले त्यतिबेला ल्याएको नीतिले बिस्तारै लगानी ठीक बाटोमा आएको अहिले बिर्सन मिल्दैन ।  नीतिगत, संस्थागत र संरचनागत रूपमा समयमै गरिने सुधारले तरलता अभावको प्रभावलाई न्यूनीकरण गरी अर्थतन्त्रलाई सही बाटोमा लैजान सकिन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना