पुल बनेपछिको आनन्दै आनन्द

chandramani-adhikari-300x300डा. चन्द्रमणि अधिकारी

मोरङ जिल्लाको आफ्नो गाउँलाई सहरी क्षेत्रसँग जोड्ने गरी घुरघुरिया खोलामा झोलुङ्गे पुल बनेपश्चात् खुसी भएकी एक ग्रामीण महिलाले पुल नहुँदाको दुःख सम्झेर भन्छिन्, “पुल नहुँदा, केटाकेटी विद्यालय र आफू बजार तथा स्वास्थ्य उपचारसमेतका काममा जाँदा निकै हन्डर खानुपरेको थियो, पुल बनेपछि आनन्दै आनन्द भयो । ” यो नेपालका दुर्गम तथा ग्रमीण भेगमा रहेका जनताको आफ्नो ठाउँ देशका अन्य भागमा सहजै जोडियोस् भन्ने चाहना राख्नेहरूको प्रतिनिधि आवाज हो ।  पहाडी र हिमाली क्षेत्रमा त झोलुङ्गे पुलको निर्माणले पनि सम्बन्धित क्षेत्रका परिवारको अति निम्छरो आर्थिक सामाजिकस्तरलाई माथि उकास्न ठूलो भूमिका खेलेका थुप्रै उदाहरण पाइन्छ ।  यी अभिव्यक्तिले मानिसको जीवनमा सुगम बाटोघाटोले कस्तो महŒव राख्छ भन्ने कुराको मार्मिक र यथार्थ चित्रण गर्छन् ।  
यद्यपि यो त झोलुङ्गे पुल मात्र हो, यसले आधारभूत र न्यूनतम पहँुच मात्र बढाउँछ ।  यसले यातायातका साधनको निर्वाध आवागमनको पूर्ण सुविधा उपलब्ध गराउँदैन ।  मानिसको आवतजावत र वस्तुको प्रवाहलाई तीव्र बनाई त्यस क्षेत्रको सर्वाङ्गीण समुन्नतिको लागि एक्काइसौँ शताब्दी अनुकूलको क्षमताको पुलसमेतको यातायात संरचना चाहिन्छ ।  मानिसको भौगोलिक पहुँच बढाउने प्रमुख माध्यम यातायात नै हो, त्यसमा पनि नेपालजस्तो देशको लागि सडकको ठूलो महŒव हुन्छ ।  पुल सडकको अभिन्न अङ्ग हो ।  सडकको आवश्यकताको पहिचान, त्यसको विकास र डिजाइन गर्दा नै पुलसमेत त्यसै अनुरूप डिजाइन गरिनुपर्छ ।  ठीक स्थान, स्वरूप, आकार र भारवहन क्षमतामा निर्मित पुलले समय, दूरी र लागत सबै घटाउँछ ।  क्षेत्र उपक्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढाउँछ ।  नेपालमा त सडक परियोजनाको परिकल्पना गरिन्छ, डिजाइन गरिन्छ, बजेट राखिन्छ तर त्यहांँ पुलपुलेसा अनि पार्किङ एवं सेवा केन्द्रसमेतका अनिवार्य र अभिन्न संरचनाको परिकल्पना गर्न छुटाइएको हुन्छ ।  यस्ता उदाहरण बग्रेल्ती पाइन्छन् ।  त्यसको एउटा उदाहरण हो, कोटेश्वर–तीनकुने–माइतिघर सडक विस्तार योजना ।  यसमा योजना अघि सारियो, बजेट विनियोजन भयो, सडक पनि विस्तार गरियो तर पुलहरू सडकभन्दा थोरै लेनका वा साँघुरा हुनाले सडक विस्तारको उद्देश्य अझै पूरा भएको छैन ।  बागमती र धोबीखोलाको पुललाई पनि सडक अनुरूपकै लेनमा विस्तार गर्ने गरी पुल निर्माणको काम भर्खर हुँदैछ ।  यो कुरा पहिले नै हुन सकेको भए सडक जाम हुँंदैनथ्यो ।  यो भयोे संरचना निर्माण गर्दा त्यसका अन्तरसम्बन्धित अभिन्न पक्षलाई पनि सँगै लैजान सकेमात्र अपेक्षित लाभ प्राप्त हुने कुरा ।  
कुनै पनि क्षेत्रमा सडक–पुल बनेपछि स्वास्थ्य, शिक्षा, उद्योग व्यवसाय र सुरक्षा समेतका कुरामा जनपहुँच बढ्छ ।  निजी, सहकारी र सामुदायिक क्षेत्रको समेत लगानीको लागि वातावरण बन्छ ।  सरकारले एक रुपियाँ लगाउँदा निजी र सामुदायिक क्षेत्रले पाँच लगाउंँछन्, अस्पताल खुल्छ, विद्यालय चल्छ, कृषि उत्पादन सहज रूपमा बजारमा पुग्छ ।  कृषि सामग्री खेतबारीमा पु¥याउन सकिन्छ ।  परिवेश तथा सम्भाव्यता हेरेर होटल खुल्छन्, उद्योग स्थापना हुन्छन् अनि व्यापार बढ्छ, रोजगारी बढ्छ ।  यी सबै कुराले सम्बन्धित परिवारको आय र सरकारको राजस्व दुवै बढ्छन्, युवा त्यहीँ अडिन्छन् ।  यसरी पुलसहितका आधुनिक सडकहरू नै नेपालका रक्तवाहिनी हुन सक्छन्् ।  
कतिपय पुलहरूको निर्माणले त्यस क्षेत्रको जनजीवनमा पारेको सकारात्मक प्रभाव पारेका छन् ।  बर्दियाको कोठियाघाटमा कर्णाली नदीमाथि १ दशमलव १५ कि.मि. लामो पुल बन्नाले त्यहाँका दुई लाखभन्दा बढी जनताको आर्थिक क्रियाकलापमा विस्तार, सामाजिक सेवा (शिक्षा तथा स्वास्थ्यसमेत) मा पहुँच एवं प्रशासनिक सुगमतामा बढोत्तरी गराएको छ ।  यसले छुट्टै टापुजस्तो रहन गएको दशभन्दा बढी गाविसको क्षेत्रलाई पूर्व पश्चिम राजमार्ग तथा सदरमुकामसँग जोडेको छ ।  अब दुई÷चार वर्षमा यस क्षेत्रको आर्थिक, सामाजिक तथा भौतिक संरचनामा निकै परिवर्तन हुनेछ ।  यसको थप पुष्ट्याइँ चितवनको नारायणघाट तथा नवलपरासीको गैँडाकोटलाई जोड्ने गरी नारायणी नदीमा पुल बनेपछिको अवस्थाले गर्छ ।  पुल बन्नुभन्दा अगाडि त्यहाँ पनि नदी पार गर्न कोठियाघाटमा झैँ डुङ्गा, फेरि र पुन्टुमको प्रयोग हुन्थ्यो ।  गैँडाकोटको खासै विकास भएको थिएन ।  २०३७ सालमा ४२० मिटरको पुल निर्माण कार्य पूरा हुँदा बेलुकीपख पुलतर्फ जाँदा निकै सुनसान हुन्थ्यो ।  संगमचोकभन्दा पश्चिमतर्फ खासै बाक्लो बस्ती थिएन ।  अहिले नवलपरासीको कावासोती र गैँडाकोट तथा चितवनको नारायणघाट, भरतपुर र रत्ननगरसमेतले एउटै सहरको रूप लिएका छन् ।  
चाहे कञ्चनपुर जिल्लाको चाँदनी दोधारा जोडने महाकाली नदीमा बनेको १.५ किमिको झोलुङ्गे पुल होस् वा सप्तकोशी नदीमा बनेको सिन्धुलीको खुर्कोटबाट रामेछापको मन्थली जानेबाटोलाई जोड्ने अथवा सुनसरी र उदयपुर जोड्ने चतरामा बनेको पुल, सबैले मानिसलाई निकै सहज बनाएका छन्, बजारमा पहुँच पु¥याउन मद्दत गरेका छन् ।  गङ्गानदीमा पुलसमेतको सडक पहुँच नहुँदा नेपालको वीरगन्जलगायत भारतको रक्सौलबाट पटना पुग्न एकदिन पूरा लाग्थ्यो, अहिले ५÷६ घन्टामै पुगिन्छ ।  
उत्तरी छिमेकी चीन सडक, पुल, रेलवे, बाँध, विद्युत् आयोजना, कार्यलयीय तथा व्यापारिक संरचना निर्माण प्रविधि (आर्किटेक्ट) मा विश्वमै अग्रणी देखिएको छ ।  उदाहरण्को लागि दक्षिणपश्चिम चीनको विपान नदीमाथि बनेको नदीको सतहभन्दा ५६४ मिटर माथि रहेको एक हजार ३४१ मिटर लामो चारलेनको पुल विश्वकै उदाहरण हो ।  यस पुलले गुइजाउ र युन्नान प्रान्त जोड्ने यात्राको समयलाई पाँच घण्टाबाट दुई घन्टामा झारेको छ ।  त्यस्तैगरी झ्यागंजियाजी नेशनल फरेष्ट पार्कको नदीमाथि बनाइएको ४३० मिटर लामो शिशाको पुल पर्यटकीय दृष्टिले अन्त्यन्त चर्चित छ ।  संयुक्त राज्य अमेरिकामा समेत चीनले कतिपय संरचना निर्माणको जिम्मा पाएको सन्दर्भमा यस्ता क्षेत्रका प्रविधि एवं मोडेललाई नेपालमा ल्याउने र दक्षता नेपाली संस्थागत क्षेत्रमा हस्तान्तरण गर्न गराउनको लागि चीनको सहयोग लिन सकिन्छ ।  
प्रस्तुत पृष्ठभूमिमा विकासको गतिलाई तीव्र पार्नमा मूलतः मानव संशाधन, यातायात, ऊर्जा र सञ्चारसमेतका चार कुरामा ध्यान दिनुपर्ने रहेछ ।  मानिस जति योग्य र क्षमतावान हुन्छ, उसको दिमाग चाँडो कुद्छ, त्यसको असर प्रविधि तथा संरचनाको विकासमा पर्छ ।  गुणस्तरीय संरचनाको उपलब्धता जति बढी हुन्छ, त्यसले पैसा र सीपको प्रयोगको गतिमा तीव्रता ल्याउँछ, त्यसको सकारात्मक प्रभाव व्यवसाय, लगानी अनि उत्पादनमा पर्छ ।  उसले कृषि, उद्योग र व्यापारको अन्तरसम्बन्ध स्थापित गरेर अघि बढ्न सक्छ ।  यसो हुँदा आय बढ्छ ।  आय बढेपछि मानिसले आफूलाई चाहिने सेवा सुविधाको विस्तार आफैँ गर्छ ।  जहाँ यातायात, ऊर्जा र सञ्चारका पर्याप्त सुविधा हुन्छन्, त्यहाँ आमजनता र सरकारको पाइला सँगसँगै अगाडि बढ्छ ।  ‘सरकार अगाडि अगाडि’ को अर्थ हो नीतिगत तथा संरचानगत सहजीकरण एवं वैधानिक अनुगमन तर नेपालमा सरकार अगुवा बन्न पनि सकेन, युवा र उत्साही व्यवासायीले अगाडि लाग्न खोज्दा न्यूनतम वातावरण पनि बनाइदिन सकेन, कृषक अगाडि लाग्न खोज्दा बजार स्थिर र अनुकूल भएन ।  संरचना र अन्तरसम्बन्धित सञ्जालको अवस्था अत्यन्त कमजोर रह्यो ।  
तसर्थ बुझ्नुपर्ने कुरा के भने घर सानो छ, कम क्षमताको छ, तलाहरूको भार क्षमता कम छ तर त्यसमा बस्ने मानिस धेरै भए, भीडभाड भए के हुन्छ ? दुर्घटना हुन्छ ।  त्यस्तै सानो र डिलहरू कमजोर भएको पोखरीमा पानी धेरै राखियो भने त्यो फुट्छ र धनजनको नोक्सान हुन्छ ।  उसैगरी लुलो घेरा भएको सानो भकारीमा धेरै अन्न राख्दा अन्न पोखिन्छ, नासिन्छ ।  अर्थतन्त्रमा पनि यी कुरा त्यही तवरमा लागू हुन्छ ।  
बलियो एवं विस्तारित भौतिक संरचना र पूर्वाधार तथा दक्ष मानव स्रोत अर्थतन्त्रका जग हुन्, यी असल घेराबेरा हुन् ।  यी कुरालाई यथावत् राखेर अन्य क्षेत्रमा मात्र लगानी बढाउन खोजेमा लक्षित उद्देश्य हासिल हुँदैन, बरु दुर्घटना निम्तिन सक्छ ।  उदाहरणको लािग चीनले तीन दशकसम्म लगातार दश प्रतिशतको वृद्धि हासिल ग¥यो ।  भनिन्छ, सुरुका दिनमा १३ प्रतिशतसम्मको वृद्धि भयो तर त्यसलाई तल झारियो ।  त्यसको प्रमुख कारण थियो वृद्धि र भौतिक पूर्वाधारबीच तालमेल कायम गर्नु ।  अहिले चीनले तेह्रौँ पञ्चवर्षीय योजना (२०१६–२०२०) मा ६ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिलाई निरन्तरता दिने लक्ष्य राखेको छ ।  ऐतिहासिक सिल्क रोडलाई फरक नाम दिएर संयुक्त राज्य अमेरिका समेतलाई झस्याङ पार्ने गरी अघि सारिएको ‘एक क्षेत्र–एक सडक’ योजना यसै विषयको आधुनिक अन्तर्राष्ट्रिय संस्करण हो ।  भारतले पनि पछिल्ला वर्षमा यसै सोचअनुसार अघि बढेर वृद्धि हासिल गरेको हो ।  
त्यसैले यदि अर्थतन्त्रलाई उच्च, फराकिलो र दिगो वृद्धितर्फ डो¥याइ लक्ष्यअनुरूप मध्यम आयस्तरमा पु¥याउने हो भने नेपालले पनि यातायात, ऊर्जा, सिँचाइ तथा नदी समायोजन समेतका क्षेत्रमा उच्च र गुणस्तरीय लगानी गर्नु आवश्यक छ ।  अनि यातायात, ऊर्जा, कृषि र उद्योग क्षेत्रका पुराना संरचना तथा प्रविधिलाई नयाँ एवं आधुनिक संरचना र प्रविधिबाट विस्थापित गराउन पर्छ ।  यसो भएमा मात्र पूरै देशका जनताले आनन्दै आनन्दको महसुस गर्नेछन् ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना