राष्ट्रिय हित प्रवद्र्धन तथा कूटनीति

 kiran kumarकिरण कुमार



राष्ट्रिय हित राज्यको एक स्थिर तर दीर्घकालीन उद्धेश्यप्रति परिलक्षित विषय हो ।  राष्ट्रको अस्तित्व र गरिमालाई अक्षुण्ण र अचल राख्दै यो राष्ट्रलाई वास्तविक रूपमै राष्ट्र बनाउने र अगाडि बढाउने प्रमुख आधार पनि राष्ट्रिय हित हो ।  जसलाई राज्यको आन्तरिक गतिविधि र राज्यको अन्य नीतिसँगै कूटनीतिको माध्यमद्वारा थप सबलीकृत बनाइन्छ ।  
राष्ट्रिय हित र स्वार्थलाई मनन गर्दै नेपालको विदेश नीतिका केही आधार (स्थापित मान्यता) रही आएका छन् ।  संयुक्त राष्ट्र सङ्घको बडापत्र, पञ्चशीलको सिद्धान्त, असंलग्न राष्ट्रहरूको आन्दोलनको आस्था र सार्क वडापत्र जस्ता मूल्य र सिद्धान्तबाट नेपालको वैदेशिक नीति निर्देशित र सञ्चालित छ ।  यसैगरी संविधानमा उल्लेखित राज्यका मार्ग निर्देशक सिद्धान्त र नीतिहरू राज्य सञ्चालन र राष्ट्रिय हित प्रवद्र्धनका प्रमुख आधारका रूपमा रहेका छन् ।  तर पछिल्लो केही समय यता राष्ट्रिय हितका स्थापित विषयलाई नै प्रहार भएको कुरा उठेका छन् ।  यो विषयमा साझा धारणा विकासभन्दा बढी दलगत, निहित स्वार्थगत र आस्थागत आलोचना र व्याख्या छचल्किएका छन् ।
केही परिदृश्यलाई नियाल्दा नेपालभित्रका राजनीतिक तथा कूटनीतिक गतिविधिले राष्ट्रिय हितलाई असर गरेको चर्चा भएको पाइन्छ ।  राष्ट्रभित्रै विभिन्न दल र सम्प्रदायहरूबीचको बढ्दो ध्रुवीकरणमा वैदेशिक प्रभाव रहेको, नेपाली काँग्रेसका सभापतिको तिब्बती निर्वासन सरकार प्रमुखसँग एउटै मञ्चमा भेट भएको र पृथ्वीनारायण शाहको जन्मोत्सवमा बिदा नदिइएको सम्बन्धी विषयमा निकै चर्चा भए ।  यी उल्लिखित सबै विषयको बहस जुन रूपमा अगाडि आएका छन् ती सबै राष्ट्रिय हित प्रतिकूलताका लागि सहयोगी परिघटनाहरू हुन् ।  
राष्ट्रिय सुरक्षा र अक्षुण्णता, राष्ट्रिय एकता र आत्मीयता, सन्तुलित, कुशल र मर्यादित वैदेशिक सम्बन्ध, सुरक्षा निकायका सबलता, आर्थिक सामाजिक र सांस्कृतिक उन्नयन, कुशल नागरिक सम्बन्ध र स्वच्छ वैदेशिक व्यापार र रोजगार आधारभूत राष्ट्रिय हित र स्वार्थका विषय हुन् ।  राष्ट्रियतालाई कसरी अक्षुण्ण राख्ने, विविधताबीच एकता कसरी कायम राख्ने, आर्थिक, सामाजिक तथा सांस्कृतिक धरोहरलाई कसरी उचाइमा पु¥याउने, सन्तुलित र मर्यादित वैदेशिक सम्बन्ध कसरी स्थापित गर्ने भन्ने विषयमा आजको राजनीति, प्रशासन, मिडिया र नागरिक केन्द्रित हुनु पर्ने होइन र ? राष्ट्रिय स्वार्थ र हितका आधारभूत विषयहरूको निक्र्योल र सोको परिपालना सबैको निम्ति एक हुनु पर्ने होइन र ? के कस्ता विषय र विवादको चर्चा गर्दा वा नगर्दा राष्ट्रिय स्वार्थ बलियो हुने हो त्यतातर्फ सबैको ध्यान जानु पर्ने हो ।  राष्ट्रिय हित र स्वार्थ दलगत, समुदायगत र आस्थागत स्वार्थसँग दाँज्न सकिने विषयवस्तु हुँदैनन् ।
जातियता र क्षेत्रीयताका आधारमा राज्यको विभाजनको लामो र चर्किदो बहस, वैदेशिक सुसम्बन्ध नै खलल पर्ने गरी कुनै अमूक घटनाको निरन्तर चर्चा परिचर्चा, राष्ट्रिय एकीकरणको बलिदानका लागि सम्मानभन्दा विदा भएको÷नभएकोमा उग्रवादी विचारको प्रस्तुति जस्ता कयौँ बहस राष्ट्रिय हित कमजोर पार्ने र राष्ट्रिय स्वार्थप्रतिको आस्था स्खलित पार्ने गतिविधि सिवाय अरू केही हँुदै होइनन् ।
विदेश नीतिका प्रखर ज्ञाता हेनरी किसिङ्गरले नेताको कार्यबारे भन्नु हुन्छ, “नेताले जनतालाई त्यहाँ लग्ने हो जहाँ जनता पुग्न चाहन्छ” ।  वास्तवमा राज्यको हित प्रर्वद्धनमा नेता नै मुख्य कर्ता हो जसले राज्यलाई दीर्घकालीन सोचका साथ गतिशील बनाउँछ ।  त्यसैले नेताहरूले स्पष्ट बुझ्न पर्ने हो– नेपाली जनता पुग्न चाहने भनेको त्यहीँ हो जहाँ राज्यले समुन्नति प्राप्त गर्दछ, जहाँ नागरिकका क्षमताका आभा जाज्वल्यमान हुन्छन्, र जहाँ राज्यको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्था सु–सम्पन्न हुन्छ ।  समग्रमा जनता त्यहाँ पुग्न चाहन्छन् जहाँ राज्य बलियो र राष्ट्रिय हित प्रवद्र्धित भई नागरिक सन्तुष्टि प्रस्फुटित भएको अवस्था हुन्छ ।
हो, आजको बहस यही राष्ट्रिय हितमा केन्द्रित हुनपर्ने छ ।  राष्ट्रिय स्वार्थ विभिन्न रङ्ग र जात, क्षेत्र, विचारधारा र दलगत आबद्धता अनुरूप फरक पर्ने विषय हुँदै होइन ।  यो त सबैको साझा र प्रमुख सरोकार अनि चासोको विषय हो ।  यो राज्यको प्रगतिपथको यात्रा हो ।  यद्यपि यो छुट्टै अस्तित्वको नभई राज्यको सामरिक तथा भू–राजनीतिक अवस्था, वैदेशिक सम्बन्ध र सहयोग, विश्वव्यापी मूल्य मान्यता र राजनीतिक परिदृश्य जस्ता विषयहरूबाट प्रभावित हुन्छ ।  तथापि यी त्यस्ता परिस्थितिबाट प्रभावित भए पनि माथि उल्लेख गरे जस्तो दलगत, आस्थागत रूपमा फरक नभई यो सदैव साझा र सामाञ्जस्यपूर्ण र अन्तत राज्यहितमै केन्द्रित हुन्छ र हुनु पर्दछ ।  
कूटनीति राजनीति र राष्ट्रिय नीतिहरूद्वारा सञ्चालित हुँदै राष्ट्रिय हित प्रर्वद्धनमा केन्द्रित हुन्छ ।  कुनै पनि राज्यको कूटनीति कुन तह र तरिकामा रहने भन्ने विषय सो राज्यको सरकारका नीति र निर्देशनले स्पष्ट पार्ने विषय हुनेमा दुईमत रहँदैन ।  तथापि वर्तमानमा कूटनीति आफैँ बहुआयामिक बनेको छ ।  नागरिक कूटनीति, आर्थिक कूटनीति जस्ता कूटनीति सार्वजनिक कूटनीतिका महìवपूर्ण आधारका रूपमा स्थापित भएका छन् ।  त्यसैले कूटनीति सरकारको मात्र चासोको विषय हो भन्ने मान्यता अब रहेन ।  राजनीतिज्ञ, नागरिक, व्यवसायी, कर्मचारी, पत्रकार, विद्यार्थी, वैदेशिक रोजगारीमा आबद्ध सबैको निम्ति राष्ट्रको प्रतिष्ठा र उन्नयन, राष्ट्रिय एकता र अक्षुण्णता, आर्थिक, सामाजिक क्षेत्र र सुरक्षा निकायको सबलीकरण जस्ता यावत विषय प्रमुख सरोकारको विषय हुन् र हुनुपर्ने आवश्यकता छ ।  यी यस्ता विविध विषयले नै कूटनीति सबल पार्ने र राष्ट्रिय हित प्रवद्र्धनमा टेवा पु¥याउन उल्लेख्य भूमिका खेल्दछ ।  यद्यपि कूटनीति राष्ट्रिय हित प्रवद्र्धनको एउटा तरिका मात्र हो र तमाम विषयको केन्द्रबिन्दु त आन्तरिक राजनीति, सरकारले लिएको नीति र राज्यभित्रका गतिविधि नै त्यसका सर्वाधिक रूपमा निर्णायक हुन् ।  
राष्ट्रको सुरक्षा र अस्तित्वको जगेर्ना राष्ट्रिय हित प्रवद्र्धनको निःसर्त र बहस विहीन विषय हुन् ।  यसैगरी राष्ट्रको उन्नयन र समृद्धि, सन्तुलित र मर्यादित वैदेशिक सम्बन्ध, लोकतन्त्रको संवद्र्धन, सुरक्षा निकायका सबलीकरण, व्यापार व्यवसाय र संस्कृतिको उत्थान, सबलीकृत नागरिक सम्बन्ध, स्वच्छ वैदेशिक रोजगार जस्ता विषयहरू आज नेपालका लागि आधारभूत राष्ट्रिय हित जगेर्नाका मुद्दाहरू हुन् ।  
त्यस्ता मुद्दाहरूको उचित सम्बोधन गर्न सरकार प्रमुखकर्ता हुनेमा कसैको दुईमत छैन ।  यद्यपि लोकतन्त्र र खुला अर्थतन्त्र अँगालेको नेपालमा सरकार र राजनीतिज्ञसँगै नागरिक, कर्मचारी र अन्य सम्बद्ध व्यक्तिहरूको पनि भूमिकालाई कम आँकलन गर्न मिल्दैन ।  किनकि वर्तमान विश्व नागरिक कूटनीति र सार्वजनिक कूटनीतिमा बढी गाभिएको छ ।  राजनीति सरह नै आर्थिक, सामाजिक र नागरिक सम्बन्धहरू शक्तिशाली रूपमा स्थापित भएका छन् ।  त्यसैले राष्ट्रिय हित सबलीकरण सरकारको मात्र सरोकारको विषय नठानी सबैले आ–आफ्ना तह र तप्काबाट राष्ट्रिय हितका साझा मुद्दा प्रवद्र्धनमा समाहित हुन जरुरी छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना