तथाकथित फैसलामा मारिएका शहीद

Purushottam basnetपुरुषोत्तम बस्नेत



वि.सं. १९९७ को माघ १० गते शुक्रराज शास्त्रीलाई गोली हानेर मारियो ।  त्यसरी नै माघ २३ गते धर्मभक्त माथेमालाई तथा माघ १५ गते दशरथ चन्द र गंगालाललाई गोली हानियो ।  देशमा प्रजातन्त्रको स्थापनापछि यी चार अमर शहीदको स्मरणमा माघ १० देखि १६ सम्मलाई शहीद सप्ताहको रूपमा मनाउने गरिएको छ ।  शुक्रराज शास्त्री नेपाल नागरिक अधिकार समितिको अध्यक्ष थिए ।  उनलाई १९९५ को मङ्सिरदेखि नै जेलमा राखिएको थियो ।  मृत्युदण्ड दिइएका अरू तीनै जना प्रजापरिषद्सित सम्बद्ध थिए र उनीहरूलाई १९९७ को कात्तिकमा पक्राउ गरिएको थियो ।  राणा शासनकालमा नियम–कानुनभन्दा उनीहरूको हुकुममाथि हुन्थ्यो र त्यसैबाट सबै कुरा सञ्चालित हुन्थे ।  यही स्थितिमा उनीहरूले गठन गरेको तथाकथित विशेष अदालतले १९९७ को माघ ६ गते यी सपूतलाई मृत्युदण्डको सजाय सुनायो ।  त्यही फैसलाअनुसार त्यसको चार दिन पछिदेखि उनीहरूलाई गोली हान्ने क्रम सुरु गरियो ।  राणाहरूको एकतन्त्रीय शासनकालभन्दा राजा महेन्द्रको निर्दलीय शासनकाल अझ कठोर थियो ।  राणा शासनकालको जस्तै महेन्द्रको शासनकालमा पनि तथाकथित विशेष अदालतको फैसलाका आधारमा दुर्गानन्द झालाई गोली हानेर मारियो ।  यसैगरी, राजा वीरेन्द्रको शासनकालमा भीमनारायण श्रेष्ठ र यज्ञबहादुर थापालाई गोली हानेर मारियो ।  
२०१७ को पुस १ गते राजा महेन्द्रले जनताका यावत् अधिकारलाई अपदस्थ गरेर मुलुकलाई अन्धकारमा धकेले ।  नेपाली जनताले त्यसलई हेरेर मात्र बस्न सकेनन् ।  उनीहरू त्यसको विरोधको सङ्घर्षमा होमिए ।  जनताको सङ्घर्षलाई बर्बरताको सबै सीमालाई उछिनेर दमन गरियो ।  अनेक ठाउँमा अनेकौँलाई जिउँदै गहिरो खाडलमा हालेर पुरियो ।  कतिको टाउको काटेर बाँसको टुप्पामा झुण्ड्याएर प्रदर्शनी गरियो ।  कतिलाई जेल सार्ने बहानामा बेपत्ता पारियो ।  कतिलाई भाग्न खोज्दा गोली हान्नुपरेको भन्ने झुट्टा भनाइमा देखादेखी गोली हानेर मारियो ।  पेशेवर हत्याराहरूलाई प्रयोग गरेर, देशभित्र रहेका र निर्वासनमा रहेका नेताहरूको हत्या गरियो ।  क्रूरताका यस्ता अनेक जघन्य काण्डहरूलाई नजिकैबाट देख्ने कतिपय नेपाली यसको प्रतिकारमा दृढ साहस र सङ्कल्प लिएर अघि आए ।
दुर्गानन्द झा २०१४ को भद्र अवज्ञा आन्दोलनदेखि नेपाली काँगे्रससित सम्बद्ध थिए ।  २०१५ सालको आमचुनावमा उनले जनकपुरको सबै क्षेत्रमा नेपाली काँग्रेसलाई विजयी गराउन सक्रिय भूमिका निर्वाह गरेका थिए ।  त्यो क्षेत्रमा नेपाली काँग्रेसको जन–निर्वाचित सरकारबाट भएका कार्यहरूबाट उनी निकै उत्साहित थिए ।  राजा महेन्द्रको पुस १ को राष्ट्रघातले उनलाई आक्रोशित पा¥यो ।  त्यसको प्रतिकार गर्न दृढ अठोटका साथ उनी योजनाबद्ध तवरले लागिरहे ।
धनुषाको नगरायण गा.वि.स. को जटहीका दुर्गानन्द झा, त्यसबेला नेपालको सीमावर्ती स्थान भारतको उम गाउँको दिनदयाल हाइस्कुलको दशौँ कक्षाका विद्यार्थी थिए ।  नेपाली काँग्रेसका धेरै निर्वासित नेता र कार्यकर्ताहरू उनको गाउँमा बस्थे ।  त्यसको नजिकै जयनगरमा नेपाली काँग्रेसको विशेष क्याम्प थियो ।  झासँगै उम गाउँको एउटै स्कुलमा पढ्ने अर्का नेपाली विद्यार्थी अरवीन्दकुमार ठाकुरसमेतको एउटा सानो तर देश र जनताको निमित्त केही गर्न प्रतिबद्ध एउटा दस्ता तयार भयो ।  दुर्गानन्द झा, अरवीन्दकुमार ठाकुरसमेत त्यस दस्ताका अरूहरूले पनि धेरैपटक जयनगरमा सरोजप्रसाद कोइरालासित भेटेका थिए ।  नेपाली काँग्रेसको जयनगर क्याम्पमा उनीहरूले हतियार चलाउने समान्य तालिम लिएका थिए ।
२०१८ को माघमा राजा महेन्द्रको जनकपुर आउने कार्यक्रम तय भएको थियो ।  दुर्गानन्द झा र उनका केही साथीहरूले त्यसैबेला महेन्द्रलाई बम हान्ने योजना तयार पारे ।  यो निरङ्कुशताको विरोधमा दृढ साहसका साथ आफूलाई समर्पित गरेर देश र जनताको हितमा तयार पारिएको साहसी योजना थियो ।  २०१८ को माघ ९ गते राजा महेन्द्रको विमानले जनकपुर विमानस्थलमा अवतरण ग¥यो ।  त्यसबेला अरवीन्द ठाकुर बम लिएर विमानस्थलमा पुगिसकेका थिए तर उनी पक्राउ परे ।  विमानस्थलमा बम हान्ने योजना सफल भएन ।  त्यही दिन, माघ ९ गते अपराह्न राजा महेन्द्र जानकी मन्दिरको नजिक पुग्दा, दुर्गानन्द झाले महेन्द्रले चढेको जीपमा बम प्रहार गरे ।  जीपको केही भाग क्षतिग्रस्त भयो तर राजा महेन्द्रलाई केही भएन ।
बम प्रहार गरेर, झा त्यहाँबाट सुरक्षित तवरले उम्के ।  भोलिपल्ट उनी भारतको उम गाउँ पुगे ।  बम हान्ने दुर्गानन्द झा हुन् भन्ने थाहा भइसकेको थियो ।  सरकारले उनको व्यापक खोजी सुरु ग¥यो ।  बम काण्डमा कुनै संलनता नभएका उनका नातेदार र उनका नजिकका साथी दर्जनौँलाई पक्राउ गरेर उनीहरूलाई निर्मम यातना दिइयो ।  यसले झालाई स्तब्ध पा¥यो ।  बम उनले हाने तर त्यसको कुनै जानकारी नभएका धेरैले असैह्य यातना बेहोरिरहन परेको छ ।  त्यसको निवारणको निमित्त उनले देशभित्र फर्कने र बम प्रहार गरे बापत् हुने जस्तोसुकै सजायलाई पनि आफैँले बेहोर्ने अठोट गरे ।  नेपाली काँग्रेसका नेताहरूले यो थाहा पाएर, उनलाई फर्कन दिएनन् ।  उनका नजिकका तर नितान्त निर्दोष अनेकौँलाई पक्राउ गर्ने र अत्यन्त बर्बर तवरले यातना दिने क्रम अझ बढिरहेको थियो ।  त्यसलाई झाले सहन गर्न सकेनन् ।  अन्ततोगत्वा पार्टीका नेताहरूलाई थाहै नदिई, २०१९ को वैशाखमा झा नेपाल फर्के ।  नेपाल भूमिमा टेक्ने बित्तिकै परवाह स्टेशनमा उनलाई पक्राउ गरियो र कडा निगरानीका साथ भोलिपल्ट हेलिकप्टरबाट काठमाडौँ ल्याइयो ।
दुर्गानन्द झा त्यसबेलाको सशस्त्र सङ्घर्षमा संलग्न हुनेहरू सबैको मुद्दा हेर्न पशुपतिप्रसाद कोइराला, झपटसिंह रावल र गुणनाथ उपाध्यायसमेतको एक तथाकथित विशेष अदालत गठन गरियो ।  त्यसपछि, ‘राजकाज अपराध र सजाय ऐन २०१९’ को तर्जुमा गरियो ।  त्यसमा राज्यविरुद्धको अपराध भनिएका कतिपय मुद्दामा मृत्युदण्डको कठोर सजाय हुने व्यवस्था गरियो ।  कसुर भनिएको घटनाभन्दा पछि ऐन बनाएर, त्यसमा त्यही ऐनले व्यवस्था गरेअनुसार सजाय दिने निर्देशनमा, विशेष अदालतले, २०१९ को भदौ १९ का दिन दुर्गानन्द झासमेतलाई मृत्युदण्डको सजाय दियो ।  २०१९ को फाल्गुण २४ गते सर्वोच्च अदालतका न्यायाधीश दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायको डिभिजन बेञ्चले झासमेत अरवीन्दकुमार ठाकुर र दलसिंह थापा यी तीनै जनालाई विशेष अदालतले दिएको मृत्युदण्डको सजायलाई सदर ग¥यो ।  राजा महेन्द्रले २०२० को पुस ११ मा दुर्गानन्द झालाई दिइएको मृत्युदण्डको सजायलाई स्वीकृति दिए ।  त्यसको एक महिना जति पछि २०२० को माघ १५ गतेको मध्यरातमा सेन्टर जेलको गोलघरबाट ल्याएर, दुर्गानन्द झालाई सेन्टर जेल र जनाना जेलको बीचमा गोली हानेर हत्या गरियो ।  १९९७ सालका अमर शहीदको सम्मानमा नेपालले शहीद सप्ताह मनाइरहेकै बेला, दुर्गानन्द झालाई हत्या गरेर निरङ्कुशताको विरोधमा निडरताका साथ उभिने एक जना थप शहीदको पङ्क्तिमा उनलाई पनि उभ्याइयो ।  
राजतन्त्रको निरङ्कुशतालाई अघि बढाउन राजा वीरेन्द्रले पनि महेन्द्रकै कठोर नीतिलाई यथावत् अनुशरण गरे ।  उनले पनि त्यस्तै तथाकथित विशेष अदालत खडा गरेर, कानुनको कुनै मर्यादा पालन नगरी, धेरैलाई कडाभन्दा कडा सजाय दिन लगाए ।  महेन्द्र शासनकालमा जस्तै वीरेन्द्रको शासन कालमा पनि जिउँदै कतिलाई खाडलमा हालेर पुरियो ।  जेल सार्दा भाग्न खोजेको भन्ने सर्वथा झुट्टा बहानामा अनेकौँलाई जेलबाट बाहिर ल्याएर गोली हानियो ।  महेन्द्रको शासन कालमा जस्तै गठन गरिएको बागमती विशेष अदालतले २०३१ को मङ्सिर २१ का दिन भीमनारायण श्रेष्ठलाई मृत्युदण्डको सजाय दियो ।  त्यस्तै ऋद्धिमानन्द बज्राचार्यको अर्को विशेष अदालतले कप्तान यज्ञबहादुर थापालाई २०३२ को कात्तिक ३० गते मृत्युदण्ड दियो ।  मृत्युदण्ड दिइएका यी दुवैको सजायलाई सर्वोच्च अदालतका न्यायाधीश वासुदेव शर्मा र झपटसिंह रावलको डिभिजन बेञ्चले २०३३ को फागुन ६ गते सदर ग¥यो ।  श्रेष्ठ र थापा दुवैलाई दुई वर्ष जति सेन्टर जेलको गोलघरमा अत्यन्त यातनापूर्ण अवस्थामा राखियो ।  २०३५ को माघ २४ गते राति उनीहरूलाई जेलबाट बाहिर लगियो र २६ गते राति भीमनारायण श्रेष्ठलाई सप्तकोशीको टप्पुमा र कप्तान यज्ञबहादुर थापालाई कमलानदीको किनारमा पु¥याएर गोली हानी हत्या गरियो ।
यसरी आफू समेत आफ्ना यावत् कुरालाई देश, जनता र प्रजातन्त्रमा समर्पित गरेर आफ्नो प्राणको आहूति दिने यी सपूतलाई राणातन्त्र र शाहतन्त्रको तथाकथित विशेष अदालतले मृत्युदण्डको सजाय दिएको थियो ।  त्यसैमा उनीहरू सबैलाई माघ महिनामा नै हत्या गरियो ।  माघ महिना त्यसैले राणातन्त्र र शाहतन्त्रको तथाकथित विशेष अदालतको फैसलामा मारिने सपूतको शहादतसित जोडिएर रहेको महिना हो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना