मान–सम्मानको प्रचलित शैलीविरुद्ध उद्घोष

surya thapaसूर्य थापा

 

नेकपा (एमाले) का २० वटा जनवर्गीय सङ्गठन आबद्ध रहेको मोर्चा सङ्गठनका केन्द्रीय पदाधिकारीहरूले भर्खरै पोखराबाट एउटा भिन्न उद्घोष गरेका छन् ।  प्रदेश नं ४ को सुन्दर महानगर पोखरामा २०७३ माघ ९ देखि ११ गतेसम्म सम्पन्न राष्ट्रिय भेला तथा प्रशिक्षणका सहभागीहरूले नेपाली क्रान्तिको सिद्धान्त माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादप्रति प्रतिबद्धता जनाउँदै, तिनकै मार्गदर्शनमा समृद्ध नेपालको निर्माण गर्ने, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउने, राष्टिय स्वाभिमान र स्वतन्त्रतालाई अक्षुण्ण राख्ने, संविधानको रक्षा, सम्बद्र्धन र कार्यान्वयनमा जोड दिँदै सामाजिक न्याय र समानतामा आधारित समतामूलक नेपाली समाजको निर्माण गर्न प्रतिबद्धता जाहेर गरेका छन् ।  नेकपा
(एमाले) लाई बहुमतसहितको पहिलो पार्टी बनाउने र त्यस निम्ति सबै जनसङ्गठनहरूको समन्वयात्मक एवं प्रभावकारी परिचालनमा जोड दिएका छन् ।  नेपालको राष्ट्रिय राजनीतिमा यस भेलाले लिएका निर्णयको दूरगामी महìव रहेको छ ।  भेलाले गरेका यी दुईवटा घोषणा विशेष महìवपूर्ण छन् ः
हामी औपचारिक कार्यक्रमहरूमा अनावश्यक तडकभडकलाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछौंँ ।  अतिथिहरूलाई लगाइदिने ब्याच, माला र खादाको अत्यधिक प्रयोगबाट हाम्रा कार्यक्रमहरू भद्दा एवं खर्चिला भइरहेका छन् ।  हामी यस्ता परम्परा र मञ्चमा ठूलो सङ्ख्यामा अतिथिको भीड थुपार्ने र आसन ग्रहणमा मूल्यवान समय खेर फाल्ने बोझिलो र खर्चिलो कार्यशैलीलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।  हामीले अब प्रमुख अतिथि, सभाध्यक्ष र सीमित वक्तालाई मात्र मञ्चमा राख्ने, अरू सबै आमन्त्रित अतिथिलाई दर्शकदीर्घामा नै राखी कार्यक्रम सञ्चालन गर्ने नयाँ संस्कारको विकास र अवलम्बन गर्नेछौँ ।  
    हामी हाम्रा आदरणीय नेताहरूको सामाजिक प्रतिष्ठा, सम्मान र इज्जतको अझ अभिवृद्धि गर्दै तद्अनुकूल सम्मानजनक व्यवहार गर्न संवेदनशील छौँ ।  तर, नेताहरूलाई स्वागत गर्ने नाममा एयरपोर्ट र बसपार्कहरूमा अनावश्यक भीड जम्मा हुँदै व्यक्तिगत रूपमा नजिकिने आधार खडा गर्ने, अनावश्यक सामीप्यता दर्शाउने र त्यसैलाई सम्मान तथा मर्यादा गरेको ठान्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सहमत छौँ ।  यस्तै प्रवृत्तिका आधारमा व्यक्तिको पदोन्नति गर्ने गलत अभ्यासलाई रोक्नसमेत हामी जनसङ्गठनहरू कटिबद्ध छौँ ।  साथै, हामी सबै जनसङ्गठनहरू जातीय छुवाछूत, लैङ्गिक तथा सामाजिक विभेदपूर्ण व्यवहार र महिला हिंसा, साम्प्रदायिक विद्वेष बढाउने खालका अभिव्यक्ति तथा व्यवहारको समूल अन्त्य गर्न प्रतिबद्ध छौँ र त्यस्ता क्रियाकलापहरूलाई सङ्गठनभित्र दण्डनीय विषय बनाउने घोषणा गर्दछौँ ।   
देश विदेशका अनेकन् कार्यक्रमहरूको सुरुवातदेखि अन्तिमसम्म नै अतिथिहरूलाई आसनग्रहण गराउनुपर्ने, विषयगत औचित्य र विशेषज्ञताको आधारमा नभएर पद र व्यक्तिलाई खुसी पार्न मन्तव्यको अन्तहीन शृङ्खला र पट्टयारलाग्दो अभ्यास गर्ने यो रवैयाको अन्त्य गर्न कोही न कोही अग्रसर हुनैपर्दथ्यो ।  ४१ वा ५० किलोग्रामसम्मका ठूलाठूला माला लगाइदिने, विभिन्न शङ्कास्पद गतिविधिका अक्षर लेखिएकासमेत रङ्गीचङ्गी खादा लगाइदिएर सम्मान गरेजस्तो गरेर आफ्नो निहीत स्वार्थसिद्ध गर्नेजस्ता अनुचित व्यवहारसमेत यत्रतत्र देखिने गरेकै छन् ।  आ–आफ्नो सांस्कृतिक मूल्य, मान्यता र परम्पराको सम्मान र निरन्तरता एवं अझ विकास र विस्तार गरिनु स्वाभाविकै हुन्छ, तर पुर्खाले प्रयोग नै नगरेको खादालाई जो कोहीले प्रयोग र प्रचलन  गर्ने र त्यसैलाई सम्मान गरेको या सम्मानित भएको ठान्ने भ्रममा बाँच्ने अभ्यास कदापि उचित थिएन र होइन ।
दुई वर्षअघि एक खाडी मुलुकको राजधानीमा आयोजित नेपाली समुदायको एउटा कार्यक्रममा सहभागी हुने मौका मिलेको थियो ।  त्यतिबेला ९६ जनालाई आसनग्रहण गराइएको मात्र होइन, २२ जना वक्ताहरूको भाषण सुन्नु परेर हामी हायलकायल नै भएका थियौँ ।  अझ त्यहाँ बोलिएका भाषण यस्ता थिए कि देशभित्र तत्कालीन अवस्थामा केपी शर्मा ओली, सुशील कोइराला र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परस्परमा सहमति गर्दासमेत तिनको निष्कर्षमा पुग्न सम्भव थिएन ।  सिङ्गो दिनभरिजस्तो नै नेपालीहरूले चर्काचर्का भाषण गरे र विदेशी भूमिमा हामी किन आएका छौँ भन्ने समेत बिर्सेर समय खेर फाले ।  यो स्थिति आज संसारभर नै चलिरहेको छ ।  यो अत्यन्त अनुत्पादक र वाहियात अभ्यास हो भन्ने थाहा हुँदाहुँदै पनि हामी अरूको खुसीका लागि मनपराइ नपराइ अपनाउन अभिशप्त थियौँ र छौँ ।  दुनियाँभर  यस्तो अरू कसैले गर्दैनन्, तैपनि हामी नेपाली सम्मान, प्रतिनिधित्व र अलग अस्तित्व प्रदर्शन गर्न लागिपरेकै हुन्थ्यौँ ।  कम्तीमा अब यसलाई गलत र नयाँ ढङ्गले सोचविचार गरेर साधारण रूपमा पद्धति बसालेर अघि बढ्नैपर्ने भइसकेको एउटा त्याग्नैपर्ने अभ्यासका रूपमा स्वीकारिएको छ ।
प्रायशः जिल्ला–जिल्लामा जाँदाका अवस्था पनि यसभन्दा भिन्न हुँदैन ।  नागरिकलाई सेवा दिन राज्यकोषबाट तलब, भत्ता र सुविधा खाएर खटिएका सिडीओ, एलडीओ, न्यायाधीश र सुरक्षा प्रमुखसमेत यस्ता सम्मान, स्वागत र भाषणबाजीमा व्यस्त रहेर सेवाग्राहीलाई भोलि भोलि भन्दै अल्मल्याउने, दुःख दिने र समय खेर फालिदिने गरिरहेका देखिन्छन् ।  अमेरिका, बेलायत, चीन र अरू विकसित देशमा यसरी फजुल खर्च गर्ने वा अनुत्पादक रूपमा समय बिताउने गरेको देखिँदैन, यस्तो फूर्सद मानिसहरूलाई प्रायः हुँदा पनि हुँदैन – न भन्नेलाई न त सुन्नेलाई नै ।  एउटै विषयमा कलम बलियो कि तरबार भनेजस्तो वादविवाद प्रतियोगितामा सरिक भएर धेरै महìवपूर्ण काम गर्न वा लेख्न पढ्न समय नै निकाल्न नसक्ने जीवनशैली बाँचिरहेका दुःखीहरू समेत हामीकहाँ धेरै छन् ।  तिनले यो अवस्थामा सुधार गर्नुपर्छ भनेर कहिल्यै चूँसम्म बोल्नसकेको पाइँदैन ।
हामीहरू राणा जहानियाँ तन्त्र, पञ्चायती हुकुमी शासन, निरङ्कुश राजतन्त्र, सीमित प्रजातन्त्र, लोकतन्त्र र  गणतन्त्रका अनेकौँ अभ्यास गर्दै यहाँसम्म आइपुगेका छौँ ।  सामन्तवादको समूल अन्त्य गर्ने भन्दै आजीवन सङ्घर्ष गरेका, मुक्ति वा मृत्युको जोखिमपूर्ण जीवनयात्रा तय गरेर संयोगले नाफाको जिन्दगी बाँचिरहेकाहरू समेत सत्ताको नजिक हुँदा वा दुईचार दिन सत्तामा पुग्दा नयाँ राजा रजौटाजस्तो रवाफ र धक्कु लगाउन वा देखाउन तल्लीन हुन्छौँ ।  यो सामन्तवादको कारणले नभएर त्यसकै बँचेखुचेका अवशेषहरूको प्रभावले नै गर्दा भएको हुनुपर्छ ।  जबकि हामीले राजतन्त्र फालिसक्यौं, तर यस्ता अवशेषहरूलाई चाहिँ निरन्तरता दिइरहेका छौँ ।
समाज परिवर्तन गर्न अरूलाई उपदेश दिनजस्तो सजिलो र सहज छैन ।  महन्त वा मठाधीस र फकिरलेजस्तो बोल्न सजिलै हुन्छ, तर बोलेको कुराको प्रभाव र परिणाम नहुने हो भने राजनीति र फकिरगिरीमा कुनै अन्तर हुँदैन ।  यदि परिवर्तित समय र गणतान्त्रिक चेतनाले लैस हुने जो कोहीले पनि आफूले आफैँलाई बदल्न सक्नुपर्छ ।  परिवर्तनका लागि सबभन्दा पहिले आफ्नै टाउकोमा आगो सल्काउन सक्नुपर्छ भने सत्तासीन हुनेहरूसमेत पुरानो बोतलमा नयाँ रक्सी हालेर भरिएजस्तो गर्ने हो भने महन्त र फकिरभन्दा राजनीतिज्ञहरू किमार्थ फरक हुने र देखिने स्थिति रहँदैन ।  साँच्चिकै समाज परिवर्तनको प्रक्रियाको नेतृत्व राजनीतिले नै गर्ने हो भने यो नयाँ प्रचलन र संस्कारको अबलम्बन अरू राजनीतिक दलहरूका जनवर्गीय सङ्गठनहरूले पनि गर्ने आँट, हिम्मत र साहस देखाउन सक्नुपर्छ ।  र, यो प्रक्रियालाई देशका सबै राजनीतिक पार्टी, समाजका प्रत्येक तह, तप्का, समुदाय र अगुवाहरूले व्यवहारमा अभ्यास गर्न सक्नुपर्छ ।
यो नेकपा (एमाले) सम्बद्ध मोर्चा सङ्गठनको मात्र नभएर सिङ्गो देशलाई पिरोलिरहेको र मानिसहरूलाई बातबहादुर बनाइरहेको महारोग हो ।  यसको उपचार अत्यावश्यक छ ।  समस्याको स्थिति अवगत भएर उपचार गर्ने सङ्कल्प गरिएको छ ।  सबै मिलेर यस महारोगबाट मुक्त भएर नयाँ, सादा, सरल र मितव्ययी संस्कार, असल परम्परा र अभ्यासको थालनी गरौँ !





थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना