सङ्क्रमणकालमा स्वार्थको चक्कर

 nirmal acharyaनिर्मलकुमार आचार्य

 

‘शङ्काले लङ्का डढाउँछ’ भन्छन् ।  लङ्का डढ्ला, नढड्ला त्यो बेग्लै कुरो, तर यतिखेर शङ्काले नेपालमा भयावह अवस्था सिर्जना गर्ने आशङ्का बढेको छ ।  
शङ्का अविश्वासको दोस्रो नाम हो ।  यही अविश्वास हो, जसको जरा नेपालको राजनीतिमा गहिरिएको मात्र छैन, हाँगाबिंगा उत्तिकै फैलिएका पनि छन् ।  वनमारा झारझैँं फैलंँदै गएको अविश्वासलाई अझै पनि नरोक्ने हो भने नेपालको चालू राजनीति छिट्टै भीरबाट लड्न लागेको गोरुको अवस्थामा पुग्ने पक्का छ ।  
राजनीतिक दल पत्याउनै नसकिनेगरी आपसी अविश्वासको दलदलमा फस्दै गइरहेका छन् ।  सत्तापक्ष र प्रतिपक्षबीच त अविश्वासको गहिरो खाडल छँदैछ ।  सत्ताधारीकै बीचमा पनि अविश्वासको बादल मडारिन थालेको सङ्केत देखिंँदैछ ।  मधेसकेन्द्रित दलको प्रमुख प्रतिपक्षी दल नेकपा
(एमाले)सित विश्वासको साइनो गाँसिने छेकछन्द निकै टाढासम्म देखिंँदैन भने सत्ताधारी दलसँग पनि नाता कस्सिइहाल्ने छाँट छैन ।  आदिवासी, जनजाति, दलित, अल्पसङ्ख्यक समुदाय आदि पनि अविश्वासको अम्लवर्षाले आक्रान्त छन् ।  समग्रमा, राजनीतिक जगत् अकल्पनीय अविश्वासको असरले रुग्णप्रायः, निरूपाय तथा निर्बल सावित हुँदै गएको छ ।  
संविधान बनेपछि कार्यान्वयनका लागि झनै एकजुट हुनुपर्ने राजनीतिक दल किन यतिबिघ्न अविश्वासी बनेका होलान् ? गम्भीर खोजीको विषय बनेको छ ।  संविधानमा सबैलाई समेटी कोही नछुट्नेगरी यसलाई अधिकतम स्वीकार्य बनाउँदै अघि बढ्नुपर्ने घडीमा किन बाह्र सत्ताइस कुरा भइरहेका छन् ? ‘१२ बुँदे’ रेललाई गन्तव्यमा नपु¥याउँदै डिब्बा तोडफोड र पटरी बिगार्न किन चालकगण नै उद्यत छन् ? जनसाधारणले ठम्याउन सकेका छैनन् ।  यस अर्थमा, एक आपसमा टाढिँदै गएका राजनीतिक दलप्रति जनताको समेत अविश्वास बढ्दो छ ।  अविश्वासले वितृष्णा र वितृष्णाले घृणा उब्जाउँछ ।  घृणा उब्जिएपछि के हुन्छ ? सर्वविदित पक्ष भएकाले यसको बेलिविस्तार लगाइरहनु जरुरी छैन ।  
झट्ट हेर्दा मुद्दा संविधान संशोधन र स्थानीय निर्वाचनको जस्तो देखिए पनि मूलतः समस्या शङ्का अर्थात् अविश्वासकै छ ।  राजनीतिक दल अर्काप्रति विश्वास गर्न पटक्कै राजी देखिँदैनन् ।  दोस्रो जनान्दोलनपछि महान् उपलब्धि मानिएका समावेशी लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयताजस्ता महŒवपूर्ण पक्षमै जनान्दोलनकारी शक्तिसमेत एकमत नरहनुले यत्र, तत्र, सर्वत्र अविश्वास फैलँदै गएको छ ।  प्रादेशिक सीमा सन्दर्भले अविश्वासको आगोमा घिउ थप्ने काम गरेको छ ।  मधेसलाई पहाडसित मिलाउनैपर्ने अथवा पहाडलाई मधेसबाट अलग्याउनैपर्ने विपरीत उग्र दृष्टिकोणबीच सद्भावपूर्ण उपाय नटुसाउँदा विश्वासको खडेरी यथावत् छ ।
निश्चय नै राष्ट्र,  राष्ट्रियता यतिखेर अत्यन्तै संवेदनशील अवस्थामा छ ।  परम्परागत पुरानो प्रणाली त्यागिसकेको तर नयाँ पद्धति पूर्णतः बसाली नसकेको सङ्क्रमणकालीन अवस्था कुनै पनि मुलुकका लागि ज्यादै तरल, अनिश्चित र चुनौतीपूर्ण हुनु अनौठो होइन ।  पुरानो व्यवस्था ढाल्न जीउज्यान लगाएका शक्तिले नयाँ पद्धति बसाल्न पनि उत्ति नै  प्रयास गर्नुपर्छ ।  यसका लागि राजनीतिक दलबीच सहमति, सहकार्य र एकता हुनैपर्छ ।  नत्र इतिहासले धिक्कार्ने कुरो त छँदैछ, वर्तमानले सराप्ने र भविष्यले नकार्नेछ ।  अतः सबै राजनीतिक दल मिलेर सम्पूर्ण नेपालीलाई समेटी संविधान कार्यान्वयनको बाटोमा समर्पित हुनु वर्तमान आवश्यकता बनेको छ ।  
राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाभिमान र स्वाधीनता जोगाउनुपर्ने अवस्थामा राजनीतिक दल अविश्वासको शिकार हुनु दुर्भाग्यको परिचायक हो ।  हिमाल, पहाड र मधेसका जनताको एकतामा नै नेपालको गौरव अविच्छिन्न रहँदै आएको यथार्थलाई कसैले पनि बिर्सनुहुँदैन ।  अहिले पनि उही एकता र सद्भाव मुलुकका लागि अपरिहार्य छ ।  हाम्रो धर्मशास्त्रले पनि यही आवश्यकता औँल्याएको यतिखेर स्मरणीय छ ।  
राष्ट्रस्य लक्षणं लक्ष्यं राष्ट्र सम्मानवर्धनम् ।
जातीयता च  राष्ट्रार्थां राष्ट्रार्थां प्रान्तवासिता । ।
वन्धुताऽपि च राष्ट्रार्थां राष्ट्रार्थ जीवनं भवेत् ।
मरणं चापि राष्ट्रार्था न राष्ट्रविपरीतता । ।
सर्वाणि शुभकार्याणि राष्ट्रसंवृद्धिहेतवे ।
देवपूजाऽपि राष्ट्रार्थां सर्वं राष्ट्रार्पणे भवेत् । ।
आर्याः शिष्याः जैनबौद्धाः यवनाश्च यहूदिनः ।
ईसवीयाः पाश्र्वगाश्च सर्वे वै सन्तु राष्ट्रियाः । ।
राष्ट्रस्य ज्येष्ठतासिद्ध्यै कनिष्ठैर्भूयतां समैः ।
ज्येष्ठता नःप्रियाचेत्स्यात् राष्ट्रं ज्येष्ठं  नसम्भवेत् । ।
शत्रोराक्रमणे हस्तौ पादौ सगम्य यत्नतः ।
देहरक्षां प्रकुर्वन्ति राष्ट्ररक्षां तथा भवेत् । ।
राष्ट्रे तिष्ठन् तदन्नं च भुञ्जानश्चेद् भवेदरिः ।
राष्ट्रान्निष्कास्यतां राज्ञा, सोऽन्यथाराष्ट्रनाशकृत् । ।
तस्माद्राष्ट्रहितार्थाय सर्वैः संयत्नता सदा ।
राष्ट्रे संरक्षिते सर्वं रक्षितं सम्भविष्यति । ।
स्वराज्ये सर्वसौख्यानां वृद्धिः संजायते यतः ।
तस्मात्स्वराज्यं स्वाराज्यं तत्प्रयत्नेन रक्ष्यताम् । ।
अर्थात्, राष्ट्रको  रक्षा नै हाम्रो मुख्य लक्ष्य हुनुपर्छ ।  दोस्रो लक्ष्य भनेको राष्ट्रको सम्मान बढाउनु हो ।  जातीयता, प्रादेशिकता, बन्धुत्व आदि सबैथोक राष्ट्रहितका लागि हुनुपर्छ, जीवन र मरणसमेत राष्ट्रहितका लागि हुनुपर्छ ।  राष्ट्रहित विपरीतको कुनै काम हुनुहुँदैन ।  देवदेवीका पूजा पनि राष्ट्रहितमै वा राष्ट्रको उन्नतिमा समर्पित हुनुपर्छ ।  आर्य, बौद्ध, जैन, सिख, मुसलमान, ईशाई आदि सबै राष्ट्रहितलाई स्वधर्म सम्झेर समर्पित हुनुपर्छ ।  राष्ट्रको श्रेष्ठताका लागि आफूलाई कनिष्ठ (सानो) सम्झेर मुलुककै श्रेष्ठता र ज्येष्ठता बढाउन सक्दो जोड लगाउनुपर्छ ।  जातीयताको भावना हुनु नराम्रो होइन तर यसको उद्देश्य आपसी सद्भाव बिगार्नेतिर नभई राष्ट्रहितमै हुनुपर्छ ।  प्रादेशिकताको भावनालाई पनि राष्ट्रहितमै समर्पित गर्नुपर्छ ।  अन्यथा प्रदेश, प्रदेशबीच वैमनश्य बढ्ने डर रहन्छ ।  तसर्थ प्रादेशिकता राष्ट्रियताको आधारबाट बाहिर हुनुहुँदैन ।  
सैन्यटुकडी जस्तै प्रदेश, प्रदेशले राष्ट्रको रक्षा गर्नुपर्छ ।  जीवन, मरण पनि राष्ट्रहितमै हुनुपर्छ ।  नत्र राष्ट्र दुर्बल भएमा हामी कदापि बलिया हुनसक्दैनाँै ।  राष्ट्र पराधीन हुँदा हाम्रो जीवनको अर्थ पनि रहँदैन ।  त्यसैले राष्ट्रवासीको कर्तव्य भनेकै मुलुकलाई आन्तरिक तथा बाह्य दुवैखाले शत्रुबाट निरन्तर बचाउनु हो ।  हाम्रा आर्थिक, नैतिक, सामाजिक, सांस्कृतिक, पारिवारिक तमाम पक्षको रक्षा मुलुकको रक्षाबाट नै हुनेभएकाले राष्ट्ररक्षामै सबै समर्पित हुनुपर्छ ।  
प्राचीन धर्मशास्त्रका आधारमा तत्कालीन भारतीय परिवेशका लागि लेखिएका यी श्लोक हाम्रानिम्ति पनि प्रेरणादायी रहेकाले यतिखेर स्मरण गरिएको हो ।  नेपालीको राष्ट्रपे्रमका सम्बन्धमा कसैले शङ्का गर्नु जरुरी छैन ।  जहाँसम्म राष्ट्ररक्षाको कुरो छ, उत्तर, दक्षिण सबैतिर स्थानीय बासिन्दाले सीमासुरक्षकको वन्दनीय कार्य गर्दै आएको छर्लङ्गै छ ।  राजनीतिक दल आपसमा मिल्ने हो भने सीमासुरक्षा, स्वाधीनताजस्ता पक्षमा पनि अभेद्य स्तम्भ निर्माण हुनसक्छ ।  अन्यथा, कतै अन्तर्राष्ट्रिय कानुन मिचेर सीमाक्षेत्रमा गुम्बा तयार गरिनेछ भने कतै हाकाहाकी सिमाना उल्लङ्घन गर्नेक्रम चलिरहनेछ ।  गलत ढङ्गबाट बनाइएका बाँधका कारण बाढीपीडित हुन बाध्य जनताका समस्या मेट्न पनि दलीय मेल जरुरी छ ।  भाइ फुटे गँवार लुटेको अवस्थाले यत्र, तत्र बिग्रिएको पारालाई सम्हाल्ने उपाय भनेकै दलीय एकता हो ।  मधेस, पहाड, हिमालका नेता मिलुन्, जनताको पुरानै नारा हो तर सुन्नुपर्नेले नसुनिदिएपछि जनता निरास्सिन बाध्य बनेका छन् ।  
नेपालको भूराजनीतिक अवस्थाका कारण पनि राष्ट्र र राष्ट्रियताका सम्बन्धमा सर्वदलीय एकता अनिवार्य पक्ष बनेको छ ।  यसलाई एक, एक औँंलाको कमजोरी र मुठ्ठीको बलको दृष्टान्तबाट बुझ्न, बुझाउन सकिन्छ ।  महान् नीतिकार विदुरको भनाइ पनि अहिले अविस्मरणीय बनेको छ ।
महानप्येकजो वृक्षो बलवान् सुप्रतिष्ठितः ।
प्रसह्य एव वातेन सस्कन्धो मर्दितुं क्षणात् । ।
अथ ये सहिता वृक्षाः सङ्घषः सुप्रतिष्ठिताः ।
तेहि शीघ्रतमान् वातान् सहन्तेऽन्योन्यसंश्रयात् । ।
एवं मनुष्यमप्येकं गुणैरपि समन्वितम् ।
शक्यं द्विषन्तो मन्यन्ते वायुद्र्रुमभिवैकजम् । ।
अर्थात्, रुख एक्लो हुँदा बलवान्, चौडा र धेरै ठूलो भए पनि एकै छिनमा आँधीद्वारा बलपूर्वक हाँगाबिंगासहित धराशायी हुनसक्छ ।  तर जुन धेरै रुख, एकसाथ समूहका रूपमा खडा रहन्छन्, ती एक अर्काको सहाराले ठूलाभन्दा ठूला आँधीलाई पनि सहनसक्छन् ।  यसैप्रकार सर्वगुणसम्पन्न मानिसलाई पनि एक्लो हुँदा शत्रुले आफ्नो तागतभित्र रहेको सम्झन्छ, जसरी एक्लो रुखलाई हावाले सम्झन्छ ।  
नेपाली समकालीन राजनीतिमा विदुर वचन स्मरणीय मात्र होइन, मननीय तथा अनुकरणीय समेत छ ।  राष्ट्र र राष्ट्रियताको सम्बद्र्धनका लागि तथा मुलुकलाई लोकतान्त्रिक अग्रगामी यात्रामा अघि बढाउन पनि दलीय मेल जरुरी छ ।  यस दिशामा सबै दल गम्भीर हुुनुपर्छ ।  अन्यथा समय गुज्रिएपछि पछुतोका लागि क्षण बाँकी नरहन सक्छ ।  बेला छऊन्जेल, अनर्गल प्रलापमा व्यस्त हुने र अन्तिम बखतमा आयु लम्ब्याउन न्वारानदेखिकै बल लगाउने पुरानो चलन अब दोहो¥याइनुहुँदैन ।  आफैँले बनाएको संविधानअनुसार आफैँ नचल्ने हो भने दुनियाले पनि ननिको मान्नेछ ।  तसर्थ आउँदो एक वर्षभित्र स्थानीय, प्रादेशिक तथा केन्द्रीय संसद्को निर्वाचन गर्ने, गराउनेतिर सबै दल कृत्सङ्कल्पित हुनु अत्यन्त जरुरी छ ।  




थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना