विकास पत्रकारिता अपरिहार्य

Luckyलक्की चौधरी





 

हाम्रो समाजमा विकासको चर्चा हुनेवित्तिकै भौतिक संरचनासँग जोडेर हेर्ने गरिन्छ ।  पत्रकारितामा भौतिक संरचनासँग जोडिएका विकासको समाचार, लेख रचना, टिप्पणी, विश्लेषण गर्नासाथ विकास पत्रकारिता भनेर अथ्र्याइन्छ ।  सरसर्ती हेर्दा यही नै होजस्तो भान हुन्छ तर सबै चीज यत्तिमै सीमित छैन ।  हिजोको व्याख्या विश्लेषण र आजको विश्लेषण, परिभाषामा भिन्नता छ ।  विकासलाई सतही रूपमा मात्र बुझ्ने कि त्यसलाई गहिरिएर बुझ्ने भन्नेमा फरक छ ।  शहरीया शिक्षित, पढेलेखेको व्यक्तिले बुझ्ने विकास, नीति निर्माताले बुझ्ने विकास र गाउँको सामान्य खेती किसानीले जीवन धान्ने किसानले बुझ्ने विकासमा अवश्य फरक छ ।  ठूलाठूला भवन निर्माण, पुलपुलेसा, क्याम्पस, शिक्षालय, कलकारखाना, अस्पताल, सडक बत्ती, नहर, कुलोपानी, रोजगारी, शहरीकरण, खानेपानी, सिंचाइको व्यवस्था हुनुलाई नै सतहीरूपमा विकास भन्छौंँ हामी ।  
विकासको अर्थ मान्छे र समाजलाई खुसी पार्ने हुनुपर्छ ।  मान्छे दुःखी भएर विकासको अर्थ रहँदैन ।  शतप्रतिशत सबै मानिसलाई विकासबाट खुसी पार्न सकिन्छ भन्ने होइन ।  विचार र उसको प्रवृत्तिले विकासको परिभाषालाई फरक पारिदिन्छ ।  त्यसैले विकासको अर्थ बहुआयामिक छ ।  कसलाई विकास भन्ने ? के भयो भने पूर्ण विकास
हुन्छ ? परिभाषा अझै विश्वव्यापीरूपमा दिन सकिएको छैन  ।  तथापि विकास त्यस्तो हुनुपर्छ जसबाट बहुसङ्ख्यकको हित होस्, धेरैलाई लाभान्वित गरोस् ।  धेरैलाई सन्तुष्टि मिलोेस् ।  उसो त विकास सबै पक्षसँग जोडिन्छ ।  शिक्षा, मनोरन्जन, कृषि, रोजगार, संस्कृति, समाज, राजनीति, धर्म, शहर, गाउँ, व्यक्ति, समाज, देश, राष्ट्र, राज्य आदि ।  कुनै एक पक्षको विकास नहुँदा समाज अघि बढ्न सक्दैन ।  समाजको सन्तुलित विकासविना देश र राष्ट्रको विकास सम्भव हुँदैन ।  व्यक्ति र समाजको चाहनाअनुरूप विकासको व्याख्या गर्ने प्रवृत्ति छ यहाँ ।  
विकास पत्रकारिता समग्र विकाससँग सम्बन्धित छ ।  यसको परिभाषा निकै कठिन छ ।  मानव जीवनमा गुणात्मक परिवर्तन ल्याउन सक्नु नै विकास पत्रकारिताको ध्येय हो, हुनुपर्छ ।  परम्परागत पत्रकारिताले समग्र विकास सम्भव नहुन सक्ला ।  प्रविधिजन्य पत्रकारिता, समय सुहाउँदो प्रविधिमैत्री पत्रकारिताले नै समयको मागअनुरूप विकास गर्न सक्ला ।  प्रविधि भएरमात्र पनि सबै पूरा भइहाल्ने होइन ।  प्रविधिको सही ज्ञान र त्यसको सदुपयोग अनिवार्य हुन्छ ।  समाचार पस्कने क्रममा पत्रकारको हतार गर्ने बानी हुन्छ ।  त्यसैले पत्रकारितालाई हतारको साहित्य भन्ने गरिन्छ ।  अधूरो समाचारले के विकास गर्ला ? सूचना नै अपूरो भयो भने नागरिकको सोचाइलाई कसरी परिवर्तन गर्न सक्ला ? पाठक, दर्शकको चाहना नै पूरा भएन भने त्यसले गर्ने काम र बनाउने धारणाले पूर्णरूप पाउन सक्दैन ।  त्यसैले पत्रकारिता पहिले सही, सत्यतथ्य हुनु अनिवार्य हुन्छ ।  अर्को, पत्रकार प्रायः सतही समाचारको पछिलाग्ने गर्छ ।  तथ्यको गहिराइमा गएर उजागर गर्ने पत्रकारिताले मात्र सही विषयको विश्लेषण गर्छ र त्यसले दिने सन्देश र सूचनाले नागरिकलाई सकारात्मक प्रभाव पार्नसक्छ ।  खोजमूलक पत्रकारिताले विकासमा मद्दत गर्छ ।  
विकासका लागि गर्ने पत्रकारिता जोखिमपूर्ण हुन्छ ।  सरकारले हरेक वर्ष विकासका लागि विभिन्न शीर्षकमा बजेट विनियोजन गर्छ ।  सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले विभिन्न विकासे शीर्षकमा कार्यक्रम सञ्चालन गर्छन् ।  सो रकम खर्च पनि हुन्छ ।  तर खर्च कसरी भयो ? वास्तविक विकासमा कति खर्च भयो र व्यक्तिको खल्तीमा कति गयो ? यसको खोज अनुसन्धान मिडियाले गर्न सकेमा विकास र पारदर्शीताले गतिलिन सक्छ ।  तर मिडियाले त्यो काम गर्न सकेको देखिँदैन ।  घटनाको गहिराइमा पुग्दा विभिन्न अवरोध र बाधाहरूको सामना गर्नुपर्ने हुन्छ ।  रकमको दुरूपयोग गर्नेले विभिन्न प्रलोभनमा पार्ने प्रयास गर्नसक्छ ।  प्रलोभनमा नपर्ने पत्रकारलाई धम्की र त्रास आउनसक्छ ।  तर पत्रकार प्रलोभनमा लहसिएमा उसको पत्रकारिता त्रुटिपूर्ण हुनजान्छ ।  समाज र नागरिकलाई सूसुचित गर्ने गरी उसले सूचना प्रवाह गर्न सक्दैन ।  आफ्नो स्वार्थ पूरा गर्न उसले समाजलाई, पाठकलाई दिग्भ्रमित गर्न पुग्छ ।  पत्रकार यो मामिलामा सचेत रहनुपर्छ ।  
सन् १९६० को दशकमा बेलायती एक सञ्चारविद् एलान बी. चल्क्लीले विकास पत्रकारिताको अवधारणा सुुरु गरेका थिए ।  नेपाली परिवेशमा पहिलो पञ्चवर्षीय योजना २०१३ सालतिर फर्कनु पर्ने हुन्छ ।  तर त्यसको वास्तविक अभ्यास २०२८ सालपछि भएको मानिन्छ ।  सो समय राष्ट्रिय सञ्चार नीतिमै ‘विकासका लागि सञ्चार’ शब्दावली राखिएको थियो ।  हाम्रो यहाँ पत्रकारिताको ट्रेण्ड भनेको राजनीतिजस्तो छ ।  राजनीतिक समाचार र गतिविधिले अखबारका पाना भरिएका हुन्छन् ।  टेलिभिजन र रेडियोको समाचार बुलेटिनमा विकासे समाचारले निकै कम महìव पाउने गरेका छन् ।  
विकास पत्रकारिता मूलतः ग्रामीण र स्थानीय पत्रकारिता हो भनेर टिप्पणी गर्ने गरिन्छ ।  ग्रामीण क्षेत्रमा जहाँका नागरिक र स्थानको विकास भएको हुँदैन, त्यसकै समाचार र रिपोर्टिङ गर्नुपर्ने भएकाले विकाससम्बन्धी रिपोर्टिङलाई ग्रामीणको संज्ञा दिइएको हुनसक्छ ।  तर जहाँ गाउँ छैन, शहरले भरिएको छ भने के त्यहाँ विकास पत्रकारिता हुँदैन त ? भन्ने जिज्ञासा आउँछ ।  
विकास पत्रकारिता समाजको रूपान्तरणका लागि हो ।  विकासको नाममा जे पायो त्यही लेख्नु र छाप्नु भनेको होइन ।  समाजको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक परिवर्तनका लागि विकास पत्रकारिताको खाँचो परेको हो ।  के हामीले त्यसका लागि समुचित रिपोर्टिङ गर्न सकेका छौँ त ? विकास पत्रकारिताले नभएको विकास, भएको विकास र हुनुपर्ने विकासका बारेमा निरन्तर कलम चलाउन सुझाउँछ ।  कतिपय विषय विकास भएर सही दिशामा गएका हुँदैनन् ।  त्यसलाई सही ठाउँमा ल्याउने, नभएका विकासका निम्ति सुझाव र दबाब दिने, हुँदै नभएका विकासका निम्ति नयाँ योजना बनाउने काममा मिडियाले सहयोग गर्नसक्छ ।  त्यसैले विकास पत्रकारिताको खाँचो विकासोन्मुख देशमा अझ बढी छ ।  
विकास पत्रकारिताको सम्बन्ध सीधै पारदर्शिता र सुशासनसँग जोडिएको छ ।  विकासका निम्ति छुट्याइएका बजेट के कति खर्च भए, कसरी खर्च भए ? कति खर्च भएन, किन भएन ? सबै विषय बजेटसँग जोडिएका छन् ।  सहीरूपमा खर्च भएर परिणाम आएको हो कि होइन ।  उत्पादित सामानको दिगोपन र गुणात्मकताका विषयलाई मापन गरेर त्यसबारे जानकारी लिन सक्नुपर्छ ।  पत्रकारले यी विषयको जानकारी नागरिकसम्म लगेर पारदर्शिता र सुशासनका निम्ति काम गर्न सक्छन् ।  
वरिष्ठ पत्रकार मोहन मैनालीले भन्नुहुन्छ “विकास पत्रकारिता तोरीको साग रोपेकोजस्तो होइन ।  एकचोटि टिपेपछि पछि टिप्नै नमिल्ने ।  विकास पत्रकारिता त फलफूलको खेतीजस्तो हुनुपर्छ, ताकि सिजनपिच्छे टिप्न पाइयोस् ।  रायोको सागको खेतीजस्तो, एकचोटि टिपेपछि पुनः टिप्न पाइयोस् । ” विकास पत्रकारिताको सार्थकता तब हुन्छ जब त्यसले बढीभन्दा बढी पाठक, स्रोताको विवेकमा परिवर्तन ल्याउन सक्छ ।  आजभोलि विकासको अर्थलाई व्यक्तिको सकारात्मक विचार रूपान्तरण गर्ने पक्षलाई लिने गरिन्छ ।  समाज र नागरिक सकारात्मक सोचकासाथ काममा लागे मात्र सही विकास सम्भव हुन्छ ।  त्यसैले विकास पत्रकारिताले बढीभन्दा बढी पाठक र स्रोताको बुद्धि, विवेक र ज्ञान परिवर्तन गर्नमै केन्द्रित हुनुपर्छ ।  समाज रूपान्तरणका लागि पहिले नागरिकको सोचाइ र प्रवृत्तिको रूपान्तरण अनिवार्य मानिन्छ ।  विकास पत्रकारिताको ध्यान त्यता केन्द्रित गर्न सकेमा एकातिर समाज रूपान्तरण गर्नमा सघाउ पुग्छ, अर्कोतिर नागरिकले सही सूचना प्राप्त गर्न पाउँछन् ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना