पहाडको स्रोत ः मधेसको उपयोग

saurav sharmaसौरभ शर्मा


२०६२/६३ को जनआन्दोलन यताको दशकमा सबैभन्दा बढी शब्द मधेसका नाममा खर्च भयो ।  भइरहेको छ तर मधेसले पहिलेभन्दा बढी के पायो र के गुमायो ? यो मधेसलगायत सबैको चासोको विषय हो ।  मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलन र थारू आन्दोलनकै जगमा समावेशी, समानुपातिक एवं सङ्घीय प्रणालीको मुद्दा स्थापित भएको र अगाडि बढ्दै गरेको पनि हो ।  यसलाई जोगाउने र तार्किक निष्कर्षमा पु¥याउने जिम्मा पनि यिनै आन्दोलनका सहभागीको हो ।  बाध्यतावश सङ्घीयताका पक्षमा उभिएकालाई हदैसम्मको लचकता अपनाएर उनीहरूको समर्थन प्राप्त गरिरहनु सङ्घीयता पक्षधरहरूको प्रमुख प्राथमिकताको विषय बन्नुपर्ने हो ।  
सङ्घीयताको मामिलामा जे हुनुपर्छ, आजै हुनुपर्छ, तुरुन्ता तुरुन्तै हुनुपर्छको शैलीमा सङ्घीयतावादीहरू अघि बढ्दा यसले नयाँ खालका अन्तरविरोध र चलखेल सर्जिना गर्छ ।  अहिलेलाई जसरी हुन्छ सङ्घीयतालाई सकुशल अवतरण गराई सङ्क्रमणकाललाई अन्त्य गरिनुपर्ने हो ।  यसपछि हुने निर्वाचनको परिणामका आधारमा सङ्घीयताको सार र रूपलाई परिवर्तन गर्दै लग्न सकिन्छ ।  सङ्घीयताको पक्षमा उभिएकाहरूको बहुमत छ अहिले ।  उनीहरूको सदाशयता र सहयोग नपाई सङ्घीयता स्थापित हुन्न ।  अल्पमतहरू सहमतिमा आउँछन् कि, देशमा शान्ति र सुव्यवस्था आउँछ कि, शासन–विकास र निर्माणमा तीव्रता आउँछ कि समतामूलक–न्यायिक समाजको स्थापना हुन्छ कि भनेर आमजनताले सङ्घीयताको घोषणा हँुदा विमति नजनाएका हुन् ।  मौन सहमति जनाएका हुन् ।  होइन भने, जुन शैली र स्वरूप र आयाममा अहिले विरोध भइरहेको छ, घोषणा हुँदैको अवस्थामा यो तहको विरोध प्रकट भइदिएको भए सङ्घीयताको मुद्दा स्थापित गर्न सहज हुने थिएन ।  सङ्घीयताका पक्षधरहरूले देश र जनताको यो सच्चाइ र यो वास्तविकतालाई बुझ्नुपर्छ र तदनुसारको लचकता अपनाउनुपर्छ ।
हत्या, हिंसा, अराजकता, बन्द, हडताल, तोडपmोड र आगजनीबाट वाक्कदिक्क आजित भएका जनता यसबाट पार पाइन्छ कि भनेर सङ्घीयताबारे थाहा नभएर पनि सङ्घीयताका पक्षमा उभिन आइपुगेका हुन् ।  बहुमत हिन्दु भएर पनि धर्म निरपेक्षताका पक्षमा मौन रहेका हुन् ।  नेपाली जनताको यो अनुकरणीय आचरण र व्यवहारलाई सम्मान गर्नुपर्छ ।  आदर गर्नुपर्छ ।  जनताका यिनै व्यवहारलाई कमजोरी ठानेर अझ बढी दोहन गर्न हुन्न, पाप लाग्छ ।  उनीहरू जे गरे पनि मानिहाल्छन् भन्ने खालका गतिविधि गर्न हुन्न ।  सङ्घीयताको नामै जुराउन नसकेर, सीमाङ्कन नै गर्न नसकेर, विकास निर्माणमा लाग्न पर्ने देशका १० वर्ष यसरी खर्लप्पै सकिनेछन् भन्ने जानेका भए जनता त्यति बेलै सडकमा आइसक्ने थिए ।  उनीहरूले यसो सोचेकै थिएनन् ।  उनीहरू सकारात्मक थिए ।  आशावादी थिए ।  यी आशा र विश्वासलाई यथावत् राख्ने जिम्मा सङ्घीयतावादीहरूको काँधमा छ ।
सङ्घीयताले मान्छेलाई आफ्नै जाति, भाषा, क्षेत्र र सम्प्रदायमा मात्र सीमित र सङ्कुचित गर्दैन ।  यो राष्ट्रको तहमा फैलन र फक्रन सक्छ भनेर आश्वस्त र विश्वस्त पार्न सक्नुपर्छ ।  सङ्घीयता विदेशी चलखेल र चासोको विषय बन्ने छैन, बनिरहेको छैन भन्ने सन्देश प्रवाह गर्नु अपरिहार्य नै भइसकेको छ ।  सङ्घीयताको बहससँग अङ्गीकृत नागरिकको बहसलाई मासमिस गरेर पास गराउन खोज्नु अनिष्ट भविष्यको सङ्केत हो ।  सङ्घीयता र अङ्गीकृत नागरिकलाई एउटा घानमा पारेर पेलपाल गर्नु रहस्यमय छ ।  हाम्रो दक्षिणवाले छिमेकीलाई शासनको मेरुदन्ड, राष्ट्रिय सुरक्षाको प्रमुख अङ्ग गोरखा रेजिमेन्टका लागि ‘पहाडीहरू’ चाहिने, उनीहरू नजिक हुने तर राजनीति गर्न र छिमेकीलाई थचार्न ‘मधेसीहरू’ चाहिने र उनीहरू नजिक हुने ! यो विरोधाभास बुझिसक्नु छैन ।  सङ्घीयतासँगै अङ्गीकृतका हितमा हुने हर्कत र चलखेलहरू कहाँबाट निर्देशित छन्, यसको अभीष्ट के हो बुझ्नु आवश्यक छ ।  ‘खास’ सङ्घीयतावादीहरूले यी आशङ्का र अविश्वासलाई चिर्ने प्रयास गरेनन् भने ‘बाध्यता’ सङ्घीयतावादी भएकाहरू पछाडि फर्कन बेर लगाउने छैनन् ।
अहिले मिडियाहरू सामाजिक सञ्जाल यसरी बहस छेडिरहेका छन्, मानौँ यस देशको एक मात्र समस्या ‘मधेस’ (तराई) हो र मधेसको समस्या समाधान हुनासाथ देशका गरिबी, बेरोजगारी, रोग, भोक, अशिक्षा, अभाव, विपन्नता, विभेद स्वतः समाधान भइहाल्छ ! मधेसका नाममा अमूर्त समस्या उछाल्ने र सङ्घीयताका नाममा अमूर्त समाधान दिनेहरू एउटै–एउटै हुन् ।  सङ्घीयताको सफल कार्यान्वयनमा देशका सबै भेगको उत्तिकै महŒव र आवश्यकता छ ।  तराईले मात्रै चाहँदा अथवा पहाडले मात्रै चाहँदा सङ्घीयताको सफल कार्यान्वयन हुन्न ।  मधेसले पहाडसमेतको आवश्यकतालाई हेरेर सङ्घीयता सम्बन्धी धारणा प्रकट गर्न पर्छ ।  पहाडलाई जेसुकै होस् “मलाई त्यहि केटी चाहिन्छ” शैलीको धारणा प्रकट गर्न हुन्न ।  पहाडले पनि कुन अविश्वास, पीडा र विभेदका कारण मधेसले सङ्घीयता माग्यो भन्ने बुझ्नुपर्छ ।
मधेसले पहाडमा समेत सरोकार राख्ने र तिनको हित हेर्ने र पहाडले मधेसका सरोकार र अविश्वासलाई चिर्ने प्रयास गरे समाधान टाढा छैन ।  पहाडको जडीबुटी, फलफूल खेती, पर्यटन, जलविद्युत्, वनजङ्गल, धार्मिक सांस्कृतिक सम्पदाको उपयोग र बाँडपmाँटमा मधेसको सहभागिता रहनुपर्छ ।  यसैगरी मधेसको कृषि, उद्योग, व्यापारमा पहाडको सहभागिता रहने गरी अगाडि बढ्न सकियो भने देशको कायापलट हुन बेर छैन ।  यो गरिब एवं सानो देशमा बाँड्नका लागि, झगडा गर्नका लागि छ नै के र ! सबै भाषाभाषी, सबै जातजाति, सबै वर्ग तहका मान्छे एक जुट हुन सकियो भने देशलाई स्वीट्जरल्यान्ड, सिङ्गापुर बनाउँछु भन्दा हाँसिरहन पर्दैन ।
पहाड–तराईको भौगलिक सन्निकटता र अन्तरनिर्भरतालाई चाहेर पनि बेवास्ता गर्न सकिन्न ।  प्रशासनिक र प्रादेशिक संरचनामा फेरबदल गरेर यिनमा फुट ल्याउन, टाढा बनाउन सकिन्न ।  पहाडबाट बगेका नदीहरूले मधेसको जमिन सिञ्चित गरेर मलिलो बनाएका छन् ।  उर्वर बनाएका छन् ।  पहाडले मनसुनी हावा छेकेर मधेसमा वर्षा गराउँदै आएका छन् ।  मधेसले पहाडलाई अन्न उपलब्ध गराउँदै आएको छ ।  पहाडमा भूकम्प जाँदा मधेस रोएको छ ।  मधेसमा बाढी फैलँदा पहाड रोएको छ ।  यस खालको अन्योन्याश्रित सम्बन्ध रहेका पहाड र तराईबीच फरकपनको सिर्जना अप्राकृतिक हो ।  जैविक, वानस्पतिक र मानव समाज जति बढी मिश्रित हुन्छ, त्यति बढी उन्नत विकसित र आधुनिक हुन्छ ।  
पहाड र तराई दुवैमा पूर्व–पश्चिम, उत्तर–दक्षिण रेल र बस सेवाले जोड्न सकियो भने ठाउँं–ठाउँमा केवलकार, गण्डकी, कोशी, कर्णाली र यिनका सहायक नदीहरूमा जलविद्युत् निर्माण, ¥याफ्टिङ सञ्चालन गर्न सकियो भने व्यापक पmलफूल र जडीबुटी खेती गर्न सकियो भने हामीलाई राजनीति गर्ने पmुर्सद हुने छैन ।  पहाडलाई उत्पादन गर्न र मधेसलाई उत्पादित वस्तुको उद्योगको स्वरूप दिई व्यापार गर्नबाट फुर्सद हुने छैन ।  तेरो मेरोको झगडा, अंशबण्डा, घटी बढीको विवाद गरिबीमै बढी हुने गर्छ, सम्पन्नतामा त सबै आ–आफ्नै काममै व्यस्त हुन्छन् ।  
नेपालको तराई–मधेसका सबै सम्भावना देखिइसकेका छन् तर पहाडका सम्भावना उत्खनन् हुन बाँंकी छन् ।  उत्खनन् हुन बाँकी पहाडका यी सम्भावनामा तराईको हक र अधिकार स्थापित हुने गरी प्रदेशको संरचना निर्माण हुनुपर्छ ।  राजनीतिक छवि, इष्र्या र प्रतिशोधमा मधेसको भविष्यमा कुठाराघात गर्न हुन्न ।  मधेसबाट मुख्यमन्त्री हुन पहाडको समर्थन लिनपर्ने र पहाडबाट मुख्यमन्त्री हुन मधेसको समर्थन आवश्यक हुने ढङ्गले अघि बढ्नुपर्छ ।  यसले एक आपसमा घुलमिल हुन र एक आपसमा अन्तरनिर्भर हुने भूमिका तयार गर्नेछ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना