देशलाई आश्वासन मात्र !

 Purushottam marhatthaडा.पुरुषोत्तम मरहठ्ठा

 

 नेपालमा पैसा नतिरी सजिलै पाइने  आश्वासनको पोको मात्र हो ।  संविधान निर्माणपछि देशले आश्वासन मात्र पायो भनेर लेखको शुरुमै मैले निराशा पस्किन खोजेको होइन ।  जब दलका नेताहरू कहिल्यै सकारात्मक हुन सकेनन् भने के गर्ने ? इतिहासको कालक्रमदेखि वर्तमानको दलीय व्यवस्थासम्म आइपुग्दा पार्टीका नेता र सांसद तथा मन्त्रीहरूले नेपाली जनतालाई यति धेरै आश्वासन दिए जो कहिल्यै पूरा हुनसकेन ।  पाश्चात्य मुलुकमा आफ्नो मुखलाई संयममा राख भन्छन् ।  त्यसैले उनीहरू जथाभाबी बोल्दैनन् ।  नहुने कुराको झुठ्ठा आश्वासन दिएर हिँड्दैनन् ।  तर यहाँ लगाम नभएको मुखले जति बोेले पनि कसको के जान्छ ? आकास र पाताल जोड्ने क्षमता भएका नेताहरू शून्यमा भन्दा हाइपरमा बस्ने रहर जगाउँदैछन् ।  एउटा लाज थियो बचाउने तर त्यो पनि संविधान कार्यान्वयनमा चुक्नाले निर्वस्त्र देखिन थालेको छ ।  तर यो बादशाहको निर्वस्त्र लुगाजस्तो भने देखिइसकेको छैन ।  एक लज्जाम् परित्यज्य सर्वत्र विजयी भवः भने जस्तै फुक्काफाल गरेर हिँड्ने स्वतन्त्रता भने कुनै पनि दललाई छैन ।  देशप्रतिको दायित्य पूरा नगर्ने हो भने सबै असन बजारमा छोडेको साँढे जस्तै हुन पुग्दछन् ।
हालका दिनमा विश्वास जगाउने नेताको खडेरीकै कारण सरकार प्याचवर्क गर्दै सडक विभागले टालेको पीच जस्तै देखिनथालेको छ ।  झारा तिर्ने काम गरेर दिन गन्तीमा समय कटाउने अहिले होइन ।  ऐतिहासिक मोडमा साहसिक निर्णय गरेर मुलुकलाई पार लगाउन परिआउँदा जे गर्न पनि यो संसद््ले बृहत् अधिकार पाएर पनि  यसले आफ्नो शक्ति बिर्सन पुगेको छ ।  सरकारले संसद्लाई विजनेश दिन सकेको छैन् ।  संसद् पनि वादी र प्रतिवादीको झगडिया जस्तो देखिन थालेको छ ।  
मूल्य र मान्यता गुम्दै गएको नेपाली समाज भनेर कसैले पनि आरोप र प्रत्यारोप गर्न सक्दैन ।  तर अहिले यसले आफ्नो रूप होइन मुखुण्डो लगाएजस्तो देखिन थालेको छ ।   जनयुद्धपछि नेपाली समाजमा पहिलाको रङ्ग भेटिँदैन ।  यो समाज घरमा आएको शत्रुलाई समेत पुजन गर्ने समाज थियो ।  महाभारतमा विदुरले भनेका थिए– मेरा विरोधी शत्रु बाँची राखुन्, तिनीहरूले मेरा गल्ती पाए भने मलाई सम्झाइ रहन्छन् ।  त्यसबाट म चनाखो बन्न सक्छु ।  राम्रो गर्दागर्दै आलोचक बढे भने मेरो उन्नति हुन लागेछ भन्ने जान्नु ।  उन्नतिका सूचक मेरा आलोचकहरू बढिरहून भनेर नत्र तिनले किन भन्थे ?  तर अहिले मतदाताहरूको राजनीति र राजनीतिज्ञप्रति विश्वास घट्न थालेको छ ।  समयमा निर्वाचन नहुनुले प्रजातन्त्रको मर्ममाथि प्रहार हान्न खोजिएको छ ।  संंविधान बनाइसक्दा पनि कार्यान्वयनमा बाधा अड्चन देखिनुले नेताहरू अझै प्रजातन्त्रमा अभ्यस्त भएको देखिन्नन् ।  ठूलठूला स्क्याण्डल्समा फसेका नेतालाई हेर्दा लाग्छ मुलुकमा नैतिकता र आचरणलाई कसैले घेराबन्दी गरिसकेका छन् ।  सत्य र निष्ठाको अभाव देखिन थालेको छ ।   आदर्श नै सत्य हो, सत्य नै ज्ञान हो भन्ने जान्दाजान्दै पनि सत्य र असत्यलाई एउटै घानमा राख्न खोजिएको छ ।   सुखवादीले सुखको मूल्य बुझ्दछ ।  सत्यवादीले असत्य बोल्दा बनावटी धेरै कुरा गर्नुपरे जस्तै भएको छ नेताहरूलाई ।  असत्य बोलेर पाइने सुखभन्दा सत्य बोलेर पाइने सुख धेरै राम्रो हो ।  त्यसैले जनतालाई निर्वाचनको तिथि दिन किन ढिलाइ गर्ने ? सत्य बोल्नबाट दलहरू किन डराउने ? नेपाली जनतालाई बिहान बेलुकै किन ढाँट्ने ।
सत्यलाई दलका नेताहरूले आत्मसात् गर्न सकेको भए आज नेपालको राजनीति यति विघ्न दूषित हुने थिएन ।  संवृत्ति सत्य र परमार्थ सत्यमा नपुगेका नेपाली  नेताहरूले बहुमतद्वारा अपनाइएकोे संवृत्ति सत्यलाई भुल्दै गएका छन् ।  जो स्वतः सत्य हो भन्ने जान्दाजान्दै त्यस्तो परमार्थ सत्यलाई पनि भुल्दै गएका छन् ।  ब्रह्म सत्य जगत् मिथ्यामा पृथ्वीका सम्पूर्ण वस्तुहरूमा कुनै विकार वा परिवर्तन नदेख्ने जडसूत्रवादीहरूको रोजाइमा संविधानलाई त्यस्तै बनाउन खोज्दैछन् ।  संविधान वास्तवमा कहिल्यै पनि  परिवर्तन विरोधी देखिन सक्दैन तर नेताहरू सियोको टुप्पोजति पनि संशोधन गर्न दिन्न भन्दैछन् ।  
सत्य र तथ्यलाई फरक रूपमा हेर्ने नेपाली समाज तथ्यलाई विविध रूपमा केलाउन पुग्दा नपुग्दै  दुर्लभ सत्य त्यत्रो संविधान मुलुकबासीलाई दिँदा सबै जना रोमान्चित र खुशी थिए ।  तर अहिले दलहरू त्यस्तो खुशी जनतालाई दिनसक्ने अवस्थामा देखिन्नन् ।   भीमसेन थापा जस्ता कठिनाइको मार्ग चुन्ने नेता जन्माउने देशका नेताहरूले झिँगाको पित्त र चित्त बनाएको देख्दा यो जस्तो आश्चर्य के होला ? आफ्नो जीवनको लक्ष्य प्रधानमन्त्री बन्नु होइन मुक्ति हो भन्ने कृष्णप्रसाद भट्टराई जस्ता त्यागी र सन्त नेताको सत्यता बोक्ने नेपालको राजनीति अचेल कहाँ पुग्न लाग्यो ? राजा बन्नसक्ने अवस्था भएर पनि आजीवन हस्तिनापुरको सिंहासनको संरक्षकको भूमिका निर्वाह गर्ने महाभारतको एक महìवपूर्ण पात्र भीष्म र राजपाठ त्याग गरेर जनताको मुक्तिको लागि महामानव बन्न पुगेका गौतमबुद्ध नेपालमै थिए ।  तर दलहरू अझै किन सत्ताबाट अलिकति माथि जनताको पक्षमा उभिन सकेनन् ? दलका नेताहरू कालान्तरमा लड्नेसँगै हातेमालो गर्न नपुगेका भए के मुलुकमा यत्रो उथलपुथल हुने थियो ?  सातदलका नेताहरूले माओवादीको सशस्त्र युद्धसँग फ्युजन त गरे तर त्यसले गीलसीरिनमा पोटास हालेर आगो बाल्न खोजेजस्तो केवल तातोसम्म मात्र दियो ।  नेपालको राजनीतिमा संविधान निर्माणपछि दलहरूको शासनले मुलुकमा न कुनै प्रभाव छाड्न सकेको छ न त काँग्रेस वा कम्युनिस्टहरूले आफ्नो घोषित नीति अनुसार काम नै गर्न सकेका छन् ।   दलहरूले जसरी संविधान निर्माणपछि शासन गर्नपुगे नेपाली जनता तिनिहरूसँग खुशी बन्नसकेका छैनन् ।  एमालेलाई प्रतिपक्षमै राख्न नेपाली काँग्रेस र माओवादीले जुन किसिमले सत्ता गठबन्धन गरे त्यसले माओवादीलाई प्रजातान्त्रिक मार्गमा लागेको देखाउनुपर्ने एउटा बाध्यता थियो ।  हिंसात्मक पार्टी प्रजातन्त्रमा रूपान्तरण भएको देखाउनैका लागि पनि एउटा विश्वसनीय लोकतान्त्रिक पार्टीको सहारा आवश्यक थियो ।  यसबाट नै नेपाली काँग्रेससँगको सहकार्यले विश्व जनमञ्चलाई देखाउनैका लागि पनि एउटा फेर समाउन आवश्यक थियो ।  अबका दिनमा नेपालको माओवादी प्रजातन्त्रमा रूपान्तरण भैसकेकोे छ भन्ने विश्वास  दिलाउने आधार उसले देखाइसकेको छ ।   साना दलहरूलाई प्रयोग गर्दै बृहत् डिजाइन तयार गर्न आवश्यक नभएकै कारण हालका दिनमा रूपान्तरित व्यवस्थापिका संसद््मा रहेका ठूला दलहरूले गठबन्धनको संस्कृति विकास गर्न पुगेका हुन् ।  नेपालका राजनीतिक दलहरूले संविधानसभामा ११ सम्मको प्रदेश बनाउन तयार भएकै थिए ।  यस्तै प्रयास बेलायती साम्राज्यको समयमा सन् १९०५ ताका लर्ड कर्जनले पनि मुस्लिम आधिपत्य धेरै भएको स्थानमा उनले बंगाललाई दुई भागमा बाँड्न पुगेका थिए ।  इतिहासमा यसलाई बंगभंगको नामले जानिन्थ्यो ।  डिभाइडेड एन्ड रुलको नीति विरुद्ध समस्त भारतमा आन्दोलन शुरु भैरहेको समयमा अन्यत्र ध्यान केन्द्रित गर्न यो गोटी चालिएको थियो ।   शुरुमै यस्तो षडयन्त्रको पर्दाफास गर्नेमा त्यस समय काँग्रेस अग्रपङ्क्तिमा रहेको थियो ।  काँग्रेसको मद्रास अधिवेशनका सभापति लालमोहन घोषले यस्तो षडयन्त्रको पर्दाफास गरेका थिए ।  ब्रिटिस सरकारले काँग्रेसको चेतावनी र जनताको जनमतलाई बेवास्ता गर्दै पूर्वी बंगालको राजशाही, ढाका र चट्गाउँलाई आसामसँग मिलाएर एक प्रान्त बनाउन पुग्यो ।   त्यस समय यसको नाम पूर्वबंग आसाम राखिएको थियो ।  बाँकी हिस्सा बिहार, उडिसा र छोटा नागपुर मिलाएर बंगाल नामको प्रान्त बनाइएको थियो ।  यस किसिमको प्रान्त विभाजनको त्यस समय कुनै आधार थिएन ।  थियो त केवल विभाजन र फुट ।  हिन्दू र मुसलमानलाई लडाउन ब्रिटिस साम्राज्यको यस किसिमको योजनासँग नेपालले पनि त्यस्ता इतिहासबाट पाठ सिक्नै पर्दछ ।  मुसलमानको पूर्वबंग र आसाममा उसको बहुमत रहेकोले त्यस समयका गवर्नर सर जोसेफ बेमफिल्ड फुलरको उद्देश्य नयाँ प्रान्तमा स्थानीय जनतालाई प्रशासनिक सुविधा दिलाउने भन्दा हिन्दू मुसलमानलाई लडाउनु थियो ।  त्यसैले नेपालका राजनीतिक दलहरूले छातीमा हात राखेर एक पटक सोच्नुपर्दछ किन बंगभंगलाई मुसलमानहरूले चाहिँ राम्रो माने जसको कारण मुश्लीम लीग टसमस भएन तर यही प्रस्तावलाई काँग्रेसले विरोध गरिरह्यो ।  जनताको ठूलो विरोधस्वरूप बंगाललाई बाँड्ने ब्रिटिस योजना असफल भए पनि कालान्तरमा यसले एउटा छुट्टै राष्ट्र सँगसँगै स्वतन्त्र अस्तित्वमा आए ।  स्वतन्त्रतापछि भारत र पाकिस्तान बनेरै छाड्यो ।  त्यसैले जबसम्म नेपाली जनता आमोद र प्रमोदमा लागिरहन्छन् देशलाई कुचक्रीहरूले अनेक उपायबाट सिध्याउन खोजिरहेका हुन्छन् ।  हामीले दलहरूलाई गाली गरेर मात्र होइन गलत मार्गमा जान रोक्ने उत्तम बाटो निर्वाचन हो त्यसैको लागि खबरदारी गर्नै पर्दछ ।  नत्र त नेताहरूले प्रजातन्त्रकै खिल्ली उडाउँदा समेत हामी भने रमिते भएर बस्नुपर्ने दिन नआउला भन्न सकिन्न ।  





थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना