निर्वाचन हुनेमा शङ्का नगर्न प्रधानमन्त्रीकाे अाग्रह

  • नारद गौतम

काठमाडौं, माघ २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी जेठ महिनामा स्थानीय निर्वाचन हुनेमा कुनै शंका नगर्न आग्रह गर्नुभएको छ ।

Rss_Images_1486457361958_Pro_Ktm_070217_IMG_9903

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘निर्वाचन हुनेमा शङ्कै नगर्नुहोस्, आज पनि म दोहो¥याएर भन्छु–निर्वाचन हुन्छ, त्यसमा द्विविधा राख्नै हुँदैन र निर्वाचन गर्नैपर्छ, सबैलाई समेटेर हामी समयमै निर्वाचन गर्छौं ।’’

निर्वाचन आयोगले मङ्गलबार व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख तथा प्रतिनिधिहरूसहितको उपस्थितिमा आगामी निर्वाचनमा आधुनिक प्रविधिको विद्युतीय यन्त्रको प्रयोगसम्बन्धी प्रस्तुतीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो विचार राख्नुभएको हो ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद्बाट निर्णय भएर निर्वाचन आयोगलाई सरकारले स्थानीय निर्वाचनको प्रक्रिया अगाडि बढाउन पत्राचार गरिसकेको पनि बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले थप्नुभयो, ‘‘स्वच्छ, निष्पक्ष, धाँधलीरहित, छिटोछरितो, पारदर्शी खालको निर्वाचन कसरी गर्ने भन्ने कुरा महत्वपूर्ण हो, विद्युतीय यन्त्रको प्रयोगबाट अब गरिने निर्वाचनहरु छिटोछरितो र किफायती हुने देखिएको छ ।’’

प्रधानमन्त्रीले निर्वाचन तयारी गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै सबै असन्तुष्ट र आन्दोलनरत पक्षलाई पनि सहमतिमा ल्याएर निर्वाचनमा जानेतर्फ प्रयासरत भइरहेको बताउनुभयो ।

नेपाल आधुनिक प्रविधिको प्रयोगमा अग्रसर भएको चर्चा गर्दै भन्नुभयो,  ‘‘अहिले हामी विद्युतीय प्रविधिको प्रयोगमा गइसकेका छौं, २१ औं शताब्दीको विशेषता भनेको नै विद्युतीय प्रविधिको प्रयोग नै हो, विद्युतीय मतदान प्रक्रियामा हामी जानु नै पर्छ ।’’

प्रस्तुतीकरणमा केही सांसदहरुले नागरिक कम शिक्षित रहेका र आधुनिक प्रविधिको प्रयोग गर्दा समस्या आउनेतर्फ आयोजकको ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री प्रचण्डले नेपालीको हातहातमा सेलफोन (मोबाइल) पुगिसकेकाले समस्या नहुने तर मतदाता शिक्षालाई अरु प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

अहिले दूरदराज अर्थात् कर्णाली जिल्लाको हिल्सासम्म आफू पुगेको जानकारी दिँदै प्रधानमन्त्रीले सेलफोन लिएर हाम्रो तस्बिर खिचेको मैले देखेँ, ज्येष्ठ नागरिकदेखि युवा सबैसँग सेलफोन छ, अब नेपाली अशिक्षित छन् भन्ने हाउगुजी ठान्नु आवश्यक छैन भन्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रधानमन्त्रीसँग शनिबार भेट गरी आधुनिक विद्युतीय प्रविधिमा जाने विषयमा छलफल गर्नुभएको थियो र प्रधानमन्त्रीसँगको छलफलपछि संसद्मा सहभागी दलहरुसहितको छलफल आयोजना गरिएको हो ।

आधुनिक विद्युतीय यन्त्रको प्रस्तुतीकरणपछि प्रधानमन्त्री प्रचण्डले नमुना मतदान गर्नुभएको थियो । यसैगरी, नेकपा (एमाले) नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ, संघीय समाजवादी फोरम नेपालका नेताहरु आशोक राई, राजेन्द श्रेष्ठलगायतले मतदान गर्नुभएको थियो ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त यादवले पहिला प्रयोगमा रहेका विद्युतीय यन्त्र भारतबाट ल्याइएको र अहिले प्रदर्शन गरिएको विद्युतीय यन्त्र अझ आधुनिक रहेको छ भन्नुभयो । उहाँले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउन विद्युतीय यन्त्रको प्रयोग अपरिहार्य छ भन्नुभयो । प्रमुख आयुक्त यादवले आधुनिक विद्युतीय यन्त्रको प्रयोगबिना अबका निर्वाचन गर्न कठिन हुने छ भन्दै खर्च कम गर्न, कम समयमा मतदान गर्न र मत परिणाम गर्न सजिलो हुने जानकारी दिनुभयो ।

आयोगका सचिव गोपीनाथ मैनालीले सरकारसँग आयोगले केही विषयमा स्पष्टताको माग गरेको छ, सरकारबाट ती विषयमा फागुन ९–१० भित्र स्पष्ट पारे सहजरुपमा जेठमा दुई चरणमा निर्वाचन हुने जानकारी दिनुभयो ।

आयोगले प्राविधिक महाशाखाको सहसचिव लक्ष्मी यादवको संयोजकत्वमा १५ दिनभित्र कस्तो यन्त्र र कस्तो प्रविधिमा जाने भन्ने विषयमा अध्ययन गरी प्रतिवेदन दिने गरी एउटा कार्यदल गठन गरेको छ ।

आयोगले विद्युतीय यन्त्रबाट मतदानको अभ्यास सुरु गरेको लामो समय भए पनि विभिन्न समस्याले हालसम्म नेपालले पूर्णरूपमा विद्युतीय मतदानबाट निर्वाचन सम्पन्न गर्न सकेको छैन । आंशिकरूपमा गरिएको प्रयोगले भने दलहरू र मतदाताको विश्वास जित्न आयोग सफल भएको छ ।

नयाँ विद्युतीय मतदान यन्त्रसम्बन्धी प्रदर्शनी गर्दै रोबट डबलर तथा लर्ड ब्राउनले युरोपमा बनेको सो यन्त्रमा सफ्टवेयर राखेर आवश्यकताअनुसार परिमार्जन गर्न सकिने बताउनुभयो ।  

प्रदर्शनीमा स्क्रिन टच यन्त्र राखिएको थियो । यसमा धेरै दलका चुनाव चिह्न राख्न, मतदान गरेपछि तत्काल मतपत्र मात्रै पनि छपाइ गर्न वा मतदान सकिएपछि कुन चिह्नमा कति मतदान भयो भनेर संख्यासहित छपाइ गर्न सकिन्छ ।

सहसचिव नवराज ढकालले यो यन्त्र इन्टरनेटसँग जोडिँदैन, मतपत्र प्रिन्ट गर्ने सुविधा पनि छ, जति मतदान हुन्छ, त्यो यन्त्रका अतिरिक्त अन्य तोकिएको ठाउँमा पनि अभिलेखीकरण हुन्छ, मोटरसाइलका प्रयोग हुने ब्याट्रीको प्रयोग हुन्छ भन्नुभयो ।

आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले आधुनिक विद्युतीय यन्त्रको आवश्यकता, आयोगले गर्दै आएका अभ्यास, दलहरुको संख्या बढेकाले मतपत्रको छपाइ,  ढुवानी र मतपेटिकको आकार तथा संख्या बढाउनुपर्ने जटिलताबारे जानकारी दिनुभएको थियो ।

युरोपमा निर्मित यो मतदान यन्त्रको प्रतियन्त्र मूल्य एक हजार पाँच सय डलरदेखि दुई हजार डलरसम्म पर्ने जनाइएको छ । नेपालमा कम्तीमा १८ हजार मतदान केन्द्र रहेका छन्।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना