बिम्स्टेकको चौथो शिखर सम्मेलन नेपालमा हुने

भेषराज बेल्बासे

काठमाडौं, माघ २६ गते । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) का सदस्य राष्ट्रहरूको चौंथो शिखर सम्मेलन सन् २०१७ को अन्त्यसम्म नेपालमा आयोजना हुने भएको छ ।
आइतबार यहाँ शुरू भएको बिम्स्टेक बैठकबाट नेपालले आगामी जुनमा बिम्स्टेकको १५ औँ मन्त्रीस्तरीय बैठक आयोजना गर्ने तथा २०१७ को अन्त्यसम्म बिम्स्टेकका सदस्य राष्ट्रहरूको चौथो शिखर सम्मेलन आयोजना गर्ने बैठकबाट निर्णय गरेको हो । व्यापार, पर्यटन, उर्जा, लगानी, प्रविधि हस्तान्तरणलगायत महìवपूर्ण क्षेत्रमा सञ्जाललाई प्राथमिकता दिनेलगायत विविध निर्णयहरू गर्दै बिम्स्टेकको बैठक मङ्गलबार राजधानीमा सम्पन्न भएको हो ।
बैठकबाट गरिएका निर्णयहरूबारे जानकारी दिन मङ्गलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीले अब नेपालको सम्पूर्ण ध्यान यी दुई महत्वपूर्ण बैठक र शिखर सम्मेलनमा केन्द्रित रहने बताउनुभयो ।
नेपालको तर्फबाट छिट्टै विज्ञ समूहको बैठक आयोजना गर्न लागिएको जानकारी दिंदै उहाँले गरिबी निवारणसम्बन्धी एक्सन एजेन्डा, माउन्टेन इकोनोमीसम्बन्धी अवधारणापत्र बनाएर अगाडि बढाउने निर्णय गरिएको बताउनुभयो । काठमाडौंँमा आगामी मार्च ३० र ३१ तारिखमा आयोजना गर्ने तेस्रो ऊर्जा मन्त्रीस्तरीय बैठकमा बिम्स्टेक ग्रिड इन्टरकनेक्सनको सहमति पत्रमा सही गर्न सबै आन्तरिक तयारी पूरा गर्न लागेको सचिव बैरागीले जानकारी दिनुभयो ।
भारतको गोवामा सन् २०१६ अक्टोबर १६ मा सम्पन्न भएको बिम्स्टेक सम्मेलनमा भएका १६ वटा सहमतिका एजेन्डाहरूलाई अगाडि बढाउन विभिन्न कार्यदल गठन गर्ने सहमति बैठकले गरेको छ । आगामी जुन ६ तारिखमा २० वर्ष पुग्ने बिम्स्टेकको भविष्य कस्तो हुने भन्ने विषयमा प्रसिद्ध व्यक्तित्वहरूको समूहलाई बिम्स्टेकको भविष्य दृष्टिगत गर्नुका साथै सहस्राब्दी विकास लक्ष्यहरूको एजेन्डा सन् २०३० लाई क्षेत्रीय सन्दर्भमा कार्यान्वयन गर्न खाका पेस गर्न आदेश दिने सहमति भएको उहाँले जानकारी दिनुभयो ।
बिम्स्टेकको वार्षिकोत्सवलाई भव्य रूपमा मनाउन सबै सदस्य राष्ट्रहरूले केही साझा कार्यक्रम आयोजना गर्ने सहमति भएको जानकारी दिँदै उहाँले बिम्स्टेक सचिवालयले यस्ता कार्यक्रम गर्न लागेको बताउनुभयो । भारतको गोवामा केहीसमय अघि बिम्स्टेक मुलुकका राष्ट्राध्यक्ष÷ सरकार प्रमुखहरूको बैठकले सन् २०१७ मा चौथो शिखर सम्मेलन नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो । नेपाल, बङ्गलादेश, भारत, म्यान्मा, थाइल्याण्ड र श्रीलङ्का सदस्य रहेको बिम्स्टेक बैठकमा भाग लिन ती मुलुकका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारीको सहभागिता रहेको थियो भने सदस्य मुलुकबाट १० जनाभन्दा बढी सहभागीता रहेको थियो ।
बिमस्टेकले गरिबी निवारण, व्यापार तथा लगानी, यातायात र सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, कृषि, मत्स्यपालन, वातावरण तथा विपद् व्यवस्थापन, जनस्वास्थ्य, सदस्य देशका जनता–जनताबीचको सम्पर्क विस्तार, प्रतिआतङ्कवाद र अन्तरदेशीय अपराध नियन्त्रण तथा जलवायु परिवर्तनलाई प्राथमिकताका क्षेत्रमा राखेको छ ।
यसैबीच मङ्गलबार परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले बिम्स्टेकलाई यातायातको सञ्जालबाट आपसमा जोड्नुपर्नेमा जोड दिनुभएको छ । काठमाडौँमा सम्पन्न बिम्स्टेकका अधिकारीको बैठकमा सहभागी हुनआएका बिम्स्टेकका सदस्य राष्ट्रका विदेश सचिवहरूको सामूहिक भेटका क्रममा मन्त्री डा. महतले सो धारणा राख्नुभएको हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना