सुशील कोइरालाको सम्झना

 Kulchandra wagleeकुलचन्द्र वाग्ले

 

सुशील कोइरालालाई मानिसहरू कसरी सम्झन्छन्, त्यो उनीहरूको बुझाइमा भर पर्छ । तर पूर्वप्रधानमन्त्री र नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई जसरीसुकै किन नहोस्, नेपालीले बिर्सन सक्दैनन् । इतिहासले पनि उहाँलाई सम्झाइरहनेछ । नेपाली नागरिकले उहाँलाई सफल वा असफल राजनीतिज्ञ जुन जे माने पनि सफल र असफलको सीमा र कसी के हो ? यसको परिभाषाप्रति समीक्षकहरूले ख्याल राख्ने नै छन् ।
इतिहासको एक कालखण्ड पूरा गरेर सुशील कोइराला यहाँबाट बिदा हुनुभएको वर्ष पूरा भएछ । अन्त्यहीन बिदाइ स्वयंमा सुखद कुरा होइन, अकाट्य भए पनि । राजनीतिमा एक वर्ष लामो होइन भनिन्छ, तर व्यर्थ बितेका दिन त्यो अझै लामोभन्दा पनि कष्टप्रद हुने रहेछ । मुलुक जहाँको तहीँ ठप्प छ, झन् गञ्जागोल थपिँदै । अर्थात् सुशील कोइरालापछिको एक वर्षमा देश गतिशील हुन पाएन । झिनामसिना काम र ठूला गफले यो वर्षको समयलाई टाल्न सकिँदैन ।
दुब्लो, पातलो, शुभ्र, र शान्त अग्लो सुशील दा’ ! यो उहाँको कुनै प्रशस्ति होइन, यथार्थ हो । उहाँको यही यथार्थ नेपाली राजनीतिमा उपलब्धिको कोशेढुङ्गा भएको छ, र राजनीतिमा लाग्नेहरूले पछ्याउनै पर्ने उहाँको सादगी मार्गदर्शक बनिरहनेछ । झण्डै साठी वर्ष लामो राजनीतिक यात्राको निरन्तरताबाट शीर्ष तहसम्म पुग्दा सुशील कोइरालाले बोलेरभन्दा गरेर देखाउनु भयो । यो कुरामा नेपाली समाजको मतैक्य छ ।
सुशील दा’ त रिसाउँदा नि आफ्नै, खुसी हुँदा नि आफ्नै, भनेजस्तो । परबाट हेर्दा र नजिकबाट देखिँदाका अनुभूति त्यही तरिकाले अलि फरक हुन जान्छ । सान्निध्यमा रहेर यो पङ्क्तिकारले उहाँसँग गरेको अनुभूति ठ्याक्कै यही गीतको बोलजस्तै रह्यो । यो प्रसङ्गमा केही त्यस्ता घटना छन्, जसलाई बिर्सन सकिँदैन । अडान र पहिचान उहाँको जीवनको आफ्नै पाटो हो । सहज र सरल व्यक्ति उहाँ कार्यकर्ताहरूसँग झर्किएको र चर्किएको देख्ने अवसरसमेत मिल्यो । उहाँको झोक पानीको फोका जति पनि टिकाउ नभएको देखेँ र भोगेँ । तुरुन्तै सुन्नोस् न, भन्दै सम्झाउन वा उसको कुरा सकार्न तयार भएको पनि पाएँ । यो उहाँको राजनीतिक कला थियो कि
स्वभाव ? यति भन्न सकिन्छ, यो उहाँको कला पनि हो र स्वभाव पनि । आज्ञा वा आज्ञा होस्, उहाँको थेगोजस्तै थियो । साना, ठूला सबैसँग र फोन आउँदा पनि प्रायः सभापति कोइराला आज्ञा शब्दले प्रतिक्रिया दिनुहुन्थ्यो ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले नेपाली काँग्रेसको नेतृत्वदायी परम्परालाई अविच्छिन्न जोड्नुभयो । उहाँको सफलता यहीँंनिर छ र राजनीतिक उपलब्धि पनि यसैमा समेटिएको छ । सफलता त त्यही हो, आफूले नेतृत्व गरेको दायित्वलाई जीवनले साथ दिएसम्म पूरा गर्ने हो । यस अर्थमा हेर्दा उहाँ सफल राजनीतिज्ञ हो र योगदान राजनेताको रह्यो ।
फर्किएर हेरौँ, उहाँको राजनीतिक यात्रामा दुई पक्ष गम्भीर देखिन्छन् । पहिलो नेपाली काँग्रेस र प्रजातान्त्रिक आन्दोलनमा अथक संलग्नता । दोस्रो, प्रधानमन्त्रीको दायित्वमा उहाँ । राजनीतिमा उहाँले देखाएको मूल्य, मान्यता समीक्षाका लागि एक अब्बल विषय हो र अनुकरण गर्न अहिलेका राजनीतिकर्मीहरूलाई कठिन काम समेत । तर प्रधानमन्त्रीको हैसियतले उहाँले दिन सकेको परिणाम यी पङ्क्तिमा चर्चाको विषय हो । नेपालको संविधान, भुइँचालो र राहत, बचाउ, सहयोगी दाताहरूको अन्तर्राष्ट्रिय सम्मेलन र सार्क सम्मेलन ।
प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रभाव राख्ने यस्ता घटनामा गरेको नेतृत्वले नेपाललाई थप गतिशील र अगाडि बढ्न बाटो देखाएकै हो । प्रचारमा आएको कुरा हो, छिमेकी भारत नेपालको संविधान घोषणालाई कमसे कम एक हप्ता पर सार्न आग्रह राख्थ्यो । तर प्रधानमन्त्री कोइरालाले मुलुकका सबै दललाई साथ लिनुभयो र भारतको आग्रहलाई मौन अस्वीकृत गर्दै संविधान घोषणाका लागि सरकारको नेतृत्व दिनुभयो । नेपालीहरू आफ्नो बाटो तय गर्न सक्षम र स्वतन्त्र छन् भन्ने स्पष्ट सन्देश दिन उहाँ सफल हुनुभयो ।
परिणाम संविधानसभामा प्रतिनिधित्व गर्ने ९० प्रतिशत जनमतले बनाएको संविधान भन्ने अवसर जु¥यो । बनाएको संविधान कार्यान्वयन गर्न गर्भभित्र को वा के फल्दैछ ? त्यो गर्भभित्रै छोडौँ र कार्यान्वयन गर्ने मर्द मिल्छ कि ध्वंश गर्ने नामर्द आइलाग्छ ? यो पनि प्रतीक्षाकै कुरा भयो । तर यस उहापोहमा राजनीतिलाई अहिले नेतृत्व गरिरहेको पुस्ताको सान्दर्भिकता जोडिएको छ । यस बेलाका नेताको सफलता प्राप्त उपलब्धिको रक्षा र जगेर्नामा निहीत छ ।
अर्को भुइँचालोको बेला । उहाँ प्रधानमन्त्री भएको बेलाको अत्यन्त दुःखद प्राकृतिक दुर्घटना थियो । त्यतिबेला बचाउ र राहतको काम पीडितहरूले अनुभूत गर्नेगरी ज्यादै सराहनीय भएको हामीले मात्रै स्वीकारेनौँ, अन्तर्राष्ट्रिय तहबाट पनि निकै प्रशंसा भयो । भारत र चीन दुवैले सहयोगदाताको सम्मेलन आ–आफैँले गरिदिने प्रस्ताव नेपालसमक्ष राखे । नेपाल ज्यादै दुःखी रहेको बेला सहयोग जुटाइदिने छिमेकीको सदाशय थियो होला त्यो । तर नेपालले आफ्नै मुलुकमा सम्मेलन ग¥यो र अपेक्षित सहयोगको वचनबद्धता पनि हासिल ग¥यो । जतिबेला प्रधानमन्त्रीको भूमिकामा उहाँ नै हुनुहुन्थ्यो ।
सार्क (दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन) सम्मेलन जसको क्षेत्रीय र अन्तर्राष्ट्रिय महìव रहन्छ, तत्कालीन अध्यक्षको हैसियतले नेपालले आफ्नो भूमिका र योगदान सकुशल पूरा ग¥यो । सार्कको १८ औँ सम्मेलन काठमाडौँमा सम्पन्न भयो । संयुक्त राष्ट्रसङ्घमा नेपालले निर्वाह गर्दै आएको दायित्वलाई प्रधानमन्त्री कोइरालाले पनि निरन्तरता दिनुभयो । यी उपलब्धि हेर्दा बुझिन्छ, सुशील कोइरालाले आशा र भरोशाको उज्यालो मसाल बाल्नुभएको थियो ।
राष्ट्रिय राजनीतिमा उहाँले प्राप्त गर्नुभएको सफलताको माध्यम नेपाली काँग्रेस हो । काँग्रेसको सभापतिको रूपमा उहाँले सहमति, सहकार्य र एकतालाई भावनात्मक रूपमा प्रयोग गर्नुभयो । प्रधानमन्त्रीको भूमिकामा पनि यही भावनाका साथ काम गर्नुभयो र परिणाम प्राप्त भयो । पहिलो संविधानसभा निर्वाचनमा दोस्रो दल बनेर पनि व्यवस्थापिका संसद्को समेत काम गर्ने सभामा काँग्रेसको प्रतिनिधि सङ्ख्या कमजोर थियो । विविध कारणले त्यसो भए पनि नेता गिरिजाप्रसाद कोइरालाको अभावमा सामना गर्नुपरेको परिस्थितिलाई उहाँले समाल्नुभयो । यस अर्थमा उहाँ भाग्यमानी पुरुष पनि हो ।
विभाजित प्रजातान्त्रिक काँग्रेसलाई आत्मसात गरेर क्रियाशील नेपाली काँग्रेसको नेतृत्व गर्दा विभाजनको तुषको बाछिटा उहाँको कार्यावधिमा पनि थियो । सभापतिको हैसियतले पार्टीको केही सङ्गठनात्मक संरचना बनाउन नसकेको अपजस बोक्नुभयो तर उहाँले सम्मिलित कार्यकर्ताबीच भावनात्मक दूरी बढ्न दिनुभएन । पार्टीभित्र समेत सभापति कोइरालाले सहमति र एकतालाई नै प्राथमिकतामा राखेको अनुभव सबैलाई भयो । यही बलमा संविधानसभा–संसद्को दोस्रो निर्वाचनमा नेपाली काँग्रेसले प्रमुख दलको हैसियत प्राप्त ग¥यो ।
संविधानसभाका लागि किन दोस्रो निर्वाचन गर्नुप¥यो ? विश्लेषणको अर्को पाटो हो । तर सुशील कोइरालाको नेतृत्वमा चुनावमा होमिएको काँग्रेस पहिलो दल भयो र अहिले संसद्मा त्यही हैसियतले काँग्रेस क्रियाशील छ । उल्लिखित प्रभावहरूलाई ध्यानमा राखेर हेर्दा उहाँले राष्ट्रिय राजनीति, अन्तर्राष्ट्रिय प्रभाव र पार्टीलाई उचाइको सिंढी चढाउनुभयो । सफलताहरूको योगले राजनीतिज्ञ सुशील कोइराला स्मरणीय इतिहास हुनुभयो । असल र ठूलो मानिस उहाँप्रति वार्षिकीमा हार्दिक श्रद्धा समर्पण ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना