कर्णेल गद्दाफी मारेकामा पछुताउँदै लिबियाली


Ram prashadरामप्रसाद आचार्य




आठ महिनासम्म विदेशी सेना र स्वदेशी विद्रोही लडाकुसँग लडेका लिबियाली शासक कर्णेल गद्दाफी अन्ततः वीभत्स ढङ्गले मारिए ।  उनी मारिएपछि जनताले राजनीतिक स्वतन्त्रता त पाए तर मुलुकले निकास पाएन ।  सक्षम नेतृत्वको अभाव, चरम गुटबन्दी र महŒवाकाङ्क्षाले गृहयुद्धमा फसेर मुलुक अस्तव्यस्त छ ।  हिंसा र अराजकताले सीमा नाघेको छ ।  गद्दाफीकालमा जनताले पाएका सारा सुविधा खोसिएका छन् ।  मुलुक विदेशीको क्रीडास्थल बनेको छ ।  अहिले राष्ट्रसङ्घीय शान्तिसेनाको घेराबन्दीभित्र राजधानी त्रिपोलीमा नाममात्रको सरकार छ ।  चारैतिर विद्रोहीले घेरिसकेका छन् ।  कतै शान्ति छैन ।  को कहाँ, कति बेला मर्ने हो वा मारिने हो थाहा छैन ।  आमजनता आक्रान्त छन् ।  हिंसा, अन्याय र अत्याचार व्याप्त छ ।  वास्तवमै गद्दाफीको मरण मुलुकका लागि अत्यन्तै महँगो साबित भएको छ ।  
अरब क्रान्तिको नाममा सन् २०११ को अक्टोबर २० मा आफ्नो गृहनगर सिर्तेमा अत्यन्तै बर्बर र वीभत्स ढङ्गले हत्या गरिएका गद्दाफीको मृत्युसँगै ४२वर्षे एकलौटी सत्ताको अन्त्य त भयो तर उनको हत्या र आठमहिने आन्दोलनले राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय एकता र जातीय सद्भाव नराम्ररी खल्बलियो ।  यस घटनाले मुलुकलाई अकल्पनीय नोक्सानी, जातीय विद्वेष, बर्बर हिंसा, विदेशी हस्तक्षेप बढायो ।  गद्दाफीको सत्ता ढाल्न विदेशी सैन्य हस्तक्षेपलाई स्वीकार गरी विदेशीकै सहयोग र समर्थनमा गरिएको सत्ता परिवर्तनले लिबियाको भविष्य भने अनिश्चितातर्फ धकेलिदिएको छ ।  
लोकतन्त्र नै नदेखेका युवापुस्ताका लिबियालीहरू सुरुमा यो सत्ता परिवर्तनबाट निकै उत्साही भए ।  लोकतन्त्र आएपछि के–के न पाइन्छ भनी निकै आकाङ्क्षी बने ।  विदेशीको सहयोगमा गद्दाफीलाई सत्ताच्युतमात्र गरेनन्, महान् शत्रु र महाअपराधी नै ठानेर उनलाई वीभत्स र बर्बर ढङ्गले कुटपिट गर्दै गोली ठोकर सडकमा घिसार्दै मारे ।  तर, गद्दाफीपछि उनीहरूलाई विनापूर्वाधार विदेशीमा तयार पारिदिएको विदेशी इशारामा चल्ने लोकतन्त्ररूपी शासनले अधिकार, सुरक्षा, राहत एवम् समृद्धि केही पनि दिन सकेन ।  आपसमै द्वन्द्व र प्रतिशोध बनाइदियो ।  कसैको इशारामा ल्याइएको लोकतन्त्र हात्तीको देखाउने दाँतमात्र भयो ।  लिबियाली जनताका आधारभूत आवश्यकता पूरा गर्नेगरी स्वतन्त्रता र मानवअधिकारको प्रत्याभूति गराउन सक्ने लोकतन्त्र नपाउँदा आन्दोलनताका निकै उत्साहित जनता अहिले निराश हुँदै छन् ।  एउटा पाउरोटी किन्न घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था सिर्जना भएको छ ।  
धेरैजसो भू–भाग मरुभूमिले ढाकेको तेलखानीको धनी १७ लाख ७० हजार वर्गकिमि क्षेत्रफलमा फैलिएका लिबिया अटोमन, इटाली र बेलायतको उपनिवेश बन्दै सन् १९५१ मा राजा इद्रिसको नेतृत्वमा स्वतन्त्र भएको हो ।  सन् १९६९ मा गद्दाफीले राजतन्त्र हटाई अफ्रिकाको गरिब, निरक्षर र विपन्न मुलुकका रूपमा रहेको लिबियाको नेतृत्व हातमा लिए ।  आफ्नैखालको समाजवाद भन्दै गद्दाफीले आफ्नो ४२वर्षे एकलौटी शासनकालमा मुलुकलाई अफ्रिकाको दोस्रो धनी मुलुक बनाए ।  प्रतिव्यक्ति आय १२ हजार डलरभन्दा माथि पुग्यो, ८० प्रतिशतभन्दा बढी मानिस शिक्षित भए, मानव सूचकाङ्क राम्रो बन्यो ।  तर, उनले जनतालाई स्वतन्त्रताको नागरिक अधिकार दिएनन्, छोरालाई उत्तराधिकारी बनाउनतिर लागे ।  जनतालाई राजनीतिक स्वतन्त्रता नदिएकाले उनकै अहङ्कार र जिद्दीले पुनः मुलुक तहसनहन भयो ।  उनले चलाएको साम्राज्यवादविरोधी राष्ट्रिय स्वाभिमानको आन्दोलन ओझेलमा प¥यो ।  उनकै कारण मुलुक विदेशी सैन्य हस्तक्षेपको सिकार बन्यो र अन्त्यमा उनी स्वयम् सर्वस्व गुमाएर मारिए ।  उनले अहङ्कार र जिद्दी नगरी जनताको परिवर्तनको चाहनालाई समयमै आत्मसात् गर्दै समयानुकूल राजनीतिक सुधार गरी लोकतान्त्रिक अभ्यासलाई स्थान दिएका भए आज मुलुक न यसरी तहसनहस हुने पनि थिएन न त विदेशी हस्तक्षेपको सिकार नै ।  एउटा निरङ्कुश सत्ताले मुलुकलाई कसरी तहसनहस बनाउँछ र अन्त्यमा आफू र आफ्नो परिवार पनि कसरी समाप्त पार्छ भन्ने पछिल्लो उदाहरण बने गद्दाफी ।  उनको हत्यासँगसँगै एउटा ४२वर्षे निरङ्कुश युग समाप्त भई लिबिया नयाँ तर चुनौतीपूर्ण युगमा प्रवेश ग¥यो ।  नयाँ युगमा प्रवेश गरे पनि लिबियाका आगामी दिन सोचेभन्दा निकै कठिन छन् ।  गद्दाफीले सिकाएको प्रतिशोध, निषेधको राजनीति र अहङ्कार एवम् जिद्दीलाई अन्तरिम नेताहरू, जातीय तथा धार्मिक समुदायले परित्याग गरी सबैलाई मान्य हुने सहभागितमा र समावेशी लोकतान्त्रिक शासन व्यवस्थाको जग बसाल्नुपर्नेमा त्यसो हुन सकिरहेको छैन ।  जसले गर्दा गद्दाफीपछि लिबियाका चुनौती झन् बढेर गएका छन् ।
गद्दाफीलाई बमबारी गरी मार्ने, पक्राउ गरी मुद्दा चलाउने वा आत्मसमर्पण गराउने लक्ष्यसहित कारबाहीका सबै विकल्प खुला गरेर युद्धभूमिमा उत्रेको उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को आफ्नो मिसन पूरा भयो ।  नेटोको सहयोगमा ठूलो मूल्य चुकाएर गद्दाफी मारिए ।  गद्दाफी मारिनुलाई आफ्नो सबैभन्दा ठूलो सफलता ठानेका पश्चिमी मुलुक अहिले त्यहाँ आफ्नो प्रभाव कसरी बढाउने र युद्धमा आफूले गरेको लगानीको साउँब्याज उठाउनेतर्फ क्रियाशील छन् ।  तेलको धनी लिबियामा तेलको स्वामित्व विदेशीको हातमा गइसकेको छ ।  जनता भने आपसमा लड्दैभिड्दै छन् ।  गद्दाफी हटाउने आठ महिलासम्मको कहालिलाग्दो युद्धमा ३० हजार मानिस मारिए, एक लाखभन्दा बढी घाइते भए भने पाँच लाख ८० हजारभन्दा बढी मानिस शरणार्थी बने ।  युद्धका कारण ५० अर्ब डलरभन्दा बढीको नोक्सानी भयो ।  युद्धक्रममा गद्दाफीले आफ्ना छोरा, नातिनातिनालगायत थुप्रै आफन्तजन गुमाए ।  युद्धबाट बचेका पत्नी र केही छोराछोरी, नातिनातिनालाई नाइजरको शरणार्थी बनाए र अन्त्यमा आफू पनि वीभत्स ढङ्गले मारिए ।  
एउटा सामान्य गोठालो परिवारमा भेडीगोठमा जन्मेका गद्दाफीले २७ वर्षको उमेरमा विनारक्तपात राजतन्त्र फ्याँकेर मुलुकलाई गणतान्त्रिक बनाउँदा उनी क्रान्ति नायक बने ।  ४२ वर्ष एकलौटी सत्ता चलाउँदा उनले मुलुकलाई आर्थिक र भौतिक रूपले विकसित बनाए ।  गद्दाफीको शासनकालमा जनतालाई राजनीतिकबाहेक धेरै क्षेत्रमा सुविधा दिइएको थियो ।  विद्युत्को महसुल बिल काटिँदैनथ्यो, सबै नागरिकलाई विद्युत् निःशुल्क थियो ।  बैङ्कहरू राज्यको स्वामित्वमा रहेकाले सबै नागरिकलाई शून्य प्रतिशत ब्याजमा ऋणको व्यवस्था थियो ।  गद्दाफीले आवासको बन्दोबस्तलाई मानवअधिकारका रूपमा लिए ।  लिबियामा सबैले घर नपाउञ्जेल आफ्ना बाबुआमाले घर नपाउने भन्दै गद्दाफीको परिवार नै पालमा बसेको थियो ।  
सबै नवविवाहिताले आफ्नो परिवार बसाउन, नयाँ घर किन्न सरकारबाट ५० हजार डलरको व्यवस्था थियो ।  शिक्षा र स्वास्थ्य निःशुल्क थियो ।  देशभित्र आवश्यक शिक्षा र स्वास्थ्य सुविधा पाउन नसकेको अवस्थामा सरकारी खर्चमा विदेश जाने व्यवस्था थियो ।  स्नातक तह उत्तीर्ण गरेका युवाले रोजगारी नपाएसम्म सरकारबाटै औसत तलबबराबर भत्ता व्यवस्था थियो ।  लिबियाका २५ प्रतिशत मानिस विश्वविद्यालयबाट दीक्षित थिए ।  कृषि पेसामा लाग्नेहरूका लागि कृषिगृह, कृषि सामग्री, बीउ र पशुपन्छी निःशुल्क थियो ।  कार किन्न चाहनेहरूका लागि सरकारले परल मूल्यको ५० प्रतिशत अनुदान दिएको थियो ।  पेट्रोल प्रतिलिटर ०.१४ डिनारमात्र थियो ।  विदेशी ऋण थिएन, सञ्चित कोषमा एक खर्ब ५० अर्ब डिनार थियो ।  लिबियामा तेल बिक्रीको एक अंश सबै लिबियालीहरूको बैङ्क खातामा सिघै जम्मा हुने व्यवस्था थियो ।  प्रत्येक सुत्केरी आमाले पाँच हजार डलर पाउने व्यवस्था थियो ।  गद्दाफीले विशाल मानवनिर्मित नदी परियोजना भनी चिनिने संसारकै सबैभन्दा ठूलो सिञ्चाइ परियोजना बनाई त्यहाँको मरुभूमिभरि पानी उपलब्ध गराएका थिए ।  जसले गर्दा कृषि क्रान्ति सफल भयो, देश खाद्यान्नमा आत्मनिर्भर बन्यो ।
गद्दाफीको शासनकाल राजनीतिक हिसाबले तानाशाही प्रकृतिको भए पनि समग्र मुलुकको विकास निर्माण र जनताको जीवनस्तरमाथि उठाउन भने उल्लेख्य रह्यो ।  जनतालाई समयानुकूल राजनीतिक स्वतन्त्रताको अधिकार नदिनु उनको ठूलो कमजोरी थियो ।  त्यही कमजोरी नै उनको पतन र समाप्तिका कारण बन्यो ।  यसैलाई आधार बनाएर विदेशी हस्तक्षेप भयो, मुलुक गृहयुद्धमा होमियो ।  आज आमलिबियालीको चिन्ता नै मुलुक कसरी बचाउने भन्नेमा छ ।  
सक्षम नेतृत्वको अभावले मुलुक अराजकता र चरम हिंसाको सिकार बनेको टुलुटुलु हेरेर बस्ने विवश छन् उनीहरू ।  अहिले अमेरिकी ट्रम्प सरकारले लिबियालाई अतिवादी राष्ट्रको सूचीमा राख्दै लिबियालीलाई अमेरिका प्रवेशमा रोक लगाएको छ ।  यो घटनाले झन् निराश अधिकांश लिबियालीले गद्दाफी मारेकोमा पछुतो मानेका छन् ।  लोकतन्त्रको जग बस्न नसकेको ६५ लाख जनसङ्ख्या रहेको लिबिया अर्को दुर्घटनामा पर्ने त होइन ? प्रश्न अनुत्तरित छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना