स्वस्थानी कथाको जीवन दर्शन

mira rabhandariमीरा राजभण्डारी अमात्य



 

हरेक वर्ष झैँ यस वर्षको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना शरीर शुिद्धका साथ दिनको एक छाक मात्र खाई नित्य मध्याह्नमा स्वस्थानीको पूजा र रातमा कथा सुन्ने सुनाइने स्वस्थानी व्रत आज सकिँदैछ ।  यसको व्रतका लागि प्रमुख तीर्थस्थल काठमाडौँस्थित शाली नदीमा व्रतालु तथा भक्तजनको भीड पनि लाग्ने गर्दछ र यो पटक पनि त्यस्तै रह्यो ।  सबैभन्दा कठिन व्रतका रूपमा लिइने स्वस्थानीको व्रत बस्नाले सन्तान नहुनेका लागि सन्तान हुने, भएकाको सन्तान रक्षा हुने, परिवारमा सुख शान्ति र धनको वृद्धि हुने र मानव मात्र तथा लोक कल्याण हुने जनविश्वास छ ।  यो वा त्यो गर्न हुन्छ वा हुंँदैन भन्ने नैतिक पाठलाई कथा आख्यानका माध्यमबाट समाजलाई दिँदै आएको स्वस्थानी कथाको सन्देश वर्तमानमा पनि जीवन जीउने नैतिक शैली वा नियमको रूपमा व्यवहारमा उतार्न सकिएमा जीवन सार्थक बनाउन सकिन्छ ।  भलै नवआधुनिकवादले स्वस्थानी कथामा श्रोतालाई सुन्न उत्सुकता र कौतुहल जगाउन प्रयोग भएका मिथक र काल्पनिक घटनाहरूको मात्र आलोचना गरी कथाले दिन खोजेको सामाजिक सौहार्दता, पारिवारिक प्रेममिलाप र महिलाहरूप्रति परिवार र समाजले गर्नुपर्ने सम्मान, श्रीमान् श्रीमतिबीचको प्रेम लगाव, महिलाका चाहना, आकांक्षाहरूलाई समाज र परिवारले गर्नुपर्ने सम्मानका सन्देशलाई गलत दृष्टिकोणले व्याख्या गर्ने गरिएको छ ।  
 स्वस्थानीको कथा पढ्ने क्रममा यसको प्रारम्भिक चरणमा ब्रह्माण्डको उत्पत्ति तथा देवता मानव तथा दैत्य जातिको सृष्टि वर्णनबाट शुरु भएको छ ।  शिव – पार्वती पुत्र कुमारजीले वाचन गर्ने र अगस्त्य मुनिले सुन्ने प्रसङ्गमा स्वस्थानीको कथा प्रारम्भ हुन्छ ।  एकतीस अध्यायमा विभाजित यो कथाहरूको संग्रहमा केही मिथक र अपत्यारिला कथा प्रसङ्गहरू जोडिएका छन् तर समग्रमा ती कथाहरू र कथाका पात्रहरूको भूमिका तथा प्रसङ्गले मानिसका जीवनमा आइपर्ने हरेक समस्या, दुःख सुखलाई कसरी व्यवस्थापन गर्ने, समस्याबाट कसरी मुक्त हुने भन्ने नैतिकता र विवेकशीलताको माध्यमहरूलाई रोचक कथा बनाएका छन् ।  
मानिसले कुनै पनि प्रकारको अहंकार गर्न हुन्न ।  अहंकार गर्नेहरू चाँडै पतन हुन्छन् भन्ने सन्देश यस कथाका हरेक अध्यायले दिएको छ ।  सतीदेवी तथा दक्ष प्रजापतिको कथा प्रसङ्ग यसको गतिलो उदाहरण हो ।  विवाह गर्दा घर परिवारको इच्छा बमोजिम सबैलाई खुशी बनाएर गर्दा राम्रो, होइन भने त्यस्तो विवाहले कालान्तरमा वियोगान्त कथाको रूप लिनेछ भन्ने सन्देश शिवजी र सतीदेवीको विवाह प्रसङ्गले दिएको छ ।  जसमा माता पिताबाट नरुचाइएका श्रीमान् शिवजीलाई अश्वमेध यज्ञमा नबोलाउँदा आफ्ना श्रीमान् शिवजीको आज्ञा उल्लङ्घन गरेर आफ्ना पिता दक्ष प्रजापति समक्ष पुगेकी सतीदेवीले अनाहकमा प्राण गुमाउनु परेको र धन सम्पत्ति र शक्तिको अहंकार गर्ने जो कोही पनि दक्षको गति हुने नैतिक सन्देश दिएको छ यस कथाले ।  त्यस्तै प्रेम जीवन गतिशील रहेसम्म मात्र गर्नुपर्छ मरेपछि शरीर नश्वर हुन्छ, वास्तविक प्रेम त कर्तव्य पूरा गर्नुमा हुन्छ भन्ने सन्देश सतीदेवीको मृत्युपछि शिवजीले सांसारिक कर्म भुल्न थालेको र उनलाई वास्तविक जीवनमा ल्याउन पार्वतीको प्रेमले बल मिलेको प्रसङ्गले जीवन जिउनुको यथार्थलाई दर्शाएको छ ।  जीवन साथी आफ्नो मनले चाहेको रोज्न पाउनुपर्छ, होइन भने महिला पनि विद्रोहमा उत्रन स्वतन्त्र छन् भन्ने सन्देश पार्वतीले शिवजी वर नपाउँदा घर छोडेर निराहार स्वस्थानीको व्रत बसी शिवजीलाई प्राप्त गरेरै छोडेको कथा प्रसङ्गले दिएको छ ।  
माता पिता नै सर्वश्रेष्ठ हुन् ।  माता पिताको स्थान ईश्वरको भन्दा माथि छ भन्ने सन्देश कुमार र गणेशजीको कथाले दिएको छ ।  महिला मात्रको सम्मान र प्रतिष्ठालाई यो कथाले केन्द्रिकृत गरेको छ ।  जालन्धरले आफ्नी श्रीमतीको मुखबाट पार्वतीको वर्णन सुनेर पार्वतीको पतिव्रता धर्म नष्ट गर्न खोज्दा आफ्नै श्रीमतिको पतिव्रता धर्म नष्ट भएको र आफूले पनि अनाहकमा ज्यान गुमाउनु परेको प्रसङ्गले महिला मात्रको अस्तित्व तथा आत्मसम्मान तथा गरिमालाई हरेक मानिसले रक्षा गर्नु पर्ने सन्देश छ ।  पुरुष स्वभावैले कामुक हुन्छन् उनीहरू कुनै बन्देजमा बस्न रुचाउँदैनन् भन्ने प्रसङ्ग किराँतेश्वर महादेवको कथा प्रसङ्गले देखाएको छ ।  
धन छ भन्दैमा अरूलाई मन नपर्ने गरी दान गर्नु हुन्न, धनको जगेर्ना गर्नुपर्छ होइन भने त्यसैको कारण आफू पतन होइन्छ भन्ने यथार्थ शिवभक्त ब्राह्मणको कथाले पुष्टि गरेको छ ।  ब्राह्मण शिवभक्तले अनावश्यक दान गर्दा स्वर्गमा इन्द्रको आसन हल्लिएको र गोमाको कथालाई अहिलेको नव आधुनिक युगमा काल्पनिक कथाका रूपमा लिइए पनि यो कथाले धनको अहंकार गर्न हुन्न, माग्ने हुँदैमा हेप्नु हुन्न अन्ततः गोमाको जस्तो दुःखमयी जीवन हुनेछ भन्ने सन्देश दिएको छ ।  
यस अर्थ स्वस्थानीको कथालाई मिथकको रूपमा मात्र नलिई यसलाई तत्कालीन समाजको बुझाइको स्तर अनुसार कथालाई रोचक बनाउन जोडिएका विभिन्न काल्पनिक प्रसङ्गलाई अलग्याई अध्ययन र मनन गर्नु आवश्यक छ ।  यो हाम्रो मौलिक संस्कार र धर्मको महान् ग्रन्थ हो ।  स्वस्थानी कथाको सबैभन्दा सबल पक्ष कथाको अन्त्यमा गोमा ब्राह्माणीले आफ्ना दुई बुहारीलाई दिएको नैतिक सन्देश हो ।  गोमा भन्छिन्, ‘जस्तो सूर्य लुकेको दिन र चन्द्रमा नभएको रात उज्यालो र राम्रो हुंँदैन, त्यस्तै मनुष्यको पनि असल शील स्वभाव भएकी स्त्री नभई घर चल्दैन । ’ गोमाको यस सन्देशले परिवारमा सुख शान्ति प्रेम र मेलका लागि महिलाको योगदान रहने र महिला शालीन र नैतिक शील स्वभावकी भएमा परिवारमा सदैव सुःख समृद्धि रहिरहने तथ्यलाई उजागर गरेको छ ।  त्यस्तै श्रीमान श्रीमतीले एक अर्काको कदर गरेमा सुख प्राप्त गर्न कुनै तीर्थ व्रत गर्नु नपर्ने र मानिसको वास्तविक सुख नै पारिवारिक प्रेम र मेलमा छ भन्ने कुरालाई कथामार्फत प्रस्तुत गरिएको छ ।  तसर्थ यसलाई धर्म ग्रन्थका रूपमा अस्वीकार गरे पनि आधुनिक शब्दमा जीवन जिउने कला वा नियमको एउटा आचार संहिताको रूपमा स्वीकार्दा अन्यथा हुने छैन ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना