कसरी बस्ने काठमाडौँमा !

 bibas wostiविवश वस्ती

 

चपला, अवलाहरू एक सुरमा
गुनकेशरीको फूल ली सिरमा
हिँड्न्या सखी लिकन वरिपरि
अलकापुरी कान्तिपुरी नगरी

काठमाडौँ उपत्यकाको महिमा–गान गाउन चाहनेहरूले आदिकवि भानुभक्त आचार्यद्वारा सिर्जित यी हरफहरू निश्चय नै गुन्गुनाउने गर्दछन् ।  उन्नाइसौं शताब्दीको काठमाडौँ उपत्यकाको सुन्दरता, जनजीवन र मानवीय सम्बन्धलाई पर्गेल्ने शब्दहरू छन्, आदिकविका यो सुन्दर काव्यभित्र ।  आदिकविले दसकौंअघि व्याख्या गरेको कान्तिपुरी नगरी अब भने तत्कालीन समयको जस्तो त रहेन नै, न त केही दशकअघिकै जस्तो छायाँ–छविबीच कान्तिपुरी नगरीलाई भेट्न सकिन्छ ।  अझ, चपला, अवलाहरू गुनकेशरीको फूल सिउँदोमा सजाएर एक सुर, एक लयमा हिँड्ने कुरा त मिथक नै बनिसक्यो अब त ।  
वर्तमान पुस्ता गुनकेशरीको फूलसँग परिचित छैन ।  महानगरका केही उद्यानहरूमा अरू प्रजातिका फूलहरू टन्नै फुलेको देख्न सकिन्छ ।  सीमित रैथाने र अधिकांश प्रवासी फूलहरूको बाहुल्यबीच गुनकेशरीको फूल लोप हुँदै जानु स्वाभाविकै हो ।  अतः गुनकेशरी नै नभएपछि चपला, अवलाहरूले सिरमा सजाएर हिँड्नु टाढाको विषय मान्नुपर्ने हुन्छ ।  
तर, कान्तिपुर नगरीको समृद्ध कथा र गाथा अब भने कहालीलाग्दो व्यथामा परिणत हुँदै गएको छ ।  जनघनत्वको भारले थिचिएको छ, कान्तिपुर नगरी ।  रोजगार, राम्रो स्वास्थ्य सेवा, उच्च शिक्षा र अरू विभिन्न खाले सेवा र सुविधाहरू कान्तिपुर नगरीमै थन्किएको हुँदा मानिसको चाप बढ्नुलाई अचम्म मान्नुपर्ने देखिँदैन ।  जनघनत्वको मार खेप्दै उँघिरहेको कान्तिपुर नगरी पछिल्लो समय त वातावरणीय दृष्टिकोणले पनि निम्छरो र निरीह महानगरको रूपमा बदलिँदै गएको छ ।  कान्तिपुर नगरीभित्र व्याप्त वायु प्रदूषणले यो चार भन्ज्याङभित्रको खाल्टोलाई विस्तारै अँध्यारोतिर धकेल्दै लगिरहेको प्रतीत हुन्छ ।  
केही समयअघि, फोटो पत्रकार चन्द्रशेखर कार्कीले आकाश मार्गबाट एउटा तस्बिर खिच्नुभएको थियो ।  काठमाडौँ, धुलिखेल र बनेपाका भूभागसमेत देखिने सो तस्बिर एउटा राष्ट्रिय दैनिकमा प्रकाशित भएको थियो ।  काठमाडौँ उपत्यकाकालाई केन्द्रित गरेर खिचिएको उक्त तस्बिरमा काठमाडौँमाथिको आकाशमा जमिरहेको प्रदूषित वायु प्रस्टै देखिन्थ्यो ।  कचौरामा तातो पानी हाल्दा बाफ उड्न अप्ठेरो मानेजस्तै देखिन्थ्यो, कान्तिपुर नगरीभित्र जमेर बसेको प्रदूषित वायु ।  यसले देशको राजधानीको भयावह पाटोलाई उघार्न मद्दत पु¥याएको ठान्न सकिन्छ ।  
विश्वका वायु प्रदूषित राजधानीहरूमध्ये अघिल्लो लहरमै परेको छ काठमाडौँ ।  किन काठमाडौँले मन–मस्तिष्कभरि वायु प्रदूषणको मार खेपिरहेको छ ? यसमा राज्यका सञ्चालकहरूका अदूरदर्शी नीति र वायु प्रदूषण कम गर्नेतिर देखिएको उदासिनतालाई नै मुख्य कारक तìवका रूपमा जिम्मेवार ठह¥याउन सकिन्छ ।  किनकि, राज्यका सञ्चालकहरूले चाहे भने वायु प्रदूषण न्यूनीकरण गर्न कुनै आइतबार कुरिराख्नु पर्दैन ।  
विदितै छ, कुनै पनि देशको जनसङ्ख्याको ठूलो हिस्सा शहर–बजारमा नै बसोबास गर्दै आएका हुन्छन् ।  सेवा, सुविधा आदि कारणहरूले शहर–बजारमा मानिसहरूको बसोबास जम्नुलाई अन्यथा ठान्न पनि सकिँदैन ।  अझ, राजधानीहरूमा जनघनत्व हुनुलाई स्वाभाविक पक्ष मान्न सकिन्छ ।  देशको राजधानी हरेक सेवा, सुविधा र स्रोतले भरिपूर्ण हुने भएका हुँदा जनघनत्व बढ्नु सामान्य पक्ष हो ।  जनघनत्वको चाप हुने देशको राजधानीलाई कसरी व्यवस्थित, सुन्दर, आकर्षक, प्रदूषणमुक्त राख्ने भन्ने चाहिँ राज्यको बागडोर सम्हाल्नेहरूकै योजना र दूरदृष्टिमा निर्भर रहने पक्ष हो ।  
कान्तिपुर नगरीलाई दिनानुदिन प्रदूषणले च्याप्दै लगिरहेको विषय सबैका निम्ति टाउको दुखाइ बन्ने गरेको छ ।  किन यस्तो परिस्थिति सिर्जना भयो त ? त्यो दिशातिर ध्यान पुगेको छ वा छैन भनेर सोच्नु अनिवार्य देखिन्छ ।  वायु प्रदूषणले राजधानीलाई निचोरेको सबैले महसुस गरेको विषय हो ।  तर, वायु प्रदूषण उत्पन्न हुनुका कारक तìवहरू के के हुन् त ? यसलाई पर्गेल्नेतिर कत्तिको चासो पोखिएको छ ? यी पक्षलाई पनि नियाल्नुपर्ने हुन्छ ।  
पछिल्लो अवधिमा करिब ४५ अर्बको सवारी साधन देशभित्र आयात भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले बताउँछ ।  आयात भएका सवारी साधनमध्ये अधिकांश काठमाडौँ उपत्यकाभित्रका बासिन्दाले खरिद गरेको बताइन्छ ।  २०७२ सालको महाभूकम्पले त्रासदीपूर्ण मोडमा उभ्याइदिएको काठमाडौँबासीलाई लगत्तै अर्को झट्का लाग्न पुग्यो ।  त्यो झट्का थियो– नाकाबन्दी ।  नाकाबन्दीका बेला पेट्रोलियम पदार्थको आयात ठप्प भएपछि तेलको अपर्याप्तताका कारण सवारी साधन गुड्ने र आयात हुने क्रम घट्न पुग्यो ।  तर, अहिले सबै पक्ष सहज हुँदै गएका छन् र केही महिनायता सवारी साधन खरिद गर्ने क्रम अपत्यारिलो रूपले बढ्न पुगेको छ ।  तसर्थ, बढ्दो सवारी चापसँगै पेट्रोलियम पदार्थको खपतका कारण काठमाडौँ उपत्यकामा वायु प्रदूषणको समस्या उत्पन्न हुँदै गएको देखिन्छ ।  
काठमाडौँ उपत्यकामा वायु प्रदूषणको ग्राफ उकालो चढ्नुमा सवारी साधनको बढ्दो आयात र चाप रहेको कुरालाई पहिलो नम्बरमा राख्नु अनुचित नहोला ।  अझ, काठमाडौँ उपत्यकाभित्र अधिकांश सवारी साधनहरू पेट्रोल नभएर डिजेलबाट चल्ने गरेको बताइन्छ ।  डिजेलबाट चल्ने सवारी साधनहरू प्रदूषणका लागि मुख्य कारक मान्ने गरिन्छ ।  हुन पनि, सरकारले डिजेलका गाडीहरू विस्थापन गरेर ठूला सार्वजनिक सवारी साधन सञ्चालन गर्नेतिर तदारुकताका साथ पाइला नचाल्दा समस्याले विकराल रूप लिँदै गएकोमा सन्देह देखिँदैन ।  अर्कोतिर, सवारी चाप कम गर्न र वायु प्रदूषण घटाउन जोर–बिजोर प्रणाली उपयुक्त हुनसक्छ ।  विगतमा केही समय यस्तो प्रणाली लागू भए पनि त्यसले निरन्तरता भने पाउन सकेन ।  किन पाएन ? यसको जवाफ खोज्ने झन्झट कसैले पनि बेसाउन चाहिरहेका छैनन् ।  
देश लोडसेडिङको समस्याबाट क्रमशः मुक्त हुँदैछ ।  दशकपछि लोडसेडिङको अनुहार देख्न नपाउने सौभाग्य काठमाडौँबासीले पाएका छन् ।  तसर्थ, अहिले बन्द अवस्थामा रहेको ट्रली बस र अरू विद्युतीय बस सेवाहरू सञ्चालन गरे वायु प्रदूषणमा स्वतः कमी आउने देखिन्छ ।  त्रिपुरेश्वरदेखि सूर्यविनायकसम्मको पुरानै रुटमा पुनः ट्रली बस सञ्चालन गर्न सकिन्छ ।  यसका निम्ति इच्छाशक्ति नै सल्बलाउनु पर्छ ।  
वायु प्रदूषण बढ्नुको अर्को कारण उपत्यकाभित्र रहेका इँटा कारखानाहरूले उत्सर्जन गर्ने दूषित वायु पनि हो ।  सरकारले इँटा कारखानाहरूले विद्युतीय प्रणालीबाट इँटा उत्पादन गर्नुपर्ने वा वायु प्रदूषण नहुने अरू उपाय अवलम्बन गर्नु पर्ने निर्देशलाई कडाइँपूर्वक पालना गर्न लगाउनु उपयुक्त देखिन्छ ।  इँटा उद्योगलाई विस्थापित गर्नेभन्दा पनि वायु प्रदूषण कम गराउने उपाय खोज्नु राम्रो हुने देखिन्छ ।  
तेस्रो कारण हो, उपत्यकाभित्रको औद्योगिक क्षेत्र ।  अहिले देशभरि ११ वटा औद्योगिक क्षेत्र छन् ।  तर, धेरै उद्योग भने उपत्यकाभित्रै छन्–बालाजु, पाटन र भक्तपुरमा ।  उपत्यकाभित्र रहेका यी तीन औद्योगिक क्षेत्रले पनि वायु प्रदूषण निम्त्याउन उल्लेख्य भूमिका खेलिरहेका छन् ।  काठमाडौँमा बढ्दो जनघनत्वका कारण र ती औद्योगिक क्षेत्रहरू मानव बस्तीहरूकै बीचमा रहेका हुँदा त्यसलाई स्थानान्तरण गर्नेतिर सरकारले पहलकदमी चाल्ने हो भने पनि वायु प्रदूषणमा कमी आउनेमा निश्चिन्त हुन सकिने आधार देखिन्छ ।  
यदि, आदिकविले भोगेको कान्तिपुर नगरीमा पुनः चपला, अवलाहरूले शिरमा गुनकेशरीको फूल लिई वरिपरि सखीहरू लिएर हिँडेका दृश्य नियाल्न इच्छा राख्ने हो भने धुँवा, धूलोले कट्कटिएको काठमाडौँबाट केही चिजहरूलाई छाँट्नै पर्छ ।  अरू विकल्प
देखिँदैन ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना