वेद विज्ञान र महर्षि अगस्ति

kamal rijalकमल रिजाल





प्राचीन ऋषि–मण्डलीमा महर्षि अगस्तिको अति सम्मानित स्थान छ ।  उनको इतिहास र पुराणमा जति चर्चा भेटिन्छ वैदिक ग्रन्थहरूमा पनि त्योभन्दा कम चर्चा भएको पाइन्न ।  संस्कृत साहित्यमा विशेष दखल राख्ने यी महर्षि वैदिक मन्त्र द्रष्टा ऋषिमा पनि पर्छन् ।  यद्यपि उनी सिङ्गै मण्डलको द्रष्टा ऋषिमा पर्दैनन् तर उनीद्वारा देखिएका जति पनि मन्त्र र सूक्त छन् तिनीहरू आफैमा कुनै मण्डलभन्दा कम छैनन् ।  ऋग्वेद प्रथम मण्डलका १६५ देखि १९१ सम्मका २७ वटा सूक्त उनैद्वारा देखिएका सूक्त मानिन्छन् ।  यिनमा इन्द्र, मरुद्गण, रति, अश्विनिकुमार, द्यावापृथिवी, विश्वेदेवा, अन्न, त्वष्टा, अग्नि, बृहस्पति, अप्तृण सूर्या आदि देवी, देवताको स्तुति गरिएका २३९ मन्त्र छन् ।  यी मन्त्रहरूमार्फत उनले द्युलोकदेखि भूलोकसम्मका सबैको गति, मति र स्थिति चित्रण गरेका मात्र छैनन् उनीहरूसँग सर्वत्र सद्भाव र समुन्नतिको कामना समेत गरेका छन् ।  
महर्षि अगस्तिद्वारा देखिएका सबै मन्त्र र सूक्त उत्तिकै महìवका छन् ।  तिनमा पनि १७९ औ, १८२ औँ, १८५ औँ, १८७ औँ र १९१ औ सूक्तहरू बढी महìवका देखिएका छन् ।  यीमध्ये रति सूक्तको रूपमा पनि लिन सकिने १७९ औँ सूक्तमा कुल छ वटा मन्त्र छन् ।  महर्षि अगस्ति र उनकी पत्नी लोपामुद्राद्वारा संयुक्त रूपमा रतिको प्रार्थना गरिएका यी मन्त्रहरूमार्फत उनले असल सन्तानको कामना गरेका मात्र छैनन् गर्भाधानका लागि पत्नीको अगाडि प्रस्तुत हुँदा हुनुपर्ने पुरुषको शारीरिक अवस्था, असल सन्तानका लागि पति–पत्नीले निर्वाह गर्नुपर्ने भूमिका र त्यसरी जन्मेका सन्तानले निर्वाह गर्न सक्ने भूमिकाबारे सूक्ष्म चर्चा गर्ने प्रयास गरेका छन् ।  गर्भाधानका बेला आमा र बाबु जुन भावले भावित भएका हुन्छन् भावी सन्तानको जीवन त्यसैद्वारा प्रभावित भइरहेको हुन्छ भन्ने तथ्य पत्ता लगाउन सक्ने यी महर्षि गर्भविज्ञानका जति ज्ञाता मानिएका छन् स्वर्ग विज्ञानका पनि त्यति नै ज्ञाता देखिएका छन् ।  
वस्तुतः उनले सूक्त १८२ को पाँचौं मन्त्रमा मानसिक गतिले आकाशको माथिल्लो भागमा उड्न पनि सक्ने र महासागरको बीचमा कुद्न सक्ने जुन किसिमको डुङ्गा भनौं वा विमानको चर्चा गरेका छन् यसैबाट नै उनको वैज्ञानिक व्यक्तित्वबारे स्वतः अनुमान लगाउन सकिन्छ ।  हाल हामीसँग आकाशमा उड्ने यान छन् ।  समुद्रमा कुद्ने यान पनि छन् तर आकाशमा उड्न सक्ने र समुद्रमा कुद्न पनि सक्ने एउटै यान भने हालसम्म सम्भवतः कुनै प्रयोगशालाले उत्पादन गर्न सकेका छैनन् ।  त्यस्तै संसारमा अन्तरिक्ष अनुसन्धान गर्ने शास्त्र छन् ।  सामुद्रिक तथा भौगर्भिक गति र स्थिति अनुसन्धान गर्ने शास्त्र पनि छन् तर एकैचोटी त्यो पनि एकै स्थानमा दुवैको विशेषता वर्णन गर्ने शास्त्र भने संसारमा कतै छैन ।  
यसैगरी १८५ औँ सूक्तमा ११ वटा मन्त्र छन् ।  यी मन्त्रहरूमा उनले कुशल अभिभावकले जस्तै द्यावाभूमिले हाम्रो संरक्षण गरेका छन् भन्दै दुई दिदीबहिनी जस्ता लाग्ने यी दुईको उत्पत्ति, शक्ति, सामथ्र्य र सर्वव्यापकताबारे जसरी चित्रण गरेका छन् निसन्देह त्यो पनि कम्ती दूरदर्शिता र बौद्धिक क्षमताको उपज होइन भन्नैपर्छ ।  त्यस्तै १८७ औ सूक्तलाई अन्न सूक्तको रूपमा लिन सकिन्छ ।  यस सूक्तमा पनि कुल ११ वटा नै मन्त्र छन् ।  यी मन्त्रहरूमार्फत महर्षिले अन्नलाई प्राणेश्वर मानेर प्रार्थना मात्र गरेका छैनन् उसको महत्ता तथा आवश्यकतालगायत समग्र विशेषता वर्णन गर्ने काम गरेका छन् ।  त्यस्तै १९१ औँ सूक्तलाई विषनाशक सूक्तको रूपमा लिन सकिने देखिन्छ ।  यस सूक्तमा रहेका १६ वटा मन्त्रले पृथिवीमा रहेका प्रत्यक्ष देखिने र नदेखिने किसिमका विषालु प्राणीहरूका चर्चा गरेका छन् ।  यसबाहेक यिनै मन्त्रहरूमार्फत उनले त्यस्ता प्राणीहरूले कसैलाई दुःख नदिउन् भन्ने आग्रह गरेका छन् र त्यसबाट बच्न सकिने तरिका सिकाउने कामसमेत गरेका छन् ।  
महर्षि अगस्तिबाहेक उनका छोरा दृढच्युत र नाति इध्मवाह पनि मन्त्रद्रष्टा ऋषिमै पर्छन् ।  यीमध्ये ऋग्वेद नवौं मण्डलको २५ औँ सूक्त दृढच्युतले देखेका हुन् ।  यस सूक्तमा पवमान सोमको स्तुति गरिएको कुल छ वटा मन्त्र छन् ।  यी मन्त्रहरूमार्फत् उनले सोमरसको विशेषता वर्णन गरेका छन् ।  त्यस्तै यसै मण्डलको २६ औँ सूक्तलाई अगस्तिका नाति इध्मवाहले देखेका हुन् ।  कुल ६ वटा मन्त्र रहेको यस सूक्तले पनि सोमसरकै विशेषता वर्णन गर्ने काम गरेका छन् ।  त्यस्तै अगस्तिका पत्नी लोपामुद्रा पनि ब्रह्मवादिनीमै पर्छिन् ।  ऋग्वेदका अनुसार उनी विशेष गरी श्रीविद्याका प्राचार्य मानिएकी छन् ।  साथसाथै उनका दौहित्र (छोरीको छोरा) श्रुतबन्धु र विप्रबन्धु पनि मन्त्रद्रष्टा नै मानिन्छन् ।  ऋग्वेद दशौं मण्डलको ६० औँ सूक्त उनैले नै देखेका हुन् ।  यस सूक्तको दशौं मन्त्रमा उनीहरूले आफ्ना भाइ सुबन्धुलाई आफूहरू यमराजको भयबाट मुक्त गराउन सफल भएको प्रसंग उठाएका छन् ।  
ऋग्वेद मण्डल सात सूक्त ३३ को १३ औ मन्त्रमा उल्लेख भएअनुसार महर्षि अगस्ति जन्म पनि बढो विचित्र ढङले भएको देखिन्छ ।  उनी मैत्रावरुणका छोरा मानिएका छन् भने आमाको भूमिकामा उर्वशी रहेकी छन् तर उनको जन्म भने उर्वशीको गर्भबाट नभई कुम्भबाट भएको देखिन्छ ।  एकपटक मैत्रावरुण यज्ञकार्यमा लागेका थिए ।  अकस्मात् आफ्ना अगाडि उर्वशी अप्सरा झल्याक झुलुक देखिन थालिन् ।  यदाकदा विधाताले पनि अचम्मकै खेल खेल्दा रहेछन् ।  उर्वशीलाई देख्ने बित्तिकै मैत्रावरुणको वीर्यपात हुन पुग्यो ।  त्यसपछि उनीहरूले आश्चर्य मान्दै त्यसलाई सोही यज्ञ कलशा राखेर गर्भसंस्कार गरिदिए ।  अन्ततः सोही घडाबाट उनी सहित अर्का महर्षि वसिष्ठको जन्म भएको थियो ।  यस प्रकार उनी मैत्रावरुणको पुत्रको हुन पुगेका छन् भने आमाको भूमिका उर्वशीले निर्वाह गरेकी छन् ।  आधुनिक भाषामा भन्नुपर्दा अगस्तिका लागि उर्वशी सरोगेसी आमाको भूमिकामा उभिन पुगेकी देखिन्छन् ।      
ऋग्वेद प्रथम मण्डल सूक्त १८० को आठौँ मन्त्रकाअनुसार उनी संगीत विशेषज्ञको रूपमा रहेका देखिन्छन् ।  यस मन्त्रले उनलाई हजारौँ धुन निकाल्न सक्ने व्यक्तिको रूपमा चित्रण गरेको छ ।  पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार ब्रह्मतेजको मूर्तिमान व्यक्तित्व मानिने यी महर्षि महातपस्वी र महायोगी देखिएका छन् ।  यही योगबलद्वारा उनले दुनियाँमा कसैले गर्न नसक्ने काम समेत गरेर देखाएका छन् ।  दैवी सत्ता प्रवद्र्धन लागि उनी कहिले सिङ्गै समुद्र पिइरहेका देखिन्छ भने कहिले विन्ध्याचल जस्तो विशाल पर्वतलाई नै सदाका लागि जमिनमा लेटाउन पुगिरहेका भेटिन्छन् ।  
अगस्त्य संहिता आदि अनेक ग्रन्थका रचयिता मानिएका यी महर्षिलाई कतिपय विद्वानले तामिल भाषाको आदि व्याकरण उनैको रहेका मानेका छन् ।  उनी द्राविण सभ्यताको प्रवर्तक समेत मानिएका छन् ।  यसबाहेक उनी पाचन शक्तिको स्वामी समेत मानिन्छन् ।  अहिले पनि बढी खान सक्नेलाई अगस्ति भनिन्छ भने बढी खाएको पचाउनका लागि उनको नाम लिनुपर्छ भन्ने मान्यता रहँदै आएको छ ।  
महर्षि अगस्तिले हामीलाई जुन धरातल देखाएर गएका थिए ती मध्ये कतिपयमा हामी भरखर पाइलो राख्दैछौँ भने कतिपयको त अझै छेउछाउसम्म पनि पुग्न सकेका छैनौँ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना