जनयुद्धले ल्याएको परिवर्तन

hasta bdr kcहस्तबहादुर के.सी.


 

फागुन १ गते नेपाली कम्युनिस्ट आन्दोलन तथा नेपालको जनवादी आन्दोलनमा एक ऐतिहासिक दिन हो ।  वि.सं. २०५२ फागुन १ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा सशस्त्र ‘जनयुद्ध’ को थालनी गरिएको थियो ।  यो नेपाली जनविद्रोह रोल्पा जिल्लाको होलेरी प्रहरी चौकी, रुकुम जिल्लाको राडीज्यूला प्रहरी चौकी, सिन्धुली जिल्लाको सिन्धुलीगढी प्रहरी चौकी र गोरखा जिल्लाको कृषि विकास बैंकमाथि एउटै समयमा सशस्त्र आक्रमण गरी एकैसाथ शुरु गरिएको थियो ।  विस्तारै यसको प्रभाव देशव्यापी बन्नु स्वाभाविक थियो र भयो पनि ।  
“राजतन्त्रात्मक बहुदलीय संसदीय व्यवस्थालाई ध्वंस पारौँ, जनताको जनवादी राज्यसत्ता स्थापना गरौँ । ” भन्ने मूल नाराका साथ माओवादीले ‘जनयुद्ध’को थालनी गरेको थियो ।  राज्यसत्ताको विरुद्ध नेपालमा बन्दुक उठाएको यो पहिलो घटना भने थिएन ।  २००७ सालमा जहाँनिया राणा शासनका विरुद्ध नेपाली काँग्रेसले बन्दुक उठाएको थियो ।  राणा शासनका विरुद्ध लड्नका नेपाली मुक्तिसेना समेत गठन गरेको थियो ।  २०२८ सालमा पूर्वी नेपालका झापाली कम्युनिस्टहरूले निरंकुश तथा अधिनायकवादी व्यवस्थाका विरुद्ध बन्दुक उठाएका थिए ।  जो ‘झापा विद्रोह’ को नामले चिनिन्छ ।  २०३० सालमा नेपाली काँग्रेसले दोस्रो पटक बन्दुक उठाएको थियो ।  त्यति बेलाको विमान अपहरण काण्ड र ओखलढुङ्गा बमकाण्ड नेपाली काँग्रेसले गरेको थियो ।  झापाका विद्रोहका योद्धाहरू रामनाथ दाहाल, नारायण श्रेष्ठ, वीरेन राजवंशी र कृष्ण कुइँकेललाई त पञ्चायती सरकारले २०२९ सालमा झापाबाट इलामा जेल चलान गर्ने बहानामा इलामको सुखानीको जङ्गलमा लगेर हत्या गरेको थियो ।  २०३० सालमा ओखलढुङ्गामा बम काण्ड मच्चाउने नेपाली काँग्रेसका कप्तान यज्ञबहादुर थापा र नारायण श्रेष्ठलाई पञ्चायती सरकारले विराटनगर जेलमै हत्या गरेको थियो ।  
चीनमा माओत्सेतुङले लागू गरेको नयाँ जनवादी क्रान्तिको नीति अनुरूप माओवादीले २०५२ सालमा शुरुमा छापामार दस्ता, जनमिलिसिया हँुदै सातौँ डिभिजनसम्मको जनमुक्ति सेना, नेपालको निर्माण समेत गरेको थियो ।  
ग्रामीण वर्गसङ्घर्षलाई मेरुदण्ड मानेर माओवादीद्वारा सञ्चालन गरिएको जनयुद्ध नेपालमा करीब दश वर्षसम्म चलेको थियो ।  यस दश वर्षका बीचमा तत्कालीन राज्य पक्षबाट दश हजारभन्दा बढी जनताका छोराछोरी शहीद बन्न पुगेका थिए भने हजारौँको सङ्ख्यामा घाइते, अपाङ्ग बन्न पुगेका थिए ।  सयौँलाई तत्कालीन राज्यले ज्यान विपत्ता समेत पारेको थियो, जो अहिलेसम्म उनीहरूको स्थिति सार्वजनिक गरिएको छैन ।  त्यस्तै युद्धरत माओवादी पक्षबाट पनि सेना, पुलिस र अन्य राजनीतिक दलका कार्यकर्ता समेत गरी हजारौँको क्षति गराइएको थियो ।  अर्कोतिर राज्य पक्ष र माओवादी पक्ष दुवैबाट मुलुकको ठूलो भौतिक सम्पत्ति र संरचनाको समेत क्षति पुग्न गएको थियो ।  
यस अतिरिक्त माओवादी जनयुद्धले नेपाली समाजमा राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा ठूलै परिवर्तन नल्याएको होइन ।  दश वर्षे जनयुद्ध र २०६२÷०६३ को १९ दिने ऐतिहासिक जनआन्दोलनको बलले २०६५ साल जेठ १५ गते ऐतिहासिक पहिलो संविधानसभाको पहिलो ऐतिहासिक बैठकबाट नेपालमा करीब २४० वर्षसम्म शासन गर्दै आएको शाह वंशीय राजतन्त्रलाई अन्त गरी लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिएको थियो ।  नेपालको राजनीतिक इतिहासमा यो एक युगान्तकारी परिवर्तन र उपलब्धि हो ।  
दश वर्षे जनयुद्धले नेपाली समाजमा ठूलो परिवर्तन ल्यायो ।  यसले नेपालका दूरदराजमा रहेका ग्रामीण इलाकाहरूमा ठूलो जनचेतना ल्याइदियो ।  पछाडि पारिएका महिला, दलित, जनजाति, मुस्लिम, तराई, पहाड, मधेश, हिमाल, आदि स्थानमा बसोबास गर्दै आएका अल्पसङ्ख्यक तथा सीमान्तकृत जाति, जनजातिहरूबीच व्यापक रूपमा जनचेतना फैलाउने र ती समुदाय जागृत हुनुमा दश वर्षे जनयुद्धको ठूलो हात रहेको छ ।  आज देशव्यापी रूपमा समग्र नेपाली जनताबीच जुन चेतनाको जागरण जागृत भएको छ, त्यसमा दश वर्षे जनयुद्धलाई पन्छाउँदा माओवादीहरूप्रति ठूलो अन्याय गरेको वा पूर्वाग्राही भएको ठहर्नेछ ।  अहिले नेपालमा सूचना प्रविधि क्षेत्रमा भएको अकल्पनीय क्रान्तिले जनताको त्यो उर्वर रहेको चेतनामा ठूलो मलजल गर्ने कार्य भरहेको छ ।  
नेपालको वर्तमान संविधानले समेत व्यवस्था गरिसकेको कुरा हो गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक निर्वाचन प्रणाली, समावेशिता ।  यसमा पनि माओवादी जनयुद्धको महìवपूर्ण भूमिका रहेको तथ्यलाई नकार्न सकिँदैन ।  राजनीतिक परिवर्तनसँगै नेपालमा आर्थिक रूपमा धेरै परिवर्तन र विकास भएको छ ।  मुलुकमा शान्ति सुव्यवस्था कायम हुन पुगेकाले उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा ठूलो परिवर्तन र विकास भएको छ ।  वित्तीय तथा बैंकिङ क्षेत्रमा ठूलो विकास भएको छ ।  मुलुकमा शान्ति छाएका कारण, उद्योगी व्यवसायी तथा लगानीकर्ताहरूले पनि ढुक्कसँग आफ्नो कामको प्रवद्र्धन गर्न पाइरहेका छन् ।  मुलुकको राजस्व संकलनमा बढोत्तरी नै छ ।  
यति भएर पनि आर्थिक क्षेत्रमा अर्को बिडम्बना भने कायमै मात्रै होइन झनै मौलाएको छ, त्यो हो – भ्रष्टाचार, कालोबजारी, तस्करी, कमिशन, महँगी ।  राज्यले यसलाई नियन्त्रण गर्न सकिरहेको छैन ।  जनयुद्धकै नेतृत्व गरेर आएको माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने अवसर पाएको भए पनि यसले पनि जनचाहना अनुरूप काम गर्न नसकेको प्रस्टै छ ।  कालो बजारी, तस्करी, कमिशनतन्त्र, भ्रस्टाचार र महँगीले जनताको ढाडै सेकिने गरी आकासिँदासम्म पनि यसलाई राज्यले नियन्त्रण गर्ने, न्यूनीकरण गर्नेतिर त्यति ध्यान दिएको पाइँदैन ।  
नेपाली समाजमा राजनीतिक चेतनासँगै सामाजिक चेतना जगाउने काममा माओवादी जनयुद्धको ठूलो भूमिका रहेको छ ।  सांस्कृतिक क्षेत्र, समाजमा रहेका पछौटे, पुरातन र रुढिग्रस्त चिन्तन र व्यवहार पनि यसले ठूलो परिवर्तन ल्याएकै हो ।  जुन बेला माओवादीहरूले स्थानीय जनसत्ता सञ्चालन गरिरहेका थिए त्यतिबेला नेपाली समाजलाई अनुशासनबद्ध राख्ने प्रयासको थालनी पनि गरिएको थियो ।  गाउँघरमा जाँड, रक्सी खाने, जुवा–तास खेल्ने र समाजमा विकृति र विसंगति फैलाउनेहरूलाई नियन्त्रण गरेर समाजमा नयाँ तथा जनवादी संस्कृतिको समेत विकास गरिएको थियो ।  
माओवादी जनयुद्धलाई हेर्ने, त्यसले ल्याएको परिवर्तन र उपलब्धिहरूलाई हेर्ने दृष्टिकोण फरक फरक हुने कुरा स्वाभाविक छ ।  माओवादी जनयुद्धले नेपाली समाजमा विकृति ल्याएको विश्लेषण गर्नेको पनि ठूलै सङ्ख्या छ ।  त्यति बेलाबाटै केहीले काम गरी नखाने, जनतालाई थर्काएर, तर्साएर एवं बलजफ्ती गरेर खाने जुन प्रवृत्तिको विकास भएको थियो, यो नाकारात्मक पाटो नै हो ।  त्यो प्रवृत्ति भएकाले अहिले पनि माओवादीका नाममा जबरजस्ती चन्दा असुली वा अन्य ढङ्गले जीवन निर्वाह गर्ने प्रवृत्ति जीवितै छ ।  
माओवादीहरू शान्ति प्रक्रियामा सामेल भएपश्चात एउटा ठूलो हिस्सा खास गरी युवापंक्तिमा जनयुद्धको नाममा, पार्टीको आडभरोसामा अनियन्त्रित ढङ्गले धन, सम्पत्ति आर्जन गर्ने सुख सुविधामा लिप्त हुने, जीवन शैलीमा ह्वात्तै परिवर्तन गरेर आफूलाई शहरीयाकरण गर्ने, हिजो युद्धमा लागेका छु भन्नेहरूले शहर बजारमा ठूलो महल ठड्याउने, ठेक्का पट्टा, जग्गा दलाली र जहाँबाट बढी पैसो आउँछ भनेर आँखा चिम्लेर हामफाल्ने प्रवृत्ति बढेर जानुमा दश वर्षे जनयुद्धकै नकारात्मक परिणाम हो ।  यो ठूलो विकृति र विसंगति ढाकछोप गर्न सकिने खालको छैन ।
अहिले माओवादी आन्दोलन विभाजित अवस्थामा छ र छिन्नभिन्न अवस्थामा पुगेको छ ।  यसको प्रमुख कारण त जनयुद्धको नेतृत्व गरेर भएको मुख्य नेतृत्व पंक्तिमा नै विचारमा विचलन आउनु हो भने अन्य कारण नेता तथा कार्यकर्ताहरूमा मौलाएको पदलोलुपता, छिटो आर्थिक उपार्जन गर्ने मनोकांक्षा, देश, जनता र क्रान्तिलाई भन्दा पैसालाई ठूलो देख्ने कारणले गर्दा माओवादी आन्दोलन विभाजन हुन पुगेको छ ।  यसले गर्दा नेपाली समाजमा, राजनीतिक क्षेत्रमा, आर्थिक क्षेत्रमा एवं सांस्कृतिक क्षेत्रमा समेत ठूलो नकारात्मक सन्देश दिएको छ ।  नेपाली समाजमा विकृति र विसंगतिहरूले मौलाउने मौका पाइरहेका छन् ।  
नयाँ नेपाल निर्माण गर्ने नेपाली जनताका सुन्दर सपना साकार तुल्याउनका लागि अन्यले होइन माओवादी आन्दोलनभित्रका माओवादी नामका पार्टीहरू र आम नेता कार्यकर्ता पंक्तिले गम्भीर रूपमा सोच्नुपर्ने हुन्छ र माओवादीहरूले आफैँलाई नयाँ ढङ्गले रूपान्तरण गर्न जरुरी छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना