राजनीतिक स्थिरताका लागि थ्रेसहोल्ड

bhakta thapaभक्तबहादुर थापा  





नेपाली राजनीति सधैँ अस्थिर ।  एउटा सरकार बनेर एक सय दिन बितेको हुँदैन भन्न थालिन्छ– ‘अब यो सरकार ढल्छ, काम नै गर्न सकेन । ’ राजनीतिक दलबीच आफ्नो अनुकूल र सत्तामा जान ५१ प्रतिशतको आँकडाका लागि टाउकाको जोड घटाउको खेल थालिन्छ ।  जनताभन्दा बढी कार्यकर्ताको भूमिका निर्वाह गर्ने हामीले सत्तामा हुँदा खै कति दिन हो हाम्रा काम सकिहालौँ भन्नेतर्फ बढी ध्यान केन्द्रित गर्ने गरिएको पाइन्छ ।  सत्ताबाहिर हुनेले सरकार ढालेर कहिले हामी त्यहाँ पुग्ने ? यही र यस्तै सोचले राजनीतिक परिस्थिति अस्थिर बन्ने गरेको छ ।  यसबीचमा सरकार बाहिर बस्नेको पनि सत्तामा जान लालायित भएर विमति देखाउने प्रवृत्ति हामीकहाँ छँदैछ ।  जसले अस्थिरता निम्त्याउन थाल्छ ।  अनि थालिन्छ स–साना दल, स्वतन्त्र तथा भुरे टाकुरे दल तथा सभासदको जोड घटाउ ।  यस्तै खेलका बीचमा जनताका काम भने सधँै ओझेलमा ।  विकास निर्माण तथा जनसरोकारका काम ठप्प ।  यही र यस्तै हविगत व्यहोर्दै आउनुपरेको छ हाम्रो राजनीतिक गतिविधि र क्रियाकलापले ।  
हाम्रा राजनीतिक दलका खेल र अहिलेसम्मका घट्नाक्रमले यस्तै देखाएको छ ।  नेपालको राजनीतिमा सामान्यतया साना दलभित्र बढी यस्ता गतिविधिको प्रभाव अधिक देखिएको छ ।  चलखेल पनि यिनै साना दलको वरपर रहेर विमति, विवाद र विभाजन तथा अस्थिरता देखिएको तथ्य हाम्रा अगाडि छन् ।  सहमति र विमतिका बीच दलका सत्ता लालसाले विभाजित हुने गरेका छन् ।  यसले गर्दा साना दल अझ टुक्रिँदै जाने र स्वतन्त्र रहनेको सङ्ख्या थपिन थाल्छ र ठूला दलसँग टास्सिएर सधैँ सत्तामा पुग्ने प्रवृत्ति हाम्रो राजनीतिक वृत्तभित्र पर्याय बनिसकेको छ ।  
सरकारमा रहनेको सधैँ यही र यस्तै प्रवृत्तिमा ध्यान केन्द्रित हुने गरेका कारण जनताका काम र समस्याको थुप्रो चुलिँदै जाने गरेका छन् ।  जनताका समस्या यथावत् रहन्छन् ।  यो नेपाली राजनीतिमा दोहोरिरहने गरेको प्रवृत्तिले राजनीतिक गतिविधि हावी तथा प्रभाव रहने निकाय शिथिल र निष्प्रभावी बन्ने गरेका छन् ।  एकातिर राज्य सञ्चालनका प्रशासनिक तथा जनकेन्द्रित संस्था तथा निकाय ‘फङ्सनलेस’ भएर आमजनतामा निराशा र वितृष्णा थपिँदै गएको छ भने अर्कातिर राजनीतिक रूपमा दोहोरिरहने यस्ता नियति र व्यवहारले सिङ्गो राजनीतिप्रति नै निराशा पैदा हुने गरेको छ ।  यस सन्दर्भमा आमनेपाली जनतामा पैदा भएको निराशालाई कसरी कम गर्न सकिन्छ भन्ने कुराको खोजी गर्न जरुरी छ र मुलुकमा राजनीतिक अस्थिरताको कारण के हो भन्ने खोजी गरी त्यसको निरूपण गरिनुपर्छ ।  
राज्य सञ्चालको प्रमुख पक्ष राजनीतिक क्षेत्र यसरी धुमिलिएपछि समग्र राज्य सञ्चालन प्रणाली नै शिथिल बनेर अन्ततः देश नै गतिहीन बन्छ र अहिले यस्तै देखिएको छ हाम्रो देशको अवस्था र परिस्थिति ।  फलतः राजनीतिले सिर्जना अव्यवस्थाका कारण विकृति र वितृष्णा छ ।  यस्तो परिस्थितिको निराकरण कसरी हुन्छ
त ? आमजनसाधारणको एउटै प्रश्न रहने गरेको छ– ‘राजनीतिक स्थिरता कहिले होला । ’ अहिले आमनेपालीमाझ राजनीतिका कुरा गर्दा यही विषय तथा प्रसङ्ग अगाडि आउने गरेको छ ।  उपाय के त ? धेरैको एक मत हुन्छ, ‘ यी टक्रे तथा स–साना र च्याउसरी उम्रिएका राजनीतिक दल पनि कारक बनेका छन् ।  
अहिले संसद्मा संविधान संशोधनको विषय टड्कारो रूपमा उठेको छ ।  ठूला राजनीतिक दल समस्याका बारेमा अवगत छन् ।  संविधानमा नै थे्रसहोल्ड राखे यस्ता केही मात्रामा समस्या निराकरण गर्न सकिन्छ भन्नेमा सहमत छन् ।  संविधानमा यस्तो व्यवस्था राख्नसके राजनीतिक स्थायित्व र विकृति अन्त्य गर्न न्यूनतम मत सीमा (थ्रेसहोल्ड) नै समाधानको कडी हो भन्ने धारणा आमजनतामा छ र अहिले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलबीचमै राष्ट्रिय पार्टीका रूपमा मान्यता प्राप्त गर्न न्यूनतम मत सीमा (थ्रेसहोल्ड) राख्ने कि नराख्ने भन्ने चरम विवाद नै अगाडि आएको छ ।  व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने ३२ दल छन् ।  त्यसमध्ये तीन ठूला दल नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपा भने कम्तीमा तीन प्रतिशत थ्रेसहोल्डको पक्षमा छन् भने कतिपय साना दल यसको विपक्षमा उभिएका छन् ।
आगामी माघ ७ गतेभित्र संविधानले परिकल्पना अनुरूप सङ्घीय संसद्, प्रदेश र स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने र बनाउन बाँकी कानुन निर्माण गर्ने सन्दर्भमा थे्रसहोल्ड अहिले तगारो बनिरहेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएसँगै नेपाल लोकतन्त्रको अभ्यासको चरणमा छ । कानुन निर्माणका लागि प्राथमिकताको सूचीमा परेका पाँचमध्ये थ्रेसहोल्ड विवादका कारण राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन विधेयक नै राज्य व्यवस्था समितिमा थन्किएको छ । थे्रेसहोल्डको ढाँचा कस्तो हुने त ? अहिले संविधान संशोधन गर्दा तयार गरिएको प्रस्तावित धारणा भने प्रत्यक्ष निर्वाचन प्रणालीमा एक सिट प्राप्त गर्ने वा समानुपातिक निर्वाचनमा तीन प्रतिशत मत प्राप्त गर्ने पार्टीलाई राष्ट्रिय दलको मान्यता दिने कि भन्ने विषयमा दलबीच छलफल तथा गृहकार्य भइरहेको भन्ने अनौपचारिक रूपमा बाहिर आएका छन् ।  यद्यपि साना राजनीतिक दल भने यसमा सहमत नभई नराख्न ठूला दललाई दबाब दिइरहेका छन् ।  दलहरूबीच थ्रेसहोल्ड राख्ने कि नराख्ने भन्ने बारेमा छलफल भइरहँदा अधिकांश सांसद पाँच प्रतिशतसम्म थ्रेसहोल्ड राख्नसके उपयुक्त हुने भन्ने तर्क अगाडि सार्दै आएका छन् ।
 अहिले अधिकांश जनता तथा सांसदको धारणा पनि थे्रसहोल्ड नराख्ने हो भने सरकार बनाउने र ढाल्ने प्रवृत्ति निरन्तर भइरहन्छ, हैसियत नभएका दलले चलखेल गर्ने मौका पाइरहने छन्, राजनीतिक रूपले हेर्दा पनि सुशासनको धज्जी उडाउने काम रोक्न निश्चित मत प्रतिशतको व्यवस्था हुनैपर्छ ।  संविधानसभाकै निर्वाचनमा पनि कम्तीमा पनि एक दशमलव पाँच प्रतिशत थ्रेसहोल्ड राख्न विधेयकमा प्रस्ताव गरेकामा सरकारले त्यसलाई हटाएको थियो । नेपाल अधिराज्यको संविधान–२०४७ मा पनि तीन प्रतिशत मत प्राप्त गर्ने राजनीतिक दललाई राष्ट्रिय दलको मान्यता प्रदान गर्ने संवैधानिक व्यवस्था गरिएको  थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना