सेयर बजारमा निरन्तर पहिरो

sarojसरोज अधिकारी



 

सेयर बजार दैनिक रूपमा ओरालो लाग्ने क्रम जारी छ ।  साताको पहिलो दिन नेप्सेमा आएको ठूलो गिरावटका कारण बजार एक हजार दुई सय पचासको बिन्दु नजिक आइपुगेको छ ।  बजारलाई थप गिरावटबाट बचाउनका लागि कुरा निकै भए तर काम सिन्कोसम्म भएको देखिँदैन ।  सरकाले हालसम्म चालेका नीतिले बजारलाई ओरालो लाग्नबाट रोक्नेभन्दा थप बल मिलेको झैँ देखिएको छ ।  हालको बजार ओरालो लाग्ने मुख्य कारणमा राजनीतिक अस्थिरताको निरन्तरता र आर्थिक क्षेत्रको कुरा गर्दा निक्षेपमा बैङ्कसँग लगानी योग्य तरलताको अभावका कारण विशेष गरी मुद्दति निक्षेपमा भएको ब्याजदरको वृद्धि र बजारमा बोनस, हकप्रद र एफपीओको भारी आगमन नै हुन् ।  राजनीतिक क्षेत्रमा सत्ताधारी दलहरू, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र मधेसी मोर्चाको प्रमुख रूपमा तीन थरिको मत स्पस्ट देखिएको छ ।  संशोधन गरेर चुनाव कि चुनावपश्चात् संशोधनमै प्रमुख दल अल्झिएका देखिन्छन् भने मोर्चा भने आफूहरूले चाहेजस्तो संशोधनबिना चुनावमा नजाने बताइरहेका छन् ।  यस्तो अवस्थाले बजारलाई सहज बनाउने कुरै आउँदैन ।  अर्कोतिर मुलुकमा देखिएको व्यापक तरलताको कमीमा पनि एक आपसमा दोष थोपर्ने कार्य जारी नै छ ।  नियमनकारी निकाय नेपाल राष्ट्र बैङ्क अनुत्पादनक क्षेत्रमा लगानी बढाएकोमा बैङ्कलाई दोष लगाउँछ भने बैङ्कहरू चाहिँ सरकारले विकास निर्माणलाई तीव्रता दिन नसकेको र सरकारी कोषमा पैसा थुपारेको कारण समस्या निम्तिएको बताउँदै आएका छन् ।  त्यसैगरी नियमनकारी निकाय धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जबीच देखिएको विवाद त छताछुल्ल भइसकेको छ ।  यस्ता कुनै पनि प्रकरण बजारको हितमा छैन ।  
बजार गिरावटलाई रोक्दै उकालो लाग्ने वातावरण निर्माणका लागि हाल सेयर बजारमा देखिएको त्यसको आपूर्तिअनुसारको माग थपिने कुरा तत्काल आउनुपर्ने हो ।  अनलाइन ट्रेडिङको काम थालनी हुने भन्ने समाचार आए पनि त्यसले मूर्त रूप लिन निकै महिना वा वर्ष लाग्ने निश्चित छ ।  त्यसैले बजारमा सेयरको माग थप गर्नका लागि ब्रोकरलाई कडाइका साथ मोफसलबाट प्रत्यक्ष कारोबार हुने व्यवस्था र बैङ्कलाई लाइसेन्स दिने कार्यमा नै जोड लगाउनु लगानीकर्ताको हितमा देखिन्छ ।  बजारको गिरावट थाम्नका लागि सरकारी कोषको पैसा खर्च हुने वातावरण निर्माण र निक्षेप तथा सेयर कर्जाको ब्याजदरमा कमी आउनुपर्ने कुरा महìवपूर्ण हुनेछ ।  
बैङ्करहरू आफूलाई यो मुलुकको निकै सभ्य नागरिक सम्झन्छन् ।  यातायात व्यवसायीले गरेको सिन्डीकेट देख्ने र त्यसको विरोध गर्नेले खुल्ला बजार अन्तर्गत हुने स्वच्छ प्रतिस्प्रर्धालाई किन स्वीकार नगरेको ।  खुल्ला बजार अर्थतन्त्र र प्रतिस्पर्धी कानुनको कुरा गर्नेले कहिले निक्षेपमा १२ प्रतिशतभन्दा बढी ब्याज नदिने त कहिले तरलता अभावको प्रभावलाई देखाएर वाणिज्य बैङ्कले गाडी, घरजग्गा र सेयरमा दिँदै आएको कर्जा रोक्ने निर्णयमा पुग्नु भनेको चाहिँ कार्टेलिङ होइन ? खुल्ला बजार अर्थतन्त्रमा आफ्नो आवश्यकताअनुसार निक्षेप र कर्जाको ब्याजदर निर्धारण गर्न नपाउने अवस्थालाई के भन्ने ? बजारमा दैनिक रूपमा आउने हल्लालाई लगानीकर्ताले निकै नकारात्मक रूपमा लिने गरेको देखिन्छ जसको फलस्वरूप बजार दिनानुदिन ओरालो लाग्दैछ ।  सेयर कर्जाको ब्याज एकाएक बढाउनु, वाणिज्य बैङ्कले आफ्नो स्वामित्वमा रहेको सेयर टेण्डरमार्फत नै बेच्न पहल गर्नु र त्यसो गर्न नहुने पत्तो पाएपश्चात् धमाधम बेच्नुले बजारलाई अझ आरोलोतर्फ लान मद्दत पुगेको देखिन्छ ।  यस्तो अवस्थामा मुलुकको सेयर बजारलाई सन्तुलित ढङ्गबाट अगाडि बढाउन मार्केट मेकर अत्यावश्यक रहेको स्पस्ट देखिन्छ ।  
नेपाल राष्ट्र बैङ्कले अनुत्पादक क्षेत्रको कर्जा नबढाउन बैङ्कलाई गरेको अनुरोधको गलत अर्थ निकाल्दै कर्जा रोक्नुलाई बैङ्कहरूको दादागिरी भन्नैपर्छ ।  हो उत्पादनमूलक क्षेत्रका लागि दिइने कर्जाको ब्याजदर न्यून र सेयर, घरजग्गा र सवारी साधनजस्ता अनुत्पादन क्षेत्रमा जाने कर्जाको ब्याजदर बढाउन भने सकिन्छ तर कर्जा रोक्नु चाहिँ कति उपयुक्त कदम हो ।  व्यक्तिगत प्रयोजनका लागि लिइने घरकर्जालाई अनुत्पादक क्षेत्रको कर्जा मान्न नहुने तर्कमा दम छ ।  त्यसैगरी, हालको घट्दो बजारमा राम्रा कम्पनीको सेयर धितोको ५० प्रतिशत मात्र कर्जा दिने भनेको बैङ्कका लागि निकै कम जोखिम हुने क्षेत्रको लगानी हो ।
अनुत्पादक क्षेत्रमा कर्जा परिचालन बढेर अर्थतन्त्रमा नै समस्या आउने सङ्केत देखिएको ठहर गर्दै सरकारले गनर्भर डा. चिरञ्जीवी नेपालमार्फत बैङ्करहरूसँग छलफल गरी उत्पादनमूलक क्षेत्रमा कर्जा बढाउन अनुरोध गरेको फलस्वरूप त्यसको मार सेयर बजारमा परेको छ ।  सरकारी कोषमा रकम थुप्रदा आएको समस्याको निराकरण तर्फ जोड दिनुपर्नेमा बैङ्क वित्तीय संस्थालाई उत्पादनमूलक क्षेत्रमा लगानी बढाउ भन्दैमा केही हुनेवाला छैन ।  उत्पादनमूलक क्षेत्र कर्जा लगानीका लागि सुरक्षित पनि हुनुप¥यो ।  अनि मुलुकमा उत्पादनमूकल क्षेत्रमा लगानी बढाउने वातावरण निर्माणमा पनि सरकारले खासै पहल गरेको देखिँदैन ।  उद्योगमन्त्रीले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आह्वान गर्दैमा लगानी आउने देखिँदैन ।  उद्योग सञ्चालनका लागि ऊर्जाको उपलब्धतामा केही सुधार भए पनि कच्चा पदार्थ ल्याउनेदेखि लिएर सामान विक्री गर्नेसम्मका समस्या यथावत छन् ।  अझ मजदुरले दिने समस्या र सरकारी झन्झटिलो प्रक्रिया उस्तै छ ।  यस्तो अवस्थामा उत्पादनमूलक क्षेत्रमा सरकारले चाहँदैन ह्वात्तै लगानी बढने सम्भवान न्यून देखिन्छ ।  ग्रामीण स्तरमा कृषि, घरेलु तथा साना उद्योग, व्यवसायमा हुने लगानीका बैङ्कहरूभन्दा लघुवित्त र सहकारीहरू नै बढी सक्रिय देखिएका छन् ।  
अन्त्यमा बजार घटने क्रम नथामिएको अहिलेको अवस्थालाई अब सच्याउने मात्र भनेर बस्ने बेला छैन ।  २०६८ साल जेठमा २९२ को न्यूनबिन्दुबाट लगातार बढेर एक हजार ८८८ को बिन्दुलाई छोएको बजारको चक्रअनुसार पाँच वर्ष उकालो लागेपश्चात् झर्न थालेको देखिन्छ ।  घट्दो बजारले धेरैलाई आक्रान्त बनाएको भए पनि सही कम्पनीमा लगानी गर्ने उचित अवसर पनि यही हो ।  बजार घट्दा लगानी नगर्नेले कमाउने कुरै आउँदैन ।  जोखिम बहन गर्न नचाहनेका लागि निक्षेपमा बैङ्क वित्तीय संस्थाले हाल प्रदान गर्ने उच्च ब्याजदर नै काफी हुन्छ ।  जोखिम बहन गर्दै लगानी गर्नेले भने घट्दो बजारलाई अवसरको रूपमा लिएर सही कम्पनीको सेयर रोज्ने र लामो समयसम्म राख्दा फाइदा हुने सम्भावना भने अवश्य नै छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना