अस्तव्यस्तताबाट मुक्ति पर्खंदै काठमाडौँ

puskar mathemaपुष्कर माथेमा

 

मिथकै मिथकले भरिएको काठमाडौँको सुन्दरता आज स्वयं एउटा मिथक बनेको छ ।  कुनै बेला यहाँको हावामा बहने शान्ति र स्वच्छता अहिले कोलाहलमा परिणत भइसकेको छ भने सुव्यवस्थित शहरी संरचना अहिले अव्यवस्थित निर्माणका थुप्रोमा रूपान्तरित भएको छ ।  राजधानी शहर भएकै कारण यहाँ भइरहेको विकासको केन्द्रीकरण यसको विनाशको कारण बनिरहेको छ ।  अव्यवस्थित तथा अदूरदर्शी मानवीय क्रियाकलापका कारण प्राकृतिक सन्तुलनसँगको नाता तोडिँदै गएको काठमाडौँको वातावरण क्रमशः बसोबासका लागि प्रतिकूल बन्दै गएको छ ।  इतिहासको कुनै कालखण्डमा सुव्यवस्थित शहरका रूपमा रहेको काठमाडौँको परिचय अहिले यहाँको धूलो र धूवाँमा पुरिएको छ ।  यसलाई वासस्थान बनाउँदै आएकामा यसप्रतिको असंवेदनशीलता एवं स्थानीय निकायमा जिम्मेवारीबोधको अभावका कारण अस्तव्यस्तता यहाँको परिचय बन्न पुगेको छ ।
बेला बेलामा हुने गरेका अन्तर्राष्ट्रिय सम्मेलनहरूका क्रममा काठमाडौँको सौन्दर्यकरणका लागि केन्द्रीयदेखि स्थानीय सरकारसम्मको चासो ह्वात्तै बढ्ने गर्दछ तर ती कार्यक्रमको समापनसँगै ती प्रयास पुनः शिथिल हुने मात्र नभई भएका कार्यको संरक्षण तथा निरन्तरताप्रति समेत सम्बन्धित निकाय उदासिन हुन पुग्छन् ।  बत्ती, टेलिफोन, सडक, पानी जस्ता सुविधाका लागि जिम्मेवार निकायहरूबीच समन्वयको अभावका कारण एउटाले बनाए अर्काेले भत्काउने विडम्बना यहाँको नियमितता भइरहेको छ ।  यसले गर्दा काठमाडौँको विकासको नाममा भइरहेको लगानी पानीमा बगिरहेको छ भने देशभरिकै सुविधायुक्त मानिने काठमाडाँैका वासिन्दा भने असुविधाका बीच कुण्ठित हुन बाध्य छन् ।  यी समस्याको जञ्जालबाट मुक्त गरेर काठमाडौँलाई वास्तवमै एउटा उदाहरणीय महानगरका रूपमा स्थापित गर्ने जिम्मेवारीबोध केन्द्रीय तथा स्थानीय सरकारले व्यावहारिक रूपमै गर्न ढिलो भइसकेको छ ।  
एक दशक अघिसम्म करिब २० लाखको हाराहारीमा रहेको यहाँको जनसङ्ख्याले अहिले करिब ४० लाखको धुरी चढिसकेको छ ।  जनसङ्ख्या वृद्धिको अर्थ उनीहरूलाई आवश्यक आधारभूत सेवामा पनि वृद्धि हो ।  काठमाडौँको सन्दर्भमा भने यो वृद्धि एकपक्षीय भइरहेको छ, यसका लागि आवश्यक सुविधा र सुव्यवस्थाप्रति सोच नपुगेको यथार्थ यसको अस्तव्यस्तताले चित्रण गरिरहेको छ ।  शहरी विकास तथा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय स्तरको ज्ञान हासिल गरेको विज्ञहरूको उपस्थिति काठमाडौँको नभएको होइन तर उनीहरूका ज्ञान यहाँको माटोमा रोपिएको अनुभूति यहाँको वासिन्दाले गर्न पाएको देखिँदैन ।  विज्ञहरूका आफ्नै गुनासा छन्– सुशासनको अभावका कारण आफूले सोचे जस्तो काम गर्न पाइएको छैन ।  खोपाको देउता बन्न बाध्य भइरहेका ज्ञानलाई धरातलमा उत्रन कसले रोकिराखेको छ भन्ने जवाफ भने कसैसँग छैन ।  
राजधानी शहर काठमाडौँलाई सुव्यवस्थित र सुविधायुक्त बनाउनका लागि केन्द्रीयदेखि स्थानीय स्तरसम्म विभिन्न कार्यनीति तथा कार्ययोजना नबनेका होइनन् ।  किताबी अक्षरले बाघ मार्दैन भनेझैँ शहर व्यवस्थापनका ती सूत्रहरू भने यहाँका समस्याका अगाडि मूकदर्शक बनिरहेका छन् ।  ती दस्तावेज निष्प्रभावी हुनुको एउटा मूल कारण काठमाडौँको धारण क्षमता अध्ययन र निर्धारणको अभाव हो ।  काठमाडौँका बहुआयामिक पक्षबारे विभिन्न निकायबाट समग्र तथा विशिष्टीकृत अध्ययन कैयौँ भएका छन् तर यसको धारण क्षमतासम्बन्धी विश्लेषण भने सधैँ ओझेलमा पर्दै आएको छ ।  मूल कुराबारेको अस्पष्टता नै यहाँ सिर्जना भइरहेका समस्याको स्रोत बनिरहेको छ ।  सीमित जनसङ्ख्याका लागि संरचित कान्तिपुरभित्र असीमित आप्रवासन बोकेको काठमाडौँ समायोजित हुन नसक्नु स्वाभाविक तथ्य हो ।  तसर्थ काठमाडौँलाई समस्याको खाडलबाट उतार्न पहिलो आवश्यकता भनेको यहाँको धारण क्षमताबारे स्पष्ट भई त्यसैका आधारमा योजना तर्जुमा र कार्यान्वयन गरिनु हो ।
विकासको क्रममा शहरमाथिको भार थपिँदै जानुलाई अस्वाभाविक मान्न सकिँदैन तर सोही अनुपातमा सुविधा तथा सुव्यवस्थाप्रति ध्यान नदिइनु भने पक्कै पनि स्वाभाविक र स्वीकार्य हुन सक्दैन ।  शहरी वातावरणको गुणस्तरमा गिरावट भनेको अस्वस्थ र असन्तुलित मानवीय क्रियाकलापकै प्रतिचित्र हो ।  काठमाडौँको हावा श्वासप्रश्वासका लागि अनुपयुक्त हुनु, यहाँका नदी ढलमा परिणत हुनु, खुला क्षेत्र निरन्तर सङ्कुचित हुँदै जानु, फोहोर व्यवस्थापन चुनौतीपूर्ण हुनु, भौतिक संरचना अपर्याप्त हुँदै जानुको एक मात्र कारण यहाँ भइरहेको अनियन्त्रित आप्रवासन हो भन्दा फरक पर्दैन ।  मूल क्षेत्रबाट निकै पर परसम्म फैलिसकेको अव्यवस्थित बसोबासबीच टालटुले योजनाले अब यहाँको समस्या निराकरण गर्न कठिन देखिएको छ ।  तसर्थ कुनै बेला काठमाडौँ महानगरपालिकाबाटै अगाडि सारिएको ‘नयाँ काठमाडौँ’को अवधारणालाई नीतिगत रूपमै अगाडि बढाउन ढिलो गर्न होला जस्तो छैन ।
एकातिर काठमाडौँका सार्वजनिक क्षेत्र क्रमशः अतिक्रमणमा पर्दै गएका छन् भने मूल बसोबास क्षेत्रबाहिर आँखाले नभ्याउने बिन्दुसम्मका खेत कङ्क्रिटको जङ्गलमा रूपान्तरित हुँदै गएका छन् ।  भौतिक संरचना निर्माणमा व्याप्त मनोमानिप्रति स्थानीय निकायको उदासिनताका कारण शहरी सौन्दर्यमा ह्रास आएको मात्र नभई सुरक्षित आवास कुन चराको नाम हो भन्ने स्थिति सिर्जना भइसकेको छ भने विस्तारित शहरी क्षेत्रका बासिन्दा स्वयं सडक, ढल, खुला क्षेत्र, पानी जस्ता बसोबासका लागि अनिवार्य सुविधाबाट वञ्चित जीवन बाँच्न बाध्य भइरहेका छन् ।  समस्याको खाडल निकै गहिरिसकेको वर्तमान अवस्थामा आगामी सय वर्षको आवश्यकतालाई ध्यान दिँदै अत्याधुनिक सुविधासहितको ‘नयाँ काठमाडौँ’को अवधारणाबारे नसोच्ने र त्यसका लागि क्रियाशीलता अगाडि नबढाउनुको अर्थ बासस्थानलाई धरापमा परिणत गर्दै लानुभन्दा अर्काे हुन सक्दैन ।  
काठमाडौँ एउटा ऐतिहासिक, सांस्कृतिक तथा कला सम्पदाको केन्द्र भएका कारण यहाँको व्यवस्थापनको अर्थ आधुनिक शहरी व्यवस्थापनमा मात्र सीमित छैन ।  यहाँको मौलिक स्वरूप, ऐतिहासिक तथा कलात्मक संरचना एवं अदृश्य सांस्कृतिक सम्पदाको संरक्षण, संवद्र्धन तथा व्यवस्थापन पनि सँगै जोडिएर आउने पक्ष हो ।  काठमाडौँलाई विश्वले चिन्ने यहाँको अत्याधुनिक निर्माण हुँदै होइन, यहाँ ओइरिने पर्यटकलाई यहाँको कलात्मक तथा सांस्कृतिक पहिचानले नै आकर्षित गर्ने गरेको हो ।  काठमाडौँप्रति अन्तर्राष्ट्रिय क्षेत्रमा वितृष्णा बढ्दै जानुको एउटा कारण यहाँका विश्व सम्पदा क्षेत्रका साथै मूल क्षेत्रमा तथाकथित आधुनिक भौतिक निर्माण शैलीमा आएको तीव्रता पनि हो ।  नेपालको मौलिक कलात्मक संरचनाको अभावमा काठमाडौँ कति विरक्तलाग्दो हुँदोरहेछ भन्ने कुराको अनुभूति भूकम्पका कारण क्षतिग्रस्त सांस्कृतिक क्षेत्रहरूबाटै हुन्छ ।  परम्परागत संरचनालाई विस्थापन गर्दै भइरहेका नयाँ निजी भवन निर्माणको क्रमले पनि काठमाडौँको पहिचानलाई मेटाउँदै लगेको छ ।  यसका अतिरिक्त सडक विस्तारका नाममा पनि परम्परागत शैलीका निजी तथा सार्वजनिक सम्पदाहरू विस्थापित भइरहेका छन् ।  आफ्नै कलात्मक विशेषतायुक्त भौतिक निर्माणप्रति स्थानीय बासिन्दा तथा सार्वजनिक निकायको आकर्षणलाई पुनःजागरण गर्नु पनि काठमाडौँलाई ललित शहरका रूपमा कायम गर्नका लागि अनिवार्य पक्ष बनेको छ ।
देशकै एक मात्र महानगरपालिकाका रूपमा रहेको काठमाडौँले लगभग दुई दशकदेखि स्थानीय निकायमा जनप्रतिनिधिको अभाव भोगिरहेको छ ।  स्थानीय जनप्रतिनिधिको अभावमा भौगोलिक क्षेत्रमा सुशासनको अवस्था कस्तो हुँदो रहेछ भन्ने कुराको एउटा जीवन्त उदाहरण काठमाडौँको वर्तमान अवस्थाले प्रस्तुत गरिरहेको छ ।  स्थानीय निकायमा स्थानीय नेतृत्वको अनुपस्थितिका कारण त्यसप्रति स्थानीय वासिन्दाको अपनत्वको अनुभूति नहुनु स्वाभाविक हो भने यस्तो अवस्थामा स्थानीय समस्याप्रति स्थानीय निकाय असंवेदनशील हुनु आश्चर्यको कुरा भएन ।  तसर्थ काठमाडौँलाई जेलिराखेको वर्तमान समस्याको एउटा समाधान लोकतान्त्रिक मान्यता अनुरूप स्थानीय निर्वाचन हुनसक्दछ ।  तसर्थ केन्द्रीयस्तरको राजनीतिक अन्योलबीच ‘गफ’को विषय बनिरहेको स्थानीय निर्वाचनलाई जतिसक्दो छिटो ‘यथार्थ’मा रूपान्तरित गर्नु राजनीतिका वृत्तको सामाजिक दायित्व बनेको छ ।
काठमाडौँका बासिन्दा स्वस्थ हावामा श्वास फेर्न चाहन्छन्, धारामा पानी आएको हेर्न चाहन्छन्, जाममुक्त बाटोमा गुड्न चाहन्छन्, सडकका पेटीहरूमा अनधिकृत पसल नभई सुविधायुक्त आवागमन हेर्न चाहन्छन् ।  काठमाडौँको स्वरूप विकृत भइरहेको सन्दर्भमा केही प्रश्नको जवाफ खोजी गर्ने पर्दछ र यिनै जवाफभित्र काठमाडौँ शहरको सुविधा र सुन्दरताको पुनःजीवनको सम्भावनालाई भेट्न सकिनेछ– आफ्नो खस्केको स्वरूप टुलुटुलु हेरेर बस्न बाध्य हुने गरी काठमाडौँ स्वयंले के गल्ती गरेको
थियो ? विभिन्न नाममा यहाँका बासिन्दाबाट सरकारले सङ्कलन गरेको राजस्वबापत उनीहरूले आधारभूत सेवा पाउने कि नपाउने ? काठमाडौँको सुव्यवस्थाका लागि जिम्मेवार स्थानीय निकाय यहाँको दुरवस्थाप्रतिको निरपेक्ष भावबाट कहिले ब्यूँझने ? काठमाडौँमा केन्द्रित सरकारी सेवालाई विकेन्द्रित गरी यहाँ भइरहेको जनघनत्व वृद्धिलाई क्रमशः न्यून पार्ने सोचलाई अगाडि बढाउने कि
नबढाउने ? स्थानीय बासिन्दा आफ्नो बसोबास क्षेत्र सुन्दर, स्वच्छ र सुयोग्य भएको देख्न आतुर छन्, स्थानीय सरकार नि ?






थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना