सूचना संसारमा सन्तुलित औजार रासस

Prakash silwalप्रकाश सिलवाल



राज्य र नागरिकबीचको सूचना प्रवाहमा आधिकारिकता पहिल्याउन तथा सूचनाको संसारमा जानकार द्वारपालको खाँचो पूर्तिका लागि कुनै पनि मुलुकका समाचार समितिको आवश्यकता पर्ने तथ्य निर्विवाद छ ।  यसबारे आमसञ्चारविद् तथा राष्ट्रिय समाचार समितिका पूर्व प्रमुख समाचारदाता रामकृष्ण रेग्मीको यो विश्लेषणले थप स्पष्ट पार्न सक्छ ः
“समाचार समिति नभएमा सूचना प्रवाहको सञ्जाल पूर्ण हुँदैन, त्यसमा सहजीकरण गर्ने माध्यमको अभाव खड्किन्छ ।  सूचना संसारको काम गर्नेलाई त्यससम्बन्धी जिम्मा दिँदा समाजलाई नजानिदो ढङ्गमा प्रतिस्पर्धात्मक लाभ मिल्न जान्छ । ” (रासस दिग्दर्शन, २०६६)
विश्वमा समाचार समितिसम्बन्धी भएका विभिन्न अध्ययनका सारांशले पनि तिनै कुरालाई प्रबोधीकरण गरेको पाइन्छ ।  रेग्मीले भनेझै वास्तवमा समाचार समिति नभएमा सूचनामा विज्ञापन, मनोरञ्जन र व्यापारको प्रभावलाई सन्तुलनमा राख्ने औजारको अभाव हुनेछ ।  मुलुकका सञ्चार माध्यमबारे विविध सार्वजनिक टीकाटिप्पणी र यसको विश्वसनीयतामा बेला बखतमा प्रश्न उठ्ने गरेको सन्दर्भमा समाचारका स्रोत (मुहान) मानिने समाचार समितिबारे पनि समीक्षा हुन आवश्यक छ ।  नेपालको एकमात्र आधिकारिक समाचार समिति रासस स्थापनाको ५६औँ वर्ष प्रवेशका अवसरमा यसको औचित्य र सान्दर्भिकता बढेको मात्र होइन, राज्यका आधिकारिक सूचना र सन्तुलित सम्प्रेषणको भरपर्दाे माध्यमका रूपमा यसलाई लिन सकिन्छ ।  गोविन्द वियोगीको तत्कालीन नेपाल संवाद समिति र मणीन्द्रराज श्रेष्ठको सगरमाथा संवाद समिति समायोजन गरी सरकारी स्वामित्वमा हुने गरी रामराज पौड्याको नेतृत्वमा वि.सं. २०१८ फागुन ७ गते प्रजातन्त्र दिवसका दिन राससको स्थापना भएको हो ।  उहाँहरू तीनै जना यसको संस्थापक सञ्चालक हुनुहुन्थ्यो ।  राष्ट्रिय संवाद समिति ऐन, २०१९ अन्तर्गत रासस सञ्चालित छ ।
समाचार समिति पत्रकारिता मूलधारको पत्रकारिताको प्रतिस्पर्धी वा समानान्तर पत्रकारिताको धार होइन ।  यो केवल समाचार सङ्कलन र बिक्री वितरण केन्द्रको हैसियतमा रहेको परिपूरक वा सहयोगी पत्रकारिता मात्रै हो ।  साहित्यकार बालकृष्ण समले “रासस शरीरको शिर र अन्य सञ्चार माध्यम अङ्ग प्रत्याङ्ग हुन् र शरीरमा गङ्गाजल खन्याएपछि शरीरमा त्यसले स्वच्छ रूपमा सिञ्चन गर्छ...” भन्ने अभिव्यक्ति पनि त्यसै दिनुभएको होइन ।
विश्वमा छिटोछरितो र सन्तुलित सूचनाका लागि समाचार समिति पत्रकारिताको उत्तिकै महŒवपूर्ण भूमिका छ ।  छिटोछरितो र सन्तुलित सूचनाका लागि जागरुक स्रोता र पाठकका लागि राससले आफूलाई कुन हदसम्म सबल बनाउन खोजिरहेको छ या त्यसलाई यसका सेवाग्राहीमार्फत कसरी अभिव्यक्त हुन्छ भन्ने पनि खोजी गर्नुपर्छ ।  राससको औचित्य छैन वा राससको प्रयोग गर्नु आफ्नो व्यावसायिकता सिध्याउनु हो जस्ता सोच राख्ने सञ्चार माध्यम र सञ्चारकर्मीले पनि यसको भरपुर उपयोग गरेका प्रशस्त उदाहरण छन् ।  हाल बढ्दो अनलाइन न्यूज मिडियालाई दृष्टान्त मान्ने हो भने राससविना उनीहरूका हरेक पलका समाचार ताजगीकरण हुन कठिन पर्नेछ ।  जसरी राससले दुई वर्षअघि न्यूजलाइन सेवामा आफूलाई रूपान्तरण ग¥यो, त्यसको प्रत्यक्ष लाभ यस्ता अनलाइन, एफएम रेडियो र टेलिभिजनलाई भएको छ ।  मूलधारका श्रव्यदृश्य तथा दैनिक पत्रिकाले त लामो समयदेखि यसका नेपाली, अङ्ग्रेजी, अन्तर्राष्ट्रिय समाचार, आलेख, अडियो, तस्बिर सेवा आदि सेवाबाट लाभ लिँदै आएका छन् ।  सम्भवतः आज रासस मुलुकका धेरै जिल्ला समाचारदाता र दूरदराजसम्म सञ्जाल भएको समाचार समिति हो ।  
प्रेस काउन्सिलको वर्गीकरणमा सम्परीक्षण हुने अधिकांश साप्ताहिक वा मासिक पत्रिका रासस नहँुदा खाली खाली पेज हुने थिए भन्ने निचोड पनि निकाल्न सकिन्छ ।  ग्राहकसमेत नबनी तथा स्रोत उल्लेख नगरी चोरी गरेर राससको समाचार प्रयोग गरेर वर्गीकरणको सूचीमा पार्ने ती प्रयासले के देखाउँछ भने रासस भरपर्दाे सूचनाको भण्डार हो ।  त्यसमध्ये कतिपय पत्रपत्रिका राससको हुबहु चोरी (साभार) का कारण वर्गीकरणबाट हटाइएका घटना पनि काउन्सिलका सम्परीक्षकहरूले हरेक वर्ष प्रतिवेदन दिँदै आएका छन् ।  समाचार चोरी प्रतिलिपि अधिकारको हनन हो तर चोरी नै सही रासस थिएन भने ती पत्रिकाले कसरी पृष्ठ भर्थे होलान् ? चोरी नगरी आधिकारिक सेवा लिने सञ्चार माध्यमको सङ्ख्या नै तीन सयको हाराहारीमा पुग्नुले यसको अनिवार्यतामा कुनै प्रश्न गर्न आवश्यक छैन ।  
अर्काेतिर राससलाई सरकारी मुखपत्रको आरोप लगाएर हेर्ने पञ्चायतकाली आँखा पनि जीवित नभएको होइन तर यो वर्तमान अवस्थालाई ख्याल नगरी आउने टिप्पणी हो ।  पछिल्ला दशकका राससले आफूलाई सरकारको मुखपत्रभन्दा पनि वास्तविक रूपमा राज्यको समाचार समिति र सञ्चार माध्यमले खोज्ने प्रकारका आलोचनात्मक एवम् खोजी समाचारलाई पनि उत्तिकै महŒव दिएको छ ।  लोकतन्त्रको मूल्य, मान्यताअनुरूप यसले सरकारका कमजोरी, सरकारी नीति, कार्यक्रमबारेका विज्ञ वा प्रतिपक्षी एवम् जनआवाजलाई निर्धक्कसँग पस्केको छ ।  भलै मूलधारका सञ्चार माध्यममा सरकारी स्वामित्वका गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनले यसको बढी उपयोग गरेका हुन सक्छन् ।  स्थानीय मिडियाले पनि राससको अनिवार्यतालाई स्वीकारेका छन् ।  पत्रकार आचारसंहिताको पालना र श्रमजीवी पत्रकार ऐनअन्तर्गत न्यूनतम पारिश्रमिक सिफारिसको कार्यान्वयनका पनि रासस अगाडि नै पर्छ ।  अर्थात् निजी क्षेत्रका मिडियाका तुलनामा कहिले पनि पछाडि छैन ।  
यस पङ्क्तिकारले तीन वर्षअघि गरेको एक सर्वेक्षणमा सहभागीमध्ये अधिकांशले समाचार समिति पत्रकारितालाई समाचार सङ्कलन र बिक्री वितरण केन्द्रका रूपमा बुझेका छन् ।  कुल एक सय जना उत्तरदातामा ७५ प्रतिशतले समाचार सङ्कलन र बिक्री वितरण केन्द्रका कामलाई समाचार समिति पत्रकारिता बुझिन्छ भन्ने धारणा व्यक्त गरेका थिए ।  समाचार समिति पत्रकारितालाई सामूहिक पत्रकारिता र परिपूरक पत्रकारिताको मान्यता दिने उत्तरदाता पनि केही छन् ।  कुल उत्तरदातामध्ये १४ प्रतिशतले समाचार समितिले सामूहिक पत्रकारिताको परिचय बोक्न सक्ने बताएका छन् भने ११ प्रतिशतले यसलाई परिपूरक पत्रकारिताको संज्ञा दिएका छन् ।  यसबाट समाचार समिति भन्नेबित्तिकै सरोकारवालाको मनस्थितिमा समाचार सङ्कलन र बिक्री वितरण केन्द्र हो भन्ने पर्ने देखाएको छ ।  मूलतः पत्रकारिता पढाई हुने क्याम्पस र विद्यालयका पाठ्यक्रममा समाचार एजेन्सी र राससबारे पर्याप्त चर्चा नहुनु र मिडिया भन्नेबित्तिकै पत्रिका, रेडियो, टेलिभिजन, अनलाइन भने पढाइने र बुझाइने गर्नाले पनि यस्ता प्रतिक्रिया आएको हुन सक्छ ।  
अध्ययनमा एक जनाले पनि नेपालमा समाचार समिति पत्रकारिता आवश्यक छैन भन्ने जवाफ दिएका छैनन् भने सहभागीमध्ये अत्यधिक अर्थात् ८५ प्रतिशतले सन्तुलित समाचारका लागि नेपालमा समाचार समिति पत्रकारिताको आवश्यकता रहेको तर्क पेस गरेका छन् ।  बाँकी १५ प्रतिशतले पनि समाचार समिति पत्रकारिता आवश्यक छ भनेका छन् तर उनीहरूले सञ्चार माध्यमलई समाचार     वितरणका लागि समाचार समिति आवश्यक छ भनेका छन् ।  यसको अर्थ समाचार समिति आफैँले वा अन्य निकायबाट पनि ती माध्यमलाई समाचार प्राप्त हुन्छ तर समाचार समिति भएमा सन्तुलित समाचार सम्प्रेषणमा बल पुग्ने ठान्न सकिन्छ ।  राससप्रतिको यो भरोसालाई कायम राख्दै उसले आफूलाई समयसापेक्ष, सेवामा विविधीकरण तथा आधुनिकीकरण, थप प्रतिस्पर्धी, राजनीतिक पूर्वाग्रहमुक्त, संरचनागत रूपमा स्वायत्त, समावेशी, खोजमूलक र जनचासोका समाचारमा केन्द्रित गर्नु पनि उत्तिकै  आवश्यक छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना