प्रजातान्त्रिक यात्रामा शहीदका सपना

 nirmal acharyaनिर्मलकुमार आचार्य






एक जुगमा एक दिन एकचोटि आउँछ
उलट–पुलट, उथलपुथल, हेरफेर ल्याउँछ
लाटा–सुधा बोल्नथाल्छन्,
चल्छ ओठ दुःखको
सहे भनी नदेखिएका ईख फेर्न उठ्तछन्
गए भनी नदेखिएका फर्की फर्की आउँछन्
सुते भनी सम्झिएका सुरुसुरु हिँड्दछन्
मरे भनी फ्याँकिएका जुरुजुरु उठ्तछन्
खरानी हुन्छ भर्भराउँदो, हुरी चल्नथाल्दछ
कायर पनि वीर हुन्छन्, वेग चल्छ जोसको
हाहाकार मच्छ यहाँ पाप खुल्न थाल्दछ
एक जुगमा एक दिन एकचोटि आउँछ ।
माथिका पङ्क्ति कवि गोपालप्रसाद रिमालका हुन् ।  कविवर रिमालले ‘आमाको सपना’ कवितामा यस्तो भाव व्यक्त गरेका छन्–
आमा, त्यो आउँछ र ?
‘हो बा त्यो आउँछ ।
त्यो बिहानको सूर्य झैँ उज्यालो छर्दै आउँछ ।
त्यसको कम्मरमा झुण्डिएको,
शीत जस्तै टल्कने
तिमी एक हतियार देख्नेछौ,
त्यसैले ऊ अधर्मसित लड्नेछ ।
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्नेछौ तर त्यो हिउँ र आगोभन्दा पनि बढ्ता छोइने भएर आउँछ । ’
एकसय चारवर्षे निरङ्कुश राणाशासनको अन्त्यपछि प्रारम्भ भएको नेपालको प्रजातान्त्रिक इतिहासमा निकै पाना थपिएका छन् ।  तैपनि कवि रिमालले भने झैँ त्यो आउनुपर्ने परिवर्तन अझै आई नसकेको हो कि ? गम्नुपर्ने भएको छ ।  
हुँदैन बिहान मिरमिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुई, चार सपुत मरेर नगए । ।
कवि भूपी शेरचनका उपर्युक्त पङ्क्तिका सन्देशको सार्थकतालाई हेर्ने हो भने पनि मन खुम्च्याउनुपर्ने अवस्था छैन ।  लखन थापा, शुक्रराज शास्त्री, दशरथ चन्द, गङ्गालाल लगायत कैयन् ज्ञात, अज्ञात सपुतले स्वतन्त्रता, प्रजातन्त्र र जनहितका लागि प्राण अर्पण गरेका छन् ।  राणाशासनको विरोधका क्रममा शहीद भएका अमर व्यक्तित्वको मात्रै कुरो होइन, पञ्चायतकाल, प्रजातन्त्र पुनः स्थापनाकाल तथा लोकतन्त्र, गणतन्त्रकालमा समेत शहीद थपिने क्रम नरोकिनु आश्चर्यको विषय बनेको छ ।  
को सक्कली शहीद र को नक्कली शहीदको मात्रै कुरो होइन ।  शहादत दिनुपर्ने अवस्थै नरोकिनु चिन्ताको विषय बनेको छ ।  विगत केही दशक यताको मात्रै इतिहास पल्टाउने हो भने पनि जनयुद्ध, आन्दोलन, हडताल आदिका नाममा हजारौँ जनाको अमूल्य ज्यान गएको वस्तुस्थिति छ ।  अब कसैले शहीद हुनुपर्ने अवस्था नआउने भनिए पनि त्यसको बलियो बन्दोवस्त मिलाउनेतर्फ चाहिँदो काम हुनसकेको छैन ।  दशलाख रुपियाँ पाउने मेसो जुटाउन जोसुकैलाई शहीद घोषणा गर्न दबाब दिइने परिपाटीले पनि वास्तविक शहीदका मूल्य, मान्यता र मर्मलाई अपमान गर्दै आएको कटुयथार्थ हामीमाझ छ ।  
जनताले जनताका लागि जनतैद्वारा गरिने प्रजातान्त्रिक प्रणाली दुनियामै कहलिएको राजनीतिक व्यवस्था हो ।  साम्यवादी मुलुकमै पनि कतिपय प्रजातान्त्रिक प्रक्रिया अँगाल्नथालिनुले यसको महŒव झन् उजागर भएको छ ।  प्रजातन्त्रको प्रसिद्धि र लोकप्रियताकै कारण निरङ्कुश शासकले पनि आफूलाई अप्रतान्त्रिक भनेको पाइँदैन ।  बरु जस्तो शासन पद्धति भए पनि प्रजातन्त्रको नाम र जलप दिने प्रवृत्ति बढ्दो छ ।  पञ्चायतकालकै कुरो गर्ने हो भने पनि प्रजातन्त्रको रट कम लगाइदैनथ्यो ।  यसो त पञ्चायती व्यवस्था अघि तथा पछि के कति प्रजातान्त्रिक पद्धति अँगाल्नसकियो ? त्यो पनि गहन अध्ययन, अनुसन्धानको पक्ष बनेको छ ।  प्रजातन्त्र, स्वतन्त्रता, मानव अधिकार, संविधानप्रदत्त हक, अधिकार आम नेपालीमाझ पु¥याउन कत्तिको सफलता प्राप्त भयो ? प्रजातन्त्र वा लोकतन्त्रको लाभ केवल व्यक्तिगत, समूहगत तथा दलगत दायरामा त सीमित रहेन ? समीक्षा जरुरी छ ।  
बदलिँदो परिवेशमा प्रजातन्त्रको सट्टा लोकतन्त्र शब्द अधिक प्रचलित छ ।  प्रजातन्त्र र लोकतन्त्रको भावार्थ उही भए पनि प्रजातन्त्र तथा लोकतन्त्रका नाममा दुवै दिवस मनाउने गरिएको छ ।  यस आधारमा हेर्दा नेपाल प्रजातन्त्र वा लोकतन्त्र भनेपछि भुतुक्कै रहेको भान नहुने होइन, त्यसमाथि गणतन्त्र दिवस समेत मनाउने गरिन्छ ।  औपचारिक दिवसको औचित्यलाई एकातिर पन्छाएर हेर्ने हो भने मुलुकमा व्यावहारिक रूपमै प्रजातान्त्रिक वा लोकतान्त्रिक, गणतान्त्रिक प्रणाली स्थापना गर्न सारथिहरू कति गम्भीर तथा क्रियाशील छन् ? मूल्याङ्कन अपेक्षित छ ।  
‘प्रजातन्त्र’ संविधान, कानुन र शासन प्रणालीसँग सम्बद्ध पाटो मात्रै हो कि यसका लक्षण नेता, कार्यकर्ताका आचरण, चरित्र र जीवन शैलीमा पनि देखिनुपर्ने हो ? अनुत्तरित प्रश्न बनेको छ ।  प्रजातन्त्रको सौरभ मानिने त्रिशक्ति अर्थात् व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका बीचको शक्तिसन्तुलन कायम राख्न मर्म अनुरूप धर्म निर्वाह भइरहेको छ कि छैन ? जस्ता सवालप्रति सदा सचेत, सजग तथा क्रियाशील हुनु वाञ्छनीय छ ।  
जनताको सर्वोत्तम हितका लागि जनता आफै अग्रसर भई संविधानसभाबाट संविधान बन्नु नेपाल र नेपालीका लागि गौरव तथा सुखद पक्ष भएकामा शङ्का छैन तर साथसाथै संविधानप्रति असन्तुष्टि पनि रहेको विदितै छ ।  असन्तुष्ट समुदायलाई के कसरी सन्तुष्टि प्रदान गर्नसकिन्छ, यसतर्फ सरोकारी सबै पक्ष दत्तचित्त भई उपयुक्त निकास निकाल्न चुक्नुहुँदैन ।  व्यवस्थापिका संसद्मा रहेको संविधान संशोधनको प्रस्तावलाई सर्वसम्मतिमा परिमार्जन गरेर अघि बढ्न नसके मुलुक भड्खारामा पर्ने आशङ्का छ ।  आउँदो माघ ७ गतेभित्र स्थानीय, प्रदेश तथा केन्द्रीय संसद्को निर्वाचन हुन नसके संवैधानिक सङ्कट तेर्सिनेछ ।  समय छउन्जेल अनर्गल प्रलापमा व्यस्त रहने अनि अन्तिम घडी आएपछि रातारात सहमति गरी संवैधानिक सीमा लम्ब्याउने विगतको गलत खेल आउँदा दिनमा दोहोरिनु प्रत्युत्पादक ठहरिनसक्छ ।  तसर्थ, बेला छँदै आपसी सहमति कायम गर्न सत्ताधारी, विपक्षी तथा असन्तुष्ट मधेशकेन्द्रित दल जाग्नु अपरिहार्य छ ।  
प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र वा जुनसुकै नाममा केवल आन्दोलन मच्चाइरहने, जनताका छोराछोरीलाई शहीद बनाइरहने, अराजकताको अवस्था सिर्जना गर्न दिने कुरोले कसैको भलो गर्दैन ।  मुलुक सङ्क्रमणकालमा रहेको बेलामा समेत थरिथरिका बहानामा राजनीतिक रस्साकस्सी चल्नु मुलुक र मुलुकबासीका लागि वरदानको होइन, अभिशापको पक्ष हो ।  प्रजातन्त्र केवल नारा, भाषण र लफ्फाबाजीको विषय होइन ।  प्रजातन्त्रको वास्तविक सार्थकता हरेक नागरिकमा प्रतिविम्बित हुनुपर्छ ।  सबै जात, जाति, वर्ग, लिङ्ग, समुदाय यसबाट लाभान्वित हुनुपर्छ भने गरिब, असहाय, सीमान्तकृतको उत्पीडन पूर्णतः मेटिनुपर्छ ।  प्रजातन्त्रको दोस्रो नाम जनताको शासन हो र जनताको शासनको अर्थ जनताको सुख, शान्ति र समृद्धिको द्योतक हो ।  यसैका लागि तमाम वीर, वीराङ्गनाले शहादत दिएका हुन् ।  शहीदका सपना यत्रो अवधि बितिसक्दा पनि पूरा हुन नसक्नुका पछाडि दोषी को हुन् ? समयले अवश्य खोजी गर्नेछ ।  
मुलुक अत्यन्तै संवेदनशील जटिल अवस्थामा छ ।  सुगौली सन्धि यता सबैभन्दा बढी अप्ठेरो बेला यही रहेको अनुभव सुनाउने धेरै छन् ।  राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता, नेपाली बीचको सद्भाव र एकता संवेदनशील अवस्थामा रहनु कुनै पनि हालतमा ठीक होइन ।  नेपाल, नेपाली तथा लोकतन्त्रका लागि समर्पित तमाम राजनीतिक दल अहिले नचेत्ने हो भने भविष्य सुखद देखिँदैन ।  एक अर्काका जीउमा रहेको मैलो देखाएर कोही पनि उम्कने अवस्था छैन ।  हरेक नेताले आ–आफ्ना मैला सफा गरी आत्मालोचित हुँदै राष्ट्रिय हितका लागि सर्वतोभावेन समर्पित हुने बेला आएको छ ।  अन्यथा, गन्तव्यमा नपु¥याउने चालकलाई यात्रुवर्गले नछाडे झैँ कुनै पनि दलका नेतालाई जनताले छाड्ने छैनन् ।  
प्रजातन्त्र त्यही मुलुकमा फस्टाउँछ, जहाँ कानुनी शासन हुन्छ ।  कानुनको सर्वोच्चतालाई मात्रै सर्वोपरि राखियो भने पनि अहिले देखिएका तमाम बेथिति स्वतः हराउँदै जानेछन् ।  नेता, कार्यकर्ता भनेको देश लुट्ने होइनन्, जनता र देशको भलाईका लागि आफ्ना सर्वस्व त्याग्ने व्यक्ति हुन् भन्ने परिचय गराउन ढिलाइ भइरहेको छ ।  सुशासनको अभावमा प्रजातन्त्र केवल ओठेनाराको पक्ष बनेको छ ।  भ्रष्टाचारविरुद्ध अभियान नचालिँदा नेपाल विश्वमै बदनाम भइरहेको छ ।  भ्रष्टाचारका कारण विकास, निर्माण समयमा नहुने, भएका काम पनि न्यून गुणस्तरका हुने कुरो नौलो होइन ।  हरेक क्षेत्रमा बढ्दो भ्रष्टाचारप्रति राजनीतिक क्षेत्र विशेष रूपमा जिम्मेवार हुनुपर्ने भएको छ ।  अन्यथा, भ्रष्टाचाररूपी सुरसाले कसैलाई पनि छाड्ने छैन ।  
प्रजातन्त्र दिवसलाई केवल औपचारिकतामा सीमित नराख्नु आजको आवश्यकता हो ।  यही प्रजातन्त्र दिवसकै दिनदेखि प्रजातान्त्रिक प्रक्रियालाई बल पु¥याउन केही काम हुनसके यसले दूरगामी प्रभाव पार्नेछ ।  अहिलेका लागि समस्त राजनीतिक दल आपसमा मिली संविधान संशोधनको विषय सल्टाएर तीनै तहको निर्वाचनका लागि उपयुक्त वातावरण तयारीमा लाग्नु राष्ट्रिय आवश्यकता हो ।  यसले संविधान कार्यान्वयनको पाटो विस्तार गर्नेछ भने निर्वाचनपछि आर्थिक क्रान्ति गर्न मार्ग प्रशस्त पनि हुनेछ ।  अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र नेपालीलाई गौरवान्वित तुल्याउन अब आर्थिक क्रान्तिको विकल्प छैन ।  यसका लागि सबै दल, नागरिक समाज तथा सर्वसाधारण अहिलेदेखि तात्नु जरुरी छ ।  





थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना