क्रान्ति भूमि जनकपुर

Rajeshor nepaliराजेश्वर नेपाली


 

हाम्रा महान् शहीदका बलिदानले आज नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ ।  प्रजातन्त्र दिवसको ६६ औैं वर्षगाँठको अवसरमा हामीले निरकुंश राणा शासन विरोधी सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनलाई स्मरण गर्नु आवश्यक छ ।  राणा शासन तीन दशक नपुग्दै १९३२ सालमा सैनिक लखन थापाको विरोधबाट आन्दोलन आरम्भ भएको थियो ।  त्यस विद्रोहमा उहाँ समेतका सात सैनिकहरू फागुन २ गते काटिएका थिए भने मकैको खेतीका लेखक कृष्णलाल अधिकारीलाई १९७७ साउन ११ मा पक्राउ गरी एक सप्ताहपछि १८ गते ६ वर्ष कैद र ९९९ पुस्तक जफत गरिए पनि नपुग एक पुस्तकको लागि थप समेत नौ वर्षको सजाय दिइएको क्रममा १९८० सालमा जेलमै उहाँको निधन भएको थियो ।  १९८८ सालमा प्रचण्ड गोरखा दलको स्थापना पूर्व नै भेद खुल्दा पक्राउ परेका क्याप्टेन खण्डमान सिंह र मैनाबहादुरको जेलमै मृत्यु भयो भने खडगमान सिंह बस्नेत आजीवन काराबास भोग्दै २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि मात्र बीस वर्षपछि जेल मुक्त हुनु भएको थियो ।  त्यसै क्रममा अधिराजकुमार उमेशविक्रम शाहलाई राजधानीबाट निष्काशित गरिएको थियो ।
१९९३ साल जेठ २० गते नेपालको पहिलो राजनीतिक दल नेपाल प्रजा परिषद्को स्थापना पूर्व १९९२ साल वैशाख शुक्ल तृतीया २२ गते आइतवार (५ मई १९३५) को गोधूलि बेलाको साढे ६ बजेतिर जनकपुरधामको हवाई मैदानसित टाँसिएकै पापमोचनीसर (पोखरी) को पश्चिम डिलमा पं. रमाकान्त झाको नेतृत्वमा २२ युवकले आ–आफ्ना रगतले हस्ताक्षर गरी निरकुंश शासनको समाप्तिको लागि भीष्म प्रतिज्ञा गरेका थिए ।  त्यसरी प्रतिज्ञा गर्नेमा झाका साथै बोधप्रसाद उपाध्याय, गुलाबनारायण झा, कमलाकान्त चौधरी, रामदुलार साह, अनिरुद्धप्रसाद सिंह, जमुनाप्रसाद सिंह, महन्थ गोकुल गिरि, श्रीकान्त ठाकुर, बौएलाल झा, गणेशचन्द्र झा, पं. रामभद्र झा, जगन्नाथ ठाकुर, गंगाप्रसाद मण्डल, रामलखन दास, देवशंकर गिरि, शेष इस्माइल, बलभद्र चौधरी, असर्फी झा, इन्द्रबहाुदर मल्ल, योगकुमार माथेमा र गंगेश्वर झा हुनुहुन्थ्यो ।  यी क्रान्तिकारीहरू २००७ सालमा प्राप्त प्रजातन्त्रको २०१७ सालमा हत्यापछि प्रजातन्त्र पुनःस्थापना लागि आजीवन सङ्घर्षरत रहनु भएको थियो ।  ती २२ जना क्रान्तिकारीमा गुलावनारायण झा रौतहट र पं. झा समेत २१ जना तत्कालीन महोत्तरीका थिए ।
काठमाडौँ नेपाल प्रजापरिषद्को स्थापनासाथ राणा विरोधी पर्चाबाजी हुन थालेको थियो र त्यसै क्रममा १९९७ साल कात्तिक २ गतेको पर्चाबाजीको साथै व्यापक गिरफ्तारी भएको थियो ।  माघ ७ गतेको फैसलापछि १० गते शुक्रराज, १३ गते धर्मभक्त र १५ गते दशरथ चन्द र गंगालाललाई मृत्युदण्ड दिइएको थियो भने वीर गणेशमान सिंह, टंकप्रसाद आचार्य, रामहरि शर्मा, चुडाप्रसाद शर्मा, गोविन्दप्रसाद उपाध्याय आदि १२ जनालाई आजीवन काराबास दिइएको थियो ।  ६ महिनादेखि १८ वर्ष सम्मको सजाय पाउने दर्जनौँ थिए ।  त्यसमध्येका एक गणेशमान सिंह २००१ असार ७ गते औँशीको रात काठमाडौँ जेलबाट भागेर १५ दिनमा भारतीय सिमानामा पुग्न सफल हुनु भएको थियो ।
उता सप्तरीमा वि.सं २००० जेठ ९ को राती हनुमाननगर जेल तोडेर भारतीय समाजावादी नेता जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, सुरजनारायण सिंह, वैद्यनाथ झा आदिलाई भगाएको अभियोगमा सप्तरीका २२ जना पक्राउ परी काठमाडौँ जेलमा राखिएकाहरूमध्येका कृष्णवीर कामी र अब्दुल मियाको जेलमै मृत्यु भएको  थियो ।  
२००१ पुसमा कृष्णप्रसाद कोइरालाको जेल जीवनमै मृत्यु भएको घटनाले नेपाली जनतालाई निरंकुश शासनको विरोधमा लड्न उत्प्रेरित गरेको थियो ।  त्यसै बेला जेलबाट भागेर भारतमा रहनुभएका गणेशमान सिंह र बीपी कोइरालाको प्रयासले २००३ माघ १२ र १३ गते कलकत्तामा युवा क्रान्तिकारीको भेलामा नेपाली राष्ट्रिय काँग्रेस स्थापना भयो र फागुन २१ गतेदेखि नै विराटनगरको मजदुर हड्ताल आरम्भ भएको थियो ।  २६ गते बीपी पुगेपछि हडतालको नेतृत्व लिनु भएकोले चैत १२ गते बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारी र गेहेन्द्रहरि लामिछाने आदि समातिनुभएको थियो र पैदल काठमाडांै पु¥याइनु भएको थियो ।  कार्यवाहक सभापति बीपी कोइराला पक्राउ परेपछि नेपाली राष्ट्रिय काँगे्रसले राजबन्दीहरू अविलम्ब नछाडिएमा २००४ वैशाख १ देखि देशव्यापी सत्याग्रह गर्ने निर्णय गरेअनुसार प्रथम सत्याग्रह भयो ।  देशभरमा सयौँ जना समातिएपछि २००४ माघ १३ मा राणा प्रधानमन्त्री पद्मशमशेरले सुधारको घोषणा गरे पनि त्यो कार्यान्वयन हुन सकेन ।  २००६ जेठ १९ (१ जुन १९४९ ई) मा दोस्रो सत्याग्रह भयो ।  तर त्यसको असफलतापछि २००६ चैत २७ मा नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको एकीकरण भयो ।  २००७ भदौ २६ र २७ गतेको वैरगनिया सम्मेलनले सशस्त्र क्रान्ति गर्ने निर्णयअनुसार कात्तिक २६ देखि आरम्भ भएको जनक्रान्तिको परिणामस्वरूप १०४ वर्षको राणा शासनको अन्त भएको थियो ।
जनकपुरधाममा १९९२ साल अक्षय तृतीयाको प्रतिज्ञा अनुसार राणाविरोधी अभियानलाई बल दिन १९९५ सालमै पं. रामाकान्त झाले सेवा समिति नामको संस्था गठन गरी युवकलाई संगठित पार्नु भयो ।  २००३ सालमा काँगे्रस स्थापनापछि त्यसलाई महोत्तरीमा दह्रो पार्नु भएकोले नै २००४ सालको प्रथम सत्याग्रह अन्य ठाउँभन्दा निकै सफल भएको थियो ।  वैशाख १५ गते सरयुग चौधरी, लक्ष्मण साह, मिश्रीलाल गुप्ता र राम अशिष भगतका साथै भीष्मजङ केसी आदि जनकपुर रेल्वेबाट ओर्ली रेल्वे स्टेशनबाटै काँगे्रसी झण्डाका साथ राणा विरोधी नारा लगाउँदै जानकी चोक पुगेपछि पक्राउ पर्नुभएको थियो ।  १९ गते दिगम्बर झा, मेघप्रसाद उपाध्याय, डी.एन.प्रधान, डी.एम परियार आदि पक्राउ पर्नुभएको थियो ।  त्यस्तै गौशाला बजारबाट अर्को टोली बच्चा झा, बलबहादुर राणा मगर, दानबहादर शाही, हरिबहादुर आले, मानसिंह कटुवाल समेत गरी १५ जना समातिनुभएको थियो ।  २००४ साल मार्ग १ गते बीपी कोइराला, मातृकाप्रसाद कोइराला र गणेशमान सिंह महोत्तरीको गतिविधि बुझ्न सीमा क्षेत्रको उमगाव पुग्नुभयो र २ गते मधवापुरमा सभा भयो ।  ३ गते मटिहानीबाट घर फर्कन लाग्दा त्यहीँ सरोज कोइराला, महेन्द्रनारायण निधि र नकलबहादुर सिंह पक्राउ पर्नु भएको थियो ।  त्यसपछि पं. रमाकान्त झा र भारतीय समाजवादी नेता कवि नरेन्द्र देव पक्राउ पर्नु भएको थियो ।  सत्याग्रहकै क्रममा वीरगन्जमा पक्राउ गरिएका खेमराज पराजुली, बलराम उपाध्याय र रामशरण रावल आदिलाई स्थान्तरण गर्नाले महोत्तरी कारागारमा राजनीतिक गतिविधि निकै बढेको थियो ।  २००६ साल जेठ १९ गते (१ जून १९४९ ई) देखि आरम्भ सत्याग्रहमा सुन्दर झा शास्त्री, निर्गुण यादव, इन्द्रबहादुर मल्ल, सुरेन्द्र बहाुदर, बुद्धिप्रसाद शर्मा आदि पक्राउ परेका थिए भने क्रान्तिकारीहरूको चिठीपत्र ओसार पसार गर्दा जेलमै कार्यरत दशरथ मेहनरलाई पछि जेलमा हालिएको थियो ।  
२००६ साल होलीको मध्य रात्रिमा युवा क्रान्तिकारी निर्गुण यादव, इन्द्रबहादुर मल्ल, डी.एन.प्रधान, डी.एम परियार, दशरथ मेहत्तर, खेमराज पराजुली जेलको पर्खाल नाघेर भाग्न सफल हुनुभएको थियो ।  निर्गुण यादवले बीपी कोइरालालाई भेटेर बम्बईमा बम बनाउने प्रशिक्षण प्राप्त गरी २००७ सालको जनक्रान्तिमा महìवपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।
२००६ साल माघ १६ गते महात्मा गान्धीको बलिदान दिवसको अवसरमा भद्रकाली मिश्र, रामनारायण मिश्र, बद्रिनारायण मिश्र आदिले लोक सेवक सङ्घको स्थापना गरेर दैनिक प्रार्थना सभा र ग्राम सफाई तथा अग्नि पीडितलाई राहत पु¥याउने काम गरेर निकै लोकप्रिय हुँदै गएकोले २००७ सालको आरम्भमै उहाँहरू जेल पर्नुभएको थियो ।  लोक सेवक सङ्घको लोकप्रियताले डराएर राणा शासकले स्थानीय गोपाल धर्मशालामा रहेको सैनिक छत्रबहादुर सिलवाललाई भड्काएको आरोपमा श्यामसुन्दर शर्मा, महावीर शर्मा, राधाप्रसाद चौधरी, नथुनी साह, रामजी चौधरी, बैद्य उपेन्द्र झा, हंसराज मारवाडी, परीक्षण कापडी, युगेश्वर शर्मा, नथुनी जोगी, आनन्दी लाल झुनझुनवाला पक्राउ गरिएको थियो र डेढ महिनापछि छाडिएको थियो ।  
२००७ सालको जनक्रान्ति आरम्भ भएकै दिन बनारसबाट प्रस्थान गरी भोलानाथ दहालको नेतृत्वमा दोस्रो दिन सांँझ जयनगर पुगेका युवा क्रान्तिकारी डोरकेश्वर उपाध्याय, हेमराज शर्मा शास्त्री, हरिप्रसाद नेपाल, सूर्य विनोद भट्टराई, नेत्र प्रसाद न्यौपाने, दामोदर रेग्मी, बुद्धिप्रसाद शर्मा, रामकृष्ण द्विवेदी समेत १५ जनाले कात्तिक २८ गते खजुरी थापामाथि आक्रमण गर्न पुग्दा बिना सङ्घर्ष नै सरकारी सेना भागिसकेकोले विना रक्तपात सातवटा बन्दुक र ठूलो परिणाममा गोली हात पारेका थिए ।   त्यस्तै भुपेन्द्रनाथ झा, जुगेश्वर साह आदिले जनक्रान्तिमा पु¥याउनु भएको योगदान बिर्सिन सकिँदैन ।  
प्रजातन्त्रको घोषणापछि सैनिक गर्भनर रुद्रप्रसाद गिरि बडा हाकिम हुनुभयो भने भद्रकाल मिश्र संयुक्त सरकारमा मन्त्री र रामनारायण मिश्र नेपाली काँग्रेसको केन्द्रीय सदस्य तथा पं. रमाकान्त झा महोत्तरी जिल्ला काँग्रेसको अध्यक्ष हुनुहुन्थ्यो ।  प्रजातन्त्र स्थापना भएको ६४ वर्षपछि पनि प्रजातन्त्रका महान् सेनानीहरूमध्ये केहीको मात्र स्मारक बनाउन सकिएको छ ।  १९९२ सालदेखिको क्रान्ति स्थल जनकपुर २०१७ सालमा प्रजातन्त्रको हत्यापछि पनि क्रान्तिस्थलकै रूपमा रह्यो र २०१८ साल माघ ९ मा राजा महेन्द्रमाथि बम प्रहार गरेर २०२० माघ १५ मा दुर्गानन्द झा र शिवचन्द्र मिश्रले बलिदान दिनुभयो ।  उहाँहरूकै प्रेरणाले कामेश्वर मण्डल, कुशेश्वर यादव, सरोज कोइराला, केशव कोइराला, मुगालाल महतो, मोहन महतो, झप्सी मण्डल, मिथिलेश दुवे, रामबाबु चौधरी, लगन राय, अमृत साह, शेष मियाजान, बुद्धन अंसारी, सुरत ठाकुर, इसरायल शेष, इगल थापा डा. लक्ष्मी नारायण झा, सत्यनारायण साह, ईश्वर लामा, पद्म लामा, सूर्यनाथ रान यादव, सत्यनारायण पाठक, जानकी देवी, मुनेश्वरी देवी, सोनावती देवी, उदयशंकर मण्डल, रामनारायण यादव, रामविलास ठाकुर रमेश महतो, राकेश ठाकुर, शिवशंकर यादव, कारी ठाकुर, प्रमोद सादा, बेचन मियां अब्दुल क्युम, विजय सहनी, कमल चौधरीसमेतका शहीद हुनुभयो ।
वीरगन्जमा कात्तिक २६ गते मुक्ति सेनाको कमाण्डर थीरबम मल्ल, पूर्ण सिंह र तेजबहादुर अमात्यको नेतृत्वमा भएको आक्रमणमा वीरगञ्जमाथि मुक्तिसेनाले अधिकार गर्दै ६०० थान थ्रीनट थ्री राइफल र ४६ लाख रुपियाँ हात पार्न सफल भएको थियो ।  तर बडाहाकिम सोम शमसेर समात्न सकिएको थियो र उनको रक्षक सरकारी सेनाले चलाएको गोलीले थीरबम मल्ल शहीद भएका थिए ।  त्यसपछि कयौं मारिए र अन्ततः वीरगन्जमाथि कब्जा भयो र तेजबहादुर अमात्य जन सरकार प्रमुख भए ।  वीरगन्जमाथि मुक्ति बाहिनीको सफलताले पूर्व र पश्चिमको क्रान्तिलाई बलपु¥याएको कात्तिक २७ गते विराटनगरमा जी.वी.याक्थुम्बाको नेतृत्वमा भएको आक्रमणमा बडाहाकिम उत्तम विक्रम राणाको छोरा मारिए ।  
त्यसैगरी सप्तरीमा कात्तिक ३० गते राजविराज जेलबाट भागेर गजेन्द्रनारायण सिंह, कुशेश्वर पाठक, महेन्द्र राय आदिले कृष्णप्रसाद भट्टराईको नेतृत्वमा काम गर्नु भएको थियो भने सिरहा क्षेत्रमा कुलानन्द झा मित्रलाल गिरी, बलदेव दास रामएकवाल साह आदिले भाग लिनुभएको थियो ।  त्यसैगरी झापामा भैरवप्रसाद आचार्य, हरेराम राजवंशी आदि हुनुहुन्थ्यो ।  सर्लाहीमा रामस्वरूप दास शर्मा, रामविहारी राय, मंगलकृष्ण अमात्य रत्नबहादुर श्रेष्ठ, शंकरलाल श्रेष्ठ, सत्यबहादुर जोशी लगायतको रायको योगदान स्मरणीय छ ।  
वीरगन्जको सफलताको ठूलो प्रभाव रौतहटमाथि परेको थियो ।  शिवप्रसाद सिंहको नेतृत्वमा हजारौँ किसानहरूको जुलुस प्रदर्शन हुँदा सिंह समेत अनेकौँ शहीद भएका थिए ।  बारामा  भागवत यादवको नेतृत्वमा क्रान्ति बढेको थियो ।  पाल्ही माझ खण्डको परासीमा बालचन्द्र शर्मा, श्याम सुन्दर शर्मा, रामदुलारे तिवारीको नेतृत्वमा क्रान्ति बढेको थियो भने भैरहवामा डा.के.आई.सिंहको नेतृत्वमा काशीप्रसाद श्रीवास्तव, मुन्सी दयाशंकर गुप्त, दानवहादुर श्रीवास्तव, बलभद्र पाठक, चन्द्रभूषण पाण्डेय, कृष्णमाबहादुर श्रेष्ठ, भक्ति शमसेर, गोपाल शमशेर आदिको नाम उल्लेखनीय छ ।  
आजसम्म प्रथम गणतन्त्रवादी शहीद दुर्गानन्द झा र शिवचन्द्र मिश्रको स्मारक निर्माण हुन सकेको छैन भने कामेश्वर, कुशेश्वर र सत्यनारायण पाठकको स्मारकको दुई÷दुई पटक शिलान्यास भएर स्मारक निर्माण हुन सकेको छैन ।  जनकपुर बम काण्डस्थल जानकी मन्दिरको प्राङ्गणमा दुर्गानन्द झाको स्मारक निर्माणमा जनकपुर पुनरावेदन अदालतको आदेशमा २०६७ चैत ८ देखि रोक लागेको थियो र अब त्यो खारेज भइसकेको  छ ।
यस सन्दर्भमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्व सरकारले धनुषाको यदुकोहा समेतका झापा, ताप्लेजुङ, धनकुटा, पिस्कर, रोल्पा, रुकुम र होलेरी गरी आठ ठाउँमा शहीदलाई सम्मान हुने गरी संस्कृति मन्त्रालयले जिविसमार्फत गुरु योजना बनाउने भने पनि त्यो कागजमै सीमित छ ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना