सुराजको उज्यालो मिति फागुन सात

badri p dahalबद्रिप्रसाद  दाहाल


 

राज्य शासनमा जनताको अत्यधिक सहभागिता नै प्रजातन्त्र हो ।  विश्वका प्रथम इतिहासकार हिरोडोटस हुन् वा नेपालका इतिहास शिरोमणि बाबुराम आचार्य अथवा विख्यात वैज्ञानिक अल्वर्ट आइन्स्टाइन सबैले सार रूपमा प्रजातन्त्रलाई राजनीतिक प्रणालीमध्येको कम खराब भएको पद्धति भनेर निचोडमा पुगेका छन् ।  त्यसैले अल्वर्टले प्रजातन्त्रलाई आर्थिक एवं राजनीतिक शक्तिहरूको वर्गीय स्वार्थ पूरा गर्नको लागि जनधारणा प्रभावित पार्ने  साधनको रूपमा लिएका छन् ।  अब्राहम लिङ्कनले जनताको लागि जनताद्वारा गरिने जनशासन वास्तविक प्रजातन्त्र हुने कुरा निक्र्योल गर्न पुगे भने जननायक बीपी कोइरालाले प्रजातन्त्र भनेको जनतालाई जनताबाटै शासन गर्ने, विकासका कामहरूको प्राथमिकता उनीहरूबाटै तोक्ने, योजना निर्माण र कार्यान्वयनमा जनताकै सक्रिय सहभागिता रहने पद्धतिलाई ठम्याए ।  मूलतः प्रजातन्त्र आचार र व्यवहारको अनुपम सङ्गम हो, जहाँ नैतिक आदर्श, सभ्यता र शिष्टता अक्षुण्ण भएर रहेका हुन्छन् ।  त्यसैले लौह पुरुष गणेशमान सिंहले सबै भ्रष्ट राजनीति अभिकर्ताहरूलाई लल्कार्दै भन्नुभयो– प्रजातान्त्रिक राजनीतिबाट नैतिकता झिकिदियो भने त्यो व्यापार हुन्छ ।  
सुकरातदेखि गोपालप्रसाद रिमाल र आधुनिक राजनीति चिन्तक रवर्ट ए डाहलका निक्र्योलहरूले प्रजातन्त्रमा जनताको प्रभावकारी सहभागिता, मतदानको समानता, सुशिक्षित समझदारीको विकास, कार्यसूची उपर अन्तिम नियन्त्रणको अभ्यास र सम्पूर्ण वयस्कहरूको संलग्नतालाई अपरिहार्य अनुशीलन भनी यो पद्धतिलाई राज्य सञ्चालनको उत्तम कडी मानेका छन् ।  
१०४ वर्षसम्मको जहानिया हुकुमी राणाहरूको कुराजलाई समाप्त गरेर आम जनताको सक्रिय सहभागितामा सुराज चलाउने निचोडको उज्यालो तिथि हो फागुन ७ गते ।  यसैले नेपालका विविध मूल्य मान्यता बोकेका जनताको यो दिन राष्ट्रिय साझा पर्व भएको छ ।  यो पावन तिथि ल्याउन भयकारी जङ्गे राजलाई प्रथमपटक चुनौतीको ललकार दिने मूलतः खिर्राको बोटमा झुण्डिन तयार हुने वीर लखन थापा, जयसिंह राना लगायत पाँच शहीद र उनका लडाकु दस्ताका सयौं क्रान्ति वीरहरूको महान्् त्याग स्तुत्य छ ।  त्यसैगरी समाज रूपान्तरणबाट शासकीय व्यवस्थामा परिवर्तन हुनसक्छ भन्ने आत्मविश्वास लिएका माधवराज जोशी, नागरिक संगठनमार्फत तानाशाहहरू हल्लिन्छन् भन्ने शुक्रराज शास्त्री, बौद्धिक क्रान्तिले मध्ययुगीन युरोपको जर्जर धार्मिक एवं राजनीतिक सत्ता डग्मगाएको विश्लेषण गरी ‘मकैपर्व’ भन्ने प्राविधिक पुस्तक सिर्जना गर्ने सुब्बा कृष्णलालजस्ता प्रतिज्ञावीरका रचनात्मक सुकार्य २००७ साल ल्याउने आधार स्तम्भ हुन् ।  माधवराज जोशीले जेलको अमानवीय पीडा र देशनिकाला हुन तयार हुने अठोट बोकेकैले अनि सुब्बा कृष्णलालले जेलमै मुत्यु हुन परेको अवस्था र शुक्रराज शास्त्रीलगायत चार सुपुत्र हाँसी हाँसी फाँसी रोजेको बलिदानको परिवेश नै तानाशाही राणाका दमनकारी कुशासन हल्लाउने उम्दा पक्ष बन्न पुगे ।  पण्डित मुरलीधरका भागवत् प्रवचन, गङ्गालाल, धर्मभक्त र दशरथ चन्दका जनजागरणपूर्ण भाषण तथा मृत्युदण्डलाई सहर्ष स्वीकार गर्ने अदम्य आँट अनि लक्ष्मीनन्दन चालिसेको ‘नपुंसक राणा’ भनी लेखिएको जाँचको उत्तर पुस्तिका र उनको यातनाजन्य मृत्यु यी सबै क्रान्तिका पृष्ठपोषण हुन् ।  जसको बलले २००७ फागुन ७ को मुक्ति दिन लोकतान्त्रिक बीजक बने ।  
नेपाली वाङ्मयसेवीहरू लक्ष्मीप्रसाद देवकोटा, धरणीधर कोइराला, गोपालप्रसाद रिमाल, केदारमान व्यथित, सिद्धिचरण श्रेष्ठ, बीपी कोइराला, सन्त ज्ञानदिल दास, सन्त शशिधर, भीमनिधि तिवारी र अन्य धेरै स्रष्टा तथा चिन्तकहरूका सबल कलम तानाशाही महìवाकाङ्क्षाका अचूक वाण बनेर लोकतन्त्रको त्राण एवं प्राण बन्न पुगे ।  त्यसैगरी खड्गमान सिंह बस्नेतले विश्वयुद्धमा भाग लिएर आएका निवृत्त नेपाली सैनिकहरू जम्मा गरी ‘प्रचण्ड गोर्खा’ नामक संस्थामार्फत राणाविरोधी गतिविधि अघि बढाउनुभयो ।  यस बापत खड्गमानलगायतका क्रान्तिकारीहरूलाई यातनासहित २० वर्ष जेल हालिएको थियो ।  त्यसपछि १९९३ साल जेठ २० गते धर्मभक्त माथेमाको घर ओेमबहालमा ‘प्रजापरिषद्’ भन्ने राजनीतिक संस्थाको जन्म भयो ।  अमर शहीद दशरथ चन्द, धर्मभक्त र अथक योद्धाहरू टङ्कप्रसाद आचार्य, जीवराज शर्मा, रामहरि शर्मा आदि यसका जन्मदाता हुनुहुन्थ्यो ।  आधा दर्जन मात्र सदस्य भएको यो संस्थाका लक्ष्य र उद्देश्य निकै प्रगतिशील तथा लोकतान्त्रिक मार्गको सुन्दर आलोक थिए ।  तर यो कुरा राणाहरूले  सुराकीमार्फत चाल पाएर  १९९७  कात्तिक २ गते  टङ्कप्रसाद आचार्य, दशरथ चन्द, धर्मभक्त, गङ्गालाल, रामहरि शर्मा, चूडाप्रसाद ढुङ्गाना, गणेशमान सिंह, जीवराज शर्मालगायत धेरैलाई धरपकड गरी  समातियो ।  नेपाल माताका अर्का वीर पुत्र शुक्रराज भने यसअघि नै गोलघरको यातना झेलिरहनुभएको थियो ।    यही वर्षको माघ ११ देखि १५ सम्ममा शुक्रराज, गङ्गालाल, धर्मभक्त, दशरथ चन्दलाई नृशंस रूपमा फाँसी दिइयो भने टङ्प्रसाद आचार्य र रामहरि शर्मालाई मुण्डन गरी जातिच्युत बनाए राणाहरूले ।  चूडाप्रसाद र गणेशमान सिंहलाई    सर्वस्वसहित आजीवन काराबास ठेलियो ।  राजनीतिक दल संगठित गर्न नपाउने तत्कालीन राणा सत्तालाई चुनौती दिँदै भारतमा अध्ययन र निर्वासन बिताएकाहरूले देवीप्रसाद सापकोटाको सभापतित्वमा बालचन्द्र शर्मा, कृष्णप्रसाद भट्टराई, गोपालप्रसाद भट्टराई सम्मिलित अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस गठन गरियो ।  लगत्तै २००३ कात्तिकमा डी.एन. प्रधानको नेतृत्वमा ‘अखिल भारतीय गोर्खा काँग्रेस’ खडा भयो ।  त्यसपछि नेपाली राष्ट्रिय काँग्रेस, प्रजातान्त्रिक काँग्रेस हुँदै नेपाली काँग्रेसको स्थापना हुन गयो ।  
भारतीय स्वतन्त्रता आन्दोलनमा मुख्य भूमिका निर्वाह गरेका बीपी कोइरालाहरूले नेपाली काँग्रेसको संगठन बलियो गरी जनमुक्तिको लागि मुक्तिसेना सशक्त बनाउनुभयो ।  राणाका फौजलाई चुनौती दिँदै नेपाली काँग्रेसको झण्डामा मुक्तिसेना गोलबद्ध भएर राणाका सैनिक तागतसित लड्यो ।  ठाउँ ठाउँमा विजयी बन्दै जनसत्ताको अभ्यास देखाएपछि ‘देखेर पाइँदैन शासन सत्ता, लेखेर आउनु पर्छ’ भनी बीपीलाई थर्काउने श्री ३ मोहन शमशेर घँुडा टेक्न पुगे ।  २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी गठन गरी एकाधिकारवादी राणा शासन तोड्न साम्यवादी विचारका पुष्पलाललगायतका उत्साही युवा पनि कसिए ।
यसरी नेपाली समाजको तप्का तप्काबाट राणातन्त्र उखेल्न कसरत भएपछि राजा, राणा र नयाँ जनशक्ति काँग्रेसको त्रिपक्षीय समझदारी दिल्लीमा भएरै नेपालमा एकाधिकारवादी जहानियाँ राणा शासन इति हुन पुगेको थियो ।  रगतको आहालमा सुतेर स्वेच्छाचारी हुकुमी शासन चलाउन सिध्याएको र जनताको मतमा शासन हुनुपर्छ भन्ने सन्देश दिएको दिन हो २००७ फागुन सातको जागरणको पुण्य तिथि ।  
तर आज प्रजातान्त्रिक यात्राको श्रीगणेश भएको ६७ वर्ष पुग्दा पनि जनताको व्यवस्थालाई मर्यादित र व्यवस्थित बनाउन नसकेर योद्धाहरूका रगतलाई फगत चौलानीमा परिणत गर्ने कुकाम भइरहेको छ ।  शब्दहरूमा प्रजातन्त्रको बाढी आए पनि अनुभूतिमा यसको आस्वाद लिन पाइएको छैन ।  नेपालका राजनीतिक दलहरू दलीय घोषणापत्र र जनइच्छा दुवैको अनुसरण गर्न नसकी चिप्लिरहेका छन् ।  राजनीतिक क्रान्तिपछि हृदयमा इमान, काँधमा जिम्मेवारीपन र मगजमा समझदार भई मेलमिलापपूर्ण राजनीतिक सहयात्रामा सामेल हुने नेपाली राजनीतिको यथार्थ भुल्ने काम भइरहेको छ ।  सत्ता नै सबै थोक हो भन्ने कुचिन्तनले गाँज्दा छिमेकी देश भारतको आश्रयमा नेताहरू बन्दी बनिरहेका छन् ।  ९० प्रतिशतभन्दा बढीको समर्थनमा पारित भएको हालको संविधान कार्यान्वयन हुन नसकेर अलपत्र छ ।  सुशासन, सम्मृद्धि, प्राकृतिक सम्पदाको उपयोग, उत्पादन वृद्धि र निर्यातमा बढोत्तरी गर्ने कुरा आकाशको फल आँखा तरी मर् भने जस्तो दुष्कर बनेको छ ।  यो विषम अवस्थाबाट पार पाउन र राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौम सत्ताको रक्षार्थ सबै राजनीतिक शक्तिगृहहरू एक हुनुको विकल्प छैन ।  यस्तै पुण्य तिथि वा राष्ट्रिय पर्वको गौरवबोध गरेर अगाडि बढ्नु नै प्रजातन्त्रको सच्चा सेवा हो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना