स्थानीय सरकार र अन्तर्राष्ट्रिय सम्बन्ध

shankar raj kandelशङ्करराज कंडेल

 

अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनको दायित्व अब राज्यमा मात्र सीमित छैन ।  अन्तर्राष्ट्रिय सम्बन्धको सञ्चालनमा खासगरी दोस्रो विश्व युद्धपछि नगरहरू, गैरसरकारी र निजी क्षेत्रका संस्था जस्ता गैरराज्य निकाय पनि बढ्दो रूपमा प्रवेश गरेका छन् ।  यसक्रममा आज विश्वभरि नै स्थानीय सरकारका विविध विषयसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय सङ्घ संस्थाको सञ्जाल क्रियाशील छ ।  यी सङ्घ संस्थाले स्थानीय सरकारका क्षमता अभिवृद्धि गर्न नगर–नगरबीच र तिनीहरूका सङ्घबीच कार्यक्रमिक, सञ्जाल र सहकार्य निर्माण गर्न सहयोग गरिरहेका छन् ।  दिगो विकास, वातावरण र जलवायु परिवर्तन, सहस्राब्दी विकास लक्ष्य र विश्वका अन्य ज्वलन्त विषयमा स्थानीय सरकारका भूमिका, महŒव र योगदानबारे विश्व मञ्चमा यी सङ्घ संस्थाको सक्रिय भूमिका छ ।
नेपालमा हाल स्थानीय सरकारका रूपमा कार्यरत स्थानीय निकायका स्तरमा अन्तर्राष्ट्रिय सम्बन्धको अभ्यासले बिस्तारै गति लिन थालेको छ ।  यस किसिमको सम्बन्धको इतिहास काठमाडौँ महानगरपालिकाले १९७५ मा संयुक्त राज्य अमेरिकाको युजिन नगरसँग भगिनी सम्बन्ध स्थापना गरेपछि सुरुवात भएको पाइन्छ ।  यस क्रममा नेपालका विभिन्न नगरपालिकाले विश्वका विभिन्न नगर र स्थानीय निकायसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग सदस्यता लिएर आबद्ध भएका छन् ।  नेपालमा स्थानीय निकायको अन्तर्राष्ट्रिय सम्बन्धको गतिविधि उत्साहप्रद नभए पनि उपयुक्त दिशातर्फ उन्मुख भएको मान्नुपर्छ ।
जनताले सेवा प्राप्त गर्ने प्रत्यक्ष र पहिलो सम्पर्क बिन्दु स्थानीय सरकार प्रजातन्त्रका स्तम्भ हुन् ।  देश सङ्घीय ढाँचामा गइसकेको र स्थानीय निकायको पुनःसंरचनाको कार्य पनि सम्पन्न भइसकेको अहिलेको अवस्थामा अब स्थानीय सरकारको रूपमा गाउँपालिका, नगरपालिका र जिल्लासभा रहने भएका छन् ।  
नेपालमा २०६८ सालको जनगणना अनुसार ५८ वटा, २०७१ वैशाखमा ७२ वटा, २०७१ मङ्सिरमा ६१ वटा र २०७२ असोजमा २६ वटा गरी जम्मा २१७ नगरपालिका कायम रहेकोमा ‘गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सीमाना निर्धारण आयोग’ को हालसालैको प्रतिवेदन अनुसार अब स्थानीय सरकारको रूपमा चार महानगर, १२ उपमहानगरपालिका, २४१ नगरपालिका र ४६२ गाउँपालिका रहने गरी प्रस्ताव गरिएको छ ।  यस सन्दर्भमा नेपालका स्थानीय सरकारलाई व्यावसायिक, दक्ष र कुशल जनशक्तिबाट सुसज्जित गरी सक्षम संस्थाको रूपमा विकसित गर्ने ठूलो चुनौती छ ।  
स्थानीय सरकारसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय सङ्घ संस्था क्रियाशील छन् ।  त्यस्ता सङ्घ संस्थाको सहयोग, सहकार्य र उपयोगमार्फत स्थानीय सरकारको क्षमता अभिवृद्धि, प्रविधि स्थानान्तरण र नवीन अभ्यास खोज र आदानप्रदानको माध्यमबाट स्थानीय चुनौती र अवसरको सम्बोधन प्रभावकारी ढङ्गले गर्न उपयोग गर्नुपर्छ ।  यसबाट स्थानीय सरकारको संस्थागत सुदृढीकरण र क्षमता विकासको लागि आधारशीला तयार हुनेछ ।  यसो गर्न सकिएको खण्डमा मात्रै उपलब्ध सीमित साधन र स्रोत लक्षित क्षेत्रमा अधिकतम परिचालन गर्न र जनतालाई प्रभावकारी ढङ्गले सेवा प्रदान गर्न सकिन्छ ।  यसको माध्यमबाट व्यवस्थापन प्रणालीमा गुणात्मक सुधार गरी स्थानीयवासीको समुन्नत र उच्च गुणस्तरको जीवनको सुनिश्चिता प्रदान गर्न सकिन्छ ।
हाल नेपालमा स्थानीय निकायको स्तरमा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना एवम् प्रवद्र्धनका लागि संस्थागत रूपमा कम ध्यान दिइएको वा ओझेलमा परेको छ ।  यस क्षेत्रमा गरिने खर्चलाई शुद्ध अनुत्पादक खर्च रूपमा लिने गरिएको छ तर स्थानीय निकायको यस क्षेत्रमा गरिने खर्चलाई एक उत्तम लगानीको रूपमा लिन उपयुक्त हुन्छ ।  हाल नगरपालिकाहरूले मात्रै गरिरहेको अन्तर्राष्ट्रिय सम्बन्ध प्रवद्र्धनको अभ्यास अब सबै स्थानीय सरकारमा विस्तार गरिएको खण्डमा स्थानीय सरकारको साथै मुलुकलाई यसमा गरिएको लगानीको तुलनामा धेरै गुणा बढी लाभ हासिल हुन सक्छ ।  
हाल काठमाडौँ महानगरपालिका, पोखरा, भरतपुर, विराटनगर, बुटवल, धरान, हेटौँडा, वीरगञ्ज, ललितपुर, भक्तपुर, सिद्धार्थनगर, तानसेन र जनकपुर नगरपालिकाले कुनै न कुनै रूपमा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना र प्रवद्र्धनको कार्य गरिरहेका छन् ।  साथै जिल्ला विकास समिति महासङ्घ, नेपाल नगरपालिका सङ्घ र गाउँ विकास समिति राष्ट्रिय महासङ्घ नेपाल जस्ता निकायका प्रतिनिधि संस्थाले पनि अन्तर्राष्ट्रिय सम्बन्धको गतिविधिमा कदम चालेका छन् ।  त्यसको अतिरिक्त केही उद्योग वाणिज्यका साथै शैक्षिक क्षेत्रका संस्था पनि विश्वका विभिन्न देशमा कार्यरत आफ्ना प्रकृतिका संस्थासँग आपसी हितको लागि आबद्ध भएर क्रियाशील भएको पाइन्छ ।
 अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना, प्रवद्र्धन र सुदृढीकरण सम्बन्धी हालसम्मका ती प्रयास संस्थागत र योजनाबद्ध ढङ्गले निर्देशित छैनन् ।  कतिपय नगरपालिकाले स्थापना गरेको सम्बन्धलाई पनि निरन्तरता दिन नसकेको अवस्था छ, जसले गर्दा सहरी व्यवस्थापन र विकासको साथै स्थानीय सरकारका विविध विषयसँग सम्बन्धित अन्तर्राष्ट्रिय गतिविधिसँग यहाँका स्थानीय सरकार प्रभावकारी रूपमा जोडिन र त्यसबाट वाञ्छित लाभ लिन असमर्थ रहेका छन् ।  स्थानीय निकायमा नीतिगत र कानुनी अस्पष्टता, कमजोर संस्थागत आधार, यस क्षेत्रमा न्यून स्रोत परिचालन र अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा जनशक्तिको अभाव जस्ता कारणले नेपालका नगरपालिकाहरूमा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना र प्रवद्र्धनले गति लिन सकेको छैन ।  
स्थानीय सरकारमा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना, प्रवद्र्धन र सुदृढ गर्न सकिएको खण्डमा अन्तर्राष्ट्रिय सम्बन्धका विविध पक्षमा आधारभूत, एकीकृत, विस्तृत र उपयोगी सूचना र जानकारी हासिल गर्ने सक्ने, विश्वका विभिन्न देशका सहरसँग भगिनी सम्बन्ध र स्थानीय विकास एवम् सहरी व्यवस्थापन र विकाससँग सम्बन्धित अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्न सक्ने देखिन्छ ।  स्थानीय सरकारका विविध विषयसँग सम्बन्धित अन्तर्राष्ट्रिय क्षेत्रमा कार्यरत सङ्घ संस्था, नगर–नगरबीच सम्बन्धको माध्यमबाट ज्ञान, सूचना, सहकार्य, प्रविधिमा पहुँच, सञ्जाल स्थापना, असल अभ्यास, प्राविधिक र आर्थिक सहयोग, महŒवपूर्ण सूचनाका साथै भ्रमणको आदानप्रदान जस्ता विषयमा सहज पहुँच हुने अवसर प्राप्त हुन्छ ।  यस्ता अन्तर्राष्ट्रिय स्रोतहरूको उपयोग गर्न सकिने वातावरण निर्माण हुनजान्छ ।  स्थानीय सरकारका लागि विभिन्न क्षेत्रमा अनुदानको रूपमा आर्थिक तथा प्राविधिक सहयोगमा पहुँच र सम्भावनाबारे जानकारी प्राप्त गर्न सकिने छ ।  यसबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि वृद्धि हुन जाने, विदेशमा नेपालबारे प्रचारप्रसार हुन जाने कारणले पर्यटन विकास र विदेशी लगानी वृद्धिमा सहयोग र योगदान पुग्न जानेछ, जसबाट नेपालमा गरिबी निवारणमा प्रत्यक्ष योगदान रहनेछ ।
तीव्र गतिमा भइरहेको सहरीकरणको सन्दर्भमा आजका स्थानीय सरकारलाई सुदृढ र सक्षम संस्थाका रूपमा विकसित गर्नका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा उपलब्ध लाभको उपयोग गरी यो विषयमा संस्थागत क्षमता विकास गर्नुपर्ने अनिवार्य आवश्यकता हुन पुगेको छ ।  अब स्थानीय सरकार परम्परागत ढङ्गले नभई अन्तर्राष्ट्रिय गतिविधिसँग जोडी उपलब्ध साधन र स्रोतको अधिकतम उपयोग गर्न सक्ने र जनतालाई सरल, सुलभ र प्रभावकारी ढङ्गले सेवा प्रवाह सक्ने सक्षम आधुनिक व्यवस्थापन प्रणालीबाट सञ्चालित हुनुपर्छ ।  यस परिप्रेक्ष्यमा नेपालका स्थानीय सरकारलाई अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका स्थानीय तथा सहरी विकास एवम् व्यवस्थापन सम्बन्धी गतिविधिसँग निरन्तर अद्यावधिक बनाइरहनु नितान्त आवश्यक छ ।  यस क्रममा स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्न अत्यन्तै उपयोगी हुने अपार स्रोतको सम्भावना भएको क्षेत्र भएकोले स्थानीय निकायलाई अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न उत्पेरित, सहजीकरण र सहयोग गर्न तत्काल ध्यान जानुपर्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना