चिहानमा स्वर्गको अनुभूति !


जनकपुरधाम, फागुन १२ गते । चिहानमा स्वर्गको अनुभूतिको प्रसङ्गले अनौठो जस्तो लाग्ला तर जनकपुरधाममा सोको यथार्थ अनुभूति गराउन सफल भएको छ –स्वर्गद्वारले ।

कुनैबेलामा गाडिएका मुर्दाका अङ्गलाई पोलेर खाने नरभक्षीको वास भएको, बौलाहा कुकुरको बिगबिगी, दुर्गन्धित र डर लाग्ने स्थल अहिले एउटा व्यक्तिको प्रयासले धर्तीको स्वर्गद्वार बन्न पुगेको छ ।

सामान्यतः चिहान शब्द सुन्नेबित्तिकै शोक, दुःख, पीडाजस्ता भाव उब्जिने गर्दछ तर यस स्थलमा हरेक दिन स्थानीय तथा बाह्य युवायुवती र श्रद्धालुको भीडलाई देख्दा यस स्थलमा पहिलोपटक आउने जो कोही पनि आश्चर्यमा पर्छन् र प्रश्न गर्छन् – “यो कुन देवालय हो ?”

अन्तिम संस्कार स्वच्छ वातावरणमा भएमा मनमा सन्तोष हुन्छ भन्ने भावनाले समाजसेवी पवन सिंघानियाद्वारा चन्दा मागेर निर्माण गरिएको स्वर्गद्वार यति सुन्दर अन्तिम संस्कारस्थल रहेको छ, जो जनकपुरधाम आउने हरेक दर्शनार्थीका लागि आकर्षणको केन्द्र बन्न पुगेको छ ।

मर्नुभन्दा पहिले एकपटक यस स्थलको दर्शन गर्ने इच्छा र मरेपछि यसै स्थलमा अन्तिम संस्कार होस् भन्ने भावनाको जागरणमा सफल यस स्थलको स्वच्छ वातावरणलाई आदर्शका रूपमा लिने गरिएको छ ।

सुव्यवस्था, सहयोगीहरूको उपलब्धता, सामग्रीको समुचित व्यवस्था, आगन्तुकका लागि अस्थायी वास, बाबा भूतनाथको मन्दिर, सुरम्य स्थल, विद्युत्, पानी, दाउराको व्यवस्था, आफ्नो आस्थाअनुसार मान्यता र परम्परालाई निर्वाह गर्दे संस्कार गर्न दिन छुट सबैका लागि प्रेरक भएको छ ।

स्वर्गद्वारको निर्माण मिथिलाको राजधानी जनकपुरधामका लागि गुमेको ताज पुनः प्राप्त गर्ने सन्दर्भमा गरिएको सार्थक प्रयास हो । राजा मिथि, जनक, सीता, अष्टाबक्र, विद्यापतिसहित विश्व विख्यात दार्शनिकको ज्ञान आर्जन तथा कर्म भूमि जनकपुरधाम स्वर्गद्वारको गाथालाई सुनाउन पुनः तयार भएको छ । वृषभानु कुँवरीद्वारा निर्मित जानकी मन्दिर दुनियाँभरि प्रसिद्ध छ भने अर्को धरोहरका रूपमा पवन सिंघानियाको नेतृत्वमा निर्मित धर्तीको पहिलो स्वर्गद्वारलाई लिने गरिएको छ ।

स्वर्गद्वार एउटा जीवन्त गाथा एवम् प्रेरणाको स्रोत मानिन्छ । एकपटक पवनका बुबा हरद्वारी लाल अस्वस्थ्य भएपछि उहाँले नातेदारको मलामीमा पवनलाई पठाउनुभयो । अव्यवस्थित चिहान र दुर्गन्धित वातावरणले पवन चिन्तित भए । मलामीबाट फर्केपछि चिहानको अवस्था र त्यहाँबाट निस्किने फोहर पवित्र गङ्गासागरमा मिसिने गरेका कारण गङ्गासागरमा स्नान गर्ने श्रद्धालु र मलामीको प्रतिकूलताबारे आफ्ना साथीहरूलाई अवगत गराए ।

पवनका साथी विजय सिंहका अनुसार सिंघानिया सानैदेखि चञ्चल, साथीहरूसँग कुरा गरिरहने र घुमन्ते स्वभावका भएका कारण पवनले चिहानकाबारेमा राखेको कुरालाई साथीहरूले गम्भीरतापूर्वक लिएनन् । सिंघानियालाई यही व्यग्रताले चिहानलाई स्वर्गतुल्य बनाउने सङ्कल्प लिन बाध्य पा¥यो ।”

सो सङ्कल्पले पवनको दिनचर्या नै परिवर्तन भयो, उहाँले जीवनको यात्राबाट भौतिक सुख, सुविधा र आरामलाई त्याग गर्दै चिहानलाई स्वर्ग बनाउनेमा समर्पण गर्नुभयो ।

विपरीत परिस्थिति भए पनि सङ्कल्पलाई मूर्तरूप दिन सिंघानियाले केही समाजसेवीको उपस्थितिमा गुरु केशवप्रसाद उपाध्यायबाट २०५८ साल फागुन १७ गते स्वर्गद्वारको शिलान्यास गराउनुभयो ।

यसपछि हरेकदिन चन्दा माग्ने र निर्माण कार्यलाई निरन्तरता दिने अभियान सुरु भयो । पवनका अनुसार उहाँको यही हठयोगले कैयौँपटक स्वयम् रुनु पनि प¥यो किनकि भौतिकवादी सम्पन्नतामा जिउने मारवाडीलाई चिहानमा पागल र अघोरीका परिवारबाट हरेकदिन अश्लील गाली सुन्ने नियत नै बन्यो ।

पवनलाई चन्दा माग्नेबेलामा कैयौँपटक प्रताडित पनि हुनुप¥यो, यो काम मारवाडीको होइन, थरिथरिका बहाना र औकातको प्रश्नको पीडालाई उहाँले कवितामार्फत यसरी व्यक्त गर्नुभयो ः

दिल छैन भने सम्पत्ति बेकार छ
केही व्यक्तिलाई मात्र सम्पत्तिसँग पियार छ
समाजमा बस्नेलाई समाजसँग मिलेर बस्नुपर्छ
जसले मानेन यो कुरा समाजमा उसले त्यस्तै फल पाउने पर्छ
महल जतिसुकै सुन्दर होस् त्यो काम लाग्दैन
राजा होस् वा रङ्क चिहान नै काम लाग्छ...।

स्वर्गद्वारको निर्माणको चरणमा भोगेका पीडालाई उहाँले सातवटा कवितामार्फत व्यक्त गर्नुभएको छ, जसमा जीवन चक्रको अनैको प्रसङ्ग उल्लेख छ ।

पवन त्यसबेलाको चिहानको स्मरण गर्दै भन्नुहुन्छ– “मलामीलाई बस्ने सफा ठाउँको कुरै नगरौँ, लासलाई कुन ठाउँमा राखी अन्तिम संस्कार गर्ने कुरामा निकै समस्या हुने गरेको थियो ।”

व्यक्तिले निष्ठा र इमानदारीपूर्वक कर्तव्य गरेमा सफलता अवश्य प्राप्त गर्न सक्छ भन्ने द्योतकका रूपमा पनि स्वर्गद्वारलाई लिइन्छ । स्वर्गद्वारको दृश्य अनौठो हुन्छ, एकातर्फ लास जलिरहेको हुन्छ भने अर्कोतिर १० फिटको दूरीमा सयौँ दर्शनार्थी, पर्यटक स्वर्गद्वारीको सौन्दर्यकरणमा रमेका हुन्छन् । ३४५ फिट लामो र १२५ फिट चौडा भएको स्वर्गद्वारलाई रङरोगन गरी आकर्षक किसिमले सजाइएको छ ।

स्वर्गद्वार परिसरको पूर्व उत्तर कुनामा विशाल र आधुनिक कलाको सङ्गम भएको भूतनाथ मन्दिर रहेको छ । सो मन्दिरमा तन, मन र धनको अनौठो सङ्गमको प्रतीक मानिन्छ । यस मन्दिरको कलात्मकता यति उत्कृष्ट छ कि मन्दिर एउटा भए पनि दुईटा मन्दिरको द्विविधा उत्पन्न गराउँछ ।

भूतनाथ मन्दिरको दक्षिणमा मन्दिरमा नियमित पूजापाठ गर्ने पुजारीका लागि दुई कोठाको धर्मशाला निर्माण गरिएको छ भने धर्मशालाको दक्षिणमा भैरवनाथको मन्दिर रहेको छ । भैरवनाथ मन्दिरको दक्षिण–पूर्व कुनामा भगवान् शङ्कर, शेषनाग र पार्वतीका आकर्षक मूर्ति रहेका छन् ।

त्यस्तै स्वर्गद्वारको मध्यभागमा २०० फिट लामो र ४० फिट चौडाइ भएको लास जलाउने ठाउँको व्यवस्था गरिएको छ । यसको बीचमा वर्षायाममा पनि लास जलाउनका लागि कक्षको निर्माण गरिएको छ । सो कक्ष निर्माणका लागि थाइल्यान्ड सरकारले रु ३० लाख सहयोग गरेको थियो ।

स्वर्गद्वार परिसरको पश्चिममा व्यवस्थापन समिति र मलामी बस्ने पाँच कोठाको धर्मशाला र दक्षिणमा दाउरा एवम् गुइँठा राख्ने कक्ष, धर्मशालाको उत्तरमा प्रवेशद्वार, पश्चिम प्रवेशद्वारदेखि पूर्व द्वारसम्म १२ फिट चौडाइ र २१० फिट लम्बाइ भएको पैदल मार्ग र पैदल मार्गको उत्तरतर्फ २०१ फिट लामो र ५० फिट चौडाइमा चम्पा, चमेलीसहितको अनेकौँ रङ्गका फूलको उद्यान रहेको छ ।

सिंधानियाका अनुसार स्वर्गद्वार निर्माणमा अहिलेसम्म रु एक करोड ५० लाखभन्दा बढी रकमको खर्च भइसकेको छ र यसलाई पूर्णता दिन अझै रु ३१ लाखको आवश्यकता छ ।

स्वर्गद्वारको पूर्णताअन्तर्गत पोखरी र बच्चाको संस्कार गर्ने व्यवस्थित कक्ष निर्माणको योजना रहेको जानकारी दिँदै उहाँले भन्नुभयो–“स्वर्गद्वारले पूर्णता पाएपछि जनकपुरधामवासीलाई सार्वजनिक रूपमा यसको हिसाब दिनेछु ।” पूर्णता दिने सन्दर्भमा कविताका माध्यमले उहाँले सबैलाई यसरी आग्रह गर्नुहुन्छ ः

कल्पना गरेको छु मैले, पूर्ण तपाईंलाई गर्नुछ
एक रुपैयाँ पनि छ भने शरम नगर्नुछ
यस कार्यमा जसले पनि एक रुपैयाँ दिन पाउँछ
भगवान्को दरबारमा दर्ता हुन पाउँछ ...। रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना