विशेष सुरक्षा योजना बनाउन निर्देशन

नारद गौतम

काठमाडौँ, फागुन १३ गते ।  निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा सुरक्षा जोखिम भएका क्षेत्रको पहिचान गरी विशेष सुरक्षा योजना तयार गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ ।  आयोगको मुख्यालयमा आयोगका पदाधिकारीसहितको टोली र सुरक्षा अङ्गका प्रमुखबीच बिहीबार भएको छलफलमा यस्तो निर्देशन दिइएको हो ।  बैठकमा गृह सचिव लोकदर्शन रेग्मी, रक्षा सचिव श्रीधर सापकोटा र चारवटै सुरक्षा अङ्गका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।  
बैठकपछि गोरखापत्रसँग कुरा गर्दै प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले गृह मन्त्रालयमार्फत ७५ वटै जिल्लामा अवैध मदिरा उत्पादन रोक्न, अवैध हातहतियार नियन्त्रण गर्न, वैध हतियारहरूलाई जिल्ला प्रशासनको मातहतमा राख्नसमेत निर्देशन दिइएको बताउनुभयो ।   election
यस्तै, आयोगका सचिव गोपीनाथ मैनालीले आसन्न निर्वाचनका लागि सुरक्षा जोखिम भएका निर्वाचन क्षेत्रमा विशेष सुरक्षा योजना बनाएर जान सुरक्षा निकायलाई आयोगले निर्देशन दिएको जानकारी दिनुुभयो ।  आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार, आयोग बैठकले सुरक्षासँग सम्बन्धित चारवटा निर्णय गरी गृह मन्त्रालयलाई कार्यान्वयनका लागि पठाउने निर्णय गरेको जानकारी दिनुभयो ।
आयोगका निर्णयहरूमा कानुनबमोजिम हातहतियार लिनेबाहेक अन्य कुनै पनि व्यक्तिले कुनै पनि प्रकारको विस्फोटक पदार्थ, रासायनिक पदार्थ, लाठी भाला, विस्फोटक पदार्थ, पेस्तोल वा कुनै प्रकारका हातहतियार लिएर हिँड्न, प्रदर्शन गर्न, गराउन नपाउने गरी नियन्त्रणको व्यवस्था मिलाउन गृहलाई निर्देशन दिएको छ ।  
कानुनबमोजिम अनुमति प्राप्त गरेका व्यक्तिसँग रहेका पेस्तोल, बन्दुकजस्ता हातहतियार निर्वाचन अवधिभर सम्बन्धित जिल्ला प्रशासनको मातहतमा रहने व्यवस्था मिलाउन, निर्वाचन अवधिभर अवैध मदिरा, मदिराजन्य पदार्थको उत्पादन, विक्री वितरणमा बन्देज लगाउने गरी विशेष व्यवस्था मिलाउन पनि आयोगले निर्देशन दिएको छ ।  
यसैगरी, केही सार्वजनिक व्यवस्था ऐनबमोजिम निर्वाचन बिथोल्न सक्ने आपराधिक चरित्रका शङ्कास्पद चरित्रका व्यक्तिहरूलाई प्रहरी नियन्त्रणमा राखी आवश्यकताअनुसार नियन्त्रण गर्ने व्यवस्था मिलाउन पनि आयोगले गृहलाई निर्देशन दिएको छ ।  सुरक्षा निकायसँगको छलफलमा सामान्य प्रकारको सुरक्षा जोखिम भएका क्षेत्रमा त्यसै हिसाबले तयारी गर्ने, मतदाता, उम्मेदवारको सुरक्षा, निर्वाचन आयोगका आयुक्तहरू र निर्वाचनमा खटिने कर्मचारीलगायतको सुरक्षा जोखिमअनुसारको सुरक्षा व्यवस्था गर्न पनि आयोगले सुरक्षा अङ्गलाई निर्देशन दिएको छ ।  
निर्वाचन कार्यतालिकाअनुरूप आयोगले निर्वाचनका कार्यक्रमहरू सञ्चालन गर्दा हुनसक्ने सुरक्षा चुनौतीलाई सम्बोधन गर्न पनि निर्देशन दिएको छ ।  आयोगले बुधबार १९ बुँदे निर्देशन कार्यान्वयन र अब जारी हुने आचारसंहिताको पालना होस् भनेर पनि सरकारलाई निर्देशन दिएको छ ।  
यसैगरी, आयोगले बिहीबार नै नेपालस्थित कूटनीतिक नियोग तथा दातृ निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई स्थानीय निर्वाचनको तयारी र आयोगले गरेको अपेक्षाबारे अवगत गराएको छ ।  आयोगका सहसचिव नवराज ढकालले ऐन कानुनमा भएका व्यवस्था, निर्वाचनको तयारी तथा आयोगले गरेका अपेक्षाहरूबारे जानकारी गराउनुभएको थियो ।  कूटनीतिक नियोगका प्रमुख तथा दातृ निकायका प्रमुख एवम् प्रतिनिधिहरूले छोटो समयमा निर्वाचन तयारी गर्नु पर्दाका चुनौती, स्थानीय तहको पुनःसंरचनाको प्रतिवेदन पाएको÷नपाएको अवस्थाबारे पनि जिज्ञासा राख्नुभएको जानकारी प्रवक्ता शर्माले दिनुभयो ।  
फागुन १८ देखि आचारसंहिता

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले फागुन १८ गते निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेकोे छ ।  आयोगका सचिव गोपीनाथ मैनालीले सम्भवतः फागुन १८ गते आयोगले पहिलो चरणमा मन्त्रीहरू र दोस्रो चरणमा सचिवहरूलाई आयोगमा बोलाएर आचारसंहितासम्बन्धी निर्देशन जारी गर्ने तयारी गरेको जानकारी दिनुभयो ।  
स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय निर्वाचन सञ्चालनका लागि प्रभावकारी आचारसंहिता आवश्यक पर्छ ।  निर्वाचन आचारसंहिता चरण चरणमा लागू हुने छ ।  आचारसंहिता राजनीतिक दल, नेपाल सरकारका मन्त्री, सरकारी कर्मचारी, सरकारी निकाय, मतदाता, आमसञ्चार माध्यम, गैरसरकारी संस्था, पर्यवेक्षकलगायत सम्पूर्ण सरोकारवालाहरूका लागि लागू हुने गर्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना