संविधान संशोधन प्रक्रिया अगाडि बढ्यो

नारायण काफ्ले

काठमाडौँ, फागुन १३ गते ।  संविधान संशोधन विधेयकको विरोधमा रहेका प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका नौ दल छलफल प्रक्रिया अगाडि बढाउन सहमत भएपछि व्यवस्थापिका संसद्को बैठक कार्यसूचीमा प्रवेश गरेको छ ।  प्रतिपक्षी दलहरूले अवरोध नगर्ने निर्णय गरेसँगै संसद्मा बिहीबारबाट संविधान संशोधन विधेयकमा सैद्धान्तिक छलफल शुरू भएको छ ।  
बिहीबार सभामुख ओनसरी घर्तीसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच भएको छलफलपछि सैद्धान्तिक छलफलको प्रक्रिया अगाडि बढाउन एमाले तयार भएको हो ।  
प्रतिपक्षी दलहरूको हो–हल्लाबीच गत पुस २४ गते संशोधन विधेयक संसद्मा पेस भयो ।  संसद् सचिवालयमा दर्ता भएको एक महिनापछि संशोधन विधेयक संसद्मा पेस भयो ।  संसद्मा दर्ता भएको तीन महिनापछि संशोधन विधेयकमा सैद्धान्तिक छलफल शुरू भएको हो ।  
प्रतिपक्षी दलहरूले सदन अवरोध नगर्ने निर्णय गरेपछि कानुनमन्त्री अजयशङ्कर नायकले सैद्धान्तिक छलफलका लागि विधेयक पेस गर्नुभएको थियो ।  प्रतिपक्षी नौ दलमध्ये नेपाल मजदुर किसान पार्टीले भने विरोधको कार्यक्रम जारी राखेको छ ।  नेमकिपाले प्रस्ताव फिर्ता हुनुपर्ने भन्दै संसद्मा सैद्धान्तिक छलफलका क्रममा नारावाजी गरेको हो ।  सैद्धान्तिक छलफलमा प्रतिपक्षी नौ दलकै सांसदहरूले बिहीबारको छलफलमा भाग लिएनन् ।
संसद्मा सैद्धान्तिक छलफलमा भाग लिँदै नेकपा माओवादी केन्द्रका उमेश यादवले संशोधन विधेयक पारित हुने बेलासम्म विधेयकमा सहमति जुट्ने बताउनुभयो ।  मण्डलले विधेयक पारितको अन्तिम समयसम्म प्रक्ष र प्रतिपक्षी नहुने दाबी गर्नुभयो ।
तराई मधेश लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्लले संविधानको सर्वस्वीकार्यतापछि मात्र कार्यान्वयनमा जानुपर्ने बताउनुभयो ।  शुक्लले सर्वस्वीकार्यताका लागि संशोधन नगरी निर्वाचनमा जान नसकिने बताउनुभयो ।  
सैद्धान्तिक छलफलपछि संसद्ले संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ ।  कानुनमन्त्री अजयशङ्कर नायकले संशोधन विधेयकमाथि विचार गरियोस् भनी राख्नुभएको प्रस्ताव संसद्को बहुमतले स्वीकृत गरेको हो ।  
प्रस्ताव पारितसँगै अब सांसदहरूले संविधान संशोधन विधेयकमा संशोधन दर्ता गराउन पाउनेछन् ।  संशोधन दर्ताका लागि संसद् सचिवालयले ७२ घन्टाको समय उपलब्ध गराउनेछ ।  सांसदहरूले संशोधनका लागि खुला गरिएका संविधानका धारामा मात्र संशोधन दर्ता गराउन पाउनेछन् ।  संशोधन दर्तापछि संसद्ले संशोधनमाथि समिति बनाएर वा पूर्ण बैठकमै छलफल गर्न सक्नेछ ।  दलहरूको तयारीअनुसार संशोधन प्रस्तावलाई समिति बनाई दफावार छलफल गराउने तयारी छ ।  
सदन सुचारु भएसँगै संसद्मा विशेष समय लिएर एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संशोधन प्रस्ताव पारित गर्न नसकिने बताउनुभयो ।  नेम्वाङले असन्तुष्ट दलहरूले नै विधेयक परिमार्जनका पक्षमा धारणा राखिरहेकाले पारितको औचित्य नभएको बताउनुभयो ।  
उहाँले भन्नुभयो, ‘साँच्चीकै गम्भीर परिणाम निस्कन्छ भनेर सत्तापक्षले भन्दा भन्दै किन सरकार गम्भीर परिणाम निस्कने विधेयकलाई पास भए पनि होस् फेल भए पनि होस् भनेर अगाडि बढाउने कोसिस गरिरहेको छ ? यो अचम्मको कुरा छ । ’ नेम्वाङले नौ दलले संशोधनको विपक्षमा मतदान गर्ने बताउनुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना