ज्ञान र विज्ञानका धनी महर्षि भृगु

kamal rijal कमल रिजाल





महर्षि भृगु वैदिक दर्शनका आदर्श व्यक्तित्व हुन् ।  उनी वेद तथा इतिहास पुराण सबैमा उत्तिकै चर्चित छन् ।  कतिपय ऋषिका नाम वेदमा मात्र देखिएको छ भने कतिपयको नाम इतिहास र पुराणमा मात्र भेटिन्छ ।  तर, केही ऋषि यस्ता छन् जसको वेद तथा इतिहास पुराण सर्वत्र उत्तिकै वर्चस्व छ ।  महर्षि भृगु यस्तैमा पर्छन् ।  उनी ब्रह्माजीका मानसपुत्र मानिन्छन् ।  श्रीमद्भागवतकाअनुसार आदिकल्पमा उनलाई ब्रह्माजीले आफ्नो त्वचाबाट जन्मदिएका थिए ।  उनीसँगै जन्मेका अन्य ऋषिमा मरीचि, अत्रि, अङ्गिरा, पुलस्त्य, पुलह, क्रतु, वसिष्ठ, दक्ष र नारद छन् ।  भृगु ज्ञान, गुण, बुद्धि, विवेक र कला–कौशलका क्षेत्रमा ब्रह्माजी जत्तिकै सामथ्र्यशाली मानिएका छन् ।  यसैको कारण उनलाई कतै प्रजापति नै भन्ने गरिएको समेत पाइएको छ ।  उनलाई कतैै सप्तर्षिको रूपमा अथ्र्याउने गरिएको पाइन्छ ।  
प्र्रज्ञाचक्षुका धनी भृगु धेरै दृष्टिले महìवपूर्ण मानिन्छन् ।  कालशक्तिलाई समेत वशमा राख्न सक्ने महर्षि च्यवन उनकै पुत्र हुन् भने मृतसञ्जीवनी विद्याका धनी शुक्राचार्य उनकै पुत्र मानिएका छन् ।  त्यति मात्र होइन साक्षात् माता लक्ष्मीसमेत उनकै पुत्रीका रूपमा रहेकी छन् ।  दक्षप्रजापतिकी पुत्री ख्यातिदेवीसित विवाह गरेका यी महर्षिका धाता, विधाता आदि अन्य दुई पुत्रको समेत उल्लेख वैदिक ग्रन्थहरूमा भेटिन्छ ।  उनी भृगुवंशका प्रवर्तक समेत मानिएका छन् ।  उनका वंशजलाई भागर्व भनिन्छ ।  यसबाहेक उनी गोत्र प्रवर्तक ऋषि रहेका छन् ।  अहिले पनि मिश्र तथा अवस्थी आदि केही थरका मानिस आफूलाई भार्गव गोत्रीय भन्दै आएका छन् ।  
वैदिक मन्त्रद्रष्टा ऋषिमा भृगुको मात्र नभई उनका वंशज भार्गवहरूको समेत विशेष स्थान रहेको छ ।  यिनमा विशेष गरी भार्गव वेन, सोमाहुति, स्युमरश्मि, भार्गव आर्वि तथा भागर्व कवि उशना (शुक्राचार्य) आदि प्रमुख मानिएका छन् ।  यीमध्ये ऋग्वेद नवौं मण्डलका ४७–४९ तकका तीन सूक्त र ऐ ऐ ७५–७९ तकका पाँच सूक्त कवि भार्गव (उशना) द्वारा दृष्ट सूक्त मानिएको छ ।  पवमान सोमको गुणगान गरिएका यी सूक्तमा प्रत्येकको पाँच÷पाँच मन्त्रका दरले जम्मा ४० वटा मन्त्र रहेका छन् ।  यी मन्त्रमार्फत उनले बल, बुद्धि, पराक्रम, शत्रुनाश, धन, दौलत, ऐश्वर्य, अन्न, गोधन तथा सुख, शान्ति र सद्भाव वृद्धिको कामना गरेका छन् ।  साथै आठौँ मण्डलका ८४ औँ सूक्त र नवौँ मण्डलका ८७–८९ तकको तीन सूक्त उनीद्वारा नै दृष्ट सूक्त हुन् ।  क्रमशः अग्नि र सोमका प्रशंसा गरिएका यी सूक्तका आशय करिबकरिब उस्तै पाइएको छ ।  पौराणिक ग्रन्थहरूकाअनुसार शुक्राचार्य दानवहरूको गुरु मानिएका छन् तर ऋग्वेद प्रथम मण्डलको ५१ औं सूक्तको दशौँ र एघारौँ दुई मन्त्रले उनलाई इन्द्रको प्रशंसक मानेको छ भने यसै मण्डलको ८३ औँ सूक्तको पाँचौ मन्त्रले उनलाई इन्द्रको सहयोगीको रूपमा चित्रण गरेको छ ।  त्यति मात्र होइन १२१ औँ सूक्तको १२ औँ मन्त्रकाअनुसार वृत्रवधका लागि इन्द्रलाई वज्र उपलब्ध गराउने कार्यमा उनले नै अग्रसरता देखाएका छन् ।  त्यस्तै यसै मण्डलको १३० औँ सूक्तको नवौँ मन्त्र, छैटौँ मण्डलको २० औँ सूक्तको ११ औँ मन्त्र र दशौँ मण्डलको ४९ औँ सूक्तको तेस्रो मन्त्रका अनुसार उनको रक्षक इन्द्र नै देखिएका छन् ।  
त्यस्तै ऋग्वेद दोस्रो मण्डलको चारदेखि सातसम्मका चारवटा सूक्तका द्रष्टा ऋषि सोमाहुति भागर्व देखिएका छन् ।  कुल ३१ मन्त्र रहेका यी सूक्तहरूमार्फत भार्गवहरूले अग्निको विशेष उपासना गरेका छन् ।  यसबाहेक अग्निलाई जल, स्थल तथा आकाशमा स्थापित गर्ने कार्यमा उनीहरूकै विशेष भूमिका रहेको छ ।  साथसाथै ऋग्वेद चतुर्थ मण्डलको सूक्त सातको प्रथम मन्त्र तथा छैटौँ मण्डलको सूक्त १५ को दोस्रो मन्त्रकाअनुसार अग्निलाई दावालनको रूपमा वनमा र गृहस्थाग्निको रूपमा आश्रममा स्थापित गर्ने काम यिनै भुगुवंशी भार्गवहरूले गरेका छन् ।  त्यसैगरी, ऋग्वेद मण्डल तीन सूक्त दुईको चौथो मन्त्रका अनुसार भार्गवहरूको समग्र आवश्यकता पूरा गर्ने अग्निदेव नै छन् भने मण्डल आठ सूक्त तीनको नवौँ मन्त्रका अनुसार इन्द्रले यथोचित धनसम्पत्ति दिएर उनीहरूको सेवा गरेका छन् ।  
भार्गवहरू कुशल याज्ञिक त हुँदै हुन् साथै यज्ञनाशक तìवको विनाशक देखिएका छन् ।  ऋग्वेद नवौँ मण्डलको १०१ औँ सूक्तको १३ औँ मन्त्रमा यसबारे सम्यक विवेचन भेटिन्छ ।  त्यसैगरी, ऋग्वेद मण्डल १० सूक्त ३९ को मन्त्र १४ काअनुसार उनीहरू कुशल रथ निमार्णकर्ता देखिएका छन् ।  ऐं ऐं सूक्त ४६, मन्त्र दुई र नौका अनुसार जलतìवमा लुकेर बसेका अग्निलाई फेला पार्ने भार्गवहरू नै पाइएका छन् ।  यसबाहेक उनीहरूले यसै मण्डलका सूक्त ९२ मन्त्र १० का अनुसार अथर्वा ऋषिले सुरु गरेका यज्ञ सम्पादन गरी देवताहरूलाई सन्तुष्ट पार्ने काममा अग्रसरता देखाएका छन् ।  
त्यसैगरी, ऋग्वेद नवौँ मण्डलको ८५ औँ सूक्त तथा दशौँँ मण्डलको १२३ औँ सूक्तको द्रष्टा ऋषि वेन भार्गव मानिएका छन् ।  सोमका उपासक यी वेन जति पराक्रमी छन् त्यति नै तेजस्वीसमेत देखिएका छन् ।  त्यस्तै ऋग्वेद मण्डल दश सूक्त १७१ को द्रष्टा ऋषि भार्गव इट हुन् भने दशौँ मण्डलको ७७ औँ र ७८ औँ सूक्तका द्रष्टा ऋषि स्यूमरश्मि भार्गव हुन् ।  स्यूमरश्मिले यी दुई सूक्तका १६ वटा मन्त्रद्वारा मरुतहरूको प्रशंसा गर्दै सर्वकल्याणको कामना गरेका छन् ।  त्यस्तै आठौँ मण्डल आठ, सूक्त १०२ को चारौँ मन्त्रकाअनुसार भार्गव और्व र आप्नवान पनि महर्षि भृगु जत्तिकै अग्निसेवक देखिएका छन् ।  यसबाहेक ऋग्वेद दशौँ मण्डलको सूक्त १४८ को द्रष्टा ऋषिमा वेनका पुत्र पृथु रहेका छन् ।  यस सूक्तकाअनुसार उनी वेदमन्त्रका कुशल वाचक मानिएका छन् ।  यसै मण्डलको ९३ औँ सूक्तका द्रष्टा ऋषिमा भने उनको समेत पुत्र तान्व पर्छन् ।  यस हिसाबले भन्नुपर्दा ऋग्वेदमा महर्षि भृगुको चारपुस्ताको योगदान देखिन्छ ।  
महर्षि भुगु ऋग्वेद प्रथम मण्डलको ६० औँ सूक्तको प्रथम मन्त्रकाअनुसार अग्निको परम मित्र मानिएका छन् ।  उनीहरूलाई मित्रता गराउन वायुदेवताले विशेष भूमिका निर्वाह गरेका छन् ।  धनुर्विद्याका कर्ता मानिएका यी महर्षि धैर्य, साहस, अध्यात्मज्ञान र मन्त्रशक्तिको बेजोड सङ्गमकै रूपमा रहेका देखिन्छन् ।  एकपटक उनले ब्रह्मा, विष्णु र महेश्वरमध्ये कुन ठूलो भन्ने विषयमा ऋषिहरूबीच विवाद हुँदा त्रिदेवको परीक्षा लिने समेतको हिम्मत गरेका छन् ।  पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार परीक्षाको क्रममा उनले विष्णुको छातीमा लात्तीले हान्दा लागेको चोट अहिलेसम्म जस्ताको तस्तै छ ।  यसैको कारण विष्णुको एउटा नाम नै भृगुलाञ्छन हुन पुगेको छ ।   
महर्षि भृगु ज्योतिर्विज्ञानको त्यति नै ज्ञाता मानिएका छन् ।  उनका अमर कृति भृगु संहिता ज्योतिष शास्त्रको विशेष धरोहर मानिन्छ ।  खासगरी ग्रहहरूको स्थिति र गति विवेचना गरिएको यस कृतिले उल्कापात, मेघ तथा वर्षा बादल आदिको क्षेत्रमा उत्तिकै ध्यान दिएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना