साना उद्यमको सुन्दरता

 Junar_babuजुनारबाबु बस्नेत



भूमण्डलीकरणले यताका साढे दुई दशकमा विश्व अर्थतन्त्रलाई गहिरो प्रभाव पा¥यो ।  अनेक अर्थतन्त्र उदाए र अस्ताए ।  धेरै बहुराष्ट्रिय कम्पनीले विश्वभरि प्रभाव जमाउन सफल भए ।  सन् १९९० देखि आरम्भ भएको खुला अर्थतन्त्रको बहावले कतिपय अर्थतन्त्रमा प्रतिकूल प्रभाव पा¥यो ।  त्यसमध्ये साना र मझौला उद्यमको क्षेत्र सबैभन्दा प्रभावित क्षेत्र रह्यो ।  विश्व व्यापार सङ्गठनको उदयसँगै छाएको उदारीकरणले विश्वभरि व्यापारमा सजिलो भयो ।  भन्सार दर घट्दै गए ।  फलस्वरूप प्रतिस्पर्धात्मक क्षमता नभएका कतिपय उद्यम र व्यवसाय ओइल्याउन थाले ।  कतिपयको अवशान भयो ।  
कम विकसित मुलुक नेपालका धेरै साना र मझौला उद्यमको अवशान हाम्रै आँखाअगाडि भएको हाम्रो विगत छ ।  रोजगारी गुम्यो ।  आय, उत्पादन र रोजगारीमा आएको यही प्रतिकूल अवस्थाले नेपाली अर्थतन्त्रलाई दूरगामी प्रभाव पार्न सक्ने क्षितिज उघ्रिए ।  साना तथा मझौला उद्यमले सानै तहमा दिएको रोजगारी हराउन थाल्दा ४० लाख नेपाली युवा देशबाहिरको श्रम बजारमा छन् ।  देश विप्रेषणमा निर्भर हुँदै छ ।  ती युवालाई देशभित्रै आकर्षण गर्नसक्ने नीति, योजना र कार्यक्रमविना नेपाली अर्थतन्त्रको विकास असम्भव छ ।
नेपालमात्र होइन, एसियाका धेरै देशमा साना र मझौला उद्यममा आएको ह्रासले ठूलो चिन्ता बढाएको छ ।  यो चिन्ता नेपालजस्ता कम विकसित मुलुकका लागि मात्र होइन, दक्षिण–पूर्वी तथा एसिया तथा प्रशान्त क्षेत्रमा उस्तै देखिएको छ ।  कम विकसित र विकासशील अर्थतन्त्रसँगै जापानजस्तो समृद्ध मुलुकका नीति निर्मातालाई पनि साना र मझौला उद्यममा आएको ह्रासले चिन्ता बढाएको छ ।  कहाँ, के नीतिगत कमीकमजोरी भयो भन्नेतिर चासो बढेको छ ।  सुधारतिर पाइला अगाडि बढेका छन् ।  जापानी प्रधानमन्त्री सिन्जो आबेका सल्लाकार प्रा. आत्सुसी सुनामीको भनाइमा साना तथा मझौला उद्यमलाई साना र ठूला अर्थतन्त्र सबैले पुनरोत्थान गर्नु जरुरी छ ।  
हुन पनि जनस्तरमा आय, रोजगारी र उत्पादन बढाउन साना र मझौला उद्यमले प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ ।  विश्वभरिका अध्ययनले देखाएअनुसार साना र मझौला उद्यम व्यवसाय समयान्तरमा ठूलो उद्योग व्यवसायका रूपमा विकसित हुन्छन् ।  आज साना र मझौला उद्यम सुक्दै जानु भनेको भोलि ठूलो उद्यम विस्तार हुन नसक्नु पनि हो ।  अहिलेका धेरै ठूला व्यवयास र धनाढ्यहरू कुनै बेला सानो व्यवसायबाट उठेका थिए ।  
टोकियोस्थित एसियाली उत्पादकत्व सङ्गठनले (फागुन ९–१४,२०७३) मा टोकियो र क्योटोमा एयियाली पत्रकारका लागि आयोजना गरेको साना र मझौला उद्यमको बहुदेशीय अध्ययन अवलोकन मिसनमा प्राध्यापक सुनामी धेरैका लागि आकर्षित रहनुभयो ।  जापानी प्रधानमन्त्रीको ‘आबेनोमिक्स’ का नीति निर्मातामध्येका एक सुनामीले संरचनात्मक परिवर्तन गरी साना तथा मझौला व्यवसायलाई पुनः मूलधारमा ल्याउन जापान प्रयत्नरत रहेको नालीबेलीसँगै जापान र अन्य एसियाली अर्थतन्त्रका आयामहरूको सविस्तार विवेचना गर्नुभयो ।  नयाँ सम्भावनाको खाका एसियाली अर्थतन्त्रका आशाहरू थिए ।
जन्मदर घट्नु, वृद्धवृद्धाको उमेर बढ्दै जानु आदि कारण जापानी आर्थिक वृद्धि सुस्त रहेको ठम्याउँदै वित्तीय पहुँच, नीतिगत सुधारविना अर्थतन्त्र अगाडि बढ्न नसक्ने ठम्याइ छ ।  सन् १९६० को दशकमा दोहोरो आर्थिक वृद्धि भएको जापान यताका वर्षमा एक÷दुई प्रतिशतकै आर्थिक वृद्धिमा चित्त बुझाइरहेको छ ।  अमेरिकापछिको दोस्रो अर्थतन्त्रलाई अहिले चीनले उछिनिसकेको छ ।  नवीन अन्वेषण, अति उच्च प्रविधि, मानवीय चेनतासित अभ्यस्त रोबर्टोद्वारा श्रमशक्तिको व्यवस्थापनसँगै साना र मझौला उद्यममा अरू विस्तार र उत्पादकत्व बढाउने लक्ष्यतिर उन्मुख जापानी अर्थतन्त्रका विशेषता बन्ने ठानिएको छ ।
विज्ञका अनुसार साना र मझौला उद्यम व्यवसाय रोजगारी र स्वरोजगारीको आधार हुनेछन् ।  तिनले कृषि, उद्योग र सेवा क्षेत्रको त्रिआयामिक विशेषतामा परस्पर सहयोग पु¥याउनेछन् ।  निरन्तर अन्वेषण, स्थानीय साधन र स्रोतको अधिकतम प्रयोग, पर्यावरणीय चेतनासहितको दिगो विकासले राष्ट्रिय अर्थतन्त्रको मूलभूत विशेषता हुनुपर्नेछ ।  ठूला उद्यम कहिलेकाहीँ प्रविधिको परिवर्तन रातारात टाट पल्टिन सक्ने अवस्था आउन सक्नेछ ।  सन् १९९८ मा कोडाक कम्पनी डिजिटल प्रविधिको उत्कर्षसँगै पतन हुँदा एक लाख ७० रोजगारी एकैपटक गुमेको थियो ।  विश्वको ८० प्रतिशत ‘फोटो पेपर’ उत्पादन गर्ने कोडाकका विश्वभरिका कारखानामा ताला लागेको थियो ।
अवसर र चुनौती सधैँ उस्तै हुँदैन ।  सूचना प्रविधिको अति उच्चस्तरको विकास र त्यसमा ‘बायोसेन्सर’ प्रविधिका रोबर्टको विकासले कामहरू स्वचालित हुँदै छन् ।  बैङ्किङ, बीमा, व्यवस्थापनका कतिपय क्षेत्र स्वचालित हुँदै जाँदा क्रमशः रोजगारी थप खुम्चन सक्नेछ ।  व्यवसायका विस्तारका लागि साना लगानी र प्रयासका उद्यम व्यवसायतर्फ साना र ठूला सबै अर्थतन्त्रको ध्यान जरुरी देखिएको छ ।  
विकसित प्रविधिले साँच्चै नयाँ र रोमाञ्चित अवसर र चुनौती ल्याउँदै छ ।  साइबरडाइन प्रविधिको अन्वेषण र प्रयोगले जापानी रोबर्टहरू मानिसको सोचाइसित मेल खानेगरी काम गर्न थालेका छन् ।  मानिसको सोचलाई कार्यरूपमा बदल्ने रोबर्ट विकसित अर्थतन्त्रका नयाँ तिलस्मी हुँदै छन् ।  अफ्रिका र विपन्न अर्थतन्त्रमा समेत १० अमेरिकी डलरमा स्मार्ट फोनको पहुँच पुग्दै जाँदा चार वर्षका बालबालिका कम्प्युटर पोग्रामिङतिर आकर्षित छन् ।  शिक्षाले नयाँ अवसर सिर्जना गर्दै छ ।  दिगो विकासका लागि कृषिलाई व्यवस्थापन र प्रविधिमैत्री बनाउँदा उद्योग र सेवाक्षेत्रमा एकैपटक राम्रा अवसर सिर्जना हुन सक्ने देखिएको छ ।  उद्यम र व्यवसायमा स्मार्ट प्रविधिको प्रयोगले उत्पादनमा मूल्य अभिवृद्धि गर्न सक्नेछ ।  तर, यी सबै क्षेत्रमा साना र मझौला उद्यमलाई जोड्दै अर्थतन्त्रमा योगदान पु¥याउनु वाञ्छनीय भएको छ ।
साना र मझौला उद्यमको विकासका लागि सरकारका नीति र कार्यक्रममा शीघ्र र कार्यमूलक परिवर्तन आवश्यक हुन्छ ।  विज्ञहरूको भनाइमा सरकार नीतिगत सुधारमा व्यापक गृहकार्यले अगाडि बढ्न सकेन भने त्यसले साना र मझौला उद्यमलाई चुनौती चिर्दै विकासको दिशा दिन सक्दैन ।  निश्चय नै ठूला र बहुराष्ट्रिय कम्पनीले धेरैजसो मुनाफामा आधारित उत्पादनलाई अगाडि बढाउँछन् ।  ठूलोस्तरमा मुनाफा आउन नसकेपछि तिनले या त रणनीति बदल्छन् या उत्पादन बन्द गर्छन् ।  त्यसले दिगो विकासको आधार तय गर्दैन ।  जापानमा ९७ प्रतिशत व्यवसाय अहिले पनि साना र मझौलास्तरमा छन् र तिनले ७० प्रतिशत रोजगारी दिएको छ ।  कुल गार्हस्थ उत्पादनमा आधा योगदान छ तर पनि यसमा जापानी नीतिविज्ञहरू चित्त बुझाउन सकेका छैनन् ।
एसियामा उत्पादकत्व बढाउँदै अर्थतन्त्रलाई अरू बढी जनस्तरको आय, उत्पादन र रोजगारी अभिवृद्धि गर्न एपीओको आधा शताब्दीदेखि निरन्तर सहयोग गरिरहेको छ ।  एपीओका महासचिव शान्ति कानोत्कपोर्नको भनाइमा कृषि क्षेत्रलाई साना तथा मझौला उद्यमसित जोड्दै एसियाली अर्थतन्त्रमा उत्पादकत्व अभिवृद्धि गर्नु अहिलेको मुख्य चुनौती हो ।  प्रविधि, नवीनता र खासगरी डिजिटल क्षेत्रले ल्याएको व्यापक अवसरको शीघ्र उपयोग गर्दा त्यो असम्भव छैन ।  एपीओ एसियाली अर्थतन्त्र खासगरी कृषि, उद्योग र सेवा क्षेत्रमा नवीनता दिन अग्रसर छ ।  १९६१ मा जापानको अग्रेरितामा एपीओको स्थापना भएको हो, यसमा नेपाल संस्थापक आठ सदस्यमध्ये एक हो ।  जापानसँगै नेपाल, भारत, गणतन्त्र चीन, दक्षिण कोरिया, पाकिस्तान, फिलिपिन्स र थाइल्यान्ड आठ देशले स्थापना गरेको एपीओमा अहिले एसिया तथा प्रशान्त क्षेत्रका २० मुलुक छन् ।  एपीओले उत्पादकत्व बढाउन अहिले विश्वभरिका राम्रा अभ्यासहरू एसियामा ल्याउन अग्रसर देखिएको छ ।
निरन्तर अध्ययन अन्वेषण र त्यसको लाभ सबै अर्थतन्त्रमा पु¥याउन एपीओले ‘भिजन २०२०’ को कार्ययोजनामा काम गरिरहेको छ ।  एपीओ अनुसन्धान तथा योजना विभागका निर्देशक एवम् कृषि विज्ञ जोसिलिटो क्रुज बर्नार्डोका अनुसार उत्पादकत्व बढाई एसियाली अर्थतन्त्रका चुनौती सामना गर्न सञ्चारक्षेत्रका भूमिकालाई नवीन र आमहितमा प्रभावकारी बनाउने दिशामा एपीओ अग्रसर छ ।  त्यसका लागि विश्वभरिका राम्रा अभ्यासको सहकार्यलाई कार्यरूपमा बदलिएको छ ।  सदस्यराष्ट्रले साना र मझौला उद्यमका हितमा काम गर्न नीगिगत सुधारमा सहकार्य गर्न आवश्यक हुन्छ र त्यसनिम्ति सञ्चार क्षेत्रले देशीय र एसियाली साझा अनुभव उपयोग गर्नु जरुरी हुन्छ ।  
अति कम विकसित मुलुक नेपालले सन् २०२२ सम्म विकाशीलस्तरमा पुग्ने लक्ष्यसँगै २०३० सम्म मध्यमस्तरको आय भएको मुलुकमा रूपान्तरण गर्ने गन्तव्य तय गरेको छ ।  यो लक्ष्य र गन्तव्य महŒवाकाङ्क्षी त होइन तर अहिलेकै अवस्था र गतिमा त्यहाँसम्म पुग्न अवस्था छैन ।  दैनिक एक हजारदेखि १५ सयसम्म बाहिरिने युवा जनशक्तिलाई देशभित्रै रोजगारी सिर्जना बाटोमा लाग्नु जरुरी छ ।  त्यसनिम्ति साना र मभौला उद्यमको विकास र विस्तार लाग्न सक्ने नीति, योजना र कार्यक्रम वाञ्छनीय छन् ।  यथार्थमा साना उद्यमको सुन्दरता अर्थतन्त्र निर्माणको आधार बन्न सक्छ ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना