सुख्खा डाँडामा बन्यो ताल

काठमाडौँ, फागुन १६ गते ।  जलाधार व्यवस्थापनमा धेरै पानी र कम पानीलाई समस्याका रूपमा लिइन्छ । धेरै पानी हुँदा बाढी पहिरो अनि कम पानी हुँदा सुख्खाले गर्दा वन, वनस्पति, वन्यजन्तु र खेतीबालीमा असर पर्ने हुन्छ । त्यसैले ‘धेरै पानी–कम पानी, समस्या समाधान–जलाधार व्यवस्थापन’ को नारा लिएर सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।
विगतमा साल एवं सिसौका घनाजङ्गल रहेको तर पछि चोरी कटानी, आगलागी, अति चरिचरण र अतिक्रमणको चपेटामा परेको सप्तरी जिल्लाको चुरेको फेदमा रहेको हर्दिया गाविस– १, भेडिया क्षेत्र यस्तै समस्याको चपेटामा परिरहेको थियो । यही समस्यालाई दृष्टिगत गरी सरकारले स्थानीय बासिन्दालाई संरक्षणको जिम्मा लगायो । वर्षायाममा अति भू–क्षय र गल्छी निर्माण तथा हिउँदयाममा अति सुख्खाका कारण नाङ्गो र सुख्खा भई क्षतिग्रस्त भएको क्षेत्रलाई वि.सं. २०५९ मा सामुदायिक वनका रूपमा हस्तान्तरण गरियो ।
पानी र जमिनको व्यवस्थापन गर्दै क्षतिग्रस्त जमिनलाई पुनरुत्थान गर्ने मुख्य उद्देश्यसहित जिल्ला भू–संरक्षण कार्यालय सप्तरीले एकीकृत सूक्ष्म जलाधार व्यवस्थापनका कार्यक्रम सञ्चालन सुरु ग¥यो । त्यस कार्यालयको आर्थिक, प्राविधिक तथा सामाजिक परिचालन सहयोगमा सञ्चालित कार्यक्रमबाट हाल जङ्गलमा वर्षाको भल छोप्ने दुईवटा बाँध र दुईवटा संरक्षण पोखरीका साथै दुईवटा वर्षायामको भल जम्मा हुन जलसञ्चय पोखरी निर्माण गरिएका छन् । dadama tal
हिजोको सुख्खा रहेको भेडिया क्षेत्रमा पानीको मात्रा बढेर सुकिसकेका मूल फुट्न थालेका छन् । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत इन्टेकसहित करिब दुई किलोमिटर सिँचाइ कुलो संरक्षण तथा मर्मत सुधार गरिएको छ । खुला चरिचरन रोक्न सामुदायिक वन वरिपरि काँडे तारवार गरिएको छ । क्षतिग्रस्त करिब ११ हेक्टर जग्गामा बाँस, डालेघाँस, सिसौ एवं खयरका बिरुवा रोपिएका छन् । खुला चरिचरन रोकथाम हुँदा सालको वन पुनरुत्पादन हुन थालेको छ । हिजोका दिनमा सुख्खाले गर्दा बालीनाली नहुने खेतमा यतिबेला छ महिनासम्म सिँचाइ सुविधा पुग्न थालेको छ ।
स्थानीय केशव कार्की भन्नुह्ुन्छ, हामी सानैछँदा एक्लो मान्छे यो जङ्गलमा छिर्न सक्दैनथ्यौँ । बाघ, हात्ती जताततै देखिन्थे । रातारात जङ्गल सखाप भयो । नाङ्गा डाँडामा बाढी पहिरो मात्र देखिन्थ्यो । केही वर्षदेखि संरक्षण गर्न थालेपछि चराचुरुङ्गी देखिन थालेका छन् । कहिलेकाहीँ ठूला जनावरसमेत आउन थालेका छन् ।
हाल निर्माण गरिएका चारवटा जलसञ्चय पोखरीमा वार्षिकरूपमा माछापालनबाट दुई लाख रुपियाँभन्दा बढी स्थानीय समूहले आर्जन गर्न थालेको स्थानीय रमेश मगरले जानकारी दिनुभयो ।


एकीकृत सहभागितात्मक कार्यपद्धतिले सफलता
विष्णुबहादुर भण्डारी
जिल्ला भू–संरक्षण अधिकृत
खुला चरिचरन, जताततै भू–क्षय अनि राता नाङ्गा डाँडा थिए, जसले गर्दा त्यस क्षेत्रका बासिन्दाले निकै सास्ती भोग्नु परिरहेको थियो । सरकारले यसको संरक्षणको जिम्मा स्थानीय बासिन्दालाई नै दियो । अनि हामीले पनि जलाधार व्यवस्थापनका विभिन्न कार्यक्रम सञ्चालन ग¥यौँ । एकीकृत सहभागितात्मक जलाधार व्यवस्थापनको पद्धतिले अपेक्षा गरेभन्दा पनि राम्रो प्रतिफल दिइरहेको छ ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना