रातो टीकाको चुनौती

 Yasoda adhikariयशोदा अधिकारी


गत महिना महिला अधिकारकर्मी र अगुवाको पहलमा सामाजिक सञ्जालमा रातो टीका अभियान सुरु भयो ।  महिला अधिकारकर्मी र अगुवाले निधारमा रातो टीका लगाएका आफ्ना तस्वीर अपलोड गर्दै सुरु गरेको यो अभियानलाई सबैले आफ्ना आफ्ना ढङ्गले बुझे ।  रातो रङ्लाई प्रेम, इच्छा शक्ति र क्रान्तिको प्रतीक मानेर समाजिक कुरीति तथा कुसंस्कारविरुद्ध उत्रन आह्वान गर्दै मानव अधिकारका लागि महिला एकल महिला समूहले सुरु गरेको यो अभियानले अरू फेसबुक प्रयोग कर्ता (महिला र पुरुष) लाई पनि रातो टीका लगाएर तस्वीर राख्न चुनौतीपूर्ण अपिल गरेको थियो ।  महिला अधिकारका लागि लामो सङ्घर्ष गर्दै आएका अग्रज महिला अधिकारकर्मी बन्दना राणा, लिली थापालगायतले सुरु गरेकाले केही महिलाले सामाजिक सञ्जालमा रातो टीका लगाएर फोटो अपलोड गरेर अभियानमा ऐक्यबद्धता जनाए  ।  तर पुरुषले भने यो चुनौती स्वीकार गरेनन् ।
परम्परावादी समाजमा एकल महिलालाई रातो रङ्बाट अलग राखिन्छ ।  मान्छेले कुनै पनि रङ प्रयोग गर्न पाउनु मौलिक अधिकार हो तर हाम्रो समाजमा श्रीमान्को निधनपछि एकल महिलाले रातो रङ प्रयोग गर्न पाउँदैनन् ।  विवाहित महिलाले जस्तै रातो रङ प्रयोग गर्न पाउनु जन्मसिद्ध अधिकार हो ।  पछिल्लो समयमा चलाइएको अभियान रातो टीका लगाउन पाउनुपर्छ भन्ने मागसँग जोडिएको छ ।  यसले के देखाउँछ भने एक्काइसौं शताब्दीमा पनि महिलाले रातो टीका, चुरा पोतेका लागि लडाइ लडिरहनु परेको छ भने पुरुषसरह समान अधिकार उपयोग गर्ने कहिले ? पहिला एकल महिलाले श्रीमान्को निधनपछि एक वर्षसम्म सेतो लुगा लगाउनुपर्ने र त्यसपछि जीवनभर रातो लुगा, टीका, सिन्दुर, चुरा पोते लगाउन पाइँदैनथ्यो ।  पछिल्लो समयमा त्यो परम्परा तोडेर अधिकांश एकल महिलाले विस्तारै रातो रङ प्रयोग गर्न थालेका थिए ।  तर रातो चुरा, पोते अनि सिन्दुरचाहिँ कसैले पनि लगाउने आँट गरेको पाइँदैन ।  हुन त सिन्दुर चुरा पोते आफैँमा पितृसत्ताका प्रतीक हुन् ।  पितृसत्तालाई पक्षपोषण गर्ने यस्ता शृङ्गारिक वस्तु प्रयोग गर्न पाउनुपर्छ भन्नु कतिसम्म उचित होला ? सोच्ने बेला भएको छ ।  
वास्तवमा समाजले श्रीमान्को निधनपछि एकल महिलालाई यो रङ प्रयोग गर्ने, यो रङ प्रयोग नगर्ने भनेर निर्धारण गरिदिन्छ ।  उसका अरू सीमा पनि तोकिन्छन् ।  समाजले एकल महिलाका लागि रङको निर्धारण मात्रै गर्दैन, निर्दोष महिलालाई घर परिवार र आफन्तबाट एक्लै बनाइदिन्छ ।  यही समाजमा श्रीमान् हुँदासम्म लक्ष्मी कहलिएकी एउटी अवला नारी, श्रीमान् गुमाउना साथ एकाएक अलाक्षिनी हुन्छे ।  बोक्सी हुन्छे अनि अछूत कहलिन्छे र समाजबाटै बहिष्करणमा पर्छे ।  एकल महिलालाई देखेपछि यो समाजका कसैको साइत बिग्रन्छ त कसैको गाई वा भैसीले दूध दिन छोड्छ ।  कतिपयको घरमा मान्छे बिरामी हुन्छन् ।  एकातिर श्रीमान् गुमाउनुको पीडा, आर्कातिर आफन्तबाटै पाइने तिरष्कार ।  सामाजिक तथा मानसिक यातनाले एकल महिलालाई विक्षिप्त बनाउनु स्वाभाविक हो ।  समाजमा व्याप्त कुरीति, कुप्रथा अनि कुपरम्परासँगै पुरुषवादी संस्कृतिका कारण एकल महिलामाथि यस्ता विविध खाले हिंसा सदियौँदेखि हुँदै आएको छ ।  
श्रीमान् नहुनेवित्तिकै हाम्रो समाजमा महिलाले भोग्नु परेका धेरै नकारात्मक व्यवहारले गर्दा उनीहरूको आत्मविश्वास हराउने र आफन्तबाटै पीडित हुनुपर्ने बाध्यता छ ।  श्रीमान्को भरमा बाँच्नुपर्ने र श्रीमतीले घरको मात्रै काम गर्नुपर्छ भन्ने मान्यताले गर्दा विधवा हुनासाथ उनीहरू आर्थिक रूपमा कमजोर हुन्छन् ।  यस्तो अवस्थामा उनीहरूमा पीडकको समाना गर्न सक्ने क्षमता हुँदैन ।  
हाम्रै समाजमा यदि श्रीमतीको मृत्यु भएर श्रीमान् बाँचेको भए महिना दिन नपुग्दै अर्को श्रीमती ल्याउन प्रेरित गर्ने सामन्ती संस्कार नभएको होइन ।  एकात्मक पुरुषवादी संस्कृतिको आडमा एकल महिलामाथि हुने विभेद तथा उनीहरूमाथि गरिने व्यवहार अमानवीय छ ।  यतिसम्म कि, विधवा भएपछि महिलाले के गर्नु हुन्छ, के गर्नु हुँदैन भनेर हिन्दु धर्मशास्त्रमै उल्लेख गरिएको छ ।  धर्म शास्त्रकाअनुसार चाडवाड, शुभकार्य तथा धेरै मानिसको भीँड लाग्ने ठाउँमा विधवा महिला गएमा स्वर्गमा मृत पतिलाई दुःख हुने गर्छ ।  यस्तो कथित मान्यताले गर्दा एकल महिला घरमै शोषित पीडित भएर बस्न बाध्य छन् ।  यस्ता अनेकन धर्म संस्कृतिका नाममा एकल महिलाले आफ्नै परिवारबाट हिंसा खेपिरहेका छन् भने सिङ्गो समाजबाट तिरस्कृत हुनु परिरहेको अवस्था छ ।  समुदायपिच्छे चलनमा रहेका कैयन पुराना संस्कृति र प्रथाका कारण अधिकांश एकल महिलाहरू दोहोरो हिंसाको सिकार भएका छन् ।  
सरकारसँग एकल महिलाको सङ्ख्या कति छ भन्ने तथ्याङ्क छैन  ।  मानव अधिकारका लागि महिला, एकल महिला समूहकाअनुसार एकल महिलाको सङ्ख्या ४ लाख ९८ हजारको हाराहारीमा छ ।  मानव अधिकारका लागि महिला एकल महिला समूहले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार १० देखि १९ वर्ष उमेर समूहमा सबैभन्दा धेरै एकल महिला छन् ।  यो उमेर समूहमा ७५ दशमलव शून्य ४ प्रतिशत महिला अर्थात् ३ लाख ७० हजार ६ सय ८७ एकल महिला छन् ।  तीमध्ये एकल महिला समूहमा ८५ हजार आबद्ध छन् ।  २० देखि ४० उमेरसम्मका एकल महिलामा २ देखि ४ वटा सम्म बच्चाको जिम्मेवारी रहेको तथ्याङ्कले देखाएको छ  ।  हिजो श्रीमान् हुँदसम्म माया दिनेले श्रीमान् गुमाएपछि घृणा गर्न थाल्छन् ।  परिवारबाट हिंसा भएपछि समाजमा हारगुहार गर्न जाँदा अरूको वात लगाइन्छ र समाजबाटै बहिष्कार गरिन्छ ।  एकल महिलाममा ६९ प्रतिशत महिला हिन्दु धर्म मान्ने समुदायका छन् ।  हिन्दु धर्ममा एकल महिलालाई अशुभ मानिएको छ ।  यस हिसाबले महिलाभन्दा एकल महिलालाई समाजमा बाँच्न निकै कठिन हुने गर्छ ।  आफन्तबाटै पीडित भएर जीवन गुजारा गर्नुपर्ने हुन्छ ।  घर परिवारबाट कुनै सहयोग रहँदैन ।  पहिले एकल महिलाले पतिको सम्पत्ति दाबी गर्न ३५ वर्ष कुर्नुपथ्यो, अहिले १८ वर्षपछि सो दाबी गर्न सक्छन् । ” राज्यले एकल महिलाका लागि कानुन तथा नीतिमा केही सुधार गरेको भए पनि अधिकांशलाई त्यसबारे जानकार छैनन् ।  जसले गर्दा उनीहरू सामाजिक, सांस्कृतिक, मानसिक तथा आर्थिकरूपमा पीडित बन्ने गरेका छन् र अधिकारको लडाइँमा पछाडि पर्दै गएका छन् ।  सुरुवाती चरणमा एकल महिलाको आन्दोलन रातो लगाउन पाउनुपर्छ भन्ने नै थियो ।  आज फेरि धेरै वर्षपछि फेरि एकल महिलाको आन्दोलन उही रातो रङ प्रयोग गर्न पाउनुपर्छ भन्नेमा पुगेको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना