घट्दो बजार र कारोबार

 sarojसरोज अधिकारी

 

सेयर बजार पुनः सुस्ताएको छ ।  मुलुकको अर्थतन्त्रका परिसूचकाङ्कहरू र सेयर बजारको सम्बन्ध हुन्छ ।  तर सेयर बजारमा लगानी गर्नेले आर्थिक परिसूचकाङ्क मात्रै हेरेर लगानी गर्नु हुँदैन ।  सेयर बजारको पनि आफ्नै चक्र हुन्छ भन्ने हेक्का राख्नु जरुरी हुन्छ ।  नेपालको सन्दर्भमा पनि यही भएको छ अहिले ।  
भूकम्पको घक्का र भारतीय नाकाबन्दी झेलेर पनि बढोत्तरी उन्मुख भएको नेपाली सेयर बजारमा आर्थिक परिसूचकाङकहरू नराम्रो अवस्थामा हुँदा पनि लगानीकर्ताको उत्साह कायम थियो ।  थोरै प्रतिफल पाउँदा पनि सेयरको भाउ आकासिएकै हो ।  बैङ्क वित्तीय संस्था तथा बीमा कम्पनीको व्यापार र पुँजीको आकार सानो छँदा पनि बजारमूल्य भने बढेकै हो ।  तर अहिलेको अवस्था फरक छ ।  बैङ्क तथा वित्तीय संस्थाहरूको पुँजी र व्यापारको दायरा फराकिलो भएको छ ।  लगानी बढेको छ ।  लगानीको माग प्रशस्त छ अनि बैङ्क वित्तीय संस्थाहरू थप लगानीका लागि रकमको जोहो गर्नेतर्फ लागेको अवस्था छ ।  तर सेयर बजारको आफ्नै चक्रअनुसार भने बजार घट्दो छ ।  सेयर बजारमा राम्रो प्रतिफल दिने खालका कम्पनीहरूको बजार मूल्य निकै सस्तिएको छ ।  अनि यो क्रम कहाँसम्म पुग्ने हो त्यसको लेखाजोखा गर्न भने मै हुँ भन्ने विश्लेषकलाई पनि हम्मेहम्मे पर्ने अवस्था छ ।  जे होस् राम्रो प्रतिफल दिनसक्ने कम्पनीमा लगानी गर्नेका लागि भने यो सही अवसर हुन सक्छ ।   
साताको पहिलो दिन नेप्सेमा दोहोरो अङ्कको गिरावटसहित नेप्से एक हजार तीन सयको बिन्दु नजिक घुमिरहेको छ ।  कारोबार रकममा पनि खासै उत्साह देखिएको छैन ।  आइतबार नेप्सेमा २५ करोडको हाराहारीमा मात्र कारोबार भएको छ ।  नेप्से घटेर एक हजार २१८ को विन्दुतर्फ आएको समयमा आँट गरेर खरिद गर्ने लगानीकर्ता छोटो समयमा नै नाफा बुकिङ गर्न लागेको जस्तो देखिएकोले पनि बजारमा केही शिथिलता आएको हो ।  बजार अझै कति तलसम्म जान्छ वा ‘बाउन्सब्याक’ भएर उकालो लाग्न थाल्छ भन्ने कुराको आँकलन गर्न गाह्रो भए पनि बजार घट्नुका मुख्य कारणहरूको पहिचान भने सहजै गर्न सकिन्छ ।  
हाल बजारमा उत्साह बढ्न नसक्नुको मुख्य कारण निक्षेप र कर्जाको ब्याजदरमा भएको बढोत्तरी नै प्रमुख हो ।  तरलताको अभाव देखाउँदै बैङ्क तथा वित्तीय संस्थाहरूले निक्षेपमा ब्याजदर बढाउनाले सेयर बजारमा पैसा लगाउनुभन्दा निक्षेप नै रोज्ने भएका हुन् ।  विश्वव्यापी सामान्य मान्यताअनुसार पनि ब्याजदर बढ्दा सेयर बजारमा असर पर्ने कुरा स्वाभाविक नै हो ।  निक्षेपको ब्याजदर मात्र होइन हाल चर्को ब्याजदरमा ऋण ल्याएर सेयर बजारमा लगानी गर्ने सम्भावना पनि न्यून नै देखिन्छ ।  आफ्नै बचत भएकाले सेयर खरिद गर्ने उपयुक्त अवसरको रूपमा अहिलेको सस्तिएको बजार मूल्यलाई लिनसक्ने भए पनि अझै घट्छ र किन्छु भन्ने मानसिकता हावी भएको देखिन्छ ।  सेयर बजारमा हावी हुने लोभ र डरमध्येमा हाल डरको अवस्था हो ।  आज सेयर खरिद ग¥यो, भोलि घटेर अझै सस्तो हुने हो कि भन्ने डर नै हाल बजारमा लगानीकर्ता आकर्षित नहुनुको कारण हो ।  अनि सस्तिएको सेयर बजारमा खरिद गर्ने र केही दिन सस्तिएपछि सस्तोमा खरिद गरेको सेयर झिनो नाफा खाएरै बेच्ने अल्पकालीन कारोबारी लगानीकर्ताका कारण बजार पुनः खस्किएको हो ।  
त्यसैगरी राजनीतिक अस्थिरताले पनि बजार माथि जानका लागि बाधक बन्दै आएको छ ।  सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरिसकेको र निर्वाचन आयोगले कार्यतालिका समेत निस्कासन गरेको वर्तमान अवस्थामा सन्तुष्ट दलहरूको मागहरूलाई समेट्ने गरी संविधान संशोधन हुन सक्छ कि सक्दैन सो हेर्न बाँकी छ ।  राजनीतिक अस्थिरताले आन्दोलनको रूप लिंँदै आर्थिक गतिविधिमा प्रभाव पार्ने कार्य नहुने हो भने चाहिँ खासै नकारात्मक असर बजारले झेल्नुपर्ने देखिँदैन ।  
 नियमनकारी निकायको स्पष्ट नीति र बजार सुधारका लागि खासै काम हुन नसक्नुले पनि बजार सुधारमा बाधा पु¥याउँदै आएको देखिन्छ ।  सेयर बजार बढ्न नसक्नुको अर्को प्रमुख कारण भनेको बजारमा सेयरको बढ्दो आपूर्ति नै हो ।  हाल एफपीओ, हकप्रद, टेण्डर, बोनस सेयर आदिका कारण बजारमा सेयरको उच्च आपूर्ति छ त्यसको तुलनामा लगानीकर्ताले माग बढाउन नसकेपछि बजारलाई नकारात्मक असर पर्नु स्वाभाविक नै हो ।  
समस्या पहिचान भएको वर्तमान अवस्थाबाट अबको बजार कता जान्छ त ? भन्ने प्रश्न सबै लगानीकर्तामाझ उठ्नु स्वाभाविक हो ।  अर्थतन्त्रका सबैखाले परिसूचकाङ्कहरू सकारात्मक दिशातर्फ नै उन्मुख रहेका बेला आगामी केही हप्ता अर्थात् चैतको मसान्तसम्म बजारले खासै गति लिन नसके पनि त्यसपछिको अवस्था भने बजार सुधारका लागि महìवपूर्ण हुने आशा गर्न सकिन्छ ।  वैशाखको दोस्रो हप्ताबाट बैङ्क तथा वित्तीय संस्थाहरूको आर्थिक वर्ष ०७३–७४ को तेस्रो त्रैमासिक प्रतिवेदनहरू सार्वजनिक हुने क्रम सुरु हुन्छ त्यसमा राम्रो प्रतिफलको आशा गर्ने प्रशस्त आधारहरू देखिन्छन् ।  हाल बैङ्कहरूले कर्जामा ब्याज बढायो, बचत निक्षेपको ब्याज बढाएन, यस्तो ग¥यो उस्तो ग¥यो भनेर गुनासो गर्नेहरू प्रसस्त भेटिन्छन् ।  यस्तो गुनासो आउनु भनेको बैङ्क वित्तीय संस्थाहरूको नाफा बढ्नु हो भन्ने बुझ्नुपर्छ ।  तरलताको अभावका कारण लगानी गर्न नपाएका संस्थाहरूले रकमको जोहो गर्दै लगानी राम्रै बढाएकाले पनि नाफा बढ्ने आशा गर्न सकिन्छ ।  आगामी वैशाखसम्ममा हाल देखिएको तरलता अभाव कम हुने दिशामा पनि ठोस कार्य हुने स्पष्ट छ ।  सरकारले पुनर्निर्माण लगायत चुनाव आदिका लागि खर्च ह्वात्तै बढाउने छ जसले तरलता अभाव कम हुने भएकोले बजारमा नयाँ उत्साह आउन सक्ने सम्भावना उच्च छ ।  
बजारमा थप उत्साह ल्याउन नियमनकारी निकायहरूले ल्याउने भनिएको अनलाइन ट्रेडिङ, सेयर दलालहरूलाई मोफसलबाट कारोबार गराउने अवस्था, नयाँ क्लियरिङ बैङ्कहरू थप्ने, बजारमा गैरआवासीय नेपालीको प्रवेश जस्ता कार्यलाई अघि बढाउन अब ढिला गर्नु हँुँदैन ।  दैनिक रूपमा उच्च ब्याजदरको असर, बढ्दो आपूर्ति, घट्दो कारोबार रकम र छोटो समयका लागि लगानी गर्दै नाफा कमाउने अल्पकालीन कारोबारीहरू हावी भएको अवस्थाबाट बजारलाई जोगाएर नयाँ उत्साह जगाउनका लागि अब सुधारका कार्यक्रमहरू नारामा मात्र होइन, व्यवहारमा नै थालनी गर्नुपर्छ ।  त्यसैगरी बजारमा सेयरका आपूर्ति ह्वात्तै बढ्न नदिनका लागि एफपीओ, हकप्रद तथा प्राथमिक सेयर निष्कासनको स्वीकृति एकै समयमा धेरैलाई नदिएर बजारमा खासै नकारात्मक प्रभाव नपर्ने गरी उचित व्यवस्थापन गर्दै दिनुपर्छ ।  यसो गर्नु लगानीकर्ताको हितमा देखिन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना