जलकन्याको भेषमा उपभोक्तावाद

rajendra kiratiराजेन्द्र किराती

प्रथम विश्वयुद्धले आधुनिकतावादी कोर्स (प्रक्रिया) को अन्त्य गरी उत्तरआधुनिकतावादको ढोका खोल्यो ।  यसको सामान्य सिद्धान्त अर्नोल्ड जे टोइन्वीले सन् १९३९ मा प्रतिपादन गरेका थिए ।  बीसौँ शताब्दीको मध्यबाट औद्योगिक अर्थतन्त्र सेवा अर्थतन्त्रमा बदलिएसँगै उत्तरआधुनिकतावादी संस्कृति हावी भयो ।  विज्ञान र प्रविधिको खोज अनुसन्धानले आधुनिकतावादी आधार बसाल्यो ।  यही आधुनिकतावादको जगमा नै उत्तरआधुनिकतावाद खडा भयो ।  दार्शनिक एच. आर. हेजले सुरुमा यसलाई वाङ्मयको नयाँ आयाम मात्र भनेर परिभाषित गरेका थिए ।  तर यसको व्यापक प्रभाव कला, वास्तुकला, सङ्गीत हुँदै इतिहास, राजनीति, अर्थशास्त्र र दर्शनमा पनि पर्न थाल्यो ।  यसले ध्वंश, विनिर्माण र इतिहासको अन्त्यको वकालतीलाई मूल आदर्श बनायो ।  ध्वंशपछिको गुणात्मक विकासको सिङ्गो पाटोलाई देख्न सकेन ।
सेवा अर्थतन्त्रको अत्यधिक वृद्धिसँगै उत्तरआधुनिकतावाद हावी भइरहेको वस्तुगत धरातलमा उपभोक्तावादी संस्कृति प्रारम्भ भयो ।  सुरुमा यो पदावली उपभोक्ताहरूको हकहित संरक्षणसँग मात्र सम्बन्धित थियो ।  तत्कालीन अभियन्ताहरूले यतिमै सीमित गरे तर यो उपभोक्ताहरूको हकहितमा मात्र सीमित प्रवृत्ति थिएन ।  सन् १९७० को दशकबाट व्यापकरूपमा सेवा उत्पादनमा वृद्धि भयो ।  यसले उच्चस्तरको विलासी वस्तु र महँगो सेवा उपभोग गर्ने संस्कृतिको विकास भयो ।  शौखिन किनमेल र उपभोग भन्ने जीवनशैली नै बन्यो ।  राजनीतिक भाषामा यो आधुनिकतावाद, उपनिवेशवाद, भूमण्डलीकरण, बजारीकरण र उत्तरआधुनिकतावादी संस्कृतिकै नवऔपनिवेशिक अवतार थियो ।  
वस्तुतः असिमित उत्पादन र त्यसको व्यापक बजार विस्तारकै सेरोफेरोमा उपभोक्तावाद जन्मिएको हो ।  यसले विश्व मानव समाजलाई नराम्ररी प्रदूषित मात्र बनाइरहेको छैन गलत दिशातर्फ धकेलिरहेको छ ।  यो व्यक्ति, आफन्त र स्वार्थकेन्द्रित संस्कृति हो ।  खाइहाल्ने, लगाइहाल्ने, गुडिहाल्ने, उडिहाल्ने, घुमिहाल्ने, मोजमस्ती गरिहाल्ने र रमितेडाँडाबाट रमिता हेरिहाल्ने मनोविज्ञानको सग्लो सांस्कृतिक शरीर नै उपभोक्तावाद हो ।  यसले ऐतिहासिक आन्दोलन, समाजको व्याख्या, विश्लेषण, बुझ्ने र बदल्ने मानवीय सिर्जनशील पक्षहरूलाई उपभोक्तावादी दलदलमा डुबाइरहेको छ ।  सिङ्गो राजनीतिक आन्दोलनप्रति चरम वितृष्णा खडा गरिरहेको छ ।  उपभोक्तावादको उर्वर भूमि बहुसङ्ख्यक मध्यम वर्ग नै हो, जसले आम्दानीको ८० प्रतिशतभन्दा बढी खर्च खानपान, पहिरन र घुमघाममा गर्छ ।  अर्थात् सुपरमार्केटहरूमा शौखिन ढङ्गले महँगो वस्तु खरिद गरी उपभोग गर्दा सामाजिक प्रतिष्ठा, सन्तुष्टि र रवाफ बढाउने मनोविज्ञान नै उपभोक्तावाद हो ।
विशेषतः ठूलो परिमाणमा सेवा उत्पादन र त्यसको बजारीकरणमा गरिएको विज्ञापनले पनि उपभोक्तावाद हावी गरायो ।  यो एकबाट अर्कोले देखासिकी गर्ने सिलसिलामा महामारीझै फैलिएको छ ।  सानाले ठूलाबाट, परिवारले छिमेकीबाट, अनपढले पढे लेखेकाहरूबाट, गरिबले धनीबाट, धनीले ख्यातिप्राप्त व्यक्तित्वबाट अनि विपन्न मुलुकले सम्पन्नबाट देखासिकी गर्दागर्दै उपभोक्तावाद संस्थागत भएको देखिन्छ ।  सामान्य अर्थमा यो खर्चिलो, भड्किलो, सिघ्र भोगविलाश र आडम्बरपूर्ण देखिन्छ तर जटिल अर्थमा यो राजनीतिबाट विमुख गराउने ध्वंश र विनिर्माणवादी अराजनीतिक संस्कृति हो ।  वास्तवमा यसविरुद्ध लागेका अभियन्ताहरूको तपस्या भङ्ग गराउने नियतमा खटाइएको जलकन्या नै उपभोक्तावाद हो ।  
यस विरुद्ध निर्णायक तथा सङ्गठित आन्दोलनहरू भएको देखिन्न ।  यद्यपि केही अभियन्ताहरू लागिरहेका छन् ।  तर उनीहरूको आन्दोलन राजनीतिक उद्देश्यबाट अभिपे्ररित छैन ।  ती केवल अनावश्यक खर्च र पर्यावरणीय प्रदूषण विरोधी आन्दोलनको रूपमा मात्र सीमित छन् ।  यसले भड्किलो र आडम्बरी संस्कृति विरुद्ध सरल जीवनशैलीको वकालत गर्छ ।  उनीहरूले सरल जीवनयापन, मितव्यायी किनमेल र स्थानीय वस्तु उपभोगमा पैरवी गर्दै आएका छन् ।  यो अभियानले ठूलाठूला डिपार्टमेन्टल हाउसहरूमा गरिने आनावश्यक किनमेललाई निरुत्साहित गर्छ ।  सन् २००० मा अमेरिकाको सन्फ्रान्सिस्को शहरमा ‘किनमेल रहित दिवश’ (वाई नथीङ डे) भन्ने नारासहित विरोध प्रदर्शन गरिनुले यसको पुष्टि हुन्छ तर उपभोक्तावादले राजनीतिमा पारिरहेको नकारात्मक प्रभावबारे उनीहरूलाई केही थाहा छैन ।  
यसरी उपभोक्तावादले मान्छेको सोचाइ, बुझाइ, हेराइको साथै  जीवनशैलीमा फेरबदल ल्यायो ।  यसले मान्छेलाई इतिहास, दर्शन र राजनीतिबाट अलग ग¥यो ।  मानव जीवनको सार्थकता केवल अत्यधिक भोगबासना मात्र ठान्ने लम्पट चिन्तन नै उपभोक्तावाद हो ।  यसले राजनीतिक बिम्ब संस्कृतिमा अनि सांस्कृतिक बिम्ब राजनीतिमा रहने सार्वभौमिकतालाई बेवास्ता गर्न थाल्यो ।  वास्तवमा उपभोक्तावादको वर्गीय नश्ल पुँजीवाद हो ।  यसकारण उत्तरआधुनिकतावाद र उपभोक्तावादको वर्गीय राजनीतिक सम्बन्ध पुँजीवादी साम्राज्यवादसँगै जोडिएको हुन्छ ।  यसले सिङ्गो मानव जगत्लाई अन्ध र यान्त्रिक उपभोक्तावादी बनाइदिएको छ ।  यो ज्यादै खतरा र कालान्तरमा प्रत्युत्पादक हुनेछ ।  आज समाजमा मौलाइरहेको नकारात्मक प्रवृत्तिहरूलाई फेशन, चाहना र मौलिक अधिकार भनेर सामान्यीकरण गर्नु महाभुल हुन्छ ।  किनकि यस्ता गलत प्रवृत्तिहरू पुँजीवादी गैरन्यायिक राज्यरूपको सांस्कृतिक आवरणहरू हुन् ।
उपयोग र उपभोक्तावादमा धेरै भिन्नता रहेको छ ।  कुनै पनि वस्तुको सही प्रयोग गर्ने प्रक्रियालाई उपयोग भनिन्छ ।  आवश्यकता र औचित्यको कक्षभित्रको उपयोग उपभोक्तावाद हुँदैन ।  यसको अनावश्यक अधिउपयोग उपभोक्तावाद हो ।  यस सन्दर्भमा मोटरसाइकलको उपयोग र उपभोगलाई तुलना गर्न सकिन्छ ।  आवश्यक काममा प्रयोग गर्नु उपयोग हुन्छ ।  तर शौखिन र सामाजिक प्रतिष्ठाको मनोविज्ञान वरिपरिबाट प्रयोग गर्नुलाई उपभोक्तावाद भनिन्छ ।  यो पहिलो वा सामान्य उपभोक्तावाद हो ।  यसको अत्यधिक र अनावश्यक उपभोग गर्ने मनोविज्ञान दोस्रो उपभोक्तावाद हो ।  यसलाई चरम उपभोक्तावाद भनिन्छ ।  मोटरसाइकललाई बिगारेर, भत्काएर, मोडीफाइड गरेर अनि सिस्टम नै बदलेर वा भाँचकुँच गरेर अनावश्यक, अत्यधिक र औचित्यहीन उपभोग गर्ने चिन्तन प्रवृत्ति तेस्रो उपभोक्तावाद हो ।  यसलाई अराजक उपभोक्तावाद भनिन्छ ।  काटेर, च्यातेर, फटाएर अनि बिगारेर उपभोग गर्ने मनोवैज्ञानिक प्रभाव यसैको उपज हो ।  आज उपभोक्तावाद यही अराजक चरणमा गुज्रिरहेको छ ।  
कुनै पनि प्रवृत्ति र संस्कृतिको अराजक अवस्था भनेको ध्वंश र पतनको पूर्वबेला हो ।  स्वतन्त्रताको पराकाष्ठमा अराजकता अन्तरनिहीत हुन्छ ।  यसबेला नियम, कानुन, विधि, संस्कार, विवेक र मूल्यमान्यताहरूलाई प्राथमिकतामा राखिन्न ।  रसायन मिल्नेभन्दा नमिल्ने पक्षहरूबीचको मिसावटमा आनन्द वा गर्व गर्ने गरिन्छ ।  सामान्य र स्वाभाविकभन्दा असामान्य र अस्वाभाविक पक्षहरूमा प्रतिष्ठा वा इज्जत देख्ने गरिन्छ ।  यसमा दालभातभन्दा गाँजाभातलाई स्वाभाविक ठानिन्छ ।  दुलो पारिएको पेन्ट, आधा पाटो खौरिएको कपाल र मोडीफाइड गरिएको बाइकप्रतिको बढ्दो आकर्षण अराजक उपभोक्तावादको खाँटी उदाहरणहरू हुन् ।  
आत्मकेन्द्रित स्वार्थ, आनन्द, मनोरञ्जन र भोगविलाशका लागि अधिउपभोग भन्ने सांस्कृतिक मनोविज्ञान नै उपभोक्तावाद हो ।  यस्तो संस्कृतिमा मानवीय क्रियाशीलता, सिर्जनशीलता र जागरुकता न्यून मात्र होइन लगभग शून्यचेतना हुन्छ ।  युवा पिंढीको चञ्चल, अस्थीर र महìवाकाङ्क्षी मनोविज्ञान नै उपभोक्तावादको उर्वर भूमि हो ।  आज अधिकांश अभिभावकहरू उपभोक्तावादी सन्तानहरूबाट पीडित छन् ।  उनीहरूलाई सन्तानको उपभोक्तावादी माग सम्बोधन गर्नु हम्मे परिरहेको छ तर उपभोक्तावादको कारण सन्तान बिग्रिएको भन्ने न्यूनतम राजनीतिक चेतना उनीहरूमा छैन ।  त्यसैले न्यून राजनीतिक चेतना कायम रहेसम्म उपभोक्तावाद हावी हुने निश्चित देखिन्छ, जुन विडम्बनाको विषय हो ।
विश्वको मूल सांस्कृतिक प्रवृत्ति उपभोक्तावादमा आधारित छ ।  यसले मानव समाजलाई सही सभ्यतातर्फ दिशानिर्देश गरिरहेको छैन ।  यो निश्चित गन्तव्य विनाको यात्रा बराबर हो ।  यसले कतिखेर भड्खालोमा फसाउने हो कुनै ठेगान छैन ।  उपभोक्तावादले मान्छेलाई राजनीतिबाट टाढा राख्दै नितान्त स्वादे, भाते, विकासे र लम्पट भोगविलाशी मात्र बनाउँछ ।  पुँजीवादले छरेको सुगरकोटेड यान्त्रिक उपभोक्तावादी चारो खानु भनेको पिँजडामा थुनिनुको साथै त्यही विचार दर्शनलाई साथ दिनु हो ।  तसर्थ, सचेत, सङ्गठित र योजनावद्धरूपमा उपभोक्तावादी संस्कृतिको विरोध गर्नु अपरिहार्य छ ।  इतिहास, राजनीति र दर्शनलाई जीवन व्यवहारमा समायोजन गर्नुपर्छ ।  पुँजीवादले उत्तरआधुनिकतावाद मार्फत निर्वस्त्र जलकन्याको भेषमा परिचालित उपभोक्तावादलाई इन्कार गर्नु सचेत, सिर्जनशील र सक्रिय युवाको ऐतिहासिक आवश्यकता हो ।  अन्यथा यसले अझ लम्पट उपभोक्तावादी दलदलमा फसाउने खतरा छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना