निर्वाचन केन्द्रित गतिविधिमा दलहरू

नारायण काफ्ले

काठमाडौंँ, फागुन २३ गते ।  स्थानीय तहको निर्वाचन मिति घोषणासँगै राजनीतिक दलहरूका चुनावकेन्द्रित गतिविधि प्रतिस्पर्धात्मक दिशातिर अग्रसर हुन थालेका छन् ।  वैशाख ३१ को स्थानीय तह निर्वाचन हुन अब ७० दिनमात्र बाँकी छ ।  निर्वाचन आयोगले चुनावको कार्यतालिका कार्यान्वयनमा ल्याएको छ ।  राजनीतिक दलहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा चुनाव केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् ।  
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनाव लक्षित मेची–महाकाली अभियान सञ्चालन गरिरहेको छ ।  चौथो शक्ति राप्रपाले एक महिने विशेष अभियान शुरू गर्ने निर्णय गरेको छ ।  काँग्रेस, माओवादी केन्द्रलगायत दलहरूले औपचारिक कार्यक्रम तय नगरे पनि स्थानीय स्तरमा चुनाव तयारीको सर्कुलर गरिसकेका छन् ।  सङ्गठन विस्तार र राजनीतिक प्रशिक्षण जारी राखेका छन् ।  
राजनीतिक दलहरूले सङ्गठनात्मक संरचना सुधार, सङ्गठन विस्तारदेखि स्थानीय तहका उम्मेदवार छनोटको बहस चलाइरहेका छन् ।  सामान्य अवस्थामा चार महिनाको समय चुनावको तयारीका लागि निर्वाचन आयोग र दलहरूले पाउँदै आए पनि यसपटक ८३ दिनको अवधिमा निर्वाचन सम्पन्न गर्न सरकार, निर्वाचन आयोग र दलहरू होमिएका छन् ।
चुनाव तयारीका सिलसिलामा नेपाली काँग्रेसले गत कात्तिकमा केन्द्रीय समितिको निर्णयअनुसारको प्रशिक्षण कार्यक्रमलाई जारी राखेको छ ।  स्थानीय तहको चुनाव घोषणापछि सम्भावित उम्मेदवारहरूको रिपोर्टिङ पनि सङ्कलन भइरहेको छ । cpn uml
केन्द्रीय सदस्य धनराज गुरुङले केन्द्रको निर्देशनअनुसार जिल्लाले नगर र गाउँस्तरमा प्रशिक्षण र सङ्गठन विस्तारलाई निरन्तर जारी राखेको बताउनुभयो ।  उहाँले भन्नुभया,े ‘स्थानीय स्तरमा सङ्गठन विस्तार र प्रशिक्षणको कार्यक्रम जारी छ ।  मुख्य शहरहरूमा पनि प्रशिक्षण भइरहेको छ ।  सम्भावित उम्मेदवारको नामावली सङ्कलन गरी केन्द्रमा रिपोर्टिङ गर्ने क्रम पनि जारी छ । ’
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले चुनाव केन्द्रित मेची–महाकाली राष्ट्रिय अभियानमा छ ।  राष्ट्रिय एकीकरण र चुनावी अभियानको रूपमा सञ्चालित उक्त कार्यक्रम पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट शनिबार शुरू गरिएको छ ।  चैत ५ गतेसम्म चल्ने अभियान विशेषगरी मधेशकेन्द्रित छ ।  
एमालेले चुनाव केन्द्रित मेची–महाकाली अभियानसँगै अन्य जिल्लामा पनि प्रशिक्षण र सङ्गठन विस्तारको कार्यक्रम निरन्तर जारी राखेको सचिव योगेश भट्टराईले बताउनुभयो ।  भट्टराईले भन्नुभयो, ‘मेची–महाकाली राष्ट्रिय अभियानसँगै अन्य जिल्लामा पनि सङ्गठन विस्तार र प्रशिक्षणको काम जारी छ ।  उम्मेदवार छनोटका बहस पनि स्थानीय स्तरमा जारी छन् ।  मेची–महाकाली अभियानपछि औपचारिक रूपमा उम्मेदवार लगायतका बाँकी निर्वाचन कार्यक्रमबारे निर्णय हुन्छ । ’ तेस्रो ठूलो दल माओवादी केन्द्रले स्थानीय तह चुनावको उम्मेदवार छनोट, मापदण्डलगायत विषय विस्तृत कार्ययोजना बनाउन सोमबार केन्द्रीय कार्यालयको बैठक बोलाएको छ ।  पार्टीले स्थानीय स्तरमा सङ्गठन विस्तार तथा राजनीतिक प्रशिक्षणको क्रम भने एक डेढ महिनादेखि निरन्तर गरिरहेको छ ।  
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले आन्तरिक प्रशिक्षण जारी रहेको बताउनुभयो ।  ‘स्थानीय तह अबको कार्यतालिका, व्यवस्थापिकासहितको अधिकार हो ।  जनतालाई यो तथ्यसहित राजनीतिक परिवर्तन र सङ्घीय संरचना समेत बुझाउन प्रशिक्षण जारी राखेका छौँ ।  गाउँ र नगरमा प्रशिक्षण जारी छ, उहाँले भन्नुभयो ।  समग्र चुनावी रणनीति केन्द्रीय कार्यालय बैठकले बनाउँछ । ’
मधेशकेन्द्रित दलहरू चुनावको विपक्षमा धारणा बनाउँदै आएका छन् ।  अधिकांश मधेशकेन्द्रित दलहरूल चुनावको तयारी गरेका छैनन् ।  तर, सङ्घीय समाजवादी फोरम र मधेशी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) ले चुनावी तयारी शुरू गरेका छन् ।  अन्य दलले दल दर्ता बहिष्कार गरे पनि समाजवादी फोरम नेपालले दल दर्ता गरी स्थानीय स्तरमा चुनावी प्रशिक्षण शुरू गरेको छ ।
फोरम लोकतान्त्रिकले चुनाव लक्षित गरी सङ्गठन कायम रहेका जिल्लामा चुनावको तयारी गर्न पत्राचार गरिसकेको छ ।  यस्तै, संसद्भित्र रहेको साना चार दलसँग एकीकरणको प्रक्रियालाई पनि पार्टीले अघि बढाएको फोरम लोकतान्त्रिक संसदीय दलका प्रमुख सचेतक योगेन्द्र चौधरीले बताउनुभयो ।  
उहाँले भन्नुभयो, ‘चुनाव तयारीका लागि सबै जिल्ला–जिल्लामा सर्कुलर जारी गरिसकेका छौँ ।  हामी चुनाव केन्द्रित भएर नै संसद्भित्र रहेका समेत चार दलसँग एकीकरण गर्दैछौँ ।  सम्भवतः चैत पहिलो साता एकीकरण हुन्छ । ’
‘पदाधिकारी नै गाउँपालिकाका उम्मेदवार’
राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनाव जित्ने अवस्थामा पार्टी पदाधिकारी नै स्थानीय तहको उम्मेदवार बनाउने निश्चित गरेको छ ।  चुनाव लक्षित उम्मेदवार छनोट प्रक्रिया राप्रपाले अघि बढाएको सहायक प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो ।  राप्रपाले एक महिने ‘जनताका माझमा राप्रपा’ अभियान शुरू गर्ने निर्णय गरेको छ ।  चैत १ गतेबाट महिनाभर कार्यक्रम सञ्चालन हुनेछ ।  
कार्यक्रममा उम्मेदवार छनोटको बहसदेखि एकीकरणपछि सन्देश प्रवाहसम्मका छन् ।  चैत ७ देखि १२ गतेसम्म गोरखा, काठमाडौँ, झापा र कञ्चनपुरबाट चार शीर्ष नेताले प्रचारप्रसार कार्यक्रमको नेतृत्व गर्नुहुनेछ ।  १२ गते चितवनमा चारै क्षेत्रको विशेष भेला हुनेछ ।  सहायक प्रवक्ता श्रेष्ठले गाउँपालिका र नगरपालिकाका सबै उम्मेदवार अभियानको अवधिमै टुङ्ग्याउने तयारी रहेको बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना