नेपालीले पत्ता लगाए क्षुद्र ग्रह !

अजय शर्मा

काठमाडौँ, फागुन २४ गते ।  नेपाली खगोलविद्लाई क्षुद्र ग्रह पत्ता लगाउने काममा पहिलो सफलता मिलेको छ ।  विदेशी प्रारम्भिक तथ्याङ्कको विश्लेषणका आधारमा नेपाली युवा खगोलविद् क्षुद्र ग्रहको प्रारम्भिक पहिचान गर्न सफल भएका हुन् ।
अमेरिकाको हवाईस्थित पानोरामिक सर्भे टेलिस्कोप तथा ¥यापिड रेस्पोन्स सिस्टम (प्यान्स्टार्स) ले खिचेका एक लाख आठ हजार तस्बिरको अध्ययनबाट नेपाली खगोलविद्ले उपलब्धि हासिल गरेका हुन् ।  
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराईका अनुसार १९ जना खगोल विद्यामा क्रियाशील नेपाली शिक्षक, विद्यार्थी र खगोलविद्ले मङ्गल र वृहस्पति ग्रहबीचका छ वटा क्षुद्र ग्रहको प्रारम्भिक पहिचान गरेका छन् । chhudra garah_1
नेपाली विद्यार्थीले पत्ता लगाएका क्षुद्र ग्रहको नाम पी–१० वाईएलएफ ९, पी–१० वाईकेएक्सएच, पी–१० वाईकेजेड ५, पी–१० वाईओपीजेड, पी–१० वाईओक्यू र पी–१० वाईपीजेड रहेका छन् ।  यी क्षुद्र ग्रहको नामकरण प्रारम्भिक चरणमा गरिएकाले हवाई विश्वविद्यालय र नासाले यिनको पुनः नामकरण गर्नेछन् ।  
क्षुद्र ग्रह सौर्यमण्डल बन्दै गर्दा निर्माण भएको मानिन्छ ।  यस्तो अनुसन्धानले सौर्यमण्डलको उत्पत्तिका बारेमा थप अध्ययन गर्न सहयोग पुग्ने भट्टराईले बताउनुभयो ।  उहाँले क्षुद्र ग्रह जुनसुकै बेला पृथ्वीमा ठोक्किन सक्ने भएकाले त्यसको प्रकृति र स्वभावका बारेमा बेलैमा थाहा पाउन जरुरी हुने पनि भट्टराईले जानकारी दिनुभयो ।  
अध्यक्ष भट्टराईले यो परियोजनामा सहभागी खगोल क्षेत्रका नेपाली अनुसन्धानकर्ताले स्वतःस्र्फूत रूपमा योगदान गरेको बताउनुभयो ।  उहाँले यस प्रकारको अन्तर्राष्ट्रिय स्तरको खगोलीय अनुसन्धान नेपालमा पहिलोपटक भएकाले नेपालका खगोलीय विद्यार्थीलाई यसले अन्तर्राष्ट्रिय जगत्मा पहुँच र अवसर दिने बताउनुभयो ।  
यस अनुसन्धानमा नेपालबाट पोखराको पृथ्वीनारायण क्याम्पसका पाँच शिक्षक र विद्यार्थी, काठमाडौँ जोरपाटीस्थित सेलिब्रेसन को–ईडीका पाँच जना र नासोका नौ जना गरी १९ जनाको पाँचवटा समूह क्रियाशील थिए ।  
सिटिजन साइन्स परियोजना अन्तर्गत हाल नेपाल, भारत, पोर्चुगल, पोल्यान्ड, मकाउ, दक्षिण अफ्रिका, ब्राजिल लगायतका विश्वभरका २५ देशको सहभागिता छ ।  
यस प्रकारका अनुसन्धानबाट क्षुद्र ग्रहको प्रकृति, पहिचानका साथै पृथ्वीमा आइरहेका वा आउन सक्ने कुराको अध्ययन हुने भएकाले खगोल क्षेत्रमा यस्तो अध्ययनले निकै महìव राख्नेगर्छ ।  
यो अभियानमा सहभागी नेपाली टोलीले प्यान्स्टार्समार्फत प्राप्त तस्बिरमा भेटिएका लगभग एक लाख आठ हजार वटा चलायमान पिण्डको परीक्षण गरेका थिए ।  अमेरिकाको हवाईस्थित पानोरामिक सर्भे टेलिस्कोप तथा ¥यापिड रेस्पोन्स सिस्टम (प्यान्स्टार्स) का हाल १.८ मिटरका दुईवटा उच्चस्तरीय टेलिस्कोप सञ्चालनमा छन् ।
के हो क्षुद्र ग्रह ?
क्षुद्र ग्रह मङ्गल र वृहस्पति ग्रहका बीचमा रहेका स–साना चट्टानका टुक्रा हुन् ।  ती अन्य ग्रहसरह आ–आफ्नै कक्षमा सूर्यलाई परिक्रमा गरिरहेका हुन्छन् ।  क्षुद्र ग्रहको आकार गोलो, चेप्टो, बाङ्गो–टिङ्गो जस्तो पनि हुन्छ ।  
मङ्गल र वृहस्पति ग्रहका बीचमा रहेका यस्ता ठूला क्षुद्र ग्रह पृथ्वीमा ठोक्किएमा ठूलो असर पर्नुका साथै जीवको अन्त्यसमेत हुनसक्छ ।  त्यसैले यी क्षुद्र ग्रहको अध्ययन अनुसन्धान आवश्यक छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना