संवेदनशील भएर सूचना प्रवाह गर्न आग्रह

ayudhi p yadavकाठमाडौँ, फागुन २५ गते ।  निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तह निर्वाचन जनताको कल्याणसँग जोडिएकाले संवेदनशील भएर सूचना प्रवाह गर्न आमसञ्चार माध्यमसँग आग्रह गर्नु भएको छ ।  
स्थानीय तह निर्वाचनलाई भयरहित वातावरणमा स्वच्छ, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गराउन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै प्रमुख आयुक्त यादवले सानो शब्दले पनि मतदातामा द्विविधा उत्पन्न हुने भएकाले संवेदनशील भएर समाचार प्रवाह गर्न पनि आग्रह गर्नुभयो ।
सञ्चारकर्मीहरूका लागि मङ्गलबार आयोगमा आयोजित ‘निर्वाचन र सञ्चार’ विषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले भन्नुभयो, ‘‘आवधिक निर्वाचनले अँध्यारोबाट देशलाई उज्यालोतर्फ अगाडि बढाउन, संविधानको कार्यान्वयन गर्न, मुलुकमा शान्ति, स्थिरता र समृद्धितर्फ लैजान सहयोग पुग्छ । ’’
बीस वर्षपछि स्थानीय तहको निर्वाचन हुन लागेको र यसले सीमान्तकृत, दलित, महिलाको नेतृत्वको विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्दै उहाँले लोकतन्त्रका हिमायती दलहरू संयमपूर्वक निर्वाचन जानेछन् भन्नुभयो ।  आयोगका आयुक्त इला शर्मा शर्माले निर्वाचनको सफलताका लागि आमसञ्चारका माध्यमको गहन भूमिका रहने भएकाले लोकतन्त्रको अभ्यासलाई सहयोग पुग्ने र मतदातालाई निर्वाचनप्रति जागरुक बनाउने गरी सूचना प्रवाह गर्न पत्रकारहरूसँग आग्रह गर्नुभयो ।  
अर्का आयुक्त नरेन्द्र दाहालले निर्वाचनका लागि जनमत तयार गर्ने, मतदाता शिक्षालाई मतदातासम्म पु¥याउन सञ्चारकर्मीहरूको ठूलो हात रहने भएकाले निर्वाचनको आचारसंहिता मिडिया स्वयम्ले पनि पालना गर्न र दलहरूलाई पनि पालनाका लागि प्रोत्साहित गर्न आग्रह गर्नुभयो ।  
आयोगका सचिव गोपीनाथ मैनालीले ‘स्थानीय तहमा निर्वाचन प्रणाली’ विषयमा प्रशिक्षण दिँँदै स्थानीय निर्वाचनमा वैदेशिक सहयोग कम लिने नीति आयोगको रहेको जानकारी दिनुभयो ।  उहाँले राष्ट्रिय हितमा हुने गरी समाचार सम्प्रेषण गर्नु अनुरोध गर्नुभयो ।  प्रशिक्षणमा आयोगका सहसचिवद्वय नवराज ढकाल र सुशील कोइरालाले स्थानीय तह निर्वाचन र निर्वाचन कसुर, सजाय तथा आचारसंहिताबारे प्रशिक्षण दिनुभएको थियो ।  
आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले विभिन्न सञ्चार माध्यममा कार्यरत निर्वाचन बिट हेर्ने सञ्चारकर्मीका लागि आयोजित दुई दिने प्रशिक्षणमा मतदान र मतगणनाको समेत अभ्यास गरिएको जानकारी दिनुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना