फागुमा हुलहुज्जत गर्नेलाई पक्राउ गर्न प्रहरी परिचालन

काठमाडौँ,  फागुन २६ गते । फागुपूर्णिमामा अर्काको इच्छा विपरीत जबर्जस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने र फोहर छ्याप्ने कार्यमा संलग्नलाई तत्कालै पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा परिसरका प्रमुख छविलाल जोशीले फागुलाई लक्ष्य गरी राजधानीमा एक हजार सुरक्षाकर्मी परिचालन गरिएको र फागुको दिन एक सय सात ठाउँमा सुरक्षा जाँचका लागि प्रहरी खटाइने जानकारी दिनुभयो ।

फागुमा महिला, बालबालिकालगायत बाटामा हिँड्ने व्यक्तिलाई दुःख, हैरानी तथा कष्ट दिने कार्य नगर्न सबैसँग अनुरोध गर्दै उहाँले मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, हेल्मेट बिना मोटरसाइकल चलाउने र कडा किसिमका रङ खेल्नेलाई समेत पक्राउ गरिने भएकाले त्यस्तो काम कोही कसैलाई नगर्न, नगराउन र वातावरण तथा जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने लोलाको आयात र बिक्री वितरण नगर्न सबैसँग अनुरोध गर्नुभयो । यस वर्ष पहाडी जिल्लामा यही फागुन २९ र तराईका जिल्लामा ३० गते फागुपूर्णिमा मनाइँदैछ ।

गुण्डागर्दीमा संलग्नको तीनपुस्ते सङ्कलन

परिसर प्रमुख जोशीअनुसार आफूले नेतृत्व सम्हालेको डेढ महिनायताका अवधिमा राजधानीमा गुण्डागर्दीमा संलग्न एक सय ६१ जनाको तीनपुस्ते प्रहरीले सङ्कलन गरेको छ । तीमध्ये ३० जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गर्नाका साथै उनीहरुको औँठा छाप र नयाँ तस्बिरसमेत लिइएको छ । सो अवधिमा परिसरकै टोलीले १२ ठाउँबाट जुवातास खेल्ने कार्यमा संलग्न १९ जनालाई रु १३ लाखसहिते र चोरीमा संलग्न ६४ जनालाई नियन्त्रणमा लिएको छ ।

पत्रकार सम्मेलनमा महानगरीय अपराध महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यले परिसरसँगको समन्वयमा गुण्डागर्दी र चोरीमा संलग्नलाई कारबाही प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना