फागु पर्वको परम्परा

trichandra pratiksya त्रिचन्द्र प्रतीक्षा



हाम्रो समाजमा होलीको पूर्वसन्ध्यामा विशेष गरेर क्याम्पस, स्कुलको छत, परिसरमा बसेर केटीहरूलाई लक्षित गरी लोला हान्ने र त्यस्तो हेरेर मज्जा लिने गरेको देखिन्छ ।  केही वर्षअघिदेखि प्रहरी प्रशासनले समय अगावै बाटो बाटोमा बसेर लोला हान्ने व्यक्तिहरूलाई कारबाही गरेको देखिन्छ ।  लोला हान्ने प्रवृत्ति केही कम भएको महसुस गरे पनि भित्री गल्ली बाटोहरूमा भने यस्तो विकृति मौलाएको पाइन्छ ।  प्रहरी प्रशासनले यसतर्फ पनि चासो देखाउने पर्ने देखिन्छ भने सम्बन्धित प्रशासनले होलीभन्दा पहिले यस्ता कार्य गर्ने व्यक्तिहरूलाई कानुन कारबाहीको लागि पनि पहल गर्नुपर्छ ।
  प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमालाई होली पूर्णिमा अर्थात् होली पर्व भनिन्छ ।  यस दिनलाई राष्ट्रिय पर्वको रूपमा पनि लिइन्छ ।  पहाडदेखि तराई र गाउँदेखि शहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरू एकआपसमा खुसी साटासाट गर्छन् ।  साथी–साथी मिलेर गाउँदै, बजाउँदै र रमाइलो गर्दै आपसी रीसईवीलाई बिर्सेर उत्साह र उमङ्गकासाथ मनाइने गरिन्छ ।  वास्तवमा भन्ने हो भने होली एउटा सांस्कृतिक पर्व पनि हो ।  नेपाल लगायत भारतमा समेत समान तरिकाले यो पर्व मनाइने गरिन्छ ।
अन्य देशमा पनि फागुजस्तै रङ्गहरूको पर्व आयोजना हुने गर्दछ ।  भारतमा फागु, ‘होलीका रूपमा विशेषरूपमा प्रसिद्ध छ ।  म्यानमारको टिङ्गुलॉर थाइल्याण्डको साक्रान’ प्रसिद्ध छन् ।  यस्तै अमेरिकाको हेलोइन, जर्मनीको इस्टर, पोल्याण्डको आरसिना, स्लोभाकियाको बोलियाकोनोन्स, इटालीको रडिका, अफ्रिकाको ओगेना बोगा, चीनको च्वेज पर्वहरू फागु पर्वजस्तै रङ्गीचङ्गी, स्वच्छन्द र उल्लासपूर्ण वातावरणको पृष्ठभूमिमा मनाइने पर्व हुन् ।   
फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको बसन्तपुर दरबार अगाडि चीर (विशेषरूपले सजाएको लिङ्गो) गाडिन्छ ।  त्यस लगत्तै होली सुरु भएको मानिन्छ ।  पूर्णिमाको राति उक्त चीर (लिङ्गो) लाई ढालेर जलाएपछि फागु समाप्त भएको ठानिन्छ ।  काठमाडौँमा फागु पूर्णिमाको मध्यरातमा नै नेवार जातिले टुँडिखेलको मध्येभागमा अवस्थित रुखमा गुरुमापा राक्षसलाई भोज खुवाउने चलन पनि रहिआएको छ ।  
फागु मनाउने सन्दर्भमा चाँगुनारायणमा राधा र वंशगोपालका मूर्तिलाई रथमा राखी यात्रा गराइन्छ ।  रथलाई परम्परागत रूपमा चाँगुनारायण मन्दिरको परिक्रमा गराइन्छ ।  रथयात्रापछि चाँगु क्षेत्रमा होलीको सुरुवात भएको मानिन्छ ।  यसरी प्रचलित फागुन शुक्ल पूर्णिमामा होली मनाइने परम्परा रहेको छ तर लिच्छविकालमा भने पौष पूर्णिमामा होली मनाएको तथ्य गोपाल राजवंशावलीमा लिखित श्रीमान्देव पोष्यपूर्णमी होलि कृतम् भन्ने शब्दावलीबाट खुल्न आउँछ ।  यस्तै मल्लकालीन अभिलेखहरूबाट मल्लराजाहरू आफ्नो दरबारको सामुन्ने मयलको रुख गाडेर फागु पर्व मनाउँथे भन्ने कुराको पुष्टि हुन्छ ।  नेपाल एकीकरणपछि पृथ्वीनारायण शाहको समयमा हनुमानढोका गद्दी बैठक अगाडि रङ्गी विरङ्गी कपडा टाँगेर बनाइएको तीन छते चीर गाडेर फागुको उत्सव नाचगान गरी बडो उल्लास र उमङ्गका साथ मनाइन्थ्यो भन्ने दिव्य उपदेशमा उल्लेख पाइन्छ ।  
भक्तपुर दत्तात्रय मन्दिर अगाडि रहेको भीमसेनको लिङ्ग र द्रौपदीको योनीको प्रतीक झुण्ड्याएर होली पर्व मनाइने गरिन्छ ।  होली सुरु हुनुअघि उक्त लिङ्गलाई भक्तपुर शहर घुमाइन्छ र पूजा गरी सा“झ मन्दिरको पाटीमा झुण्ड्याई होली पर्व सुरुवात गरिन्छ ।  नेवारी परम्पराअनुसार यसको अर्थ ‘चिरस्वायगू’ अर्थात् ‘लिङ्ग र योनी’ बीच समागम हो ।
भीमसेन गुठीले परम्परादेखि नै होलीलाई यौनपर्वका रूपमा दाँज्दै आएको देखिन्छ ।  वसन्त ऋतु आगमन फागुनदेखि हुने र यो समय यौन ऊर्जाको समय मानिने भएकाले होली पर्वसँग यसको सम्बन्ध रहेको मानिन्छ ।  साङ्केतिक रूपमा यौनस“ग सम्बन्धित फागू पर्व कतै कृष्ण त कतै प्रह्लादस“ग जोडिए पनि भक्तपुरमा भने भीमसेनस“ग सम्बन्धित रहने गरेको छ ।  महाभारतका पात्रहरू यसमा कन्द्रित भएको पाइन्छ ।  
हिमाली र पहाडी भेकमा पूर्णिमामा मनाइने फागु तराई भेकमा भोलिपल्ट मनाइन्छ ।  होलीको चीरदहलाई तराई प्रदेशमा सम्मत जलाउने भनिन्छ ।  थारू जातिले पूरै महिनासम्म नाचगान गरी फगुवा पर्व मनाउँछन् भने गुरुङ समाजमा रोदीघरमा रमाइलो गर्दै फागु मनाइन्छ ।  पाल्पा र तनहुँमा मगर समुदायले राधा र कृष्णको गुणगान गर्दै फागु मनाउँछन् भने मैथिली समाजमा पनि होली विशेष गरी प्रसिद्ध मानिन्छ ।  अछामी समाजको फागु पनि दर्शनीय र प्रशंसनीय मानिन्छ ।
किंवदन्ती जे जस्तो भए पनि रङ्गमा रङ्गिएर उल्लास र खुसीयालीपूर्वक मनाइने यो पर्वमा केही वर्षअघिदेखि हाम्रो समाजमा विकृति देखिन थालेको छ ।  होली सुरु हुनुभन्दा १०÷१५ दिन पहिलेदेखि नै बाटोमा हिँड्ने युवतीलाई लक्षित गरेर फोहोर पानी प्लाष्टिकमा भरेर हान्ने प्रवृत्ति देखापरेको छ ।  यस्तो परम्पराले हाम्रो संस्कृतिको जगेर्ना नहुने भएकोले यसतर्फ युवावर्ग सचेत हुनु नितान्त आवश्यक छ ।  अभिभावकहरूले पनि यस्तो विकृतिलाई रोक्न महìवपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।
नेपालीहरूको राष्ट्रिय पर्व रङ्गहरू र उल्लासको पर्व होली नेपाल तथा विदेशमा बस्ने नेपालीले समेत मनाउने गर्छन् ।  जहाँ जसरी फागु पर्व मनाउने गरे पनि आखिरमा यसपर्वको उद्देश्य भनेकै एकआपसमा भाइचारा बढाउने, असत्यमाथि सत्यको विजय, एकआपसमा खुसीयाली बाँड्नु नै हो ।  हाम्रा चाडले हामीलाई आनन्द दिन्छन् ।  मानव जीवनमा मङ्गल एवं सौभाग्यलाई आमन्त्रित गर्दछन् ।  जुन वसन्त ऋतुको आगमनसँगै यसलाई हर्षपूर्वक स्वागत गरिन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना