जीवनदायिनी बागमती

saphalya amatyaडा. साफल्य अमात्य

 

काठमाडौँ उपत्यका अर्थात् प्राचीन नेपाल उपत्यकालाई परापूर्वकालदेखि उर्वर, हराभरा बनाई मानव जीवनलाई संरक्षण र पालनपोषण गर्दै आएको बागमती नदीले गर्दा नै यस उपत्यकाको नाम बागमती उपत्यका रहेको हो ।  विगत ४० वर्ष यता यो पवित्र नदीमा प्रदूषण बढेर यसलाई ढलमती बनाउने हामी उपत्यकावासी नै हौँ ।  यस पावन नदीको धार्मिक, सांस्कृतिक र कलात्मक धरोहर र स्वरूप आज आएर नष्ट र ध्वष्ट हुन लागेकोले नेपाल सरकारले सहरी विकास मन्त्रालयअन्र्तगत “अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति” खडा गरी गत एक दशकदेखि बागमतीलाई मौलिक स्वरूपमा फर्काउन कोसिस भइरहेको छ ।  यसै बृहत् अभियानसँगै जोडिएर करिब दुई सय हप्ता अर्थात् पाँच वर्ष अगाडिदेखि बागमती सफाइ अभियान चलिरहेको छ ।  जुन अभियानमा नेपाल सरकारका निजामती, सैनिक, प्रहरी, विद्यार्थी र स्थानीय जनता सबै दत्तचित्त भई लागिरहेका छन् ।  
प्रत्येक हप्ताको शनिवार चलाइएको यो अभियान निरन्तर रूपमा चलिरहे पनि बागमतीको भौतिक अवस्थामा खास उल्लेखनीय सुधार देखापरेको छैन ।  समितिले गोकर्णदेखि पशुपति आर्यघाटसम्म केही हदसम्म आफ्ना सुधार योजना सम्पन्न गर्न सफल भए पनि मनहरा, शङ्खमूल, कालमोचन, पचली र टेकुभन्दा तलतिर यो नदीको अवस्था जस्ताको त्यस्तै छ ।  हिजोआज यी क्षेत्रमा नदीको दुवैतर्फ ढुङ्गाको पर्खाल उठाइ नदीमा सकेसम्म पानीको बहाउ कम हुन नदिई प्रदूषण हुनबाट रोक्न प्रयास भइरहेको देखिन्छ ।  
बागमतीको महŒव काठमाडौँवासी र नेपालीलाई मात्र होइन, विश्वका सम्पूर्ण हिन्दु र बौद्ध धर्मावलम्बीलाई उत्तिकै छ ।  विश्वका जोसुकै हिन्दु वा बौद्ध धर्मावलम्बीहरू जीवनमा एक पटक बागमतीको किनारमा विराजमान पशुपतिनाथको दर्शन गर्न लालयित हुन्छन् ।  अझ बौद्ध धर्मावलम्बी स्वयम्भूको ज्योतिरूप उत्पन्नस्थल, बागमतीको किनारमा अवस्थित गुह्येश्वरीको दर्शन गर्न प्रत्येक वर्ष खासगरी मार्गकृष्ण दशमीको दिन उक्त स्थलमा पुग्ने गर्छन् ।  बागमती नदीको उत्पत्तिलाई हिन्दु भगवान् श्रीकृष्णको देन मान्छन् भने बौद्धहरू महामञ्जुश्रीको वरदान मान्छन् ।  यसरी बाघद्वार शिवपुरीबाट उत्पन्न भई सुन्दरीजल, गोकर्ण, पशुपति आर्यघाट, शङ्खमूल, पचली, चोभार, जलविनायक हुँदै कटुवालदहको बाटो गरी भारतको सिमानामा गङ्गा नदीसँग यो पवित्र नदी मिसिन जान्छ ।  जुन–जुन ठाउँबाट बागमती बगेको छ र जुन–जुन ठाउँमा बागमतीले दोभान, त्रिवेणी आदि बनाएको छ, ती सबै ठाउँ सम्पूर्ण नेपालीका लागि अति नै पुण्य तीर्थस्थल बनेका छन् ।  
बागमतीको धार्मिक, आध्यात्मिक र सामाजिक महŒवलाई विभिन्न पौराणिक ग्रन्थ जस्तै “नेपाल महात्म्य”, “पशुपति पुराण” र “स्वयम्भू पुराण” आदिमा प्रशस्त उल्लेख गरिएको पाइन्छन् ।  “बराह पुराण” मा भनिएको छ– हिमालको उच्च शिखरबाट प्रकट भएकी बागमती नदीको जल अन्य गङ्गाकोभन्दा सय गुणा पवित्र छ ।  यसमा स्नान गर्नाले बैकुण्ठ लोक प्राप्त हुन्छ ।  आचमन मात्र गर्नाले स्वर्ग प्राप्त हुन्छ ।  मृत्युपछि शिवलोक प्राप्त हुन्छ ।  सारा नदीमध्ये श्रेष्ठ बागमती नदीमा स्नान गर्नेलाई राजसुय र अश्वमेघ यज्ञको पुण्य प्राप्त हुन्छ ।  मनलाई पवित्र राखेर जो मानिसले बागमतीमा स्नान गर्छ, त्यो मानिसले पशुयोनीमा फेरि जन्म लिनुपर्दैन ।  (बराह पुराण, २१५ अध्याय) आदि ।
काठमाडौँ उपत्यकाका धर्मभीरु मानिसले चार दशक अघिसम्म बागमती र यसका शाखा नदीमा गई नुहाइधुवाई गरी पूजा पाठ गरी आ–आफ्नो दिन चर्या सुरु गर्थे ।  नदी किनार घाटमा गई पितृको श्राद्ध गर्नेदेखि लिएर विभिन्न चाड, पर्व, मेला उत्सव मनाउने गर्थे ।  गोकर्णलाई उत्तरगया भनिन्छ ।  त्यहाँ पितृ औँसीको दिन अर्थात् बुबाको मुख हेर्ने दिन आ–आफ्ना मृत पितृको सम्झनामा श्राद्ध गर्ने दान दक्षिणा दिनेहरूको मेला लाग्छ ।  वर्ष दिनभरिको विभिन्न पर्व, पुण्य दिनहरूको त कुरै छोडौँ प्रत्येक वर्ष आइपर्ने सूर्य ग्रहण र चन्द्र ग्रहणको दिनमा पनि यी नदीहरू नुहाइधुवाई गरी गरिब र ब्राह्मणलाई दान दक्षिणा दिने धर्मभीरु मानिसको घुइँचो लाग्थ्यो तर हाल नदीहरू प्रदूषित भएको कारणले गर्दा पशुपति आर्यघाट, शङ्खमूल र अन्य एक÷दुई घाटमा बाहेक अन्य घाटबाट यो चलन हराइसकेको छ ।  
खासगरी हिन्दु नेपालीको मरणोप्रान्त घाटमा गई किरिया कर्म हुने गर्छ तर प्रदूषित नदीको कारणले गर्दा हिजोआज धेरै उपत्यकावासी नदी घाटमा गई यी कर्म गर्न रुचाउँदैनन् र कैयौँले आफ्नै घर आँगनमा यी कर्म गर्दै आएका छन् ।  प्रत्येक वर्ष वैशाखभर मनाइने बागमती यात्राको पर्व आज हराइसकेको छ ।  त्यस्तै माघभर मनाइने माधव नारायण मेला हराइसकेको छ ।  शालीनदीमा बाहेक अन्य घाटमा नुहाइधुवाई गरी शुद्ध भई स्वस्थानीको ब्रत बस्ने र पूजाआजा गर्ने चलन हराइसकेको छ ।  प्रत्येक अष्टमीको दिन बौद्धमार्गीले नदी किनारमा ब्रत बसी बालुवा वा भातको चिवहाः (स्तुपा) बनाई पूजाआज गरी नदीमा बगाउने चलन हराइसकेको छ ।  त्यसरी नै बागमतीसँग सम्बन्धित धेरै जात्रा, पर्व र मेला पनि प्रदूषणको कारणले हराइसकेको छ ।  
काठमाडौँ उपत्यकाको सुरुवात र विकास यही बागमती नदी सँगसँगै जोडिएको छ ।  बागमती र शाखा नदी–घाट उपत्यकावासीका लागि जुनसुकै दृष्टिकोणले महŒवपूर्ण छन् तर एकातिर प्रदूषण र अर्कातिर जग्गा अतिक्रमणको मारले गर्दा हाम्रा नदी र घाट दिन पर दिन साँगुरिँदै छन् ।  बागमतीको दुवै किनारमा आजभन्दा १०० वर्ष अगाडिसम्म बन्दै आएका घाटका केही अंश आजसम्म पनि ठाउँ–ठाउँमा देखिन्छन् ।  तिनीहरूलाई राम्ररी अवलोकन गरी हेरियो भने यी नदीहरूको फैलावटबारे थाहा पाउन सकिन्छ ।  समय, काल र परिस्थिति, जनघनत्वको वृद्धि, वरपरका वन जङ्गलको विनास आदिले गर्दा यी नदी प्रदूषित बने, साँघुरिए ।  नदीले छोडेका हजारौँ रोपनी नदी किनारका उर्वर भूमिलाई नेपाल सरकारले राम्ररी नाप नक्सा गरी कतै पार्क, कतै बगैँचा, कतै स्मारकस्थल मात्र बनाएर पुग्दैन ।  समुचित संरक्षण गरी यी क्षेत्रमा भएका सम्पूर्ण मठ–मन्दिर, देवस्थल, चिहान, धर्मशाला आदि सबैको राम्ररी जीर्णोद्वार र पुनःनिर्माण गरी एक पटक फेरि विश्वलाई काठमाडौँ उपत्यकाको सभ्यता र संस्कृतिको पहिचान देखाइ दिनुपरेको छ ।  
नदीको दुवैतर्फ हरियाली बनाई साँझ बिहान स्वच्छ हावा पाउने गरी उपत्यकावासीका लागि पदैल मार्ग बनाई दिनुपर्छ ।  यसरी बागमती नदीको मौलिक स्वरूप फर्काउन हामी सफल भयौँ भने हाम्रो संस्कृतिका धेरै हराइसकेका र हराउन लागेका मूर्त र अमूर्त सम्पदा फेरि देखापरी विश्वलाई नै एउटा नौलो र बेग्लै पहिचान दिन समर्थ हुनेछौँ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना