के आज तपाईं बाग्मती सफाइमा जाँदै हुनुहुन्छ ?

भउचप्रसाद यादव

काठमाडौँ, फागुन २८ गते ।  नेपाली सभ्यता, संस्कृति र चिनारीसँग जोडिएको बाग्मती सफाइ महाअभियानमा हजारौँ व्यक्ति बाग्मती किनारमा जुट्ने भएका छन् ।
तीन वर्षअघि ढल र फोहोरले छोपिएको बाग्मती सफा गर्ने क्रममा शनिबार दुई सय साता पूरा हुँदैछ ।  जनस्तरबाट सञ्चालित बाग्मती सफाइको महाअभियान मुलुकको अहिलेसम्मकै सबभन्दा ठूलो अभियान रहेको दाबी गरिएको छ ।  बाग्मती सफाइमात्र होइन, यो अभियानले देशभर सफाइप्रति व्यापक चेतना विस्तार पनि भएको छ ।
बाग्मती सभ्यताको पुनर्जागरणका लागि समेत सञ्चालित बाग्मती सफाइ महाअभियानले २००आँैं सप्ताह संस्करणमा विशेष कार्यक्रम आयोजनासमेत गरेको छ ।  महाअभियानमा सहभागी हुन सम्पूर्ण नागरिकलाई गरिएको आह्वानले व्यापक चासो पनि जुटाएको छ ।  
तीन वर्षअघि २०७० जेठ ५ गते नागरिक अभियान्ताको पहलमा साप्ताहिक रूपमा बाग्मतीको सफाइ सुरु भएको थियो ।  बाग्मती सफाइ अभियानका शुभारम्भकर्ता एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले बाग्मती हाम्रो सभ्यता र संस्कृति हो, यसलाई फोहोर गर्नुहुँदैन भन्ने चेतनाको विकास आमनागरिकमा हुनु नै यस अभियानको सबभन्दा ठूलो उपलब्धि रहेको बताउनुभयो ।  
राजधानीबासीको करिब ४० वर्षदेखिको आनिबानीमा यस अभियानले ठूलो सुधार ल्याएको दाबीसमेत उहाँले गर्नुभयो ।  नदी किनारका अतिक्रमित जग्गा खाली गर्न र जथाभावी फोहोर फ्याँक्नेलाई कानुनको कठघरामा उभ्याउन यो अभियानले सम्बन्धित निकायलाई घचघच्याउने काम गरेको बताउँदै यसै अभियानको अनुकरण र प्रभावले अन्य २५ जिल्लामा समेत नदी सफाइ अभियान सञ्चालन भइरहेको जानकारी उहाँले दिनुभयो । bagmait-sarsapahi_
अभियानकै कारण बाग्मती किनारमा ढल बिच्छ्याउने काम अगाडि बढिरहेको बताउँदै पूर्व मुख्य सचिवसमेत रहनुभएका पौड्यालले यस अभियानको प्रभावबाट नै उपत्यकाका अन्य नदी किनारमा ढल बिच्छ्याउने र प्रशोधन गर्ने कार्यक्रम सरकारले ल्याएको दाबी गर्नुभयो ।  उहाँले बाग्मती किनारमा रहेका अव्यवस्थित बस्ती र त्यसको स्थानान्तरण बाग्मती सफाइ अभियानको चुनौती रहेको बताउनुभयो ।  
बाग्मती सफाइ अभियानका शुभारम्भकर्ता डा. राजु अधिकारीले यस अभियानले नदीनाला सफा राख्नुपर्छ भन्ने चेतनाको विकास आमनागरिकमा क्रमशः भइरहेको बताउँदै अभियानकै फलस्वरूप बाग्मती किनारमा २५ वटा बगैँचा जनस्तरबाट निर्माण भइसकेको जानकारी दिनुभयो ।
अभियानको बलमा सामाजिक योगदानबाटै बाग्मती किनारमा दर्जनौँ बगैँचा र पार्क निर्माण भइरहेको तथा हजारौँ बिरुवा रोपिएको बताउँदै उहाँले अभियानले नयाँ पुस्तामा स्वयंसेवी भावनालाई पुनर्जागृत गरेको धारणा व्यक्त गर्नुभयो ।
बाग्मती सफाइ अभियानका अर्का अभियानकर्ता चक्रबहादुर चन्दले बाग्मती सफाइ महाअभियानको २००आँैं सप्ताह संस्करणमा सुन्दरीजलदेखि सुन्दरीघाट (चोभार)सम्म (२७ किलोमिटर) विभिन्न १८ वटा ठाउँमा बाग्मती सफाइ तथा पदयात्रा आयोजना हुने जानकारी दिनुभयो ।  उहाँका अनुसार राजधानीको सुन्दरीजल, भद्रबास, गोकर्ण, जोरपाटी नारायणटार पुल, गोठाटार पहेँलो पुल, गुह्ेश्वरी, पशुपति राममन्दिर, तिलगङ्गा आँखा अस्पताल, सिनामङ्गल नयाँ पुलमा बाग्मती सफाइ र पदयात्रा गरिनेछ ।
त्यसैगरी मीनभवन पुल, महादेवस्थान पुल, शङ्खमूल मनोहरा दोभान, धोबीखोला दोभान, थापाथली पुल, टेकू दोभान, बल्खु पुल, सुन्दरीघाट र चोभार जलविनायकबाट सफाइ तथा पदयात्रा गरिने जानकारी उहाँले दिनुभयो ।
अभियानका क्रममा शङ्खमूल मनोहरा दोभान खण्डको सफाइ अभियानको शुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।  त्यस अवसरमा प्रधानन्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्तीमगरलगायत विशिष्ट व्यक्तिको सहभागिता रहनेछ ।  सफाइ तथा पदयात्रा बिहान ७ बजेदेखि प्रारम्भ हुनेछ ।
अहिलेसम्म १५ सयभन्दा बढी सङ्घसंस्था तथा पाँच लाखभन्दा बढी स्वयंसेवकको सहभागिता यस अभियानमा भइसकेको छ ।  अभियानका क्रममा अहिलेसम्म ७२ हजार मेट्रिक टन फोहोर सङ्कलन गरेर त्यसको व्यवस्थापन गरिएको छ ।  अभियानले संयुक्त राष्ट्रसङ्घ अन्तर्गत यूएन–हेविटाटको ‘एसियन टाउन स्केप अवाड, २०१४’ प्राप्त गर्न सफल भइसकेको छ ।
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना