आफन्तबाटै बेचिन्छन् महिला

कैलाली, फागुन २८ गते । विवाह भएको तीन महिनापछि श्रीमान् र जेठानी नाता पर्नेले कैलाली लम्कीका गीता (नाम परिर्वन)लाई भारत लगे । त्यहाँ उहाँलाई औषधी खुवाएर बेहोस पारिएछ । ‘होसमा आउँदा श्रीमान् र जेठानी दुवै थिएनन् । बुझ्दै जाँदा मलाई ५० हजार भारुमा बेचेर फर्किसकेका रहेछन् ।’ पाँच महिनाअघि माइती नेपालको सहयोगमा भारतबाट उम्किएर नेपाल आएकी गीताले भन्नुभयो ।
बेचबिखन लगायत महिला तथा बालबालिकमाथि हुने गरेका सबै प्रकारका अन्याय, शोषणका बिरुद्ध कृयाशील कैलालीका सरोकारवालाले बेचिने धेरैजसो महिलाहरु आफन्तबाटै बेचिने गरेको दावी गरेका छन् । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा केही दिनअघि धनगढीमा सम्पन्न गोष्ठीमा माइती नेपाल कैलालीका कार्यक्रम संयोजक शिवचरण चौधरीले सुदूरपश्चिमका कैलाली कञ्चनपुर नाकाबाट पछिल्लो समयमा महिलालाई विदेश लगि बेचिने क्रम बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार पछिल्लो पाँच वर्षयता माईती नेपाल संस्थाले नेपालबाट भारतमा बेचिएका दुई सय ८१ महिलालाई भारतबाट उद्धार गरेको छ ।
यसैगरी शान्ति पुनस्र्थापना गृहले कैलालीमा स्थापनाकालदेखि पाँच वर्षभित्र ८२ जना महिलाको उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले पाँच वर्षमा ३७ जनाको उद्धार गरेको बताएको छ । बितेका पाँच वर्षामा ३६८ महिला हराएको भनी माइती नेपाल कैलालीमा उजुरी परेका छन । माइती नेपाल संस्थाका इन्चार्ज चौधरीका अनुसार हराएकामध्ये दुई सय ५२ जना फेला परेको छन । यसरी फेला परेकामध्ये ९० प्रतिशत महिला श्रीमान्, बाबुआमा, दाजुभाउजु, मामा र फुपूजस्ता आफन्तबाट नै बेचिएका छन ।
केही महिला भने बेचिनबाट उम्कन सकेका छन । तर धेरैजसो बेपत्ता नै छन । कैलालीकी सानु जोशी बम्बैमा आफ्नै श्रीमानले बेच्न लागेको थाहा पाएपछि भागेर नेपाल फर्कीन सफल हुनुभयो । यस्तै आफ्ना लोग्नेसँग भारत गएकी कैलालीकी मधु लोग्नेवाटै बेचिइन् । उहाँका लोग्ने एक्लै घर फर्केपछि मधुका आमाबुबाले खोजबिन सुरु गरेपछि मधुका लोग्नेले प्रहरीसमक्ष आफुले श्रीमतीलाई भारतको राजस्थानमा बेचेको स्वीकार गरे । भारतीय प्रहरीको सहयोगमा माइती इन्डियाले खोजतलास गर्दा पनि मधु आजसम्म भेटिनु भएको छैन । तर यसरी बेचिएका धेरै महिलालाई भारतमा यौन–व्यवसाय गर्न बाध्य पारिने विभिन्न संघसंस्थाको अध्ययनले दावी गरेको छ ।
चेलिबेटी बेचबिखनविरुद्ध पाँच वर्षदेखि काम गर्दै आएको संस्था शान्ति पुनस्र्थापना गृह कैलालीका कार्यक्रम संयोजक वासुदेव भट्टराईका अनुसार सुदूरपश्चिमका केही नाका प्रयोग गरी भारत हुँदै खाडी मुलुकसम्म चेलिबेटी बेचबिखन गर्नमा दलालको सञ्जाल सक्रिय छ । भट्टराईका अनुसार दलालले किशोरी वा उनीहरुका आफन्तलाई पैसा वा राम्रो कामको लोभ देखाएर कलिला बालिका र किशोरी बेच्न लान्छन । पहिले नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, धादिङ र मकवानपुरमा यस्तो समस्या थियो, तर अहिले प्रायः सबै जिल्लामा मानिस बेच्ने दलाल फैलिएको कुरा मानव बेचबिखनविरुद्ध काम गर्ने सङघसंस्था स्वीकार्दछन् ।
दिन प्रतिदिन महिला बेचबिखन हुने घटना बृद्धिभैरहेका भएपनि थोरै घटना मात्र अदालतमा पुगेका छन । जिल्ला प्रहरी कार्यालय कैलालीको महिला सेलकी राजमती विष्टका अनुसार मानव बेचबिखन तथा ओसारपसारविरुद्ध विगत पाँच वर्षमा १६ मुद्दा जिल्ला अदालतमा दायर गरिएको छ ।
बेचविखनमा पर्नेमध्ये धेरैजना बालिका भएकाले मानव बेचबिखनसम्बन्धी जानकारी दिन विधालयस्तरका पाठ्यपुस्तकमा पाठ सिकाइनु र ग्रामिण बस्तीसम्म जनचेतना बढाउनु जरुरी छ । साथै यस क्षेत्रमा कार्यरत संघसंस्था सदैब चनाखो हुनुपर्ने देखिन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना