रङ्गको पर्व फागु पूर्णिमा

Badri p dahalबद्रीप्रसाद दाहाल


 

हामी नेपालीका पर्व, चाड, प्रथा र रीतिभित्र ‘एकता, सद्भाव, ज्ञान, विज्ञान र सुन्दर आचारव्यवहार अन्तरनिहित छ ।  त्यसैले हाम्रा पर्व गर्व, चाड समाजको आड, प्रथा हाम्रा व्यथाका निवारक, रीति हाम्रो जीवन पद्धतिको स्थिति भएर अभिनव सिर्जनाको मार्गमा ज्ञान र विज्ञानका आँखाले हेर्न सक्ने बनाउँछन् ।  हाम्रा परम्परा अन्धविश्वास नभएर ‘आत्म–विश्वास’, ‘परम्परा’ रुढि नभएर सनातन राजमार्ग बन्ने सामथ्र्य राखेका हुन्छन् ।  
फागुपर्व फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म नौ दिनसम्म विविध रङ, अबिर आदि परस्परमा दलेर नाचगान र प्रीतिभोजसाथ मनाइन्छ ।  यो रमाइलो उत्सव नेपाली समाजको समता, शान्ति, सद्भाव र मित्रताको द्योतक तिथि हो ।  यसलाई होलिका, होली, होरी, फागु, फगुवा आदि नामले पुकारिन्छ ।  हामी यसलाई सनातन परम्परा भनेर मान्छौँ ।  सनातन भनेको कहिल्यै नाश नहुने अविनाशी वा शाश्वत् भन्ने बुझिन्छ ।  परम्पराको आसय उत्तरोत्तर समृद्धि, उत्थान वा विकास हो ।  
वसन्त आगमनको हर्षमा मनाइने यो प्राकृतिक उत्सव पौराणिक मिथक र इतिहाससित पनि आएर गाँसिएको बहु–आयामिक उत्प्रेरक चाड बनेको छ ।  अति एकाधिकारवादी अनिश्वरवादका हिमायती हिरण्यकश्यपु जो आफ्नै पुत्र प्रह्लादलाई थाममा बाँधेर काट्न लाग्दा भगवान्को नरसिंह अवतारबाट स्वयं संहार हुन पुगेको थियो ।  उसकी बहिनी होलिकाले अग्निदहनको वरदान पाएर पनि गलत प्रयोगमा जाँदा आफँै अग्निकुण्डमा भष्म हुन परेको वृत्तान्त यो पर्वसित गाँसिएको आमुख कथा हो ।  मूलतः हिरण्यकश्यपुजस्तो पराक्रमी तपश्वी पनि चर्को अहम् वा अभिमानबाट ग्रस्त बनेर हिंसामा लिप्त हुँदा त्यत्रो सार्वभौम सम्राट्को सत्ताबाट मात्र च्युत नभई जीवन लीलासमेत असमयमै इति हुन पुग्यो ।  त्यसैगरी उसकी बहिनी होलिका अग्निबाट नजल्ने बरदान पाएर पनि अख्तियारको दुरूपयोग गर्नाले स्वयं आपूm जलेर विष्णुभक्त प्रह्लाद बाँच्न पुगे, यो सबै भगवद्भक्तिकै प्रताप बन्न पुग्यो ।  यसैले सत्यमा अडिग भएका ईश्वरीय कृपाको आस्तिक धरातलमा उभिने जनलाई सङ्कट कहिल्यै पनि आउँदैन भन्ने सन्देश यी उदाहरणले दिन्छन् ।  
देवाधिदेव महादेवले कामदेवलाई भस्म पारेका, भगवान्ले मत्स्यावतार लिएर सृष्टिलाई बँचाएका, भगवान् श्रीकृष्णले पुतनाजस्ती बालसंहारिका राक्षस्नीको संहार गरेर गोपाल र गोपिनीहरूसित रासलीला गर्दै आपसमा खुसियाली मनाएको वृत्तान्तहरू पनि फागु पूर्णिमासित गाँसिएका रोचक मिथक हुन् ।  भविष्य पुराणमा कृष्ण र युधिष्ठिर एक आपसमा संवाद गर्ने क्रममा राजा दीलिपका पुत्र रघुको राज्यकालमा एउटी वितण्डावादी ढुण्डा नाम गरेकी राक्षस्नीको उपद्रव शान्त भएको दिनका रूपमा पनि यो महोत्सव रहन गएको भेट्टाइन्छ ।  
हाम्रा हिन्दु संस्कृतिका आस्था उत्सवभित्र विज्ञान पनि गुह्य रूपमा लुकेका छन् ।  वैदिक कालमा राक्षस गण वा मानव शरीरविरुद्ध रोग उत्पादन गर्ने भाइरसको प्रतिकारार्थ ‘रक्षोहणबलगहणम्’ जस्ता मन्त्रले यही पूर्णिमादेखि चतुर्माससम्बन्धी वैश्वदेव नामक यज्ञ गर्ने चलन थियो ।  जहाँ कृषकहरूद्वारा उत्पादित नयाँ अन्न गहुँ, जौ, चना होम गर्ने प्रचलन रहेछ ।  त्यही होमिएका अन्नहरू प्रसादको रूपमा लिइन्थ्यो ।  जुन अन्नलाई संस्कृत भाषामा ‘होलका’ नामले पुकारिन्थ्यो यही नामबाटै होलिका, होली भन्ने शब्द लोकजीवनमा आएको भेट्टाइन्छ ।  त्यसैको सम्झनामा आज पनि होली दाह गर्ने समयमा गहुँ, जौ र चनाका बालाहरू होम गरिन्छ ।  जाडो जानै लागेको र गर्मी प्रवेश हुनै लागेको यो सन्धि कालमा प्रकृतिमा आउने परिवर्तनले हाम्रो शरीरमा असर गर्छ ।  दादुरा, मलेरिया, ठेउला, ज्वरो, रुघाखोकी र अन्य सङ्क्रामक रोगहरू दैत्य वा राक्षसका प्रतीक भएर हामीलाई दुःख दिन सक्छन् भनेरै वातावरणको शुद्धीकरणार्थ हाम्रा मनिषिहरूले यज्ञको अनिवार्यता स्वीकारेका हुन् ।  यसरी ठाउँठाउँमा प्रज्ज्वलित गरिएको अग्निको तापमय ज्वालाले समस्त वायुमण्डल ऊष्ण बनाउँछ ।  यसरी सूर्यको समुचित ऊष्णताको अभावबाट जन्मिएका राक्षस रूप रोगहरूका कीटाणुहरू संहार हुन्छन् र पर्यावरणमा शुद्धता आउँछ ।  
प्रसिद्ध अमेरिकी वैज्ञानिक ‘डा. हर्वड स्टिङ्गुल’ भन्छन्–यज्ञ गर्दा मनोवैज्ञानिक तथा आध्यात्मिक फाइदा हुनाको साथै अक्सिजनको मात्रा वायुमण्डलमा बढाउँछ ।  अनि गायत्री मन्त्रले मानसिक शान्ति प्रदान गर्छ ।  रुसका विख्यात वैज्ञानिक ‘शिरोविय’–का शब्दमा– ‘यज्ञमा होमिएका चामल, जौ, सख्खर, घिउ, दूध, नरिवल, कस्तुरी, कपुर, बेल, पीपल, पलाँस, चन्दन, अगरबत्ती, देवदारु आदि पदार्थमा रासायनिक परिवर्तन भई निक्लने धुँवाले विभिन्न सङक्रामक रोगहरू नाश गर्छन् ।  त्यसै गरी गाईको दूधले आणविक विकिरणबाट हुने दुष्प्रभाव रोक्छ ।  गाईको गोवरले भुँइ लिपेमा आणविक विकिरणको प्रभावबाट सुरक्षित रहन सकिन्छ ।  उनको लामो काल खण्डबाट गरिएको शोधले यो कुराको पनि पुष्टि ग¥यो ।  चिकित्साशास्त्री ‘एममोनियर’ त जोड दिएर भन्छन्–रोगका कीटाणुहरूलाई नाश गर्ने सर्वोत्तम उपाय यज्ञ नै हो ।  हाम्रा मनिषिहरूको यज्ञचिन्तन कति वैज्ञानिक र पर्यावरणीय दूर–दृष्टिबाट अनुप्राणित रहेछ यी भनाइले पनि पुष्टि गर्छन् ।  
होलीलाई ‘रङ्ग–पर्व’ भनी हामी गर्व गर्छौं ।  वास्तवमा प्राकृतिक रङ्गले हाम्रो शरीर स्वास्थ्यलाई अनुकूल प्रभाव पार्छ ।  रङ्गकै कमीले शरीर रोगी बन्छ ।  पलाँसको पूmलबाट तयार गरेको रङले रङ्ग्याएको, भिजेको कपडा लगाउँदा हाम्रो शरीरका रोमछिद्रबाट आभ्यन्तरिक स्नायुमण्डलमा ठूलो प्रभाव पार्छ ।  अन्य कैयौँ वनस्पतिका रङ्गहरूबाट शरीरलाई ऊर्जा प्राप्त हुन्छ तर आज हामीहरूले रङको महिमा नबुझेर विभिन्न रसायन मिसेका स्वास्थ्यलाई प्रतिकूल हुने रङ अङ्ग–प्रत्यङ्गमा पोतेर तमासा देखाउँदै हिँड्ने गलत प्रवृत्ति विकास गरिरहेका छौँ ।  लागू भागु खाएर उच्छृङ्खल हुँदै सवारी साधन हाकेर दादागिरी पल्टने कुसंस्कृतिको बढोत्तरी भएको छ ।  सबै जात, वर्ण, धर्म, लिङ्ग, क्षेत्र र भूगोललाई समेट्ने यो पर्व मानव मानवबीच प्रेम, सौहाद्र्र, स्नेह, आदर र सम्मान बाँडेर बाह्य एवं आन्तरिक शरीरलाई रङ्गीन बनाई नयाँ अभियानमा सरिक हुने चाड हो ।  सत्यको विजय असत्यको हार, आस्तिकताको जित र नास्तिकताको पराजय यो पर्वको सन्देश हो ।  अझ आयुर्वेद, मीमांशा, आरोग्य शास्त्रहरूको अध्ययन गरेर यसको मूल मर्मलाई व्यवहारमा लागू गर्नु नयाँ पुस्ताको जिम्मेवारी हो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना