महर्षि वत्स र उनको विज्ञान

kamal rijalकमल रिजाल





वैदिक वैज्ञानिकहरूमा महर्षि वत्स पनि सुप्रतिष्ठित नाम हो ।  त्रिकालदर्शी विद्वान्, मधुरभाषी र समाजसेवी मानिएका (ऋग्वेद ८ ।  ८ ।  ११) यी महर्षि विशेष किसिमका ऋत्विज, तपस्वी, सिद्धयोगी र परोपकारी आदि विशेषणले विभूषित छन् ।  ऋग्वेद मण्डल आठ, सूक्त आठको मन्त्र आठले उनको परिचय महर्षि कण्वको वंंसजको रूपमा दिएको छ तर ऐ. ऐ. सूक्त ११ को सातौँ मन्त्रमा उनले आपूmलाई अग्निपुत्र भनेर चिनाएका छन् ।  यसअनुसार कतिलाई उनको कुल र वंशबारे केही विरोधाभाष लाग्न सक्छ तर ऋग्वेद प्रथम मण्डलको ३६ देखि ४३ तकका सूक्तहरूका अनुसार काण्व आफैँ घोर (आङ्गिरस) परिवारका सदस्य देखिएका छन् भने अग्नि पनि अङ्गिराका सन्तान आङ्गिरस परिवारकै सदस्य मानिएका छन् ।  त्यसैले प्रकारान्तरबाट उपरोक्त भनाइ विरोधाभाषी नभई आपसी परिपूरकको रूपमा रहेको अनुभूत गर्न सकिन्छ ।  मन्त्रवल र योगशक्तिका कारण अश्विनिकुमारको समकक्षी बन्न पुगेका महर्षि वत्स आत्मसुरक्षामा एक अर्कोको परिपूरक समेत देखिएका छन् ।  ऋग्वेद ८ ।  ८ को १५ औँ मन्त्रमा उल्लेख भएअनुसार उनको प्रार्थनाले अश्विनिकुमारलाई बलियो बनाएको छ भने ऐ. ऐ. सूक्त नौ को प्रथम मन्त्रमा उल्लेख भएअनुसार उनको संंरक्षण अश्विनिकुमारले गरेका छन् ।  
महर्षि वत्स वैदिक मन्त्र तथा स्तोत्रपाठका दृष्टिले पनि राम्रैसँग परिचित छन् ।  यसैको माध्यमबाट उनले देवीदेवताहरूलाई सन्तुष्ट पारेका मात्र छैनन् उनीहरूलाई लोकहितमा प्रस्तुत हुन बाध्य पार्ने कामसमेत गरेका छन् ।  सत्य र निष्ठाका विशिष्ट धरोहर मानिने यी महर्षि वैदिक मन्त्रदृष्टा ऋषिमा पनि पर्छन् ।  विशेष गरी ऋग्वेद आठौँ मण्डलको छैटौँ, सातौँ, एघारौँ र दशौँ मण्डलको १८७ औँ सूक्तका गरी ९९ वटा मन्त्रका द्रष्टा ऋषि उनै मानिएका छन् ।  यीमध्ये छैटौँ सूक्तमा इन्द्रको प्रशंसापरक ४८ मन्त्र छन् भने सातौँ सूक्तमा मरुद्गणको प्रशंसा परक ३६ मन्त्र तथा ११ औँ सूक्तमा अग्निको प्रशंसापरक १० मन्त्र र मण्डल १० को १८७ औँ सूक्तमा पनि अग्निकै प्रशंसापरक पाँचवटा मन्त्र छन् ।  यी मन्त्रहरू मार्फत ज्ञान र विज्ञानको क्षेत्रमा आफूलाई जसरी प्रस्तुत गरेका छन् त्यसप्रति सारा संसार उनीप्रति ऋणी रहँदै आएको छ ।  
महर्षि वत्सले ऋग्वेद मण्डल आठ सूक्त छ का विभिन्न मन्त्रमा दैवी नियम उल्लङ्घन गरी दानवीय साम्राज्य फैलाएर संसारभरि अनिष्ट निम्त्याउन तल्लीन वृत्रासुर र शुष्ण दानवको वधलाई जसरी चित्रण गरेका छन् त्यो प्रशंसनीय छँदैछ ।  यसबाहेक कृषि, गोरक्षा, नगर तथा वस्ती विकास, अन्न तथा धनसम्पत्ति र असल जनसमुदायको विकासमा जुन किसिमको सोच र चिन्तन प्रस्तुत गरेका छन्् त्यो पनि उत्तिकै प्रशंसनीय छ ।  ऋग्वेदका यिनै विभिन्न सूक्त र मन्त्रहरूमा उनी कतै इन्द्रलाई आफ्नो ओज र सौर्य वृद्धि गरी संसारको हितमा प्रस्तुत हुन आग्रह गरिरहेका देखिन्छन् भने कतै भौतिक उन्नतिका साथै आत्मिक शान्तिको मार्ग प्रशस्त गरी मानवमात्रमा सुख, शान्ति, आनन्द वृद्धिको कामना गरिरहेका अवस्थामा भेटिन्छन् ।  त्यस्तै कतै लोक रक्षाका लागि इन्द्रको बज्रधारण गर्ने कला, बज्रनिर्माण प्रक्रिया र प्रविधिको व्याख्यान दिइरहेका अवस्थामा भेटिन्छन् भने कतै ठूलाठूला वैदिक यज्ञ अनुष्ठान गरी तीनै लोकको हित गर्दै आएका काण्ववंशीय पूर्वजहरूको विशेषता वर्णन गरिरहेका अवस्थामा फेला पर्छन् ।  त्यसैगरी कतै कतै तिनै यज्ञअनुष्ठानका कारण उचित समयमा इन्द्रले समुचित जल वर्षा गरी औषधीय तìव (समग्र वनस्पति जगत) वृद्धिका साथै लोक रक्षा गर्दै आएका कु्राको चित्रण गरिरहेका देखिन्छन् ।  
अग्नि र मरुद्गणको समेत विशेष उपासक रहेका यी महर्षिले उनीहरूको स्वरूप, क्षेत्र र योगदान आदि विविध पक्षको व्याख्या र विश्लेषणमा ऊर्जा खर्चेका छन् ।  यस क्रममा उनी कतै मरुद्गणहरूले यात्रा गर्दा पाखा पर्वत तथा नदी नालाहरू हल्लिने र समुद्रसमेत छचल्किने गर्छन् भन्दै वायुतत्वको विशेषता वर्णन गरिरहेका अवस्थामा देखिएका छन् भने कतै आफ्नो प्रार्थना सुनी विश्वहितका लागि वायुदेवतालाई दिव्यलोकबाट यथाशीघ्र पृथ्वीलोकमा आउन आह्वान गरिरहेका फेला पर्छन् ।  त्यस्तै कतै तिनै मरुद्गणलाई मन्त्रशक्तिद्वारा निर्मित यानमा राखेर अन्तरिक्ष भ्रमण गराइरहेका अवस्थामा फेला पर्छन् भने कतै मरुद्गणले यसै संसारबाट समुद्रको जल आदि प्राकृतिक स्रोत दोहन गरी आवश्यक पर्दा तिनै संसारलाई फिर्ता गर्ने गरेका कुराको व्याख्या र विश्लेषण गरिरहेका देखिएका छन् ।  कतै विभिन्न वैदिक मन्त्रहरूद्वारा मरुद्गणहरूलाई आफ्नै निकट बोलाइरहेका अवस्थामा फेला पर्छन् भने कतै तिनै मरुद्गणको शक्ति र सामथ्र्यको बखान गरिरहेका अवस्थामा देखिन्छन् ।  
त्यसैगरी महर्षि वत्सले अग्निको शक्ति र सामथ्र्यलाई पनि नजिकबाट हेरेका वा केलाएका छन् ।  उनले अग्निलाई कतै हव्यवाह भन्दै मानिस र देवताको बीचमा सेतुको रूपमा प्रस्तुत हुने शक्तिको रूपमा चित्रण गरेका छन् त कतै तिनै अग्निलाई ज्ञानी, गुणी, विवेकी र शत्रुनाशक भन्दै उनको विशेषता बखान गरिरहेका देखिन्छन् ।  त्यस्तै कतैकतै उनको विराट स्वरूपको चित्रण गर्दै त्यसैको चिन्तनमा लीन भइरहेका अवस्थामा पनि फेला पर्छन् ।  ऋग्वेद मण्डल आठ सूक्त ११ को नवौँ मन्त्रमा उनले सङ्ग्राममा (जीवन सङ्ग्राममा) विजय पाउनका लागि अग्निको उपस्थिति अनिवार्य ठानेका छन् भने मण्डल दश सूक्त १८७ को दोस्रो र चौथो मन्त्रमा अग्निसितै शत्रुहरूबाट सुरक्षाको याचना गरेका छन् ।  यहाँनेर मननीय के छ भने शत्रु भन्नाले भौतिकरूपमा आक्रमण गर्ने कुनै व्यक्ति वा समूह मात्र नभई रोग, भोक, शोक आदि अशान्ति र अभावपरक सबै विषय वस्तु पर्छन् ।  
यसबाहेक वैज्ञानिक दृष्टिले पनि महर्षि वत्सको योगदान त्यति नै महìवको देखिन्छ ।  ऋग्वेद मण्डल आठ सूक्त छको दोस्रो मन्त्रमा उनले आकाशमा उड्ने अश्वयानको चर्चा गरेका छन् ।  ऐ. ऐ. कै २० औँ र ३० औँ मन्त्रमा सूर्य, सूर्यलोक र सूर्य किरणको विशेषताबारे जसरी व्याख्यान दिएका छन् निःसन्देह त्यो पनि कम्ती चामत्कारिक छैन ।  सम्भवतः अहिलेसम्म विज्ञानले सूर्य किरणको बाह्य गतिविधिको चित्रण गरे पनि सूर्य किरणका कारण प्रकृतिले कसरी गर्भधारण गर्छ भन्ने कुराको खासै उल्लेख गरेको छैन तर महर्षि वत्सले त एक किसिमले त्यतिबेलै त्यसको समेत छिनोफानो गरिदिएका देखिन्छ ।  त्यसैगरी उनी कतै समतल भूभागमा र उच्च पहाडी शिखरमा समेत एकैनाशले हिँड्न सक्ने रथको चर्चा गरिरहेका देखिन्छन् त कतै अग्नि तìवभित्र पनि जल तìवको कुरा गरिरहेका देखिन्छन् ।  सामान्यतः अग्नि र जल परस्पर विपरीत धर्मी हुन् ।  अग्नि भएको स्थानमा जलको उपस्थिति सम्भव हुन्न र जल भएको स्थानमा अग्निको उपस्थिति पनि सम्भव देखिन्न तर उनको विज्ञानले भने त्यो पनि सम्भव देखाइदिएको छ ।  ऋग्वेद मण्डल दश सूक्त १८७ को तेस्रो मन्त्रमा यसको सुन्दर चित्रण पाउन सकिन्छ ।  
यसबाहेक उनी गोत्रप्रवर्तक ऋषिको नामले समेत चिनिएका छन् ।  उनी आफैँ काण्वावंशीय हुन् तर उनले प्रवर्तन गरेको गोत्र भने वत्स हो, जुन उनकै नामसित सम्बन्धित छ ।  अहिले पनि कुँवर, खड्का, खराल, खुलाल, चौहान, जबरा, जोशी, झा, ठाकुर, दयाल, दाहाल, पन्त, विष्ट, बुडथापा, बुढाथोकी, भट्ट, महाजन, मिश्र, रावल, लम्साल, रूपाखेती आदि थरपरिवारले आफूलाई वत्स गोत्रीय मान्दै आएका छन् ।  और्व, च्यवन, भार्गव र जमदग्निसमेत उनकै प्रवरहभित्र पर्छन् ।  त्यसैले त्यहाँसम्म पनि कुनै न कुनै रूपमा उनको उपस्थितिलाई नकार्न सकिन्न ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना