स्मार्ट अर्थतन्त्रको दिशा

Junar_babu जुनारबाबु बस्नेत


 

भर्खरै सम्पन्न काठमाडौँ अन्तर्राष्ट्रिय सम्मेलनले १४ खर्ब रुपियाँ चानचुनको लगानी प्रत्याभूति दियो ।  यो सकारात्मक बन्दै गएको भावी अर्थतन्त्रको मुहारचित्र हो ।  त्यसका लागि केही आयाम छन् ।  देश विद्युत्भार कटौतीबाट मुक्त हुने प्रस्थान बिन्दुमा छ ।  यो तरखरसँगै लगानीको नाता जोडियो ।  जे जस्ता प्रवृत्ति राजनीतिमा देखिए पनि अब स्थानीय निर्वाचनको रेल छुट्दै छ ।  सङ्घीय र केन्द्रीय निर्वाचन पनि हुने छन् ।  आगामी माघको संवैधानिक समय सीमाभित्र राजनीतिले आकार ग्रहण गर्ने विश्वास बढ्दै छ ।  राजनीतिमा मात्र होइन, सामाजिक आयाममा पनि परिवर्तनका भुल्का छुट्न थालेका छन् ।  भर्खरै बागमती सफाइको महाअभियानमा जनसागर जोडियो ।  त्यसक्रममा सफाइ अभियानको १०बुँदे घोषणपत्र जारी गरियो ।  अभियान फैलियो ।  यसले नागरिक र सिंहदरबार जोड्दै छ ।  सकारात्मक चिन्तनको जरा फैलिनु र कार्यरूपले आकार लिन थाल्नु अगाडि बढ्ने आरम्भ पक्कै हो ।  
तीन वर्षअघि असम्भवजस्तै मानिएको काठमाडौँ उपत्यका सभ्यताको धरोहर बागमती सफाइले ‘गर्दा सकिने’ रहेछ भन्ने चेत दिएको छ ।  सहभागिता र आत्मविश्वास जुटाएको छ ।  अवरोध अझै छन् तर अब सफाइ संस्कृति बन्न खोज्दै छ ।  सफाइ समृद्धितिरको यात्राको प्रारम्भिक खुड्किलो पनि हो ।  सभ्यताको आधार पनि हो ।  देश गणतन्त्रमा गइसकेपछि नयाँ नेपाल र समृद्धिको खुबै चर्चा भयो तर समृद्धिको मूलभूत पक्षहरूको आधार निर्माण हुन सकेन ।  कतिपय त भत्कँदै गए ।  दुनियाँ ‘स्मार्ट’ युगमा प्रवेश गर्दै छ र देशको आर्थिक विकासले पनि ‘स्मार्ट’ कार्यदिशा माग गर्न थालेको छ ।  त्यसका लागि आधारभूत रूपमा नीति, योजना र कार्यक्रम बन्नुपर्छ ।  कामविना स्मार्ट शब्दको प्रयोग सान्दर्भिक हुँदैन तर अब त्यस दिशातिर सोच र चिन्तन वाञ्छनीय नै भइसकेका छन् ।
सरकारले देशमा स्मार्ट सहर बनाउने घोषणा पनि गरेकै हो तर समस्या कहाँ हो भने ‘जेठा मामाको त्यो गति, कान्छा मामाको के’ भनेजस्तै काठमाडौँ महानगरको हालत यस्तो छ– फोहर, धुँवा र धुलो....। यो गति देख्दा देशभर स्मार्ट सहर बनाउने घोषणा पत्याउन असहज हुन्छ ।  स्मार्ट सहरमात्र भनेर कसरी होला ? स्मार्टको परिवेश अनि शब्दको प्रयोग धेरैतिर हुँदैछ ।  अर्थतन्त्रमा पनि प्रयोग हुनथालेको छ ।  अन्तर्राष्ट्रिय रूपमा स्मार्ट कृषि, स्मार्ट उद्योग, स्मार्ट सेवा क्षेत्र आदि ।  स्मार्ट व्यवस्थापनबाट विकास भएको शब्द हो र अहिले यसको प्रयोग र विस्तार व्यापक हुँदै अर्थतन्त्रका आयामतिर पकड जमाउन थालेको छ ।  जर्ज डी. डोनाल्डका अनुसार अङ्गे्रजीको पाँच अक्षर– ‘एस एम ए आर टी’ संयोजन को स्मार्टले ‘सुधारको विशेष क्षेत्र, मापनयोग्य व्यवस्थापन, क्रियाशीलता, वास्तविक र समयसीमाभित्र कार्य सम्पादनको प्रविधि’ जनाउँछ ।  स्मार्टले मात्र उत्पादकत्व बढाउँछ ।  उत्पादकत्व वृद्धिका लागि न्यून लागतले बढी प्रतिफल दिनुपर्छ ।  हरेक व्यक्तिमा कार्य क्षमताको विकास अनि साधन र स्रोतका प्रभावकारी उपयोग स्मार्टका आधार हुन् ।  दिगो विकास यी सबैको गन्तव्य हो ।  अबको अर्थतन्त्र वास्तवमै स्मार्टको प्रतिफल हुनेछ ।
टोकियोस्थित एसियाली उत्पादकत्व सङ्गठन (एपीओ) ले स्मार्ट अर्थतन्त्र निर्माणका लागि आधार तय गर्दै त्यसका लागि मार्गचित्र बनाएको छ ।  दुनियाँसँग साझेदारी गर्दै एसिया र प्रशान्त क्षेत्रको समृद्धिको सपना साकार पार्न अग्रसरिता लिँदै छ ।  स्मार्ट उद्योग, स्मार्ट सेवा, स्मार्ट सहर र स्मार्ट कलकारखानाको आवधारण विकास गरेको छ ।  कार्यरूपमा लैजान हरेक सरकारलाई नीतिगत रूपमा सहयोग गर्दैछ ।  विश्वभर विकास भएको अब्बल अवधारणालाई यो क्षेत्रका मानिस र भूगोलमा परिचित गर्दै उत्पादकत्व बढाउनु उसको गन्तव्य हो ।  टोकियोस्थित नेशनल ग्राजुयट इन्स्टिच्युट फर पोलिसी सेन्टरका उपाध्यक्ष एवम् जापानी प्रधानमन्त्री परिषद्का नवीनतम प्रविधिसम्बन्धी सल्लाहकार आत्सुही सुनामीको भनाइमा स्मार्ट अवधारणा आगामी अर्थतन्त्रको आधार हो ।  ठुल्ठूला लगानी र योजनामा होइन, सामान्य इलममा पनि स्मार्ट अवधारणा बन्छ ।  खोज्न सकिन्छ ।  त्यसका लागि जरुरी हुन्छ नवीनतम खोज र प्रयोगको ।  यसमा नागरिकदेखि सरकार सबै सिर्जनशील हुनुपर्छ ।
सरकारको सिर्जनशीलतामा अनेक मुलुकका उदाहरण छन् ।  यसमा सरकार ३.० को अवधारणा विकास भएको छ ।  खासगरी दक्षिण कोरियाले विकास गरेको सरकार ३.० को अवधारणा विस्तार हुँदै छ ।  सरकारलाई सूचना र प्रविधिले सशक्त बनाएको छ ।  दक्षिण कोरियाले नेपाल सरकारलाई पनि सूचना प्रविधिमा राम्रो सहयोग गर्दै छ ।  यो स्मार्टको अवधारणा नै हो ।  सरकारलाई परम्परागत ढर्राका काममा मात्र संलग्न नगराई अर्थतन्त्रको विकासमा साझेदारी र सहजकर्ताको भूमिकामा अगाडि बढाउँछ यो अवधारणाले ।  विकासशील मुलुकका सरकार अर्थतन्त्रको विकासमा भन्दा पनि शासन प्रशासनमा मात्रै केन्द्रित छन् ।  नागरिकको राजस्व लिएको सरकार नागरिककै आय, उत्पादन र रोजगारी अभिवृद्धिमा कसरी सहयोग हुन सक्छ भन्ने गहन चिन्तन आवश्यक हु्न्छ ।  चिन्तनले नीति सिर्जना गर्छ ।  नीति अनुरूप योजना र कार्यक्रम बन्छन् ।  कार्यान्वयन हुन्छ ।  यो अवधारणाले बिस्तारै आकार लिन्छ, लिनुपर्छ ।  यो अवधारणामा काम गरे आर्थिक वर्षको आठ महिना बित्न लाग्दा पाँच भागको एक भाग पनि विकास खर्च नहुने अवस्था आउँदैन ।  स्मार्ट अर्थतन्त्र निर्माणमा सरकारको अग्रसरिता वाञ्छनीय हुन्छ ।  
अर्को नवीन अवधारण हो उद्योग ४.० को अवधारणा ।  यो अवधारणालाई सबैभन्दा पहिले जर्मनीले प्रयोगमा ल्यायो ।  अहिले धेरै मुलुकमा विस्तार भएको छ ।  उद्योग ४.० ले स्मार्ट कारखानाको अवधारणा दिन्छ ।  यो अवधारण उत्पादकत्व वृद्धिका लागि इञ्जिन बन्छ ।  कुनै बेला यान्त्रीकरणको जमना थियो ।  त्यसले आमउत्पादनलाई जोड दियो ।  विद्युतीकरण भयो ।  वाष्प इन्जिनसँगै औद्योगिक क्रान्तिले दिएको वरदानका त्यो युग स्वचालित कारखानातिर अग्रसर भएर नै विकसित मुलुकको अर्थतन्त्र सम्भव भयो  ।  सूचना प्रविधिको शक्तिले गुणात्मक विकास दियो ।  इन्टरनेटपछिको सूचना शक्तिले ‘साइबर–फिजिकल प्रणाली’ विकास गर्दै छ ।  सूचना क्लाउडमा सङ्ग्रह हुन पुगेका छन् ।  सेन्सरी प्रणाली अर्थात् मानव चेनताद्वारा रोबटहरू चल्ने अवस्था विकास हुँदै छ ।  त्यसले स्मार्ट कारखानाको अब्बल अवधारणसम्म पुग्यो ।  सूचना प्रविधि र व्यवस्थापनलाई प्रभावकारी उपयोग गर्दा स्मार्टतिरको यात्रा सम्भव हुन्छ ।  एकै पटक उपल्लो तहको यात्रा सम्भव हुँदैन ।
स्मार्टका लागि ज्ञानमा आधारित विकास तीव्र हुनुपर्छ, देखासिकीमात्र होइन ।  नवनीता विना लागत घटाएर उत्पादन बढाउन सकिन्न ।  कृषि, उद्योग र सेवा अर्थतन्त्रका तीन आयाम पहिले फरक–फरक थिए ।  अब एक आपसमा जोडिँदै छन् ।  यी परम्परागत आयाम र ढाँचा भत्कँदै छ ।  अन्तरनिर्भर बढ्दो छ ।  फरक–फरक क्षेत्रलाई प्रविधि र व्यवस्थापनले जोड्दै छ ।  जापानको क्वोटोस्थित सुन्टरी यामासाकी ह्विस्की उद्योग किसानको उपज खरिद गर्नेदेखि त्यहीभित्र अध्ययन अवन्वेषण र पर्यटन प्रवद्र्धन गर्ने केन्द्रसम्म भएको छ ।  परम्परागत सीप र शैलीको मदिरा बनाउन सन् १९२४ मा सामान्य तवरले सानो लगानीमा स्थापना गरेको उद्योग अहिले व्यापक भएको छ ।  विश्वका अवार्ड जित्दै बजारमा पकड जमाउँदै छ ।  यसलाई दुनियाँले उद्योग ४.० को अब्बल उदाहरण मान्दै छ ।  जापानको साना तथा मझौला उद्योग ४.० को अवधारणा आत्मसात् गर्दैछन् ।
विश्व अर्थतन्त्रले केही जटिलता सिर्जना गर्दैछ ।  धनी झनै धनी हुँदै जाने र गरिब झनै गरिब हुँदै जाने प्रवृत्ति ठूला अर्थतन्त्रको पनि टाउको दुखाइ भएको छ ।  यसमा ‘प्याराडाइम सिफ्ट’ गर्न जरुरी छ ।  त्यसका लागि पनि अब स्मार्ट अवधारणातिर जानै पर्छ ।  चौध खर्बको लगानी प्रतिबद्धता होस् वा सफाइमा लागि जुट्दै गरेको सक्रीयता, तिनले स्मार्ट अर्थतन्त्रको अवधारणाका लागि आधार निर्माण गर्दैछन् ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना