कान्छो राष्ट्रिय निकुञ्ज शुक्लाफाँटा

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ,  फागुन ३० गते ।   पश्चिम नेपालको शुक्लाफाँटा नेपालको सबैभन्दा कान्छो राष्ट्रिय निकुञ्ज हो ।  यस अघि त्यस ठाउँलाई वन्यजन्तु आरक्षका रूपमा संरक्षण गरिँदैआएको थियो ।  अब नेपालमा राष्ट्रिय निकुञ्जको सङ्ख्या १० पुगेको छ ।  
विशेष प्रजातिको संरक्षण गर्ने उद्देश्यले आरक्ष निर्माण गर्ने गरिन्छ ।  निकुञ्जको स्थापनाबाट धेरै प्रजातिका वनस्पति, वन्यजन्तुको संरक्षण गर्दै त्यस वरपरका समुदायको आर्थिक अवस्था उठाइनुका साथै पर्या–पर्यटनको विकास हुने विश्वाससमेत गरिन्छ ।  
नेपालले संरक्षणलाई विशेष प्राथमिकतामा राख्दैआएको छ ।  विश्वका संरक्षित वन्यजन्तुको सूचीमा रहेको बाह्रसिङ्गाको संरक्षणका लागि यो क्षेत्रलाई यस अघि आरक्षका रूपमा स्थापना गरिएको थियो ।  बाह्रसिङ्गाको संसारकै सबैभन्दा ठूलो झुण्ड यहीँ आरक्षमा रहेको छ भने दुर्लभ प्रजातिका बाघ, गैँडालगायतका वन्यजन्तुको सुरक्षित बासस्थान भएपछि यो आरक्षलाई निकुञ्जमा परिणत गर्ने प्रक्रिया सुरु गरिएको हो ।  suklaphata
तराईको सबैभन्दा ठूलो क्षेत्रफल रहेको यो फाँटामा काँस फुल्दा सेतो देखिने भएकाले यो फाँटालाई शुक्लाफाँटा नामाकरण गरिएको बताइएको छ ।  
विक्रम संवत् २०२६ मा यहाँ सिकार आरक्ष स्थापना भएको थियो ।  तत्कालीन अवस्थामा यसलाई केही समय सिकार आरक्षका रूपमा राखिए पनि विसं २०३२ मा सिकार आरक्ष वरिपरिको थप केही भूभाग समेटेर आरक्षका रूपमा विकास गरिएको हो ।  बाह्रसिङ्गालगायतका अन्य विश्वमै दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तुको वासस्थानका लागि निकै उपयोगी भूगोल भएकाले २०३६ सालमा आरक्षको पूर्वतर्फको १५० वर्ग किलोमिटर जग्गामा समेत यसलाई विस्तार गरिएको छ ।  हाल आरक्ष कुल ३०५ वर्गकिलोमिटरमा रहेको छ ।  
हालसालै निकुञ्जमा परिणत भएपछि शुक्लाफाँटाको पर्या–पर्यटनको विकासमा थप टेवा पुग्ने विश्वास निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालको छ ।  आरक्ष हुँदा पर्या–पर्यटनका गतिविधि खासै सञ्चालन हुन पाएका थिएनन् ।  बाह्रसिङ्गाको सङ्ख्यामा आएको वृद्धिसँगै यहाँ बाघको सङ्ख्या पनि बढेको छ ।  यस अघि शुक्लाफाँटामा बाह्रसिङ्गाको झुण्ड हेर्न  आउनेको सङ्ख्या धेरै हुनेगरेको भए पनि आरक्षको प्रावधान अनुसार पर्या–पर्यटनको विकास गर्न नसकिएको तर अब निकुञ्ज भएपछि पर्या–पर्यटनको विकास हुने र मध्यवर्ती क्षेत्रका बासिन्दाको आर्थिक विकासमा टेवा पुग्ने विश्वास विभागका महानिर्देशक मनबहादुर खड्काको छ ।  
बाह्रसिङ्गाको ठूलो झुण्ड लहरैसँग चरेको दृश्य हेर्दा निकै आकर्षक लाग्ने भएकाले बाह्रसिङ्गा देखिने मौसमलाई ध्यानमा राखेर होटल व्यवसायीले विशेष प्याकेज निर्माण गर्न सहज भएको पर्यटन व्यवसायी कृष्णबहादुर विष्ट बताउनुहुन्छ ।  
उहाँले भन्नुभयो, विश्वमा यति ठूलो सङ्ख्यामा एकीकृत ढङ्गले एउटै झुण्ड बनाएर हिड्ने बाह्रसिङ्गाको झुण्ड हेर्न आउने पर्यटकलाई व्यवस्थित गर्न सक्नुपर्छ अनिमात्र यहाँको आर्थिक विकासमा सहयोग पुग्नसक्छ ।  
आउँदा दिनमा ठूला र व्यवस्थित होटल खुल्नसक्ने विश्वास पनि उहाँको छ ।  
यस निकुञ्जको कुल क्षेत्रफलको झण्डै १७ प्रतिशत भूभाग घाँसे मैदानले ओगटेको छ ।  सन् २०१४ को गणनाअनुसार यहाँ वयस्क बाघको सङ्ख्या १७ रहेको छ ।  हाल यो सङ्ख्या बढेको अनुमान गरिएको छ ।
निकुञ्जमा परिणत भएपछि बाह्रसिङ्गाबाहेक बाघ र गैँडाका लागि पनि सुरक्षित बासस्थान बनाउने योजनामा विभाग रहेको छ ।  काँसको घाँस खान मन पराउने बाह्रसिङ्गा बढीजसो घाँसे मैदान र दलदल क्षेत्रमा  बस्न रुचाउँछन् ।
चुरे क्षेत्रको फेँदीमा रहेको यो फाँटा जैविक प्रणाली र जैविक विविधताका दृष्टिले निकै धनी मानिएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना