सीमा नियन्त्रणमा उपेक्षाको परिणाम

kp gautam केपी गौतम

 

 

भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोलीको शिकार भएर आफ्नै आँगनमा नेपाली नागरिक गोविन्द गौतम शहीद हुनुभयो ।  आफ्नो मातृभूमिप्रति पराइको बलमिच्याइको प्रतिकार गर्दा उहाँको प्राण विदेशी राज्यरक्षकले लिए ।  
भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरी नेपाली नागरिकमाथि गोली प्रहार गर्दै बेलाबेलामा शत्रुतापूर्ण व्यवहार गर्दै आएको छ ।  भारतीय पक्षले आफू ठूलो भएको घमण्ड देखाउँदै नेपाली सीमाभित्र हतियारसहितका सैनिक पठाउँदै बारम्बार नेपाली नागरिकलाई धम्क्याउने गोली ठोक्ने, घाइते बनाउँदै आएको छ ।  पछिल्ला सञ्चारमाध्यमका समाचार सम्झे पुग्छ, सुनसरीको हरिहरपुर गाविसमा पसेर २०७२ मङ्सिर ९ गते पनि एसएसबीले नेपालीमाथि गोली चलाएर चार जनालाई घाइते बनाएका थिए तर मधेसवादी राग गाउने राजनीतिक मोर्चाले न हरिहरपुर न तिलाठी ज्यादतीमा दुई शब्द ‘खेद’ व्यक्त गरेको देखियो ।  बरु गत साता भारतीय सौजन्यमा मधेस–पहाड अलग हुनुपर्ने धारणामा संविधान कार्यान्वयनको हलो अड्काइरहेको मधेसी मोर्चाले नेकपा एमाले अभियान निषेध उपद्रो मच्यायो, पाँच जना निर्दोष नागरिकको ज्यान गयो ।  
उक्साहट÷उत्प्रेरणाका लागि सहयोग गर्ने अनि सीमा क्षेत्रमा आफूले जे गरे पनि स्थानीयको सहयोग समर्थन खपाइने भारतीय सोचको कारण होला भारतीय पक्षले नेपाली सीमा अतिक्रमित गर्ने गरेको ।  यही सिलसिलामा कञ्चनपुरका गोविन्द गौतमलाई भारतीय गोली दागियो ।  यी सबै घटनामा काठमाडौँ लैनचौरस्थित भारतीय राजदूताबासले आफ्नो पक्षबाट त्यस्तो नभएको भनेको थियो ।  यी घटनामा नेपालले छानबिन गरी दोषीलाई कारबाही गर्न वक्तव्य त दिने गरेको छ तर त्यसबारे अहिलेसम्म भारतले टेरपुच्छर लगाएको देखिँदैन ।  
नेपाल उत्तरतर्फ तिब्बत–चीन र हाल तीनतर्फ सिक्किम–भारतसँग जोडिएको देश ।  उत्तरतर्फ तिब्बतसँग लडाइँ भयो ।  सन्  १७९२ मा वेत्रावति सन्धि भयो तर तिब्बतमा रहेका नेपाली व्यापारीमाथि ज्यादती कायम रह्यो ।  सन् १८५६ मा थापाथली सन्धि भयो ।  फेरि १८७३ मा कूटनीतिक सम्बन्ध टुट्यो ।  १८८३ मा ल्हासामा नेपाली व्यापारी लुटिए ।  सन् १९५० मा तिब्बत चीनको स्वशासित क्षेत्र बन्यो ।  यी दुई देशबीच सीमाका समस्या यथावत् थिए ।  सीमा विवाद समाधान गर्न २०१६ चैत ९ मा सीमा सम्झौता भयो ।  सयौँ वर्षदेखि सीमाङ्कन नभएको नेपाल र चीनको तिब्बतबीचको सीमा वैज्ञानिक र औपचारिक हिसाबले समाधान गर्न वि.सं. २०१८ असोज १९ मा सीमा सन्धि भयो ।  वि.सं. २०१९ माघ ७ मा सीमा बडापत्रमा हस्ताक्षर गरे दुवै मुलुकले ।  सद्भाव, सहिष्णु र सहअस्तित्व महसुस हुँदा तीन वर्षमै सीमासम्बन्धी विवाद टुङ्गोमा पु¥याउन सकिँदोरहेछ भन्ने भन्ने उत्तरतर्फ देखियो ।  
दक्षिणतर्फ भारतीय होइन, भारतलाई कजाएका, रजाएको अङ्ग्रेजसँग पटक–पटक लडेर सार्वभौमिकता, स्वाधीनता जोगाएको नेपालका तर्फबाट सन् १८१६ मार्च ४ (वि.सं. १८७२ चैत १ गते ) ‘सुगौली सन्धि’ मा हस्ताक्षर गरी नेपाल खुम्चिएको थियो ।  १९५० को शान्ति तथा मैत्री सन्धिअनुसार पूर्व सन्धि सम्झौता खारेज गरे पनि नेपाल खुम्चिएरै बस्यो ।  मिचिँदै, हेपिँदै, प्रशासनिक रूपमा पनि निर्देशित रहँदै बस्यो ।  यो अवस्थाको विरोध हुँदै गर्दा १९८० मा मात्र सीमा सम्बन्धमा संयुक्त रूपमा काम गर्न भारत सहमत भयो ।  वि.सं. २०३८ कात्तिकमा ‘नेपाल–भारत संयुक्त प्राविधिक सीमा समिति’ गठन भएको थियो ।  यो समिति अहिलेसम्म क्रियाशील छ तर अहिले पनि भारतसँग जोडिएका २६ जिल्लामध्ये ‘२१ जिल्लाका ५३ ठाउँमा नेपाली भूमि मिचिन पुगेको’ सीमाविद् बुद्धिनारायण श्रेष्ठले ‘नेपालको सीमानामा’ मा उल्लेख गर्नुभएको छ ।  यी औपचारिक जानकारीमा आएका विवादास्थल हुन्, दैनन्दिन सीमाक्षेत्रका आपराधिक घटना त कति छन् कति ।  यस्ता घटना अन्तर्राष्ट्रिय सीमा नियन्त्रणमा गरिएको उपेक्षा र अनिच्छिाका अपेक्षित परिणाम हुन् ।  चीनतर्फ तीन वर्षमा सीमा विवाद समाधान गर्न सकियो तर रोटी–बेटीको सम्बन्ध रहेको तर्क दिँदै साखुल्यता देखाउने भारततर्फको सीमा विवाद सुल्याउने नक्सा बिन्दु तोक्न पैतीस वर्षसम्म पनि प्राविधिक समितिले सकेको छैन किन ? के प्रविधि र प्राविधकको कमजोरी
हो ? पक्कै होइन, राजनीतिक नियतको हो, जसले यस्ता आपराधिक घटनाबाट राजनीतिक तुष्टि प्राप्ति गर्न चाहन्छ ।  सिमाकङ्न टुङ्गोमा नपु¥याइ नेपाललाई सताइरहने भारतीय नियत उसका पटके व्यवहारले पुष्टि गरेका छन् ।  पछिल्लो उदाहरण हो– कञ्चनपुरमा नेपाली क्षेत्रमा पसेर नेपाली नागरिकको हत्या गर्दा पनि नेपालस्थित भारतीय दूताबासले आफ्नो तर्फबाट त्यसो नभएको दाबी गर्नु ।  
वि.सं. २०१७ असार १५ गते मुस्ताङमा चिनियाँ सेना पसेर गोली चलाउँदा नेपालीसेनाका सुवेदार बमप्रसादको मृत्यु भएको घटना स्मरणीय छ ।  त्यसबेला प्रधानमन्त्री बीपी कोइरालाले राष्ट्रिय सार्वभौमिकता जोगाउन कडा अडान राख्तै चीन सरकारसँग पत्राचार गरेको र फलस्वरूप चीनले गल्ती स्वीकार गर्दै माफी माग्दै ५० हजार रकम क्षतिपूर्तिसमेत दिएको थियो ।  भूलवश आफ्नो गोलीको शिकार भएका नेपाली सुवेदारको शवलाई चिनियाँ सैनिकले सलामीसमेत दिएका थिए ।  मित्रराष्ट्रप्रतिको यस्तो सम्मानजनक व्यवहार गरेकैले चीन–नेपाल मित्रता हार्दिक रहँदै आएको हो तर भारत हरहमेसा ठुल्दाइ प्रवृत्तिले ग्रस्त भएर हैकमवादी अहम्पना देखाउँदै आएको छ ।  सीमामा रहेका नेपाली नागरिकलाई सताउँदै आएको छ ।  आफ्नो भूमिमा बाँध बनाउन, कुलो खन्न, कल्भर्ट बनाउन पनि भारतीय हस्तक्षेप सहन बाध्य छौँ हामी ।  दशगजा मिच्दै उनीहरूले बाँध, सडक बनाएर नेपाली खेत, बस्ती डुबानमा पार्दा पनि सहेरै बसेका छौँ ।  सहनशीलता अर्थात् बुद्धका प्रतिमूर्ति बनाइएका छौँ हामी नेपाली जनता ! यही भारतीय हस्तक्षेप भएको भूमिपुत्र सिद्धार्थ गौतमले पनि कुलोको विवादमा अन्यायको विरोध स्वरूप गृहत्याग गरेका थिए तर उनकै भूमि लुम्बिनी–कपिलवस्तु क्षेत्र कुलो–बाँधबाट डुबाइदिएको छ भारतले ।  
कञ्चनपुरको घटनामा हाम्रा गृहमन्त्री र परराष्ट्रमन्त्रीले भारतीय परराष्ट्रमन्त्रीसँग फोन वार्ता गरी विरोध जनाएको भए पनि अझै आफ्नो गल्ती स्वीकारेको छैन भारतले ।  ‘पोष्टमार्टम र फोरेन्सिक रिपोर्ट पठाएर अनुसन्धानमा सघाउन’ आग्रह गरिटो पल्दैछ दिल्लीले ।  यस घटनाका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले तत्काल समकक्षी भारतीय प्रधानमन्त्री मोदीलाई नै फोन गरेर विरोध जनाउनुपथ्र्यो ।  यद्यपि गोविन्द गौतमलाई राष्ट्र रक्षाका लागि प्राण दिने शहीदको राष्ट्रिय सम्मान दिने निर्णय गरी भारतीय दूताबासलाई मात्रै होइन, दिल्लीलाई पनि ठूलो कूटनीतिक सन्देश दिनुभएको छ, प्रधानमन्त्री पुष्पकमल दाहालले ।  
आफ्नो राष्ट्रमा अतिक्रमण गरी नागरिक हत्या गर्ने भारत सरकारलाई माफी माग्न लगाउन, समुचित क्षतिपूर्ति दिलाउन र सीमा नियन्त्रणका लागि नेपालले बलियो अडान लिन सक्नुपर्छ ।  जस्तो कि उहिल्यै भर्खर सीमा विवाद औपचारिक रूपमा टुङ्गोमा पु¥याइएका बेला बीपी कोइरालाले गर्नुभएको थियो, चीनले सम्बोधन गरेको थियो ।  सार्वभौम मुलुकप्रतिको हेपाहा प्रवृत्ति नेपाललाई सह्य हुन सक्तैन ।  रोटी–बेटीको सम्बन्ध भनेर नथाक्ने भारतले यो कुरा बुझे फलदायी हुनेछ ।  रोटी–बेटीको सम्बन्ध चीनसँग पनि छ नेपालीको ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना