नेपालमा पनि आवश्यक छ ड्रोनको प्रयोग

राधा चालिसे

ललितपुर, चैत २ गते ।  अन्य मुलुकमा जस्तै नेपालको पनि कृषि, पूर्वाधार विकास, भौगर्भिक नक्सा निर्माण, ट्राफिक व्यवस्थापन, सामान ढुवानी, सुरक्षा निगरानी, विपद्का समयमा खोजी तथा उद्धारजस्ता दर्जनौँ प्रयोगका लागि ड्रोनको प्रयोग हुनसक्ने त्यस क्षेत्रका विज्ञहरूले बताउनुभएको छ ।  नेपालजस्तो जटिल भूबनावट भएको क्षेत्रमा ड्रोनको उपयोगिता अझ बढी हुने त्यस क्षेत्रमा कार्यरतहरूको दाबी छ ।  ड्रोनको प्रयोगबाट कुनै पनि क्षेत्रको कामलाई गति दिन र कम जनशक्तिबाट थोरै समयमा धेरै काम गर्न सकिने उहाँहरूले बताउनुभयो ।  
ड्रोन क्लोज सर्किट टीभी (सीसीटीभी)सहितको उड्ने यन्त्र हो ।  यसमा  निश्चित दूरीसम्म उड्नसक्ने, तस्बिर खिच्ने, मेसिन कहाँ छ भन्ने जानकारी दिनसक्ने प्रविधि जडान गरिएको हुन्छ ।  यस्ता ड्रोनहरू विशेष गरी दुई प्रकारका हुन्छन् ।  एउटा फिक्स्ड विङ्स भएको, अर्को रोटरी विङ्स सहितको ।  
फिक्स्ड विङ्स भएका ड्रोन विशेष गरी ठूलो क्षेत्रफलको नापनक्साका लागि प्रयोग हुने गरेको छ भने  रोटरी विङ्स भएका ड्रोन सामान ढुवानी गर्न र भिडियोग्राफीका लागि प्रयोग हुने
गरेका छन् ।  dron camera
तर नेपालमा ड्रोनका बारेमा पर्याप्त जानकारी नहुँदा ड्रोन सञ्चालनका लागि विभिन्न निकायसँग अनुमति लिनुपर्ने कारणले यसबाट लिनसक्ने जति फाइदा लिन नसकिरहेको उहाँहरूको गुनासो छ ।  
चीनले कृषि क्षेत्रमा ड्रोनको प्रयोग थालेको छ ।  भारतले  रेलमार्ग निर्माणमा सर्भे गर्नेदेखि हुँदै गरेका कामको निगरानी गर्नेसम्मको कामका लागि ड्रोनको प्रयोग गर्न थालेको छ ।  अन्य कतिपय देशले ट्याक्सीकै रूपमा पनि ड्रोनको प्रयोग गर्न थालेको विज्ञहरूले बताउनुभयो ।  
तर नेपालमा भने ड्रोनबारे पर्याप्त जानकारी नहुँदा ड्रोनहरू खासै प्रयोगमा आउन सकेका छैनन् ।  भर्खर भर्खरमात्र समाजको व्यापक हितका लागि ड्रोनको सकारात्मक प्रयोग हुनसक्छ, त्यसको व्यावसायिक सम्भावन पनि रहेको छ भन्ने सन्देश दिनका लागि विभिन्न परीक्षण थालेको नेपाल फ्लाई ल्याबका सहसंयोजक तथा बी रोबोर्टिकका नेपाल प्रतिनिधि उत्तम पुडासैनीले बताउनुभयो ।  
उहाँका अनुसार नेपालमा ड्रोनका विभिन्न प्रयोगबारे विभिन्न परीक्षण थालिएको छ ।  जस्तै, परीक्षणका लागि बाग्मती सफाइ अभियानका क्रममा कति फोहोर कहाँ सङ्कलन भएको छ भन्ने मापन ड्रोनबाट गरिएको छ ।  यद्यपि त्यसको पूर्ण तथ्याङ्क आउन बाँकी छ ।  
त्यस्तै सिन्धुपाल्चोकको किवी खेतीमा पनि ड्रोनको प्रयोगबाट बालीको निरीक्षण गर्न थालिएको छ ।  किवी खेतीमा यसको प्रयोगबाट बाँदरलगायत अन्य जनाबर खेतीमा पसेको छ छैन, कहाँकहाँ बिरुवा राम्रा छन् कहाँ समस्या छ मात्र हेर्ने होइन कि माटोमा भएको पोषणको अवस्थाबारे समेत कोठामा बसेर हेर्न सकिने उहाँले बताउनुभयो ।   
यसबाहेक विकट पहाडी क्षेत्रमा तत्काल औषधि जस्ता अत्यावश्यक सामग्री पु¥याउन, भूकम्पका कारण क्षति भएका भूभागका बारेमा तथ्याङ्क र जानकारी लिन पनि ड्रोनको प्रयोग गर्न सकिने उहाँले बताउनुभयो ।  तर, ड्रोन सञ्चालनबारे हाल नेपालमा विद्यमान कानुनका कारण ड्रोन प्रयोग गर्न सकिने अवस्था ज्यादै न्यून भएको ती क्षेत्रका विज्ञहरूको भनाइ छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना